कच्चा तेलको मूल्य बढ्यो

२०८३ कार्तिक ६ गते, बिहीबार


काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ । रोयटर्सका अनुसार बुधबार बिहान ३:५० जीएमटीसम्म ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १.५९ डलर अर्थात् १.५ प्रतिशतले बढेर ११०.३८ डलर पुगेको थियो । त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) क्रुडको मूल्य १.३६ डलर अर्थात् १.४ प्रतिशतले बढेर प्रतिब्यारेल ९९.१८ डलर कायम भएको थियो ।
यसअघि अघिल्लो कारोबार सत्रमा इरान र पाकिस्तानबीच मध्यस्थताका प्रयासबारे छलफल भएपछि तेलको मूल्य घटेको थियो । तर, मध्यपूर्वको तनाव तत्काल समाधान हुने सम्भावना कमजोर रहेको आकलन र अमेरिकी तेल मौज्दात घटेको विवरणले बजारमा पुनः मूल्य बढाएको हो ।
डीबीएसका ऊर्जा अनुसन्धान प्रमुख सुव्रो सरकारले पछिल्ला केही कारोबार सत्रमा तेलको मूल्यमा ठूलो उतारचढाव देखिएको बताएका छन् । उनका अनुसार नाफा सुरक्षित गर्ने प्रवृत्ति र कतार वा पाकिस्तानको मध्यस्थतामा सम्झौता हुन सक्ने आशाबीच आपूर्ति अवरोधको जोखिमले बजारलाई प्रभावित गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]