‘अर्नब’ चक्रवातको प्रभाव :नेपालका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना

२०८३ कार्तिक १० गते, मंगलवार


काठमाडौँ । बंगालको खाडीमा विकसित ‘अर्नब’ नामक अति शक्तिशाली चक्रवातको प्रभावले बिहीबारदेखि नेपालका अधिकांश भूभागमा वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यस चक्रवातको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी पर्ने तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुन सक्ने जनाएको छ।
महाशाखाका अनुसार विशेषगरी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। यसै गरी लुम्बिनी प्रदेशका केही ठाउँमा मध्यमदेखि भारी वर्षा हुनसक्नेछ भने कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम र एक-दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।
वर्षाको प्रभावसँगै उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार क्षेत्रमा उल्लेख्य वर्षा भई जलसतह बढ्न सक्ने चेतावनी दिएको छ। प्राधिकरणले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम महाशाखाले हिमाली क्षेत्रमा जाने पर्यटक तथा पदयात्रीलाई जोखिमयुक्त स्थानमा नजान र गइसकेकालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। त्यसै गरी किसानहरूलाई बिहीबारअघि नै पाकेको धानबाली भित्र्याउन तथा जोखिमयुक्त सडक र पहिरो जान सक्ने क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सुझाइएको छ।
यसैबीच, भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा पनि चक्रवातलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको छ। भारतीय मौसम विभागका अनुसार चक्रवात बुधबार बिहान आन्ध्र प्रदेशको बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्नेछ, जहाँ निरन्तर ११५ देखि १२५ किलोमिटर प्रतिघन्टा र झोक्का १४० किलोमिटरसम्मको हावाहुरी चल्न सक्नेछ।
जोखिमयुक्त क्षेत्रमा सेना, जलसेना, वायुसेना र विपद् प्रतिकार्य बललाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ भने तटीय क्षेत्रका केही जिल्लामा शिक्षण संस्था बन्द गरिएका छन्। भारतमा पर्ने यो प्रत्यक्ष प्रभावको अवशेष उत्तरपश्चिम भारत हुँदै नेपालतर्फ सर्न सक्ने र अर्को पश्चिमी वायु प्रणालीसँग अन्तरक्रिया हुँदा नेपालमा वर्षा झनै तीव्र हुन सक्ने मौसमविद्को अनुमान छ।

प्रतिक्रियाहरु

[anycomment]