साउदी अरबद्वारा क्षेप्यास्त्र उत्पादन गर्ने कारखाना विस्तार !

२०८३ कार्तिक ८ गते, शनिबार


काठमाडौँ । अमेरिकी अनुसन्धानकर्ताहरूले एक वर्षभन्दा बढी समयका व्यावसायिक स्याटेलाइट तस्बिर विश्लेषण गर्दै साउदी अरबले लामो दूरीसम्म प्रहार गर्न र बढी क्षमताको विस्फोटक पदार्थ बोक्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन गर्ने उद्देश्यले कारखाना विस्तार गरिरहेको निकालेका छन्।
रोयटर्सका अनुसार अमेरिकास्थित विदेश नीति अनुसन्धान संस्थान (एफपीआरआई) का अनुसन्धानकर्ता साम लेयर र माइकल डुइट्सम्यानले साउदी अरबको राजधानी रियादबाट करिब २०० किलोमिटर पश्चिममा रहेको अल–दुवादिमी क्षेप्यास्त्र कारखानाको तस्बिर अध्ययन गरेका थिए।
उनीहरूका अनुसार कारखानामा क्षेप्यास्त्रको ठोस इन्धन तयार गर्ने नयाँ संरचना निर्माण भइरहेको छ। उक्त संरचनामा इन्धनको मिश्रण क्षेप्यास्त्रको मोटरमा भरेर जमाउन प्रयोग गरिने खाल्डाहरू रहेको अनुमान गरिएको छ। अर्को भवन इन्धनका सामग्री वा क्षेप्यास्त्रका पार्टपुर्जा भण्डारण गर्न प्रयोग हुन सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।
अनुसन्धानकर्ताहरूले नयाँ संरचनाले पहिलेको भन्दा ठूला क्षेप्यास्त्र उत्पादन गर्न सक्ने क्षमता विकास गर्ने संकेत गरेको बताएका छन्। निर्माण कार्य सन् २०२५ अप्रिलमा सुरु भएको र आवश्यक उपकरण जडान भएमा कारखाना यसै वर्षको अन्त्यसम्ममा उत्पादनका लागि तयार हुन सक्ने उनीहरूको आकलन छ।
विशेषज्ञहरूका अनुसार साउदी अरबले चीनको प्रविधिमा आधारित क्षेप्यास्त्र उत्पादन गरिरहेको हुन सक्छ। साउदी अरबको विद्यमान क्षेप्यास्त्र भण्डार र कारखानाको संरचनाले यस्तो सम्भावना देखाएको उनीहरूको भनाइ छ। यद्यपि, कारखाना विस्तारको उद्देश्य र उत्पादन हुने क्षेप्यास्त्रको प्रकारबारे साउदी सरकारले आधिकारिक प्रतिक्रिया दिएको छैन। लामो दूरीका क्षेप्यास्त्रले इरानबाट हुन सक्ने आक्रमण रोक्न साउदी अरबको प्रतिरोधात्मक क्षमता बढाउन सक्ने विश्लेषकहरूको भनाइ छ। त्यस्ता क्षेप्यास्त्रले यमनका इरानसमर्थित हुथी लडाकुविरुद्धको सैन्य क्षमतामा पनि प्रभाव पार्न सक्छन्।
अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन संस्थानका अनुसन्धानकर्ता साशा ब्रुखमानका अनुसार लामो दूरीका क्षेप्यास्त्रले साउदी अरबलाई आफ्ना अमेरिकी निर्मित एफ–१५ लडाकु विमान जोखिममा नपारी इरानसम्म प्रहार गर्न सक्ने क्षमता दिन सक्छन्। यसले इरानसँग रहेको क्षेप्यास्त्र तथा ड्रोन क्षमताको अन्तर केही घटाउन सक्ने उनको विश्लेषण छ। तर साउदी अरबको क्षेप्यास्त्र क्षमता विस्तारले मध्यपूर्वमा हतियार प्रतिस्पर्धा बढाउने जोखिम पनि रहेको छ। संयुक्त अरब इमिरेट्स र टर्कीलगायत क्षेत्रीय शक्तिहरूले समेत आफ्नो आक्रामक तथा रक्षात्मक सैन्य क्षमता विस्तार गरिरहेको रक्षा विश्लेषकहरूले बताएका छन्। यस घटनाक्रमले अमेरिका र साउदी अरबबीच प्रस्तावित नागरिक आणविक सहमतिमा समेत राजनीतिक प्रभाव पार्न सक्ने देखिएको छ। उक्त सहमतिअन्तर्गत अमेरिकाले साउदी अरबलाई विद्युत् उत्पादनका लागि युरेनियम प्रशोधनसम्बन्धी कार्यक्रम स्थापना गर्न सहयोग गर्ने प्रस्ताव छ। तर साउदी अरबले गोप्य रूपमा आणविक हतियार विकास गर्न सक्ने भन्दै अमेरिकी संसद्का केही सदस्यले त्यसप्रति चिन्ता व्यक्त गर्दै आएका छन्।
साउदी अरबले सन् १९८७ मा चीनबाट करिब ४० वटा तरल इन्धनमा आधारित डीएफ–३ ब्यालिस्टिक क्षेप्यास्त्र गोप्य रूपमा खरिद गरेको सन् १९९१ को अवर्गीकृत अमेरिकी गुप्तचर निकाय सीआईएको आकलनमा उल्लेख छ। सन् २०१४ मा साउदी अरबले पहिलोपटक ती क्षेप्यास्त्र सार्वजनिक रूपमा प्रदर्शन गरेको थियो।
अनुसन्धानकर्ताहरूले अहिले विस्तार भइरहेको कारखानामा डीएफ–१५ वा लामो दूरीको डीएफ–२१ जस्ता क्षेप्यास्त्र उत्पादन हुन सक्ने अनुमान गरेका छन्। यद्यपि, कुन प्रकारका क्षेप्यास्त्र उत्पादन गर्ने भन्ने विषयमा स्वतन्त्र रूपमा पुष्टि भएको छैन। साउदी अरबले लामो दूरीका क्षेप्यास्त्र प्राप्त गर्न खोज्दा अमेरिकाले त्यस्ता प्रणालीको निर्यातमा लामो समयदेखि प्रतिबन्ध लगाउँदै आएकाले चीनतर्फ निर्भरता बढाएको हुनसक्ने विश्लेषण गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु