स्क्रब टाइफस संक्रमितको संख्या १२ हजार नाघ्यो

२०८३ कार्तिक १७ गते, मंगलवार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर स्क्रब टाइफस संक्रमणका बिरामी १२ हजार भन्दा बढी पुगेका छन्। महाशाखाले मंगलबार जारी गरेको विवरण अनुसार याे वर्ष अहिलेसम्म १२ हजार २०७ जना संक्रमित भएका छन्। ‍
तथ्यांकले देखाएअनुसार देशका ७५ जिल्लामा स्क्रब टाइफसका बिरामी फेला परेका छन्। सुसुप्तरूपमा उच्च रूपमा फैलिरहेको स्क्रब टाइफसबाट यो वर्ष हालसम्म ८ जनाले ज्यान गुमाइसकेको ईडीसीडीले जनाएको छ।
स्क्रब टाइफसको प्रकोप सबैभन्दा बढी लुम्बिनी प्रदेशमा देखिएको छ लुम्बिनीमा यो वर्ष हालसम्म ३ हजार ४७२ (२८.४प्रतिशत) केसहरू रिपोर्ट भएका छन्। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा २ हजार २६९ (१८.६प्रतिशत) र गण्डकी प्रदेशमा २ हजार ३१५ (१९ प्रतिशत) संक्रमित भेटिएका छन्। शीर्ष १० जिल्लाहरू: स्क्रब टाइफसको उच्च भार रहेका जिल्लाहरूमा दाङ (७०३ केस), स्याङ्जा (६४८ केस), र सल्यान (५७५ केस) सबैभन्दा अगाडि छन्।
स्क्रब टाइफसका मुख्य लक्षणहरुमा अचानक उच्च ज्वरो आउने, टाउको र शरीर दुख्ने, अत्यधिक थकान महशुस हुने, शरीरमा रातो डाबर वा किराले टोकेको खत देखिने गर्दछ ।

सङ्क्रमित सूक्ष्म कीट माइटको टोकाइबाट जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले लाग्ने रोगलाई स्क्रब टाइफस भनिन्छ। प्रायः यस्ता किरा खेतबारी, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा प्रजातिका जीवाणु भेटिने गर्छ, जसले गर्दा प्रायः खेतबारीमा काम गर्ने किसानमा स्क्रब टाइफस भएको पाइन्छ। यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया सङ्क्रमित मुसाको कानमा बस्छ।
बारी, खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा ‘रिकेटसिया सुसुगामुसी’ जीवाणु भेटिन्छ र यस्ता ठाउँमा काम गर्ने व्यक्तिलाई टोकेपछि यो संक्रमण हुने गर्छ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन। संक्रमण भएपछि घाँटी वरिपरिका ग्रन्थि सुन्निएर गिर्खा आउँछन्। यस्ता लक्षण देखा परेको पाँचौँ दिनदेखि सातौँ दिनमा घाँटी वरिपरि रातो बिमिरा देखिन्छ। बिमिरा बिस्तारै पेट, हातगोडा तथा अनुहारमा फैलिन्छ। समयमै यसको पहिचान गरेर उपचार नगरे शरीरका महत्त्वपूर्ण अंगमा असर गरेर मानिसको मृत्यु हुन्छ। विशेषगरी सास फेर्न गाह्रो हुने, मिर्गौलाले काम गर्न छाड्ने र अन्त्यमा दिमागमा समेत असर गर्छ र बिरामीको मृत्यु हुन सक्छ। कसैमा माथिका लक्षण देखापरे तुरुन्तै उपचार गराइहाल्नु पर्छ।​​ विशेषगरी रगतमा एन्टिजेन जाँच गरेपछि यो रोग लागे-नलागेको पत्ता लगाउन सकिन्छ।
स्क्रब टाइफस यस्तो संक्रमण हो जुन पहिचान भएपछि चाँडै सञ्चो हुन्छ किनभने यसको उपचारमा एन्टिबायोटिक्सको प्रयोग गरिन्छ र यसले यो संक्रमणलाई छिटो र सजिलै ठिक गराउँछ।
मुसाको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो। संक्रमणको भएको आशंका लागेमा समयमै परीक्षण गराउनुपर्छ। यस्तै खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ। खुला चौरमा सुत्नु हुँदैन। स्क्रब टाइफस भए नभएको पहिचान बिरामीमा देखिएको लक्षण, सूक्ष्म कीटले टोकेको चिनोबाट हुन्छ।
यसैगरी रगत परीक्षण, फोक्सोको परीक्षणबाट हुन्छ। रोगको ‘एन्टिबडी’ पत्ता लगाउन एलाइजा टेष्ट गरेपछि यसको पहिचान हुन्छ। यस्तै खेतबारीमा काम गर्न जाँदा, वनजंगल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा शरीर पूरा ढाक्ने कपडा लगाउनु पर्छ। सम्भव भएसम्म जुत्ता लगाउनु पर्छ।

प्रतिक्रियाहरु

[anycomment]