‘देशलाई अग्रगमन तर्फ डोर्याउन नेपाली विशेषताको समाजवाद अनिबार्य’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का नेता तथा लुम्बिनी प्रदेश इञ्चार्ज सन्तोष सीले देशलाई अग्रगमन तर्फ डोर्याउन नेपाली विशेषताको समाजवाद अनिबार्य भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
नेता सन्तोष सीले “नेपाल र नेपाली विशेषताको समाजवाद” पार्टीको मूल लक्ष्य कायमै रहेको बताउदै पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशामै अगाडि बढिरहेको उल्लेख गरे। उनले निर्वाचनलाई संघर्षकै एक रूपका रूपमा उपयोग गरिएको धारणा राख्दै निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि निराश नहुन आग्रह गरे। उनले पार्टीको वास्तविक धरातल पहिचान गर्न चुनावले मद्दत गरेको र विज्ञान र प्रविधिको प्रयोगमा कमजोरी हुँदा मत परिणाम प्रभावित भएको उल्लेख गर्दै अब डिजिटल माध्यम र प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
यसैगरी , उक्त बैठकमा बोल्दै सम्मेलन आयोजक समितिका सदस्य शीतल सीले पार्टीले निर्वाचनलाई संघर्षकै माध्यमका रूपमा उपयोग गरेको बताउँदै कम्युनिस्ट आन्दोलनले हजारौं उतारचढाव पार गर्दै अघि बढ्ने क्षमता राख्ने बताए । उनले वैचारिक रूपान्तरण, सांगठनिक शुद्धीकरण र पार्टीभित्र गम्भीर बहसको आवश्यकता औंल्याए ।
यसैगरी, जिल्ला इञ्चार्ज सविन सीले निर्वाचनमा खटिएका उम्मेदवार र कार्यकर्तालाई धन्यवाद दिँदै समाजको अपेक्षा र पार्टीबीच देखिएको दूरीलाईआत्मालोचनासहित सच्याउनुपर्ने बताए । उनले नेपालमा कम्युनिस्ट आन्दोलन पुनर्स्थापित हुने दाबी गर्दै त्यसको नेतृत्व माओवादी शक्तिले गर्ने बताए ।
बैठकमा पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी, सम्मेलन आयोजक समितिका सदस्य सम्झना सी, विक्रम सी, प्रदीप सी, पाटन सी , विकाश सी निर्मल सी , जिवनी सी लगायत जिल्लाका नेताकार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
