चीन भ्रमणमा रहेका ट्रम्प र चीन–अमेरिका सम्वन्ध ः एक चर्चा
आज बिश्व राजनीतिमा बिकसित भएको एउटा जटील परिस्थितिमा करीब एक दशकपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प दोश्रो पटक चीनको महत्वपूर्ण भ्रमणमा निस्किएर बेइजिङ्ग पुगेका छन् । यो अमेरिकी राष्ट्रपति ट्रम्पको बेइजिङ्ग भ्रमण अहिलेको विश्व राजनीतिको संवेदनशील क्षणमा भइरहेको छ। यसले अमेरिका–चीन सम्बन्धलाई स्थिर बनाउने हो कि अझै तनावपूर्ण बनाउने हो दुबै सम्भावना बोकेको बिश्लेषहरुले औंल्याइरहेका छन् । यतिबेला विशेषतः ईरानमाथि थोपरिएको युद्ध, व्यापार कर, ताईवानलाई उक्साउने भड्काउने समस्या र कृत्रिम बुद्धिमत्ता(एआई) जस्ता विषयमा चीन र अमेरिकाको बार्ता केन्द्रित हुने प्रष्ट देखिएको ज्ञाता र अध्येताहरुले बताइरहेका छन् । द्ययपि तीमध्ये कतिपय महत्वपूर्ण कुरा प्रकाशित होलान् र कतिपय अप्रकाशित रहलान् अहिले त्यो अडकलाबाजीकै घेराभित्र रहने कुरा हुन्छ । तथापि अहिलेको बिश्वका ज्वलन्तरुपमा खडा भएका र उठिरहेका बिषयहरु र तिनको समाधान बिश्वको हितमा होला कि नहोला भन्ने प्रश्न नै आजको बिश्व राजनीतिको केन्द्रिय प्रश्न बनिरहेको यथार्थ भने कतै लुकेछिपेको छैन । सबै यतिबेला कान ठाडा पारेर यीनै बिषयहरुमा घोत्लिएका छन् भन्ने बस्तुगत कुरा औंल्याउन सकिन्छ ।
ईरानमाथि लादिएको युद्ध आजको मूल र ज्वलन्त बिषय
यो भ्रमणमा सबैभन्दा महत्वपूर्ण बिषय ट्रम्पले चीनलाई ईरानसँग वार्ता पुनः आरम्भ गर्न गराउन दबाब दिने पहिलो र महत्वपूर्ण अपेक्षा छ । स्ट्रेट अफ होर्मुज बन्द गरेर ईरानले जुन बिश्व ब्यापारको किलकिले समातेको छ त्यसलाई नखुलाउने हो भने बिश्व संकटले अझ थप जटीलतालाई सकिनसकी झेल्नुपर्ने हुन्छ भने त्यसलाई खुलाउने प्रयासले वैश्विक ऊर्जा आपूर्ति श्रृंखलामा ठूलो सकारात्मक प्रभाव पार्न सक्ने क्ुरा निश्चत छ । त्यसैले यो बिषय ट्रम्पको चीन भ्रमणको सर्बोपरी समाधान खोजिनुपर्ने बिषय बनेको छ । यद्यपि बाहिर हेर्दा भने अमेरिकी नेतृत्वले यो बिषयलाई उत्तिको प्राथमिकतामा नराखेको आफु फँसेको कुरालाई ढाकछोप गरेर अरु नै बिषय केन्द्रित भएको जस्तो देखाउन खोजेको पनि प्रतीत भइरहेको छ ।
ट्रम्प पुनः सत्तासीन पछि बिश्व ब्यापारमा कचल्टिएका समस्या
डोनाल्ड ट्रम्पको भ्रमणको अर्को महत्वपूर्ण एजेण्डा अमेरिका–चीन व्यापार युद्धलाई रोक्ने वा नयाँ सम्झौता गर्ने सम्भावनाको अर्को ज्वलन्त बिषय हो । अमेरिकाको ब्यापार कर बढाउने नीतिले यो बिश्व ब्यापारमा ठूलो समस्या खडा गरेको छ । मूलतः चीन र अमेरिकाको ब्यापारमा ठूलो समस्या पैदा भएको छ । यस भ्रमणका बेल दुइ देशका बीच उत्पन्न गरिएको तनाव र समस्यालाई सुल्झाउने कुरा हुनसकने दोश्रो महत्वपूर्ण बिषय देखिएको छ । चीनले मूलतः अमेरिबाट कृषि सामाग्री, अत्याधुनिक विमान तथा ऊर्जा खरिद बढाउने विषयमा छलफल र सकारात्मक निष्कर्श निस्कन सक्ने सम्भावनाको कुरा पनि औंल्याइदै छ ।
अमेरिकाको आडधापमा उत्पन्न ताईवान संकट
इतिहासदेखि नै चीनको अभिन्न अंग रहँदै आएको ताईबानलाई जन गणतन्त्र चीनलाई मान्यता नदिएर अमेरिकाले समस्या खडा गरेदेखियता निकै पछि आएर अमेरिकाले एक चीन नीति मान्ने करा गर्ने गरे पनि ताईबानलाई उचाल्न अन्य कुराका अतिरिक्त सबैभन्दा बढी हात हतियार आपूर्ति गर्दै आएको प्रश्न चीनको लागि निकै गम्भीर छ र उसले बारम्बार यो कुरा यत्रतत्र उठाइरहेको हुन्छ । सर्सरी हेर्दा ताईबान अमेरिकाको समर्थन र चीनको दबाब बीचको संबेदनशील बिषय बस्तु बनेजस्तो देखिन्छ र यस संबेदनशील बिषयले एशियाली शान्ति सुरक्षामा पनि प्रत्यक्ष असर पारिरहेको छ र यसको सही समाधान बिना बिश्व शान्तिको सुनिश्चितता झनै टाढा हुने र कुनै पनि बेला युद्धको अबाञ्छित अनिबार्यता खडा हुन पनि सक्ने स्थिति बिद्यमान छ । त्यसैले यो बिषयले पनि चीन र अमेरिका बीचको बार्तामा उच्च प्राथमिकता पाउनु स्वाभाबिक छ ।
उच्च प्रबिधि कृत्रिम बुद्धिमत्ता(एआई) समस्या
राजनीतिक, आर्थिक,सामाजिक तथा साँस्कृतिक प्रतिस्पद्र्धाका अतिरिक्त चीन र अमेरिकाका बीच बिज्ञान र प्रबिधि खाशगरी पछिल्लो समय प्रविधि नेतृत्वको प्रतिस्पर्धा अझै तीव्र हुँदैछ।खाशगरी कृत्रिम बुद्धिमत्ता(एआई)ले उनीहरु बीचको भविष्यको वैश्विक शक्ति संरचनालाई निर्धारण गर्नेदेखिन्छ। यसको बिकासले अर्थ,राजनीति, सामाजिक तथा साँस्कृतिक सबै क्षेत्रमा अपूर्ब प्रभाव पार्ने भएकोले यसमा बिश्वका दुइ महाशक्तिका बीच प्रभूत्वको ब्यक्त अब्यक्त प्रतिस्पद्र्धा रहेको छ ।
बिश्व भू–राजनीतिको प्रभावको प्रश्न
चीन र अमेरिकाका बीचको सम्वन्धमा बिश्वका राष्ट्र समुदाय बीचको सम्बन्धसँगको भू–राजनीतिले पनि ठूलो प्रभाव पार्ने र र्ने देखिएको छ । अमेरिकाले सबैतिर हात हालेको भए पनि अहिले त्यो लच्किएर पश्चिमा गालार्धमा कम्तिमा आफ्नो प्रभाव कायम रहनु पर्ने जोडदार वकालत गरिरहेको छ र आफ्नो जोडदार उपस्थिति कायम राख्न र प्रभाव सुदृढ गर्न जस्तोसुकै कदम चाल्न पनि उद्यत र उदण्ड देखिदै आएको छ । चीनले पनि एशिया, अफ्रिका र खाडीका देशहरुमा आफ्नो आर्थिक सम्वन्ध पहिलाभन्दा बढी जोडतोडले बिस्तार र बिकास गर्न थालेको छ । यसले गर्दा बिश्व नयाँ शक्ति सन्तुलन बिकसित र बिस्तार हुने प्रसव पीडाबाट गुज्रिरहेको छ ।
यी माथि उल्लिखित संकटहरुको बस्तुगत परिप्रेक्षमा यतिबेला बिश्वको ऊर्जा बजार र अमेरिका र इज्रालयद्वारा लादिएको ईरान युद्धको समस्या समाधान भएमा तेल इन्धनको मूल्य स्थिर हुने र समाधान नभएमा तेलको मूल्य बढ्ने र बिश्व मूल्य श्रृखला अझ खल्बलिने र थप संकट पैदा हुने स्थिति टडकारो छ । त्यसरी नै पूर्बबत ब्यापार सम्झौता भएमा बिश्व ब्यपार स्थितिमा स्थिरता पैदा हुने र कायम रहने हुन्छ भने सम्झौता नभई असफल भएमा नयाँ ब्यापार शुल्क र तनाब बढने कुरा निश्चित छ । साथै ताईबान समस्या समाधान गर्ने सहमति भएमा क्षेत्रीय शान्ति सुस्थिर हुने र यो असफल भएमा थप सैन्य प्रतिस्पर्धा हुन गई युद्धजन्य तनाव बढ्ने कुरा पनि त्यत्तिकै सोचनीय छ । अनि दुई देशका बीच कृत्रिम बुद्धिमत्ता—एआई प्रबिधिका सम्वन्धमा उपयुक्त सहकार्य हुन सकेमा त्यसले नब प्रबर्तनतर्फ लैजाने र त्यसको समाधान ननिस्किएर प्रतिस्पद्र्धाको स्थिति रहेमा त्यसले प्रबिधिको संसारमा पनि अस्थिरता र सन्देह बढाउने कुरा निश्चित छ । अनि अन्ततः दुइ देशका बीच सही किसिमले सहकार्यको बाटो निस्किएमा बिश्वमा स्थिरता र सन्तुलन पैदा हुने र अन्यथा भएमा नयाँ शीत युद्ध र थप युद्धजन्य तनाव उत्पन्न हुने कुरा पनि प्राय निश्चित नै छ ।
यी सबै तर्क र तथ्यका आधारमा तिनबाट जोगिन र सामना गर्न जुन जोखिम र चूनौतिहरु छन् तिनलाई हलगर्न दुबै देश सही निष्कर्शमा पुग्न र कार्यान्वयनमा तदारुखताकासाथ लाग्न सके भने मध्यपूर्बको समस्या खाशगरी ईरान युद्धको अन्त्य हुने छ । अन्यथा यो जटील युद्ध अझ चर्कने छ । अमेरिकाले र खाश गरेर डोनाल्ड ट्रम्पको चीन भ्रमणको सफलता अन्य कुरामाभन्दा बढी यसै कुरामा निर्भर छ । दोश्रो महत्वपूर्ण कुरा ताईवान समस्या नै हो । यसमा उपयुक्त पूर्ब मान्यताका आधारमा ठोस सम्झौता भएमा यसले बिश्व शान्तिमा समेत योगदान दिने छ अन्यथा सैन्य संघर्षको अनपेक्षित स्थिति उत्पन्न हुनेछ ।त्यसरी नै ब्यापारमा पनि सहजीकरणको सम्झौता हुन सकेमा बिश्व आफूर्ति श्रृंखलामा जुन गतिरोध पैदा भएको छ त्यसबाट मुक्त हुने स्थिति बन्ने छ अन्यथा थप समस्या र जटीलताकै दिशामा धकेलिने निश्चित छ । त्यसगरी प्रबिधिमा दुइ देशले खाशगरी एआई र डिजिटल सञ्जालमा बेग्ला बेग्लै प्रतिमान र मानक बिकास गरेमा बिश्व बिभाजिवत हुनसक्ने सम्भाबना पनि त्यत्तिकै रहेको बिश्लेषकहरु औंल्यिाउँदछन् ।
निष्कर्शमा चीनको भब्य स्वागत तथा आदर सत्कार पाएको अमेरिकी राष्ट्रपति ट्रम्पको यो भ्रमणले बिश्वको राजनीति, अर्थतन्त्र र सुरक्षामा के कस्तो प्रभाव पार्नेछ आगामी दिनमा देखिनै नै छ । यसले अमेरिकाको घरेल्ु राजनीतिमा पनि तदनुकूलको असर पार्छ नै ।

