भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले ध्यान दिनुपर्ने कुराहरु

२०८३ कार्तिक १० गते, मंगलवार

डा. केशव देवकोटा


प्रधानमन्त्री बालेन्द्र साहले अगामी मंसिरको पहिलो साताबाट छिमेकी भारतको औपचारिक भ्रमण गर्ने कुराहरु प्रचार गरिएका छन् । तर औपचारिक र आधिकारीक निर्णय सार्वजनिक पनि भएको छैन भने प्रधानमन्त्री तहबाट सर्वदलीय बैठक गरेर सुझाव र सल्लाह लिने काम पनि भएको छैन । त्यसैले भारतसँग हुने वार्ता कमजोर र त्रुटीपूर्ण हुने सम्भावना छ । नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा नेपालको राष्ट्रिय हित, सार्वभौमिकता, आर्थिक समृद्धि, सुरक्षा र दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई केन्द्रमा राख्नुपर्ने कुरा जगजाहेर छ । भारत नेपालको छिमेकी तथा व्यापार, पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धसँग जोडिएको देश भएकाले प्रधानमन्त्री तहबाट हुने भ्रमणलाई औपचारिक भेटघाटमामात्र सीमित नराखी ठोस उपलब्धि, स्पष्ट प्रतिवद्धता र कार्यान्वयनयोग्य सहमति हासिल गर्ने अवसरकारुपमा लिनुपर्ने हुन्छ । त्यसैले यस्तो भ्रमणमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राखिएको हुनुपर्दछ । दुई देशबीचका सबै विषय समानता, पारस्परिक सम्मान र आपसी हितका आधारमा उठाइएको हुनुपर्दछ । नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र राष्ट्रिय प्राथमिकतासँग मेल खानेगरी समझदारी तथा सम्झौता गर्नुपर्दछ । दीर्घकालीन रुपले प्रभाव पार्ने विषयमा पर्याप्त अध्ययन र राष्ट्रिय सहमति सुनिश्चित गर्नुपर्दछ । नेपाल र भारतबीच सीमा विवाद र सीमा व्यवस्थापनका कुरा धेरै महत्वपूर्ण रहेका छन् । प्रधानमन्त्रीले गत जेठ १७ गते संसदको बैठक मै नेपालले पनि भारतको जमिन अतिक्रमण गरेको भनेपनि त्यसमा कुनै सत्यता रहेको छैन् ।
किनकी सन् १८१६ को कथित सुगौली सन्धीमार्फत नेपालको ठूलो भू–भाग जबरजस्त भारतमा गाभिएकाले कसैगरेपनि नेपालले भारतीय भूमि अतिक्रमण गरेको प्रमाणित हुन सक्दैन । त्यसैले प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका क्रममा सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी नेपालको आधिकारिक दाबीलाई प्रमाण र कूटनीतिक सम्वादका आधारमा प्रस्तुत गरेको हुनुपर्दछ । सुस्तालगायतका सीमा विवादको समाधानका लागि वार्ता, प्राविधिक संयन्त्र र समयवद्ध कार्ययोजनामा जोड दिइनु पर्दछ । सीमा स्तम्भको मर्मत, सीमाक्षेत्रमा हुने अतिक्रमणसम्बन्धी उजुरी तथा सीमावर्ती नागरिकका समस्या समाधानमा विशेष चनाखोपन देखाउनु पर्दछ । सीमा व्यवस्थापन गर्दा स्थानीयबासिन्दाको आवागमन, जीविकोपार्जन र मानवीय आवश्यकतालाई समेत ध्यान दिइनुपर्दछ । त्यसैगरी नेपालको भारतसँगको व्यापार घाटा घटाउने विषयलाई पनि प्राथमिकतामा राखेर कुरा गर्नु पर्दछ । नेपाली चिया, अलैँची, अदुवा, जडीबुटी, कृषि उपज, हस्तकला र अन्य उत्पादनको भारतीय बजारमा सहज पहुँचका लागि पहल गर्नु पर्दछ । भारतलाई गैरभन्सार अवरोध, खाद्य तथा वनस्पति गुणस्तर प्रमाणीकरण र भन्सार प्रक्रियाका समस्या समाधान गर्न आग्रह गर्नुपर्दछ ।
नेपालमा भारतीय लगानी भित्र्याउँदा रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण र नेपाली उद्योगको विकासलाई केन्द्रमा राखिएको हुनुपर्दछ । पारवहन सुविधा, रेलमार्ग, एकीकृत जाँच चौकी र सीमावर्ती पूर्वाधारको प्रभावकारी सञ्चालन सुनिश्चित गरिएको हुनुपर्दछ । त्यसैगरी नेपालको जलविद्युत उत्पादन क्षमता र भारतीय बजारको मागलाई जोडेर दीर्घकालीन विद्युत व्यापारको प्रबन्ध गरिनुपर्दछ । भारतमा नेपाली विद्युत निर्यात गर्दा स्वीकृत प्रक्रिया, बजार पहुँच, मूल्य निर्धारण र भुक्तानीमा स्थिरता सुनिश्चित गर्न पहल गरिनु जरुरी छ । ठूला जलविद्युत आयोजना र प्रसारण लाइन निर्माणमा ढिलाइ हटाउने तथा लगानीका शर्त पारदर्शी बनाउने कुरामा पनि विशेष ध्यान दिनुपर्दछ । बंगलादेशमा नेपालको विद्युत निर्यात बढाउन भारतको प्रसारण संरचना प्रयोग गर्ने विषयमा निश्चित संझौता गरिएको हुनुपर्दछ । जलविद्युत आयोजनामा नेपालको स्वामित्व, आम्दानी, वातावरणीय प्रभाव र स्थानीय समुदायको हित सुरक्षित गर्नेगरी सम्झौता र सहमति गरिएको हुनुपर्दछ । त्यसैगरी नेपाल, भारत ऊर्जा सहकार्यको विद्यमान रुपरेखामा विद्युत व्यापार, प्रसारण लाइन र संयुक्त आयोजनाको विकासमा विशेष ध्यान दिइनु आवश्यक छ । त्यसैगरी कोशी, गण्डक, महाकालीलगायतका नदीसँग सम्बन्धित सन्धि, सम्झौता र कार्यान्वयनको अवस्थाको समीक्षा गरिनु पनि त्यतिकै आवश्यक छ । सीमावर्ती क्षेत्रमा बर्सेनि हुने बाढी, डुबान र नदी कटान नियन्त्रणका लागि संयुक्त कार्ययोजना बनाउनुपर्ने आवश्यकता पनि छ । जसकाबारेमा भारतसँग खुलेर कुरागर्ने र स्पष्ट नीति बनाउने प्रयास गरिएको हुनुपर्दछ । नदीको पानीको उपयोग, सिँचाइ, जलविद्युत उत्पादन र लाभको बाँडफाँटमा नेपालको हित सुनिश्चित भएको हुनुपर्दछ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालगायतका आयोजनामा बाँकी रहेका प्राविधिक तथा आर्थिक विषय समाधान गर्न समयसीमा तोकिनु पर्दछ ।
हरेकवर्ष मनसुन शुरु हुनुअघि नै दुवै देशका सम्बन्धित निकायबीच समन्वय र सूचना आदान–प्रदानको प्रभावकारी व्यवस्था गरिएको हुनुपर्दछ । त्यसैगरी खुल्ला सीमाको ऐतिहासिक तथा सामाजिक महत्व कायम राख्दै मानव बेचबिखन, लागूऔषध ओसार–पसार, तस्करी र अन्य सीमापार अपराध नियन्त्रण गर्ने–गराउने विषयमा पनि खुलेर वार्ता हुन सक्नुपर्ने देखिएको छ । सीमा सुरक्षासम्बन्धी निकायबीच सूचना आदान–प्रदान र संयुक्त समन्वय बढाउनेतर्फ पनि ध्यान दिइनु आवश्यक छ । दुबै देशको भूमि कुनैपनि छिमेकी विरुद्ध प्रयोग हुन नदिन के गर्न–गराउन सकिन्छ ? त्यसबारे पनि नेपाल र भारतले आपसमा स्पष्ट नीति बनाउन सक्नुपर्दछ । त्यसैगरी दुबै देशका सीमावर्ती क्षेत्रका नागरिकको आवागमन र व्यापारमा अनावश्यक अवरोध नआउने व्यवस्था कसरी मिलाउन सकिन्छ ? भन्नेबारेमा पनि बिचार बिमर्श भएको हुनुपर्दछ । विपद् व्यवस्थापन, साइबर सुरक्षा र आतंकवाद विरुद्धको सहकार्यलाई आवश्यकताअनुसार विस्तारगर्ने प्रबन्ध पनि गरिनु आवश्यक छ । सीमा स्तम्भको मर्मत, सीमापार अपराध नियन्त्रण र सीमा पूर्वाधार दुवै देशका सुरक्षा संयन्त्रबीचमा नियमित छलफलको प्रबन्ध गरिएको हुनु पर्दछ । नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक हवाई प्रवेश मार्गको विषय पनि तत्काल उठाउनुपर्ने अवस्था रहेको छ ।
नेपालका विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सहज बनाउन प्राविधिक र नियामकीय सहकार्य कसरी व्यवस्था गर्न सकिन्छ भन्नेबारे पनि छलफल हुनुपर्ने देखिएको छ । त्यसैगरी तेश्रोे मुलुकसँगको व्यापारका लागि भारतीय बन्दरगाह र पारवहन मार्गको भरपर्दो उपयोग सुनिश्चित गरिनु आवश्यक छ । रेलमार्ग, सडक, एकीकृत जाँचचौकी र सीमा नाकाको क्षमता विस्तारमा समानताका आधारमा सहमति गरिएको हुनु पर्दछ । त्यसैगरी भारतमा काम गर्ने नेपालीहरुको पारिश्रमिक, सामाजिक सुरक्षा, आवास र कानूनी संरक्षणका विषयमा पनि छलफल गरिनुपर्ने अवस्था रहेको छ । भारतमा अध्ययनरत नेपाली विद्यार्थीको छात्रवृत्ति तथा शैक्षिक अवसर विस्तार गर्ने विषयमा पनि छलफल हुनुपर्ने देखिन्छ । त्यसैगरी पेन्सन, स्वास्थ्य उपचार, आपत्कालीन उद्धार र कन्सुलर सेवासम्बन्धी समस्या समाधानका लागि पनि निश्चित ब्यवस्था गरिएको हुनु पर्दछ । दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन र पारिवारिक सम्बन्धलाई थपसहज बनाउनेबारे पनि छलफल गरिनुपर्ने देखिएको छ । नेपाल र भारतको सीमामा रहेका नेपाली नागरिकहरुले भोग्दै आएका कतिपय व्यावहारिक समस्या समाधानका लागि सम्पर्क संयन्त्र स्थापना गरिनुपर्ने देखिएको छ ।
त्यसबारे पनि प्रधानमन्त्रीले गम्भिर छलफल गरेको हुनुपर्दछ । भारतसँगको सम्बन्ध सुदृढ बनाउँदा नेपालको स्वतन्त्र परराष्ट्र नीति र रणनीतिक स्वायत्ततालाई पनि ध्यानमा राखिएको हुनुपर्ने देखिन्छ । नेपालका अन्य मित्रराष्ट्रसँगको सम्बन्धलाई भारतसँग नदाँज्ने ब्यवस्था गरिएको हुनुपर्दछ । क्षेत्रीय सहयोग, जलवायु परिवर्तन, विपद् व्यवस्थापन र दक्षिण एशियाली आर्थिक सहकार्यमा साझा हित खोज्नुपर्ने अवस्था रहेको छ । भारतसँग कुनैपनि सम्झौता गर्दा नेपालको दीर्घकालीन हित, आर्थिक लागत र सम्भावित प्रभावको वस्तुनिष्ठ मूल्यांकन गरिएको हुनुपर्दछ । प्रधानमन्त्रीको भ्रमणको उपलब्धि संयुक्त वक्तव्य वा सम्झौतामा हस्ताक्षर हुनुमात्र होइन, त्यसको सहज कार्यान्वयन पनि होभन्ने कुरालाई पनि प्रधानमन्त्रीले ख्याल गर्नु बढी उपयुक्त हुन्छ । प्रधानमन्त्रीको भारत भ्रमणअघि सर्बदलीय बैठकगरेर सबैका सुझावका आधारमा नेपालले उठाउने विषयको प्राथमिकता सूची तयारगरिनु जरुरी छ ।
प्रत्येक प्रस्तावका लागि आवश्यक तथ्यांक, कानूनी आधार, लागत र वार्ताको स्पष्ट लक्ष्य निर्धारण गरिएको हुनुपर्दछ । सम्झौतामा कार्यान्वयनको समयसीमा, जिम्मेवार निकाय, वित्तीय श्रोत र अनुगमन प्रक्रिया पनि निश्चित र लिखित गरिनुपर्दछ । त्यस बाहेक विगतका भ्रमणमा भएका सम्झौता तथा परियोजनाको प्रगति समीक्षा पनि जरुरी देखिएको छ । भारत नेपालको छिमेकी मुलुक हो । अर्कातिर चीन पनि रहेको छ । त्यसैले वार्ता र सहमति तथा संझौंता सन्तुलित हुनुपर्दछ । यसअघिका प्रधानमन्त्रीका भ्रमणजस्तै भारतलाई ठूल्दाई र चीनलाई पराईको व्यवहार गरियोभने त्यसले कदापि नेपाल र नेपालीको भलो गर्दैन । जुनकुरा भारतको औपचारिक भ्रमणमा जानलाग्नुभएका वर्तमान प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो मनमा राख्नुपर्ने विषय हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु