अमेरिकी विश्व–व्यवस्थाको मिथक
दोस्रो विश्वयुद्धका दुई नायक देशहरू सोभियत संघ र संयुक्त राज्य अमेरिकाबीचमा लामो र तनावपूर्ण शितयुद्ध अमेरिकाको पक्षमा अन्त्य भयो । त्यसलगतै अमेरिकाले विश्वमा एक ध्रूवीय विश्वव्यवस्था लाद्न पुग्यो । तर आज विश्व बहुध्रूवमा प्रवेश गरेको छ । बहुध्ू्रवीय विश्वको नाभीमा चीन छ । त्यसकारण अमेरिकाले चीनको विरुद्ध सबै मोर्चाबाट आक्रमण गरिरहेको छ । दक्षिण चीन सागरबाट जल सेना र नेपाली भू–भागबाट स्थल सेना परिचालन उसको रणनीति देखिन्छ । भारत–अमेरिका आणविक वार्ताकार समेत रहेका निकोलस बर्नको ‘अमेरिकी मान्यता र हितलाई धम्की दिने, अमेरिकाका साझेदार तथा गठबन्धन सदस्यहरू विरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने कार्य बन्द गर्न, चीन सरकारलाई नियममा आधारित भएर जवाफदेही बनाउन, नियममा आधारित अन्तर्राष्ट्रिय मूल्यप्रति जवाफदेही बनाउन, वासिंगटनले भूमिका निर्वाह गर्नुपर्छ’ भन्ने भनाईले अमेरिकी घमण्डको पर्दाफास गरेको छ । अमेरिकी वरिष्ठ कूटनीतिज्ञ समेत रहेका बर्नले चीनको अभिन्न अङ्ग ताइवानलाई पृथकतावादी बाटो समात्न सुरक्षा दिने र हिन्द–प्रशान्त क्षत्रेमा थप सैन्य अखडा निर्माण गर्ने घोषणा गरेका छन् । त्यही अमेरिकी रणनीति अन्तर्गत एमसीसी परियोजना ल्याइएको स्पष्ट हुन्छ । त्यसैले एमसीसी चीनको पनि उत्तिकै सरोकारको विषय हो ।
(क) चीनको चुनौति ः– अध्यक्ष माओ नेतृत्वको चीनले तिब्बतमाथि आफ्नो सार्वभौमिक अखण्डता कायम ग¥यो । त्यसपछिका नेताहरूले हङकङ र मकाओ सुरक्षित गरे । त्यही स्तरको भूमिका खेल्न अबको चीन र चिनियाँ नेताहरूलाई ताइबानमाथि नियन्त्रण गर्नुपर्ने आन्तरिक दबाब र वाध्य चुनौति देखिन्छ । वर्तमान चिनियाँ नेतृत्व त्यसको लागि तयार देखिन्छ । जसको कारण पश्चिमी जगत अत्तालिएको छ । ताइबान प्रशान्त क्षेत्रको मुख्य व्यापारिक ‘करिडोर’ हो । ताइवानमा चीनको नियन्त्रण भयो भने प्रशान्त क्षेत्रमा चीनको एकाधिकार हुनेछ अथवा अमेरिकी गठबन्धनको पराजय हुनेछ । त्यस्तो अवस्थामा प्रशान्त क्षेत्रका अमेरिकी साझेदारहरू गुम्ने छन् वा उनीहरूको भूमिका कमजोर हुनेछ । ताइवानको विषयलाई लिएर चीन–अमेरिका युद्ध भएमा चीन आफ्नो भूमिबाट लड्नेछ भने अमेरिकाले जापान, दक्षिण कोरिया, फिलिपिन्स आदिमा भर पर्नुपर्नेछ । यी गठबन्धन देशहरूले चीनको दबाब थेग्न असम्भव छ । किनकि रुस, कोरिया जस्ता शक्तिहरू चिनियाँ ध्रूवमा छन् । त्यसो त चीनमाथिको आक्रमणले सम्पूर्ण विश्व प्रभावित हुनेछ । विश्वको बहुमत जनसंख्या अमेरिकाको विरुद्ध उभिन सक्छ ।
आज अमेरिका ताइवानको मामिलामा चीनसँग सहकार्य गर्नुपर्ने बाध्यात्मक अवस्थामा छ । चीनसँग लड्ने आर्थिक सामथ्र्य, विश्वजनमत र अमेरिकी जनमत अमेरिकी सरकारसँग छैन । त्यसो गर्दा अमेरिकालाई व्यापार घाटा हुनेछ र चीनसँग गलेको सन्देश जानेछ । चीनले ताइवान निकट समुद्री ढुवानी मार्ग नियन्त्रण गर्न सक्छ ताइवान विश्व कै महत्वपूर्ण ‘सेमी–कण्डक्टर हब’ (Semi-Conductor/manufact uocing Hub) हो । लेखक रिचर्ड हान्सले “सफल विदेश नीतिको लागि कठोर लेनदेन आवश्यक हुन्छ” भनेका छन् । उनी थप्छन् “बलियो र आक्रामक चीनसँग व्यवहार गर्ने हो भने अमेरिकाले उसको नीतिमा परिवर्तन गर्नुपर्छ ।” रिचर्डको भनाइ र सोभियत संघको अनुभवले पनि वैचारिक पतन नभएसम्म चीनलाई झुकाउन सम्भव हुने छैन ।
(ख) अमेरिकी लोकतन्त्रको मृत्यु ः– दोस्रो विश्व युद्धपछि प्रारम्भ भएर सन् १९९० पछि उत्कर्षमा पुगेको अमेरिकी नेतृत्वको उदारवाद र भूमण्डलीकरण अमेरिकामा नै असफल भएको छ । सन् १९९८ को संयुक्त राष्ट्र विकास कार्यक्रम(UNDP) को प्रतिवेदनमा भनिएको छ, “धनाढ्य मानिसहरू आफूलाई आफैले तिव्रता साथ गरीव मान्छेहरूबाट पृथक गर्दै लगेका छन् ।”
अमेरिकी समाज दुई वर्गमा बाँडिने क्रम तिव्र भएको छ र सामाजिक असन्तुलन तिव्र भएको छ । दुई दशक अगाडि कै एउटा प्रमाणिक सर्भेक्षण अनुसार अमेरिकामा १० लाख घरबारविहिन बच्चाहरू छन् । १ करोड ५० लाख बच्चाहरू पेटभरि खान पाउँदैनन् । अमेरिकामा हरेक १२ सेकेण्डमा एकजना महिला माथि हिंसा हुन्छ । त्यसमध्ये ५० प्रतिशत गर्भवति भएका हुन्छन् । हरेक ८ मिनेटमा १ जना महिला बलत्कार हुन्छन् । हरेक ६ महिनेटमा १ जना महिला मारिन्छन् । अमेरिकामा सामाजिक विघटन र घरेलु हिंसा यस्तो चरम अवस्थामा छ कि आकस्मिक सेवा (अस्पताल)मा जाने अधिकांश मान्छे घरेलु हिंसा पीडित हुन्छन् । अमेरिका संसारमा सबैभन्दा धेरै कैदी–बन्दी भएको देश हो । जहाँ २० लाख जेलमा छन् । अर्कोतिर ४०० धनीहरूसँग १ करोड खरब डलर सम्पत्ति छ । यो चीनको एक वर्षको सम्पूर्ण कुल गार्हस्थ उत्पादन (GDP) भन्दा बढी हो । बिल गेट्स र वार्रेनबफ्फेटको सम्पत्ति २० लाख नागरिकको. भन्दा धेरै छ । जहाँ ४० प्रतिशत नागरिक स्वास्थ्य बिमाबाट बाहिर छन् । सन् १९९९ मा पूर्व वित्तमन्त्री रुविनले धनी र गरीवबीचको दूरी कम नगर्ने हो भने ठूलो संकट निम्तने चेतावनी दिएका थिए । त्यसरी अमेरिकी लोकतन्त्र मुठ्ठिभरी धनीहरूको कब्जामा छ । उनीहरूलाई लोकतन्त्र होइन सम्पत्ति चाहिएको छ ।
विश्वको कुल गार्हस्थ्य उत्पादन (GDP) एक तिहाई भाग माथि ५ सयवटा बहुराष्ट्रिय कम्पनीको नियन्त्रण छ । विश्वका तीन–चौथाई व्यापारमा उनीहरू कै नियन्त्रण छ । सन् १९९७ को एक प्रतिवेदन अनुसार विकसित र विकासशील देशहरूका २० प्रतिशत जनताको आयको अनुपात १९९७ मा ७४ः१, १९९० मा ६०ः१, १९६० मा ३०ः१ थियो । असमानताको दर यसरी तिव्र भएको छ । जसको कारण विश्वमा हरेक दिन ६७ हजार मान्छे गरिवीको रेखामुनी धकेलिएको छ । यसको मूल कारण अमेरिकी विश्व व्यवस्था र आर्थिक प्रणाली जिम्मेवार छ । त्यसैकारण नोबेल पुरस्कार बिजेता जोसेफ ष्टिग्लिट्जले मुख्य अपराधी र विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) लाई असफल संस्था भनेका छन् ।
(ग) संकटमोचन सम्भव छ ः– युद्ध, हिंसा, अभाव, उत्पीडन र असमानता पूँजीवादी उत्पादन, वितरण र आर्थिक नीतिको कारण उब्जेका कचेरा (Eye Boogers) हुन । विश्वका सम्पूर्ण कुपोषण मुक्त गर्न अनुमानित १३ अरब डलरको आवश्यकता पर्दछ । तर युरोपमा मात्रै हरेक वर्ष ५० अरब डलर धुम्रपान र १०५ अरब डलर मदिरापानमा उडाइन्छ । सैन्य खर्च प्रतिवर्ष (विश्व) ८ सय डलर हुन्छ । विश्वभरिका बच्चाहरूको प्रारम्भिक (आधारभूत) शिक्षाको लागि वार्षिक ६ अरब डलर लाग्छ । तर अमेरिकामा मात्रै २ अरब डलर त सौन्दर्य संशाधन (क्रिम–पाउडर) मा खर्च गरिन्छ । संसाधनको होइन कि व्यवस्थापकीय प्रणालीको समस्या हो भन्ने स्पष्ट हुन्छ । तर एकाधिकार पूँजीवादका मसिहा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF), विश्व बैंक (WB) र विश्व व्यापार संगठन (WTO) भने संरचनात्मक सुधार र भूमण्डलीकरण प्रवद्र्धन गर्न मै तल्लिन छन् । लोकतन्त्रको हत्या र धनिकतन्त्रको प्रवद्र्धन गरिरहेका छन् । जसको कारण एकातिर धनपतिहरूको संख्या वृद्धि भइरहेको छ भने अर्कोतिर ‘आर्थिक शरणार्थीहरू’को संख्या अरबौं भएको छ । खाद्यान्न, पानी रोजगार, ऊर्जा, स्वास्थ्य, शिक्षा र बजारलाई लिएर हिंसा तथा युद्धमा बढोत्तरी अनिवार्य बन्दैछ । कथित सूचना क्रान्तिको आँखा यो यथार्थप्रति रतन्धो रोगी बनेको छ । जसलाई लेखक सुभाष धुलियाले ‘सूचना प्रतिक्रान्ति’ भनेका छन् ।
(घ) सि चिङफिङको माओकरण ः– नेताहरू विभाजित भए भने जनता र कार्यकर्ता विभाजित हुन्छन् र जन अपेक्षा तथा आवश्यकताको सम्बोधन भएन भने जनता विद्रोहमा उत्रिन सक्छन् । सोभियत संघ त्यसको ताजा उदाहरण हो । चिनियाँ नेताहरू त्यसप्रति सजग देखिन्छ । अग्रजप्रति सम्मान (रूपमै भएपनि) र जनचासोप्रति चिन्ता वर्तमान चिनियाँ नेतृत्वको सरोकार देखिन्छ । चीनको पतन चाहनेहरू त्यसबाट निराश छन् । भारतीय लेखक शिवकान्त भन्छन्, “चिनी इतिहासको यो ‘सि’ करण चिनी इतिहासको माओकरण सरह हो । भारत र अन्य लोकतान्त्रिक देशहरूको लागि यो चिन्ताको विषय हो (नोभेम्बर १६, २९२१, प्रभात खबर दैनिक) ।” आफ्नै पिता सांस्कृतिक क्रान्तिको समयमा कारवाहीमा परेको भएपनि वर्तमान नेतृत्वले विगतको आलोचना गरेको देखिन्न । बलियो र साझा खुशी निर्माणको पैरवी गरिरहेको छ । जनअसन्तुष्टि घटाउने, आन्तरिक एकता सुदुढ गर्ने र बाहिरी दुश्मनका विरुद्ध देशभक्तिकरण गर्ने चिनियाँ रणनीति देखिन्छ । आर्थिक प्रगति, सैन्य शक्ति, गरिवी विरुद्ध संघर्ष हङकङ–मकाओ सुदृढीकरण, ताइवानमाथि दबाब, दक्षिण चीन सागर (चाइना सी) माथि नियन्त्रण, सिन्जियान र अरुणाञ्चलमाथि प्रभाव विस्तार र अक्साई–चीन नदी जोड्ने अभियानलाई अमेरिकी गठबन्धनले माओकरण भनिरहेको छ । माओको सिद्धान्त र व्यवस्थालाई हेरेर होइन उनीहरूको स्वार्थ प्रतिकुल हुनु नै ‘सी’को माओकरण भनेर हल्ला गरिन्छ ।
(ङ) समाजवादी सत्ताका समस्या र चीन ः– सरकार नियन्त्रित अर्थतन्त्रले पूर्ण समाजवादी सत्तामा उत्पादकत्वको वृद्धि र कुशलतामा पूँजीवादसँग प्रतिस्पर्धा गर्न सकेन । पूँजीवादले पारिश्रमिक वा सुविधा प्रोत्साहनद्वारा उत्पादकत्व वृद्धि गर्ने नीति लियो । समाजवादी सत्ताले त्यसको विकल्प दिन सकेन । पुरानो समाजको विरासतको रूपमा आएको भ्रष्टाचार र जडताले निरन्तरता पायो । भ्रष्टाचार र नोकरशाही तन्त्र विरोधी स्वरलाई दमन गर्न खोज्दा सत्ताप्रतिको आक्रोश सिद्धान्त र प्रणालीसम्म निसानामा प¥यो । जबकी पूँजीवादले आक्रोश र विरोधलाई व्यक्ति र सरकारसम्म कैद गरेर व्यवस्थालाई सुरक्षा कवचको काम गर्दछ । पूँजीवादले उपभोक्ता संवेदनशीलतालाई उपभोक्तावादसम्म तन्कायो । त्यसले विशाल मध्यमवर्गको जन्म भयो । कुलिन र मध्यम वर्गको जीवनयापनमा निरन्तर सुधार ग¥यो । तर समाजवादी सत्ताले श्रमिक वर्गमा स्थिर भौतिक अवस्था कायम ग¥यो । गतिशीलता भएन । सामाजिक विकास निश्चित स्तरमा पुगेर स्थिर हुँदा नयाँ पुस्ता असन्तुष्ट बन्न गयो ।
कम्युनिष्ट आदर्श गुट संघर्ष र स्वार्थमा प्रकट भएको सोभियत संघको यथार्थ थियो । असन्तोषले प्रतिस्पर्धा गर्न पाएन । चीनमा पनि त्यसैप्रकारका समस्या प्रकट भइरहेका छन् । चीनले विरासतबाट पाठ सिकेन भने स्थिति चुनौतिपूर्ण हुनेछ ।
(च) चीन साम्राज्यवादी अमेरिका होइन ः¬ चीनलाई अमेरिका सरह एउटै चस्माले हेर्ने नीति सही छैन । किनकी चीनले विश्व साम्राज्यवादको नेतृत्व गर्दैन । चीनले छिमेकी देशप्रति हस्तक्षेपको नीति र फौजी हमला गरेको छैन । यद्यपि अबको नयाँ औपनिवेशिक चरण ब्रिटेन र अमेरिकी चरणजस्तै हुनेछैन । आज विश्व बहुध्रूवमा प्रवेश गर्नुमा चीनको मुख्य भूमिका रहेको छ । चीन–रुस–कोरिया–क्यूवा–भेनेजुयला–इरान–पाकिस्तान हुँदै अफगानिस्तान मोर्चा निर्माणमा चीनको भूमिका नै मुख्य छ । चीनको व्यापक उत्पादनले विश्वभरि कै श्रमिक जनताको स्तरमा सुधार ल्याएको छ । आज कपडा टालेर लगाउनभन्दा नयाँ खरिद गर्न सस्तो हुनुको श्रेय चीनलाई नै जान्छ । त्यसो त चीन पूँजीवादको नयाँ प्रयोग स्थल भइरहेको छ । त्यसैले चौतर्फी र एकै प्रकारको बुझाइ र प्रहार सही हुँदैन । एकता र संघर्षको उचित तालमेल आवश्यक छ । चीनले आपूmलाई क्रान्तिकारीकरण गरेन भने सोभियत संघको नियति टाढा छैन ।
निष्कर्ष– अमेरिकाले आपूmलाई विश्व व्यवस्थाको नाइके ठानेको छ । तर वैचारिक र आर्थिक रूपले अमेरिकाको वर्चस्व गुमिसकेको छ । बुढो बाघले जथाभावी आक्रमण गरेभैंm उसले युद्ध थोपर्न र अराजकता सृजना गर्न सक्छ । तर नियन्त्रण गर्न सम्भव छैन । अमेरिकी बजारमा संकुचन त्यसको मूल कारण हो र त्यसमा सुधारको सम्भावना देखिन्न । त्यसैले भविष्यमा अमेरिकी विश्व व्यवस्थाको घमण्ड मिथक मात्रै हो; अबको यथार्थ होइन ।
– प्रस्तुत लेख ‘युक्रेनमा नव–नाजिवाद’ पुस्तकबाट अनुवाद गरिएको हो : अनिल शर्मा

