दक्षिण कोरियाद्वारा एआईमा १६ अर्ब डलर लगानी गर्ने !
काठमाडौँ । दक्षिण कोरियाले सन् २०२७ मा कृत्रिम बौद्धिकता(एआई) र सेमिकन्डक्टर क्षेत्रमा १६ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।
राष्ट्रपति ली जे मयुङले संसद्मा प्रस्तुत गरेको बजेट योजनामा यस वर्षको तुलनामा झन्डै दोब्बर रकम विनियोजन प्रस्ताव गरिएको छ ।
सरकारले एआई विकासका लागि २१ खर्ब ३० अर्ब वन छुट्याउने प्रस्ताव गरेको छ । त्यसमध्ये आफ्नै एआई नमुना विकास गर्न चार खर्ब ७० अर्ब वन खर्च गरिनेछ ।
एआई प्रविधिको विस्तारसँगै मेमोरी चिपको माग बढिरहेका बेला दक्षिण कोरियाले यो क्षेत्रमा लगानी बढाउन लागेको हो । सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स विश्वका प्रमुख मेमोरी चिप उत्पादक कम्पनी हुन् । सन् २०२७ को कुल बजेट ८२१ खर्ब वन प्रस्ताव गरिएको छ र यो चालु वर्षभन्दा १२.८ प्रतिशत बढी हो । यो देशकै ठूलो बजेट प्रस्ताव हो ।
सरकारले रक्षा बजेट पनि ८.२ प्रतिशत बढाएर ७३ खर्ब ३० अर्ब वन पुर्याउने प्रस्ताव गरेको छ । आणविक शक्तिबाट चल्ने पनडुब्बी, केएफ–२१ लडाकू विमान तथा एआई, रोबोट र ड्रोनमा आधारित सैन्य प्रणाली विकासलाई प्राथमिकता दिइने राष्ट्रपति लीले बताए । बजेट कार्यान्वयनका लागि संसद्को स्वीकृति आवश्यक पर्नेछ ।
