सार्वजनिक पदमा रहेका र अवकाशप्राप्त अधिकारीहरूलाई सम्पत्ति विवरण बुझाउन आह्वान

२०८३ बैशाख ३१ गते, बिहीबार

काठमाडौँ । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका वर्तमान पदाधिकारी तथा सेवा निवृत्त व्यक्तिहरूलाई आफ्नो र परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्तिको पूर्ण विवरण पेश गर्न औपचारिक आह्वान गरेको छ। आयोगले बिहिबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै बहालवालादेखि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री लगायत सहसचिव तहका कर्मचारीहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको हो । आयोगले प्रकाशित गरेको सूचना अनुसार, १६ प्रकारका सार्वजनिक पदाधिकारीहरूले सम्पत्ति विवरण बुझाउनुपर्नेछ । आयोगले उनीहरूलाई एक महिनाको समयसीमा तोकेको छ ।
आयोगले आफै, आफ्नो प्रतिनिधिमार्फत अनि इमेलबाट पनि सम्पत्ति विवरण बुझाउने सुविधा दिएको छ । सूचनामा भनिएको छ, ‘जानीजानी अपूर्ण वा झुट्टा व्यहोराको सम्पत्ति विवरण भरी बुझाउने वा तोकिएको अवधिभित्र सम्पत्तिको विवरण नै नबुझाउनेहरूका हकमा कानुन बमोजिम हुने ब्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’
आयोगले सार्वजनिक गरेको सूचना अनुसार, बहालवाला प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्मले एक महिनाभित्र आयोगमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ । हरेक वर्ष नियमित रूपमा सम्पत्ति विवरण बुझाउनेले पनि आयोगमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ । ती बाहेक संविधानसभा समेत गरेर सबै बहालवाला र पूर्व सांसदहरूको सम्पत्ति विवरण बुझाउनुपर्नेछ । संवैधानिक निकायबाट पदमुक्त भएका प्रमुख तथा पदाधिकारी, पूर्वन्यायाधीश र राजपत्रांकित प्रथम श्रेणी९सहसचिव० तहका नेपाली सेनाका अवकाशप्राप्त अधिकारीले विवरण बुझाउनुपर्नेछ ।
प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीदेखि सहायकमन्त्रीसम्म, प्रदेश सभाका सांसददेखि अरू पदाधिकारी, महान्यायाधीवक्तादेखि प्रदेश मुख्यन्यायाधीवक्ताहरु, जिल्ला विकास समितिदेखि हालका जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख, अध्यक्ष एवं उपप्रमुखले पनि सम्पत्ति विवरण बुझाउनुपर्नेछ ।
राष्ट्रपति र उपराष्ट्रपति सबै निकायका सल्लाहकार, स्वकीय सचिव, निजी सचिव र त्यस्तै खालका पदाधिकारीहरुको पनि सम्पत्ति छानबिन हुनेछ । आयोगले राज्यकोषबाट सुविधा लिने र नलिनेगरी नियुक्त भएका दुवै खालका ती पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन भनेको छ ।
सहसचिव र त्यो भन्दा माथिका सबै अर्थात मुख्यसचिव सम्मका पदाधिकारी छानबिनमा पर्नेछन् । सरकारले निजामती, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानका साथै अरू सेवाका सहसचिवदेखिका कर्मचारीहरु पनि छानबिनमा पर्ने भनेको हो ।
नेपाली दुतावास र कूटनीतिक नियोगका प्रमुख र कर्मचारीहरुमाथि पनि छानबिन हुनेछ । यदि कार्यालय प्रमुखको रूपमा काम गरेको भए सबै सेवाका उपसचिव सरहका कर्मचारी पनि छानबिनमा पर्नेछन् । सुरक्षा निकायको हकमा पनि त्यही मान्यता लागू हुनेछ । कार्यालय प्रमुख नभएको हकमा भने सहसचिव सरहलाई सीमा तोकिएको छ । सम्पत्ति विवरण पेश गर्दा घरजग्गा, बैंक मौज्दात, शेयर लगानी, ऋण, व्यवसाय र कृषिजन्य आयसहितका स्रोतहरू स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरिएको छ। विवरणका लागि आवश्यक फाराम आयोगको केशरमहलस्थित कार्यालय वा वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।
आयोगले सूचनाको अवज्ञा गर्ने वा नियतवश गलत विवरण बुझाउने व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिएको छ। थप स्पष्टताका लागि सरोकारवालाहरूले आयोगको इमेल वा वेबसाइटमार्फत सम्पर्क गर्न सक्ने जनाइएको छ।
स्मरणीय छ, सरकारले बैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्व प्रहरी नायव महानिरीक्षक(डीआईजी) गणेश केसी र चार्टर्ड एकाउन्टेण्ट प्रकाश लम्साल सदस्य छन् । एक वर्षको पदावधि पाएको आयोगले सार्वजनिक पदाधिकारीहरुको सम्पत्ति जाँचबुझ गरेर कुनै कैफियत भेटिएमा तत्काल सरकारलाई विवरण सहित प्रतिवेदन बुझाउनुपर्नेछ । आयोगले आफ्नो काम सकिएपछि सरकारलाई अन्तिम प्रतिवेदन बुझाउनेछ ।

प्रतिक्रियाहरु

[anycomment]