प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदको विरोध जारी
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदले अवरोध जारी राखेका छन्। निर्धारित समयभन्दा दुईघण्टा ढिलो गरी शुरु भएको बैठकमा विपक्षी सांसदले उठेर विरोध जनाएका हुन्। विपक्षीले उठेर विरोध जनाइरहेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेकी सांसद पद्मा अर्याललाई बोल्न समय दिएका छन्।
सभामुखले आदेश दिएपछि अर्यालले प्रधानमन्त्री बालेन शाहले सदनमा जवाफ नदिएसम्म बैठक अगाडि बढ्न नसक्ने बताइन्। उनले प्रधानमन्त्री बालेन शाहले माफी माग्नुपर्ने र संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने माग गरिन । उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेकाले निसर्त उक्त भूमि फिर्ता हुनुपर्ने बताइन्। उनले भनिन्,’एकताबद्ध भएर भूल सुधार गर्दै प्रधानमन्त्रीले क्षमा याचनासहित रेकर्ड हटाउन आवश्यक भएकाले त्यो नहुँदासम्म आज बैठक स्थगित गरियो। राष्ट्रिय संकल्प प्रस्ताव पारित गरौं।’
उनले अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्मा पेश गरेको आर्थिक विधेयकका पृष्ठ र करमा दर हेरफेर भएको पाइएको भन्दै आपत्ति जनाएकी छन्। उनले तत्काल छानबिन गर्नुपर्ने बताइन्।
