तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला
काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिर खुलेसँगै बिहानैदेखि पूजा, आराधना तथा दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ । वर्षमा एक दिन मात्रै दर्शन गर्न पाइने भएकाले बिहानैदेखि मन्दिर परिसरमा भक्तजन लामबद्ध भएका छन् । भक्तजनलाई सहज रूपमा दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । मन्दिर आज बेलुका ६ बजेसम्म खुला रहने अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन् ।
तलेजु भवानीलाई फूलपातीका दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको हो । विजयादशमीका दिन बिहान मात्रै देवीलाई मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
