एसईई पूरक परीक्षाको समय तालिका सार्वजनिक
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरले पूरक परीक्षा २०८३ साल असार १ गतेदेखि सञ्चालन गर्ने गरि तालिका सार्वजनिक गरेको हो।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिनेछ। पहिलो दिन असार १ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। परिक्षा असार ९ गतेसम्म प्राविधिक धारका विभिन्न विषयहरूको परीक्षा सञ्चालन हुने जनाइएको छ।
पूरक परीक्षामा २०८२ सालको मूल एसईई नियमित परिक्षाना सहभागी ‘Not Graded’ भएका परीक्षार्थी मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ। नतिजा रद्द भएका परीक्षार्थी भने पूरक परीक्षामा सहभागी हुन नपाउने स्पष्ट गरिएको छ।
बोर्डले परीक्षा हलमा प्रवेशपत्र अनिवार्य गरिएको तथा मोबाइल, स्मार्ट घडी लगायत विद्युतीय उपकरण लैजान निषेध गरिएको जनाएको छ। परीक्षा केन्द्र सम्बन्धी जानकारी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त गर्न सकिनेछ। त्यस्तै, अपाङ्गता भएका, सुत्केरी तथा किरियापुत्री परीक्षार्थीका लागि आवश्यक सहजीकरण गर्न केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ।

