पृथ्वीको तापक्रम प्रतिदशक ०.३५ डिग्री सेल्सियसले बढ्दै !
काठमाडौँ । जर्मनीस्थित ‘पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च’का अनुसन्धानकर्ताहरूले गरेको अध्ययन अनुसार पछिल्लो दशकमा विश्वको औसत तापक्रम बढ्ने गति अत्यधिक तीव्र बनेको छ। सन् २०१५ यता पृथ्वीको तापक्रम वृद्धिदर प्रतिदशक करिब ०.३५ डिग्री सेल्सियस पुगेको छ, जुन सन् १९७० देखि २०१५ सम्मको औसत वृद्धिदरभन्दा झन्डै दोब्बर हो।
प्राकृतिक जलवायु उतारचढाव (जस्तै एल निनो, ज्वालामुखी विस्फोट र सूर्यको गतिविधि) को प्रभाव हटाएर विश्लेषण गर्दा पनि तापक्रम वृद्धिको गति तीव्र भएको पुष्टि भएको छ। वैज्ञानिक जर्नल ‘जियोफिजिकल रिसर्च लेटर्स’ मा प्रकाशित उक्त अध्ययनमा यो निष्कर्षको सांख्यिकीय विश्वास ९८ प्रतिशतभन्दा बढी रहेको छ।
उक्त अध्ययन अनुसार सन् १९७० देखि २०१५ सम्म पृथ्वीको तापक्रम प्रतिदशक औसत ०.२ डिग्री सेल्सियसभन्दा केही कम दरले बढेको थियो। तर, सन् २०१३/२०१४ देखि नै यो गति बढ्न सुरु भई पछिल्लो दशकमा ०.३५ डिग्री सेल्सियस पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
नासा , एनओएए , ह्याडक्रुट, बर्कले अर्थ र इरा५ गरी पाँच प्रमुख तथ्यांक स्रोतको विश्लेषण गरेर यो निष्कर्ष निकालिएको हो। अध्ययनका प्रमुख लेखक स्टेफान रहमस्टोर्फ र सहलेखक ग्रान्ट फोस्टरका अनुसार प्राकृतिक प्रभावहरू समायोजन गरेपछि पनि तापक्रम वृद्धिको गति तीव्र भएको स्पष्ट देखिएको छ।
सन् २०२३ र २०२४ मा विश्वको तापक्रम इतिहासकै रेकर्ड स्तरमा पुगेको थियो। एल निनो र सूर्यको ११ वर्षे सक्रिय चक्रजस्ता प्राकृतिक कारणले तापक्रम बढाउन भूमिका खेलेका भए पनि, ती प्रभाव हटाउँदा समेत दुवै वर्ष मापन सुरु भएयताकै सबैभन्दा तातो वर्ष कायम रहेका छन्।a
पृथ्वीको तापक्रम बढ्ने क्रम मात्र नभई त्यसको गति नै तीव्र हुनुले विश्वले जलवायु परिवर्तनका जोखिमपूर्ण सीमाहरू सोचेभन्दा चाँडै पार गर्न सक्ने भन्दै अनुसन्धानकर्ताहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
