बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु
काठमाडौँ । वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार उद्धार गरिएका सात जनालाई नालन्दा मेडिकल कलेज तथा अस्पताल पठाइएको थियो। घाइतेमध्ये केहीलाई थप उपचारका लागि पटनासमेत रेफर गरिएको छ। डुंगामा सवार सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम रहेको उनले बताइन्।
दुर्घटनापछि रातभर उद्धार कार्य जारी राखिएको थियो। घटनास्थलमा राज्य विपद् प्रतिकार्य बल र स्थानीय गोताखोर परिचालन गरिएको थियो। उद्धारका क्रममा १३ जनाको शव फेला परेको जिल्ला अधिकारी सिंहले जानकारी दिइन्।
घटनाको अवस्था बुझ्न स्थानीय अस्पताल पुगेकी जिल्ला अधिकारी सिंहविरुद्ध आक्रोशित स्थानीयले नाराबाजीसमेत गरेका थिए। दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बिहारका मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई राज्य सरकारका तर्फबाट प्रतिपरिवार चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्। उनले उद्धार कार्य तीव्र बनाउन र घाइतेलाई गुणस्तरीय उपचार उपलब्ध गराउन प्रशासनलाई निर्देशनसमेत दिएका छन्।
यसैगरी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका प्रत्येक परिवारका निकटतम सदस्यलाई दुई लाख भारतीय रुपैयाँका दरले अनुग्रह सहायता दिने घोषणा गरेका छन्। घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराइने उनले बताएका छन्। मुख्यमन्त्री चौधरी र प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। – एजेन्सी
