इजरायलमा रहेका नेपालीलाई संयमित, सतर्क र सुरक्षित रूपमा बस्न आग्रह
काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई संयमित, सतर्क र सुरक्षित रूपमा बस्न आग्रह गरेको छ। दूतावासले मंगलबार “अत्यन्त जरुरी” भन्दै आठ बुँदे सूचना जारी गर्दै वर्तमान अवस्थालाई ध्यानमा राखी सावधानी अपनाउन अनुरोध गरेको हो।
दूतावासका अनुसार आपतकालीन परिस्थितिमा सहयोगका लागि द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्ज कुमार शाहलाई मोबाइलमार्फत सम्पर्क गर्न सकिनेछ। श्रेष्ठको सम्पर्क नम्बर +९७२–५३५३६०७४८ र शाहको नम्बर +९७२–५४५५८२०७७ रहेको छ।
दूतावासले इजरायल सरकार तथा यसको आधिकारिक निकाय, विशेष गरी होम फ्रन्ट कमाण्डले जारी गर्ने निर्देशनहरू अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ। साथै, अलर्ट एसमएस प्राप्त भएमा वा साइरन बजेमा कुनै पनि लापरबाही नगरी नजिकको बम सेल्टरमा तुरुन्तै जान निर्देशन दिइएको छ।
नेपाली नागरिकलाई राहदानी, परिचयपत्र, सवारी चालक अनुमति पत्र, बैंक कार्ड लगायतका आवश्यक कागजात सधैं साथमा राख्न र विकसित घटनाक्रमबारे नियमित जानकारी अपडेट राख्न पनि सुझाव दिइएको छ।
यसैगरी, सामाजिक सञ्जालमा देखिने युद्धसम्बन्धी भिडियोहरू अनावश्यक रूपमा सेयर नगर्न, तथा परिवार, साथीभाइ र आफन्तसँग नियमित सम्पर्कमा रहन पनि दूतावासले अनुरोध गरेको छ।
