एक हजार ६२० थान भेपसहित सातजना पक्राउ
काठमाडौँ । विद्युतीय चुरोट भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ परेका छन्। भोटेकोशी गाउँपालिका–३ गंजेखोलाबाट ५६ लाख ७० हजार बराबरको एक हजार ६२० थान भेपसहित गएराति उनीहरूलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जेसी शाहले जानकारी दिए।
चीनबाट भोटेकिशी–३ बोक्चेन हुँदै अरनिको राजमार्ग १० किलो निक्लिने भित्रिबाटोबाट लुकाएर ल्याउँदै गरेको भेप फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो। ९ वटा बोराले छोपेको कार्टुनभित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा भोटेकोशी–४ का वर्ष ३५ का गणेश खड्का, वर्ष ४६ का हिमाल खड्का, वर्ष २४ का विकास विक, वर्ष ४८ का रामबहादुर बि.क, वर्ष १७ का विशाल रक्पाल, वर्ष ३७ का मंगलबहादुर थामी र बाह्रबिसे नगरपालिका-५ का वर्ष ४२ को कान्छा तामाङ छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय कोदारीमा ल्याई राखेको प्रहरीले जनाएको छ।
