मङ्गल ग्रहको चन्द्रमाबाट धुलो ल्याउन अन्तरिक्ष यान प्रक्षेपण
काठमाडौँ । जापानबाट मङ्गल ग्रहको चन्द्रमा ‘फोबोस’तर्फ एउटा अन्तरिक्ष यान प्रक्षेपण गरिएको छ। यसले त्यहाँबाट केही धुलो सङ्कलन गरी पृथ्वीमा ल्याउने प्रयास गर्नेछ।
यो अभियान सफल भएमा मङ्गल ग्रह वा यसका चन्द्रमाहरूबाट नमुना ल्याएर पृथ्वीका प्रयोगशालामा परीक्षण गर्न लागिएको यो पहिलो पटक हुनेछ। उक्त अन्तरिक्ष यान सन् २०२७ को अगस्टमा फोबोसमा पुग्ने तालिका छ। जापानी अन्तरिक्ष एजेन्सीको नेतृत्वमा रहेको मार्स मुन्स एक्सप्लोरेसन (एमएमएक्स) मिसनले मङ्गल ग्रहका चन्द्रमाहरू कसरी बने भन्ने रहस्य सुल्झाउने अपेक्षा गरिएको छ।
एमएमएक्स मिसनको नमुना विश्लेषणतर्फकी उपप्रमुख तथा नेचुरल हिस्ट्री म्युजियमकी प्राध्यापक सारा रसेलले भनिन्, ‘अहिलेसम्म फोबोसमा गएर त्यहाँको केही अंश पृथ्वीमा ल्याउने कुनै पनि मिसन सफल भएको छैन। मेरो विचारमा यो निकै महत्त्वाकाङ्क्षी र रमाइलो मिसन हो।’
भित्री सौर्यमण्डलमा जम्मा तीनवटा मात्र चन्द्रमा छन्: हाम्रो आफ्नै चन्द्रमा र मङ्गल ग्रहको परिक्रमा गर्ने फोबोस र डेमोस नामका दुई चन्द्रमा। यी दुवै निकै साना छन्। फोबोसको चौडाइ करिब २० किलोमिटर र डेमोसको करिब १० किलोमिटर छ। यिनीहरूको आकार पनि अनियमित छ र हेर्दा अन्तरिक्षका आलु जस्ता देखिन्छन्।
मङ्गल ग्रहको छिमेकमा पुगेपछि एमएमएक्स अन्तरिक्ष यानले पहिले डेमोसको अध्ययन गर्नेछ र त्यसपछि फोबोसमा ध्यान केन्द्रित गर्नेछ। यसले त्यहाँको भूभाग अध्ययन गर्न एउटा सानो रोभर अवतरण गराउने योजना बनाएको छ तर यो काम सहज हुनेछैन।
सारा रसेलका अनुसार अहिलेसम्म यति सानो चन्द्रमामा कसैले पनि रोभर अवतरण गराएको छैन। ‘चन्द्रमाको आफ्नै गुरुत्वाकर्षण धेरै हुँदैन,’ उनले प्रस्ट पारिन्, ‘तर यो धेरै उच्च गुरुत्वाकर्षण भएको विशाल ग्रहको छेउमा छ। यसैकारणले सतहमा रोभर अवतरण गराउन निकै गाह्रो हुन्छ।’
रोभरले अवतरण गर्ने ठाउँको खोजी गर्नेछ जसको सहायताले पछि एमएमएक्स अन्तरिक्ष यान आफैँ फोबोसमा अवतरण गर्न सकोस्। सतहमा पुगेपछि यसले रोबोटिक हात र दुईवटा नमुना सङ्कलकको प्रयोग गरी चन्द्रमाको केही धुलो जम्मा गर्नेछ। यो सामग्री एउटा सानो क्याप्सुलमा प्याक गरिनेछ। सन् २०३१ मा यो यान दक्षिण अस्ट्रेलियाको वुमेरा मरुभूमिमा अवतरण गर्दै पृथ्वीमा फर्कनेछ।
पृथ्वीमा ल्याइने नमुनाको मात्रा जम्मा १० ग्राम मात्र हुनेछ। जापानी मिसनसँग काम गरिरहेकी लेस्टर विश्वविद्यालयकी डाक्टर क्रिसा अवडेलिडो भन्छिन्, ‘वास्तवमा यो निकै सानो मात्रा हो। यद्यपि हामी एउटै कणमा पनि धेरै अध्ययन गर्न सक्छौँ। विज्ञानको अध्ययन गर्न सतहबाट किलोका किलो नमुना नै ल्याउनुपर्छ भन्ने छैन। त्यसैले यसको प्रत्येक ग्राम महत्त्वपूर्ण छ।’
यी नमुनाले मङ्गल ग्रहका चन्द्रमाहरू कहाँबाट आए भन्ने रहस्यलाई अन्ततः सुल्झाउने वैज्ञानिकहरूको विश्वास छ। यस विषयमा दुईवटा मुख्य धारणाहरू रहेका छन्। पहिलो धारणाअनुसार मङ्गल ग्रहको सुरुवाती इतिहासमा कुनै अन्तरिक्ष चट्टान यसमा ठोक्किएको हुन सक्छ र त्यसैको भग्नावशेषबाट फोबोस र डेमोस बनेका हुन्। दोस्रो धारणाअनुसार यी चन्द्रमाहरू बाहिरी सौर्यमण्डलबाट घुम्दै आएका दुई क्षुद्रग्रह (एस्टेरोइड) हुन् जसलाई मङ्गलको गुरुत्वाकर्षणले तानेर राखेको हो।
‘जब हामीले नमुना प्राप्त गर्नेछौँ, त्यसपछि यसको रसायन र खनिज संरचनाको विस्तृत अध्ययन गर्न सक्नेछौँ। यी दुई परिकल्पनाले धेरै फरक नतिजाहरू दिनेछन्,’ सारा रसेलले भनिन्, ‘यो कुनै ठुलो ठक्करको परिणाम हो वा तानिएको क्षुद्रग्रह हो भन्ने कुरा लगभग तत्कालै थाहा हुनेछ। त्यसैले हामी निकै चाँडै यसको पत्ता लगाउनेछौँ।’
यस अनुसन्धान टोलीले प्रयोगशालामा नमुना आउँदा केही अतिरिक्त फाइदा पनि हुन सक्ने आशा राखेको छ। रसेलले भनिन्, ‘एउटा साँच्चै रोमाञ्चक कुरा के छ भने फोबोस मङ्गल ग्रहको सतहसँग यति नजिक छ, जब मङ्गल ग्रहको सतहमा कुनै ठक्कर हुन्छ, त्यसका साना कणहरू उडेर फोबोसमा पुगेर टाँसिन सक्छन्। यसको अर्थ हामीले ल्याउने नमुनामा मङ्गल ग्रहका कणहरू पनि हुन सक्छन्। यसले हामीलाई मङ्गल ग्रहको संरचना र इतिहासको बारेमा साँच्चै प्रत्यक्ष जानकारी दिन सक्छ।’
मङ्गल ग्रहबाट सामग्रीहरू पृथ्वीमा ल्याउनु लामो समयदेखि अन्तरिक्ष वैज्ञानिकहरूको महत्त्वाकाङ्क्षा रहँदै आएको छ। सन् २०२१ देखि मङ्गल ग्रहको अन्वेषण गरिरहेको नासाको ‘पर्सेभरेन्स रोभर’ले सावधानीपूर्वक त्यहाँका नमुनाहरू सङ्कलन गरी विशेष भाँडाहरूमा भण्डारण गरिरहेको छ। तर यी नमुनाहरू पृथ्वीमा ल्याउने उद्देश्य राखिएको नासा र युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) को ‘मार्स स्याम्पल रिटर्न’ नामक दोस्रो मिसन प्रभावकारी रूपमा रद्द भएको छ। अमेरिकी कङ्ग्रेसले यसको कोष रोकेपछि यो मिसन रद्द भएको हो।
चीनले मङ्गल ग्रहको नमुना सङ्कलन गर्ने आफ्नै मिसनको योजना बनाइरहेको छ जसलाई सन् २०२८ मा प्रक्षेपण गर्ने तयारी छ। यसले सन् २०३१ मा मङ्गल ग्रहका सामग्रीहरू पृथ्वीमा ल्याउने प्रयास गर्नेछ।
पृथ्वीमा हामीसँग उल्कापिण्डको रूपमा मङ्गलका केही टुक्राहरू पहिलेदेखि नै मौजूद छन्। यी मङ्गल ग्रहका ती टुक्राहरू हुन् जुन क्षुद्रग्रहको प्रहारले सतहबाट उछिट्टिएका थिए र अन्ततः पृथ्वीतर्फ हुत्तिएका थिए।
मङ्गल ग्रहका उल्कापिण्डहरू अत्यन्तै दुर्लभ हुन्छन् तर हाम्रो ग्रहमा खस्ने अन्य सबै अन्तरिक्ष चट्टानहरू जस्तै तिनीहरू यहाँ आइपुग्नेबित्तिकै हावा, धुलो, माटो र पानीसँग मिसिएर दूषित हुन्छन्। मङ्गल ग्रह र यसका चन्द्रमाहरूबाट प्रत्यक्ष नमुना प्राप्त गर्न वैज्ञानिकहरू यति धेरै व्यग्र हुनुको मुख्य कारण यही हो। प्रत्यक्ष रूपमा ल्याइएको नमुना बाहिरी वातावरणबाट अप्रभावित र पूर्ण रूपमा शुद्ध हुनेछ। -बीबीसी
