औषधि व्यवस्था विभाग ‘राष्ट्रिय एकद्वार प्रणाली’मा आबद्ध

२०८३ आश्विन ३० गते, शुक्रबार

काठमाडौँ । औषधि व्यवस्था विभाग भन्सार विभागले सञ्चालन गरेको ‘राष्ट्रिय एकद्वार प्रणाली’मा आबद्ध भएको हो। बिहिबार आयोजित कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसाल र औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले प्रणालीमा आबद्ध भएको शुभारम्भ गरे।
औषधि व्यवस्था विभागबाट हुने भन्सार विभागसँग सम्बन्धित सबै कागजात अब एकद्वार प्रणालीमा आबद्ध भई ‘अनलाइन’मार्फत हुनेछ।
कार्यक्रममा विभागका महानिर्देशक भट्टराईले भन्सार जाँचपाससँग सम्बन्धित औषधि व्यवस्था विभागका कामलाई अनलाइनमार्फत सेवा प्रदान गर्नका लागि एकद्वार प्रणालीमा आबद्ध गरिएको बताए। उनले जनशक्ति कम भएको अवस्थामा एकद्वार प्रणाली आफ्नो लागि धेरै राम्रो भएको भन्दै आयुर्वेद, फर्मा सबैलाई यस प्रणालीमा समेटिएको बताए। उनले भने – “यसअघि हामीले औषधिसँग सम्बन्धित सबै काम कागजी (म्यानुल्ली) रूपमा गर्दै आइरहेका थियो। अब हामी राष्ट्रिय एकद्वार प्रणालीमा जोडिएर सबै काम अनलाइनमार्फत गर्ने भयौँ। यसले अब सेवाग्राहीको काम छिटोछरितो अनलाइनमार्फत हुने भयो।”
उनका अनुसार औषधि व्यवस्था विभागले अनुमतिपत्र, छुटपत्र, निकासीपत्र, पैठारीपत्र, प्रमाणपत्र जस्ता कार्य अब भन्सार विभागको एकद्वार प्रणालीमामार्फत अनलाइनमा राखिदिने छ।
सोहीअनुसार भन्सार विभागले ती कागजातको अध्ययन गरेर औषधिसँग सम्बन्धित कार्यलाई अनलाइनमार्फत छिटोछरितो गर्नेछ।
भन्सार विभागका महानिर्देशक भुसालले विगत लामो समयदेखिको प्रयास गरे पनि भर्खरै मात्र आफूहरुले सफलता पाएको बताए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु