मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

अनिल शर्मा

भरतपुर अस्पतालका चिकित्सकले एक महिनापछि अस्पतालबाट बिदा गर्ने र त्यसैबेला औषधिको मात्रा थपघट गर्ने बताएका थिए । अस्पतालबाट निस्किएपछि धनुषा जिल्ला लैजान्छन् भन्ने थाहा थियो । तर गृहमन्त्रालय र चितवन प्रहरीको दबाबमा भदौ २० गतेको प्रयोगशालाको रगतको नतिजासमेत हेर्न–देखाउन नदिइकन असार ३ गते नै अस्पतालबाट बिदा गरेको नक्कली पत्र थमाए । पक्राउ पुर्जी नदिइकन निकाल्न खोजे, नारा लगाउँछु भनेपछि पक्राउ पुर्जी दिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवन लगे । नियन्त्रण कक्षमा राखेर प्रक्रिया पुरा गरे । भदौ २० गते चितवनमा तेस्रो पटक गिरफ्तार गरेका थिए । त्यो दिन फोन बन्द भयो । केहीबेर फोन जाम हुनुको कारण थाहा भएन । कोरोना महामारीको कारण अस्पताल सुनसान थियो । धेरै बेरपछि प्रहरीले मलाई अपहरण गर्न फोन जाम गराएको रहेछ । भतिजको फोन साथमा थियो । त्यसबाट सम्पर्क गर्दा पो रहस्य खुल्यो । सादा पोसाकका नयाँ–नयाँ मान्छेहरू आउने–जाने गर्थे । सिकारी आँखाले हेर्थे । खासखुस गर्थे । अस्पतालमा एक्लै थिएँ । पत्रकार सूर्य बराललाई स्थितिको जानकारी गराउन सकियो । त्यसलगत्तै समाचार सनसनीपूर्ण भएछ । भतिजले मलाई निकाल्दै गरेको भिडियो बनाउँदा, “पत्रकारको काम तैँले किन गरेको ?” भन्दै रहेछन् । जिप्रकाको खाजाघरमा दुध लिएर आपूmसँगै रहेको सातु खाएँ । राती ८ बजे उनीहरूले सादा पोसाक, सादा वाहनमा राखेर गल्ली–गल्ली हुँदै पूर्वपश्चिम राजमार्ग निकालेर पूर्वतिर लगे । हामीलाई भूमिगत भन्दै गर्दा प्रहरीको काम झन् बढी भूमिगत देखिन्थ्यो ।

बाटोभरी प्रहरीसँग अनेक विषयमा छलफल हुन्थ्यो । “कुमार पौडेललाई

मार्नु गलत थियो । तराई आन्दोलनको समयमा के.डी. साह अपराधिक समुहसँग मिलेर रकम असुलेको कारण कारवाहीमा परेको थियो । घुस खुवाएर पुर्नवहाली भएको मान्छे हो” मसँगको टोलीप्रमुख एउटा अपराधी समुहको कारिन्दातिर कुमार पौडेल हत्याकाण्डलाई पन्छाउन चाहन्थे । माथिल्लो तहको आदेश नभइकन त्यत्रो घटना हुँदैन । त्यसैले गृहमन्त्री, गृहसचिव र प्रहरी प्रमुख मुख्य अभियुक्त हुन् भन्ने मेरो दाबी हुन्थ्यो । ‘सहस्रब्दी चुनौती परियोजना’को विषयमा लामो छलफल भयो । तिनीहरुले प्रहरीको नेतृत्व, नेता, मन्त्री सबैलाई सराप्थे । कोहीप्रति आसा देखिन्नथ्यो । यद्यपि असन्तुष्टि, निराशा, पलायन र आक्रोश नै समाजको मूल प्रवृत्ति देखिन्छ । “अख्तियारलाई काम देखाउने अवसर दिने, सरकारलाई रिझाउने, ठुला माछालाई नछुने, त्यसो गरेर आपूmले फुली थप्ने, भ्रष्टाचार लुकाउने, बिचरा जवानले तीन–चार सय रुपैयाँ खायो भनेर जेल हाल्ने …… का छोराहरू !” तिनले आफ्नै हाकिमलाई सराप्थे ।

चितवनमा खाना नदिइकन हिँडाएका थिए । बाटोमा खाउँला भन्थे । दिउँसो छोड्नुपर्ने थुनुवालाई राती खाना नदिइकन छोड्ने तर माथिबाट एक छाक भएपनि खाना खर्च मागेर खाने प्रहरीले किन खान दिन्थ्यो ! बिच बाटोमा त सुरक्षाको दृष्टिले पनि डराउने भए । निजगढ बजार पुग्नासाथ धनुषा जिप्रकाको वाहन आइसकेको रहेछ । ‘बिरामी हनुुहुन्छ, राम्ररी लग्नुहोला’ चितवनबाट ल्याउने टोलीप्रमुखले औपचारिकता पुरा गरे । सवारी साधनको बीचको स्थानमा बसाए । एक्लै बस्न, ओर्लिन सक्ने अवस्था थिएन । “यस्तो नभइकन कसरी नेता भइन्छ र होइन सर ?” धनुषाको टोलीप्रमखुले सुरुमै हाँस्दै भनेथे । बाटोमा त्यो टोलीसँग धेरै छलफल भएन । धनुषा जिप्रका पुग्दा रातको १ बजेको रहेछ । अत्यावश्यक प्रक्रिया सकेर चिकित्सकीय परीक्षणको लागि सरकारी अस्पताल लगे । नयाँ भवन भएपनि भिडभाड, साँघुरो बनोट, अस्तव्यस्त, मास्क नलगाएका बिरामी, गरिव अनुहार, फोहोर रहेछ । ती दृश्यभित्र मैले बिरामीभन्दा धेरै प्रदेश सरकार र सो क्षेत्रका नेताहरू देखेँ । त्यो देशको अनुहार पनि त थियो । ‘रक्सी खाएको छ कि छैन ?’ चिकित्सकको जर्सी भिरेको ठेउकेले कन्दै सोध्यो । ‘म रात्रीक्लवबाट आएको हो र ! जाँच न’ भनिदिएँ । निलडाम सोध्यो । त्यसपछि ठेठी भाषिकामा केही भन्यो । प्रहरीले ‘जाऊँ सर’ भन्दै हात समाएर बिस्तारै हिँड्नुस् है भन्दै बाहिर निकाले । थुनुवा घरमा पुग्दा रातको ३ बजिसकेको थियो । मेरो त सुत्ने होइन, उठ्ने समय भइसकेको थियो । निद्रा लागेन ।

बिहान ६ बजेतिरै औषधि खानुपथ्र्यो, तर दिएनन् । पैसा, औषधि, खानेकुरा सबै उनीहरूसँग थियो । बिहान ११ बजेसम्म भन्दा, कराउँदा पनि औषधि दिएनन् । औषधि नदिएकाले केही खान पनि भएन । भात पनि खाइन । ‘हाइपर ग्लुकोज’ होलाझैँ शरीर काँप्न थाल्यो । “औषधि खान नदिएर मार्न खोजेको तिमीहरूले ? नारा लगाएर आमरण अनसन बस्छु । म त मरौँला, तिमीहरूलाई हत्यारा सावित गरेर मर्छु” भन्दै गाली गरेँ । मुद्दाफाँटमा कोतगार्डले पटक–पटक भन्दा पनि अपराधीक मनोवृत्तिको निरीक्षकले सुनेको थिएन । मध्यान्ह १२ बजे औषधिसहित अस्पताल पु¥याए । गरिव बिरामीहरू भुइँमा लडेका देखिन्थे । ओली–दाहालको समाजवाद, मधेसी नेताको सङ्घीयता भुइँमा लम्पसार परेको थियो । अपरान्ह २ बजे चिकित्सकले औषधि सबै दिन भनेपछि औषधि खाएँ । त्यसपछि बल्ल खानेकुरा खान सुरु गरेँ । २८ घण्टापछि खानेकुरा खाएँ । यो बिचमा पानी र चकलेटको भरमा आपूmलाई ‘हाइपर ग्लुकोज’ हुनबाट बचाएको थिएँ ।

कोभिड–१९ को महामारी उत्कर्षमा थियो । भौतिक दूरी न्युनतम २ मिटर राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन थियो । तर हामी एउटै सानो घरेलु प्रयोजनको जस्तो कोठामा १५ जना थुनिएका थियौँ । मास्क त प्रहरीले नै नलगाउँदा रहेछन् । “हामी त कोरोना जाँच गर्दैनौँ भनेका छौँ । घर जान नपाउने, भत्ता नपाउने, घुम्न नपाउने, अपमान खान किन जाँच गर्ने ?” एकजना हवल्दार भन्दैथिए । चितवनमा मास्क ‘फेसन’ भएको थियो । सेनिटाइजर यत्रतत्र हुन्थ्यो । विकासको सूचकांकमा मधेस–तराई पछाडि धकेलिनुका प्रभावहरू यत्रतत्र भेटिन्थे । यद्यपि म तराईमै जन्मे हुर्केको कारण नयाँ विषय थिएन । प्रश्न समाजलाई बुझ्ने कोणको हो ।

आडैको कोठामा ५ जना कोरोना सङ्क्रमित रहेछन् । पूर्वतिर बाटोमा पानी र थाल थियो । “झ्याल वर्ना जाइबो, कोरोना ह कोरोना” त्यतातिर जाँदा पुराना थुनुवाहरू भन्थे । कोतगार्डलाई मतलव नै थिएन । भातभान्सा, मान्छे, पानी, बाटो सबै एउटै थियो । खाने थाल र चर्पीमात्र अलग–अलग थिए । राती सुतेको बेला पनि मास्क लगाउँथेँ । राती सुन सान भएपछि दुव्र्यसनी थुनुवाहरू गाँजा तान्थे । अलिकति धुपको रूपमा बाल्थे र त्यसको मादक गन्धमा खाली भुइँमा पल्टन्थे । प्रहरीहरू थाहा नपाएझैँ गर्थे । जनयुद्धकालका शाही सेनाको हिरासतमा समेत दुर्गन्धित र थोत्रो भएपनि ओढ्ने लुगा दिन्थे । धनुषा हिरासतमा एक टुक्रा कपडा रहेनछ । कति नांगा बादशाहहरू ! चोरी, लुटपाट, बलत्कार र लागु औषधका अभियुक्तहरू धेरै थिए । एकदिन मुसहर समुदायका तीनवटी महिला ल्याए । महेन्द्रनगर बजार छेउका ती महिलाले रातुखोलामा बाढीले ल्याएका काठदाउरा छोपेर घरमा थुपारेका रहेछन् । महेन्द्रनगर इप्रकाका प्रहरीहरू आफ्नो भाग माग्दारहेछन् । महिलाहरू खोलामा छोप्न जाउ भन्दारहेछन् । त्यो विवाद बढ्दै गएपछि पक्राउ गरेर ल्याएका रहेछन् । दुईटा कलिला केटाहरू लागुऔषध सवेन गरेको अभियोगमा समातिएका थिए । साँझ परेपछि ती एकआपसमा छाँद हालेर रुन्थे । आफैँ रुन्थे, आफैँ सम्हालिन्थे । चर्पीको धारामै नुहाउने, बु्रस गर्ने, लुगा धुने, भाँडा माझ्ने सबै गर्नुपथ्र्यो । बोतलको पानी र चितवनबाट लगेको बिस्कुट सिरानमा हुन्थ्यो । खाजाघरका होटलवाला र भान्छे यस्ता फोहोरी थिए कि खानै दिगमिग हुन्थ्यो । त्यहाँ किनेर खान पनि मनै लागेन । धनुषा पुगेको तेस्रो दिन बयान दिइयो । फाँटवालाले कमरेड शिलुको बयान दिए । उमा भुजेल ‘शिलु’ले विप्लव र प्रकाण्डबाहेक अरू कोही चिन्दिनँ भन्नुभएको रहेछ । इन्कारी बयान ! ‘मियाँ कि जुत्ती, मियाँ की शर पर’ उखान देख्न सकिन्थ्यो । शासकको अभियोग इमान्दारीपूर्ण भए पो शासितले इमान्दारिता देखाउनु ! “उमा दिदीले त इतिहासै सुनाउनुभयो । मैले त सबै लेखिदिएँ” बयान लिने रुकुमेली कर्मचारी भन्दैथिए ।

पार्टीका सबैजसो केन्द्रीयस्तरका नेता र सयौँ स्थानीयलाई २०७६ मंसिर २७ गते महेन्द्रनगर बजारमा भएको बमविस्फोट र प्रहरीसहित स्थानीयको ज्यान गएको घटनाको कर्तव्य ज्यान अभियोग थियो । बयान सकिनासाथ एकजना पाको, गम्भीर मुद्रा भएका मान्छे छलफल गर्न आए । उनले ठुलो बलिदान, धनजनको क्षति भएर पनि केही भएन भन्थे । “परिवर्तन आवश्यक छ । यसरी चल्दैन । तर, मान्छेको ज्यान जान भएन” उनी पटक–पटक जोड दिन्थे । घटनाको विषयमा ‘बिचरा झुक्यानमा प¥यो । नक्कली भन्ठानेर’ उनी भन्थे । प्रहरीको अनुसन्धान शैलीले पीडितलाई न्याय दिन नसक्ने र निर्दोषलाई दःुख दिइरहने अवस्था भएको उनको बुझाइ थियो । छलफल सकिएपछि अन्तमा उनले भने, “म तपाईंको मुद्दा हेर्ने बेञ्चको न्यायाधीश तीर्थराज के.सी. । भोलि को न्यायाधीश हो भन्ने नहोस् भनेर चिनजान गरेको नी” त्यसपछि उनी गए । सो घटनाको सन्दर्भमा छुट्टै लेख लेख्ने सोच बनाएँ । मलाई अभियोग लगाइएको घटना के थियो भने, पहिलो शंकास्पद वस्तु देखेपछि प्रहरीले ‘एरिया सिल’ गर्नुपथ्र्यो । प्रहरी निरीक्षक दाहाल कर्तव्यच्युत भए । दोस्रो मृतक घरवाला औषधी पसलको बहानामा सुदखोरी गर्थे । त्यो कुरा प्रहरी, मृतकका परिवार र स्थानीयले स्वीकार गरेको बयान देखिन्छ । नेपाल राष्ट्र बैँकको इजाजतप्राप्त संस्थाबाहेक अरू कुनै पनि संस्थाले वित्तिय कारोबार गर्नु गैरकानुनी मानिन्छ । जसमा प्रहरीको संलग्नता देखिन्छ । तेस्रो लेनदेनको विवाद भइरहेको अवस्थामा पार्टीको संलग्नता भएको तर दुर्घटना भएपछि फसाउने र आफ्नो कमजोरी छोप्ने नियतले प्रहरी उत्रेको देखिन्छ । यी विषय मैले अदालतसमक्ष बयानमा खुलासा गरेको थिएँ ।

धनुषा जिल्ला हिरासत पुगेको चौथो दिन थुनछेक आदेशको लागि अदालत पु¥याए । सरकारी वकिल बहसमा आएनन् । अभियुक्त सबैलाई पुर्पक्षको लागि थुनामा पठाएको प्रशासन उमा भुजेल ‘शिलु’को सम्बन्धमा अदालतको फैसलापछि चिढिएको रहेछ । न्यायाधीशले नै फोन गरेर बोलाए । सरकारी अधिवक्ता मनोजकुमार गुप्ताले ‘आउने–नआउने हाम्रो कुरा हो’ ओठे जवाफ दिएछन् । सरकारी वकिलको अमर्यादित शैलीप्रति न्यायालय असन्तुष्ट देखिन्थ्यो । सरकारी वकिल नआएपछि बहस राजनीतिक अन्तरक्रियाजस्तो लाग्थ्यो । म पुछारमा बसेर सुनिरहेको थिएँ । चौरमा धेरैबेर फैसला कुरेर बस्यौँ । प्रहरीहरू हाकिमलाई सराप्थे । जीवनप्रति चरम निराशा व्यक्त गर्थे । कोभिड–१९ का कारण खाजाघर बन्द थियो । थुनछेक आदेशबाहेक अरू काम बन्द गरिएकोले अदालतमा भिडभाड थिएन । जिल्ला अदालतले १० हजार धरौटीमा रिहा गर्ने आदेश ग¥यो । प्रहरीले ज्यादती गरेपनि राजनैतिक र नैतिक रूपले विजय प्राप्त भएको थियो । मेरो पक्षबाट नारायण गिरी, गोपिलाल देवकोटा र स्थानीय मुकेशकुमार कार्कीले बहस गरेका थिए । धरौटी रकम पनि वकिल मित्रहरूले नै राखिदिएका थिए । प्रहरीको आगामी कदमको विषयमा गोपीलालले प्रहरी प्रमखुसँग सोधेका थिए । “उहाँलाई छोड्ने नछोड्ने थाहा छैन । आधा घण्टामा बुझेर भन्छु” प्रहरी प्रमुखले उनलाई भने । तर उनले फोन बन्द गरेर बसे । लगत्तै अदालतको ढोकामै आएर पुनः गिरफ्तार गरेर धनुषा जिप्रका पु¥याए । “अदालतले रिहा गरेपछि किन नछोड्ने, छोड्नुप¥यो नि” अदालतका बयान लिने पुरुष र मधेसी मुलकी महिला कर्मचारी भन्दै थिए । जिप्रका पुगेपछि प्रहरीहरू पनि अदालतले रिहा गरेको व्यक्तिलाई नछोडेकोमा अनौठो मान्थे । सहानुभूति दर्साउँथे । ‘हामी पनि पार्टी ज्वाइन गर्छु सर’ थुनुवाहरू भन्थे । कोतगार्डले सामान दिए । पैसा गनेर फिर्ता गरिदिए । राती ८ बजेपछि सानो वाहनमा राखेर हिँडे । कता लग्ने हो भनेका पनि थिएनन् । पक्राउ पुर्जी पनि दिएका थिएनन् । चोरबाटोबाट हरिहरपुर हुँदै महेन्द्र राजमार्ग निकालेर पूर्वतिर दौडाए । पिसाब फेर्न नदिइ, केही नबोली वाहन दौडाइरहेको प्रहरीले लहान बजार कटेपछि बल्ल ‘कोसी ब्यारेज जाने हो’ भनेका थिए । हत्कडी लगाएको एउटा निशस्त्र व्यक्तिसँग यत्रो त्रास थियो उनीहरूमा ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार