नेपालका कम्युनिष्ट पार्टीका विकृति र सुधारका कुरा

२०८३ कार्तिक १ गते, आईतवार
डा. केशव देवकोटा



नेपालका कम्युनिष्ट पार्टीका विकृति र कम्युनिष्ट राजनीतिको भविष्यकाबारेमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । ०८२ भदौ २३ र २४ को घटनाले यहाँको कम्युनिष्ट आन्दोलनलाई धक्का दिएको कतिपयको टिप्पणी पनि सुनिएको छ । त्यसैले सोही सेरोफेरोमा यो आलेख तयार गर्ने प्रयास गरिएको हो । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा लोकतन्त्र, सामाजिक न्याय, श्रमिक अधिकार, भूमिहीन तथा उत्पीडित समुदायको हकहित र समानताका लागि भएका संघर्षहरुको महत्वपूर्ण स्थान रहेको छ । तर राजनीतिक परिवर्तनका लागि योगदान गरेका कम्युनिष्ट पार्टीहरु आफैँले अघिसारेका सिद्धान्त, आदर्श र व्यवहारबीचको दूरीबारे भने अनभिज्ञ रहने गरेका छन् । कम्युनिष्ट राजनीतिमा देखिने समस्या कुनै एउटा पार्टी वा नेतामामात्र सीमित विषय होइन । त्यसको समीक्षा गर्दा यहाँका विभिन्न कम्युनिष्ट पार्टीहरुको संगठनात्मक संस्कृति, नेतृत्वको कार्यशैली, सरकार सञ्चालनको अनुभव र जनताप्रतिको जवाफदेहितालाई समग्ररुपमा केलाउन सक्नुपर्ने हुन्छ । कम्युनिष्ट पार्टीहरुमा देखिएका प्रमुख विकृतिहरुमा सिद्धान्तभन्दा सत्तामुखी राजनीति प्रमुख रहेको पाइन्छ । सत्ता भन्नाले सरकारी सत्ताकोमात्र होइन पार्टीको सत्ताको पनि कुरा गरिएको हो । कम्युनिष्ट राजनीतिले समानता, वर्गीय मुक्ति र जनताको हितलाई प्राथमिकता दिनुपर्ने हो । तर सत्ता प्राप्ति र पदमा टिकिरहने उद्देश्यले बिचारधारा, प्रतिवद्धता तथा राजनीतिक अडानमा नरहने प्रवृत्ति बढ्दो छ । सिद्धान्तअनुसार राजनीति गर्ने भन्दा पनि पदलाई प्राथमिकता दिँदा कम्युनिष्ट पार्टीप्रति नै जनताको विश्वास खस्किएको स्पष्ट छ ।
त्यसैगरी व्यक्तिवाद र नेतृत्वको केन्द्रीकरण पनि बिचारणीय विषय रहेको छ । सामूहिक नेतृत्व, आन्तरिक लोकतन्त्र र आलोचनात्मक बहस कम्युनिष्ट संगठनका महत्वपूर्ण आधार हुन् । तर नेतृत्व लामो समयसम्म सीमित व्यक्तिहरुको नियन्त्रणमा रहनु, नेतृत्व हस्तान्तरण कठीन हुनु र फरक मत राख्नेलाई पर्याप्त स्थान नदिनु नेपालका कम्युनिष्ट पार्टीका संगठनात्मक चुनौती भएका छन् । त्यसैगरी गुटबन्दी, विभाजन र अवसरवादी गठबन्धन विचार, कार्यदिशा र संगठन निर्माणका नाममा हुने विवाद कहिलेकाहीँ व्यक्तिगत स्वार्थ र पदको प्रतिस्पर्धामा सीमित हुन सक्छन् । पार्टी विभाजन तथा अस्थिर गठबन्धनले कार्यकर्तामा अन्योलता सिर्जना गर्न सक्छ । वैचारिक मतभेदलाई संस्थागत बहसबाट समाधान गर्ने संस्कारमा पनि ह्रास आएको देखिएको छ । त्यसैगरी नेताहरुमा लाग्नेगरेको आर्थिक अनियमिततासम्बन्धी आरोप, सार्वजनिक श्रोतको दुरुपयोग तथा राजनीतिक संरक्षणका विषय पनि रहेका छन् । जसमा पार्टीहरुले निष्पक्ष छानबिन र पारदर्शितालाई प्राथमिकता दिनुपर्नेमा सो हुन सकिरहेको छैन । संगठन गर्दा जनताका समस्या उठाउने तर आफ्नो काम सकिएपछि नियमित सम्वाद, जन सुनुवाइ र प्रतिवद्धताको अनुगमन नगर्ने प्रवृत्तिले राजनीति र जनजीवनबीच दूरी बढाएको देखिएको छ ।
किसान, मजदुर, बेरोजगार युवा, साना उद्यमी र सीमान्तकृत समुदायका दैनिक समस्यालाई नीति निर्माणको केन्द्रमा राख्न नसक्नुपनि अर्को समस्या देखिएको छ । त्यसैगरी समानता र समाजवादको कुरा गर्दैमा असमानता स्वतः घट्दैन । कम्युनिष्ट पार्टीहरुले पनि रोजगारी सिर्जना, उत्पादन वृद्धि, भूमिसुधार, श्रमिकको अधिकार, सार्वजनिक शिक्षाजस्ता विषयमा स्पष्ट र कार्यान्वयनयोग्य कार्यक्रम अगाडि बढाउन सक्नु पर्दछ । त्यसैगरी कार्यकर्ता निर्माणभन्दा पद र पहुँचमा जोड दिनेगरेको पाइएको छ । राजनीतिक प्रशिक्षण, अध्ययन, सामाजिक सेवा र वैचारिक विकासभन्दा पद, नियुक्ति, ठेक्कापट्टा वा राजनीतिक पहुँचलाई सफलता मान्ने संस्कार बढेमा कम्युनिष्ट पार्टीहरुको संगठनात्मक गुणस्तर खस्कन सक्छ । यसका साथै पार्टीका सदस्यहरुको मूल्यांकन उसको योगदान, इमान्दारी र क्षमताका आधारमा गरिएको हुनुपर्छ । अन्यथा नेतृत्व बाहिर रहेका नेताहरुमा समेत निराशा बढ्नसक्ने संभावना रहन्छ ।
नेपालका कम्युनिष्ट पार्टीहरुको सबैभन्दा ठूलो कमजोरी भनेको पार्टीलाई बारम्बार विभाजन गराउनु हो । कम्युनिष्ट पार्टीहरुले समाजवाद र जनताको पक्षमा संगठित हुने घोषणा गरेपनि पटक–पटकको विभाजन, गुटबन्दी र नयाँ पार्टीको निर्माणले उपरोक्त घोषणालाई फिका बनाउने गरेको छ । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएलगत्तैबाट विभिन्न चरणमा वैचारिक, रणनीतिक र नेतृत्वगत विवादले पार्टीमा विभाजनको अवस्था सिर्जना गर्नेगरेको इतिहास रहेको छ । नेपालका प्रायः कम्युनिष्ट पार्टीमा नेतृत्वको टकराव हुने गरेको छ । कम्युनिष्ट पार्टीहरुको विभाजनमा विचारको बहसभन्दा नेतृत्व र अधिकारको प्रश्न धेरै पटक उठ्ने गरेको देखिन्छ । त्यसैगरी गुटगत राजनीति पनि राम्रैसँग मौलाएको छ । कम्युनिष्ट पार्टीभित्र फरक मत हुनु लोकतान्त्रिक अभ्यास हो । तर फरक मत स्थायी गुटमा परिणत भएपछि पार्टी संगठनभित्र प्रतिस्पर्धा नीति र कार्यक्रम हराउँदै पार्टीका गतिविधि व्यक्तिको वरिपरि केन्द्रित हुनथाल्छन् । त्यसैगरी नेपालको कम्युनिष्ट आन्दोलनमा वैचारिक अस्पष्टतासमेत रहनेगरेको छ । खासगरी ०४६ सालको परिवर्तन अघिसम्म विभाजनका पछाडि समाजवाद, क्रान्तिको बाटो, राजतन्त्र, संसदीय व्यवस्था र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबारे गम्भीर वैचारिक मतभेद रहने गरेका देखिन्थे । तर हालैमा दिनहरुमा कतिपय पार्टीको एकता र विभाजनको आधार स्पष्ट वैचारिक बहसभन्दा सत्ता, संगठन र नेतृत्वको समीकरण बन्नेगरेको देखिएको छ ।
त्यसैले यहाँका झण्डै दुईदर्जन भन्दा कम्युनिष्ट पार्टी र समूहहरुले आफैभित्र अध्ययन गर्नुपर्ने र त्यसका आधारमा आपूmले आफैलाई सुधार गर्नुपर्ने देखिएको छ । नेपालका कम्युनिष्ट पार्टीहरुले सुधार्नुपर्ने मुख्य विषयहरुमा नेतृत्वमा पुस्तान्तरण र सामूहिक निर्णय प्रणालीलाई प्रमुखरुपमा लिन सकिन्छ । पार्टीको नेतृत्व कुनै व्यक्तिको निजी सम्पत्ति होइन, यो सामूहिक जिम्मेवारीको कुरा हो । त्यसैले निश्चित अवधिमा नियमित महाधिवेशन, प्रतिश्पर्धात्मक नेतृत्व चयन, कार्यकालको सीमा र नयाँ पुस्तालाई जिम्मेवारी दिने व्यवस्था प्रभावकारी बनाउनुपर्छ । नेतृत्वको आलोचनागर्नुलाई नै गुटबन्दी वा अनुशासनहीनता ठान्ने प्रवृत्तिको अन्त्य गरिएको हुनुपर्छ । पार्टीका नेता वा कार्यकर्ता जोसुकै भएपनि आर्थिक अनियमिततासम्बन्धी आरोपको तत्काल र निष्पक्ष छानबिन हुनुपर्दछ । पार्टीको आर्थिक श्रोत चन्दा, सम्पत्ति र खर्चको विवरण पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्छ । त्यसैगरी विचार र व्यवहारबीचको एकरुपतालाई मुख्यकडी बनाइएको हुनुपर्दछ ।
समाजवाद, समानता र श्रमिक अधिकारका नारा भाषणमामात्र सीमित हुनुहुँदैन । कम्युनिष्ट पार्टीहरुले जहिले पनि आफ्ना आधारभूत सिद्धान्त र सार्वजनिक प्रतिबद्धताप्रति जवाफदेही हुनुपर्छ । कसैसँग कुनै बिषयमा गठबन्धन वा कार्यगत एकता गर्नुपरेमा त्यसको उद्देश्य, साझा कार्यक्रम र जनतालाई प्राप्त हुने लाभ स्पष्ट पारेको हुनुपर्दछ । त्यसैगरी युवाहरुको सहभागिता र समावेशी नेतृत्वमा पनि त्यतिकै ध्यान दिइएको हुनुपर्दछ । पार्टीहरुको जनताप्रति प्रत्यक्ष जवाफदेहिता रहेको हुनुपर्छ । छोटकरीमा भन्नुपर्दा नेपालका कम्युनिष्ट पार्टीहरुको मूल चुनौती उनीहरुले घोषणा गरेका आदर्शलाई व्यवहारमा रुपान्तरण गर्न नसक्नु हो । समानताको कुरा गर्ने पार्टीभित्र अवसर र अधिकार केही व्यक्तिमा सीमित हुनु, जनताको मुक्तिको कुरा गर्ने नेतृत्व जनताबाट टाढिनु र सामूहिकताको वकालत गर्ने संगठन व्यक्तिकेन्द्रित हुनु गम्भीर आत्मसमीक्षाका विषय हुन् । कम्युनिष्ट आन्दोलनलाई सुधार्न नेताको अनुहार परिवर्तनमात्र पर्याप्त हुँदैन । नेतृत्व चयनको विधि, आर्थिक पारदर्शिता, राजनीतिक संस्कार, नीतिगत स्पष्टता र जनताप्रतिको जवाफदेहितामा पनि परिवर्तन गरिएको हुनुपर्दछ । कुनैपनि पार्टीको वास्तविक मूल्यांकन उसले लगाउने राजनीतिक नाराबाट होइन, उसले जनताको जीवनमा ल्याएको परिवर्तन, सार्वजनिक श्रोतको उपयोगमा देखाएको इमान्दारी र आफ्नै संगठनभित्र स्थापित गरेको लोकतान्त्रिक अभ्यासबाट हुनुपर्छ । आजका सन्दर्भमा यो प्रमुख बिचारणीय विषय भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]