नेपाली विशेषताको समाजवादी व्यवस्था र नेकपा (माओवादी)को नेतृत्व निर्विकल्प
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले देशका तमाम समस्या समाधानका निम्ति नेपाली विशेषताको समाजवादी व्यवस्था र नेकपा (माओवादी)को नेतृत्व निर्विकल्प भएको ठोकुवा गरेका छन् । नेकपा(माओवादी)को १३ औं पार्टी पुर्नगठन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रीय जनकम्युनमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले १३ औं पार्टी पुर्नगठन दिवसको ऐतिहासिक, गौरवपूर्ण र उल्लासमय अवसरमा स्वदेश तथा बिदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना ब्यक्त गरे । उनले जेन–जी विद्रोह पछि बनेको बालेन सरकारले जनताको आशा र अपेक्षा पुरा गर्न नसक्दा जनतामा वितृष्णा र असन्तुष्टि बढ्दै गएको तथ्य प्रस्तुत गर्दै सरकारले सुशासनको नारा दिए पनि भ्रष्टाचारी र कमिशनखोरहरुलाई कारवाही गर्न नसकेको ठोकुवा गरे ।
यसैगरी, महासचिव विप्लव सीले बालेन सरकारले जनताको विशेषगरी विद्यार्थी र पेशागत संगठनमाथि प्रतिबन्ध लगाएर निरकुशता लादेको तथ्य प्रस्तुत गर्दै सरकारको भ्रष्टाचारी, कालोबजारी, तस्करी, मिटरब्याजी र नियन्त्रणमुखी कार्यले जनता आजित हुँदै गएको ठोकुवा गरे । उनले बालेन सरकारबाट राष्ट्र र नेपाली जनताको समस्याको समाधान नहुने कुरा विगत आठ महिनाको शासनले प्रमाणित गरेको बताए ।
महासचिव विप्लव सीले देश र जनताको समस्या समाधान गर्न राज्य व्यवस्था र नेतृत्व मै परिवर्तन गर्नुको विकल्प नभएको र यसका निम्ति नेपाली विशेषताको समाजवादी व्यवस्था र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्व निर्विकल्प भएको ठोकुवा गर्दै नेपाली जनतालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र यसको नेतृत्वलाई साथ र अवसर दिन आह्वान समेत गरे ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा प्रवक्ता प्रकाण्ड सीलगायतका केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा संगठन अधिवेशन आयोजक समितिका सदस्य पौरखले स्वागत मन्तब्य राखेका थिए भने संगठन अधिवेशन आयोजक समितिका सदस्य असिना सीले शुभकामना मन्तब्य राखेकी थिइन् । स्थानीय जनताको उल्लेख्य सहभागितामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संगठन अधिवेशन आयोजक समितिका सदस्य सबिन सीले गरेका थिए ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले १३ औं पार्टी पुर्नगठन दिवसको अवसरमा स्थानीय जनताको सहभागितासहित कम्युन मार्गको उद्घाटन गरेको बताइएको छ ।
यसैगरी, मंसिर ९ गते सो पार्टीको नवौं केन्द्रीय समितिको संगठन अधिवेशन आयोजक समितिको सचिवालयको तेस्रो बैठक बसेर आगामी कार्यक्रमको विकास गरेको बताइएको छ । – क्षेप्यास्त्र साप्ताहिक
