टिकटकका मालिक चीनको सबैभन्दा धनी व्यक्ति

२०८१ कार्तिक १९ गते, सोमबार


काठमाडौँ । टिकटकका मालिक चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन चाइना रिच लिस्टअनुसार बाइटडान्सका संस्थापक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति एक वर्षमा ४३ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै उनको कुल सम्पत्ति ४९.३ अर्ब डलर पुगेको छ । झाङले सन् २०२१ मा बाइटडान्सको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका थिए।
बाइटडान्सको गत वर्ष रेभिन्यू ११० बिलियन डलर थियो, जुन एक रेकर्ड हो । यद्यपि यस अवधिमा कम्पनीले धेरै पटक अमेरिकी कानुनी चुनौतीहरूको सामना गर्नुपरेको थियो । बाइटडान्सले हुरुनको सूचीमा चीनको सबैभन्दा मूल्यवान ५०० कम्पनीहरूको शीर्ष ५ मा स्थान बनाएको छ । हुरुन ग्लोबल युनिकर्न इन्डेक्स २०२४ मा यो संसारको सबैभन्दा मूल्यवान युनिकर्न थियो ।
यिमिङले झोङ शानशानलाई पछि पार्दै हुरुनको सूचीमा पहिलो स्थान हासिल गरेका हुन् । शानशानको सम्पत्ति २४ प्रतिशतले घटेर ४७.९ बिलियन डलर पुगेको छ । एक समय चीनका सबैभन्दा धनी व्यक्ति ६० वर्षीय ज्याक मा युनको सम्पत्ति गत वर्षको तुलनामा ३ प्रतिशतले घटेको छ । यो गिरावटसँगै ज्याक मा चीनको १० औं धनी व्यक्ति बनेका छन् ।
टिकटक नेपाल र भारतमा मात्र नभइ विश्वरभर चर्चित छ । तर, सन् २०२० मा भारत–चीन सीमामा भएको झडपपछि भारतीय सरकारले टिकटकलगायत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।
भारतमा यसलाई प्रतिबन्ध लगाउँदा विश्वभर डेढ अर्बभन्दा बढी पटक डाउनलोड भइसकेको थियो । यी डाउनलोडहरूमध्ये एक तिहाइ भारतीयहरूले नै गरेका थिए । अहिले विश्वका धेरै देशले यसलाई प्रतिबन्ध लगाएका छन् । यद्यपि यो एप अझै पनि धेरै देशहरूमा प्रयोग गरिन्छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु