चिनियाँ कम्युनिस्ट पार्टीद्वारा भ्रष्टाचार नियन्त्रणमा जोड

२०८३ कार्तिक १६ गते, सोमबार


काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले भ्रष्टाचार नियन्त्रणमा जोड दिदै आफ्ना अधिकारीहरूको सम्पत्ति र अनलाइन गतिविधिमाथि कडा निगरानी बढाउने तयारी गरेको छ। आइतबार सार्वजनिक भएको एक पार्टी दस्तावेजमा आफ्ना अधिकारीहरूको सम्पत्ति र अनलाइन गतिविधिमाथि निगरानी बढाउने खाका प्रस्तुत छ।
सीसीपीको शक्तिशाली केन्द्रीय समितिको यो दस्तावेज सिन्ह्वा न्यूज एजेन्सीद्वारा प्रकाशित भएको हो। यो बेइजिङमा यस साता सम्पन्न पार्टीको वार्षिक पूर्ण बैठकपछि आएको हो जसले शासन व्यवस्था र भ्रष्टाचार नियन्त्रणमा जोड दिएको थियो।
चीनमा राष्ट्रपति सी जिनपिङले एक दशकभन्दा बढी समयदेखि भ्रष्टाचारविरुद्ध कडा अभियान चलाएका छन्। यस क्रममा हजारौँ अधिकारी फसेका छन् भने शक्तिशाली केन्द्रीय समितिका दर्जनौँ सदस्य र थुप्रै उच्च सैन्य अधिकारीहरूलाई पदमुक्त गरिएको छ।
आइतबार सार्वजनिक भएको प्रस्तावले पार्टीको नीति दिशा स्पष्ट पार्दै अधिकारीहरूमाथि कडा अनुगमनको आह्वान गरेको छ। ‘उच्च पदस्थ अधिकारीहरूबाट सुरु गर्दै हामी अधिकारीहरूको सर्वाङ्गीण व्यवस्थापन र नियमित निगरानीलाई कडा बनाउने छौँ। उनीहरूको सम्पूर्ण करियरभरि कडा मापदण्ड लागू गर्ने छौँ,’ यसमा भनिएको छ।
‘परिवारको सम्पत्ति र खर्च सामान्य आम्दानीभन्दा धेरै बढी भएकाहरूको जाँच गरिने छ र सम्बन्धित प्रमाणीकरण गरिने छ,’ प्रस्तावमा उल्लेख छ। अधिकारीहरूका जीवनसाथी र छोराछोरीका व्यापारिक गतिविधिमाथि पनि निगरानी बढाइने बताइएको छ। ‘हामी पार्टी सदस्यहरूको अनलाइन व्यवहारलाई अझ राम्रोसँग नियमन गर्ने छौँ,’ प्रस्तावमा उल्लेख छ।
प्रस्तावमा पार्टीले ‘भर्चुअल’ मुद्रा र ‘ब्लकचेन’मार्फत हुने भ्रष्टाचारविरुद्ध पनि लड्ने उल्लेख छ। बिहीबार सकिएको पूर्ण बैठकले ‘पार्टीको पूर्ण र कडा शासनलाई अगाडि बढाउने’ निर्णय अपनाएको हो जसमा कार्यकर्ताहरूद्वारा हुने गरेका भनिएका भ्रष्टाचार घटाउने कुरा समावेश छ।
सिन्ह्वाले थप ३३ जना उच्च पदाधिकारीहरूलाई निष्कासन गरिएको पुष्टि गरेको छ। यसमा पूर्व पोलिटब्युरो सदस्य झाङ यौसिया पनि रहेका छन्। उनी एक समय चीनका सर्वोच्च दर्जाका जनरल थिए। पार्टीका समर्थकहरूले चीनको भ्रष्टाचार नियन्त्रण अभियानले स्वच्छ शासनलाई प्रवद्र्धन गर्ने विश्वास गर्छन्।
यद्यपि, विश्लेषकहरूले यी कदमहरू सन् २०२७ को पहिलो छ महिनापछि हुने पार्टी कंग्रेस (सम्मेलन) मा सीको शासन थप लम्ब्याउने बाटो सहज बनाउन लक्षित रहको हुनसक्ने बताएका छन्।
आइतबारको केन्द्रीय समितिको प्रस्तावले ‘पार्टीभित्रको लोकतन्त्रको प्रभावकारिता सुधार्ने’ आह्वान पनि गरेको छ। सदस्यहरूलाई आफ्ना विचार व्यक्त गर्ने थप माध्यम उपलब्ध गराउने र उनीहरूलाई ‘मन खोलेर बोल्न’ प्रोत्साहित गर्ने कुरा यसमा छ।
‘हामीले पार्टीभित्र लोकतन्त्र अभ्यास गर्ने प्रणालीलाई कायम राख्नु र सुधार गर्नुपर्छ, पार्टी सदस्यहरूको प्रमुख स्थानको सम्मान गर्नुपर्छ र उनीहरूका लोकतान्त्रिक अधिकारको रक्षा गर्नुपर्छ,’ केन्द्रीय समितिको प्रस्तावमा भनिएको छ।

प्रतिक्रियाहरु

[anycomment]