पोखरा-दुबई दैनिक सिधा उडान सेवा सुरु हुँदै
काठमाडौँ । पोखरा-दुबई दैनिक सिधा उडान सेवा सुरु हुने भएको छ। आगामी सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले पोखरा-दुबई-पोखरा रुटमा दैनिक सिधा उडान सेवा सुरु गर्ने भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको उडान तालिका सोमबार स्वीकृत गरिसकेको र तोकिएको मितिदेखि दैनिक उडान सुरु हुने जानकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दिएका छन्। उडान अनुमति दिनुअघि फ्लाई दुबईको प्राविधिक टोलीले केही दिनपहिले मात्रै पोखरा विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालन सम्बद्ध पक्षको विस्तृत निरीक्षण समेत गरेको थियो।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत पोखरामा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकहरूलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयभित्रै यो महत्वपूर्ण उपलब्धि हासिल भएको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईले उडान अनुमति पाएसँगै नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको यस विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा ठूलो प्रगति भएको बताएका छन्।
प्रमुख आचार्यका अनुसार यो केवल एउटा हवाई सेवा थपिने विषय मात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिको विस्तार र काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसर समेत हो। दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप र अफ्रिकालगायत विश्वका ३०० भन्दा बढी सहरसँग पोखरा सिधै जोडिने उनको भनाइ छ।
