११० समानुपातिक सांसदको सूची सार्वजनिक : चैत ५ गते प्रमाणपत्र दिइने
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना सांसद निर्वाचित भएको घोषणा गरेको छ। आयोगले सोमबार विभिन्न ६ वटा राजनीतिक दलबाट निर्वाचित हुने सांसदहरूको सूची सार्वजनिक गरेको हो। आयोगका अनुसार बन्दसूचीबाट दलहरूले प्राप्त सिटअनुसार क्लस्टर मिलाएर नामावली पेश गरेपछि ११० जनालाई निर्वाचित घोषणा गरिएको हो। सार्वजनिक सूचीअनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना निर्वाचित भएका छन्। त्यस्तै नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ९ जना तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना सांसद निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार ११० जनामध्ये ८२ जना महिला निर्वाचित भएका छन्। जसमध्ये सबैभन्दा बढी रास्वपाबाट ४८ जना महिला रहेका छन्। नेपाली कांग्रेसबाट १५, एमालेबाट १०, नेकपाबाट ४, श्रम संस्कृति पार्टीबाट ३ र राप्रपाबाट २ जना महिला सांसद निर्वाचित भएका छन्।
यसैबीच, निर्वाचन आयोगले य चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने जनाएको छ। निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फका यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ। राजनीतिक दलकोतर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण आयोगले सार्वजनिक गर्दै निर्वाचित भएको घोषणा गरेको छ।
आयोगले राजनीतिक दलकोतर्फबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्यलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र, दुईप्रति पासपोर्ट साइजको फोटोसहितको विवरण आज उपलब्ध गराइदिन आग्रह गरेको छ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेपछि यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाउनेछ।
