‘अमेरिकाले बंगलादेशलाई अर्को इजरायल बनाउन खोजेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले अमेरिकाले बंगलादेशमा प्रवेश गरेर देशलाई फुटाउने रणनीति बनाएको दाबी गरेका छन् । मंगलबार जनप्रचार तथा प्रकाशन विभाग अन्तर्गतको साधारण शाखाको ८औं बैठकलाई सम्बोधन गर्दै उनले सो दावी गरेका हुन्।
नेता अनिल सीले बर्माको आधा भू-भाग र बंगलादेशको आधा भू-भाग जोडेर इजरायल जस्तो बफादार देश बनाउन चाहेको बताए । उनले अमेरिकाको योजना अनुसार बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएको र सेनालाई प्रयोग गरेर देश फुटाउने खोजेको जिकिर गरे ।
नेता अनिल सीले विश्वबाट अमेरिकाको दबदबा अन्त्य हुन लागेको बताउँदै विश्वमा पूर्वीय सम्यता जवरजस्त अगाडि बढेको जिकिर गरे । उनले अमेरिका आन्तरिक रुपमा कमजोर नभएपनि अन्तर्राष्ट्रिय प्रभाव घट्दै जाने बताउदै भने- ‘अमेरिका आन्तरिक रुपमा कमजोर हुँदैन । त्यहाँको भूगोल, खनिज पर्दा लगायतका कारण देश कमजोर हुँदैन । तर त्यसको अन्तराष्ट्रिय प्रभाव ह्वात्तै घट्ने छ । दक्षिण एसियामा पनि भारतले आर्थिक रुपमा राम्रो प्रगति गर्दै गएको छ । उसले रसियासँगको सम्बन्न्ध निकै मजवुद बनाएको । यसले अमेरिकाको प्रभावलाई विस्तारै कम गर्दै लाने देखिन्छ ।’
नेता अनिल सीले नेपालको सरकार परिवर्तनमा पनि अमेरिकाको भूमिका प्रस्ट देखिएको बताउँदै विभिन्न पार्टीका दोश्रो तहका नेताहरु पनि बिकेको ठोकुवा गर्दै भने- ‘अमेरिकालाई चिनियाँ फेवरको सरकार मन परेको थिएन । त्यसमा प्रचण्डले भारत भ्रमणको बेलामा त्यहाँ भएका औपचारिक, अनौपचारिक वार्ताहरुको रिपोटिङ एमाले कांग्रेसमा पुगेको पत्तो पाएनन् । अमेरिका र भारतको स्वार्थ मिलेपछि सरकार परिवर्तन भएको हो । यसका लागि अमेरिकाले सबै पार्टीका दोश्रो तहका नेताहरुलाई आफ्नो एजेण्ट बनाएको छ । उनीहरुको भूमिका पनि सतहमा देखियो ।’
नेता अनिल सीले बैठकमा पार्टी स्थायी समिति बैठकका निर्णय सुनाउँदै एमसीसीको विरोध गर्दै बिआरआई समर्थन गर्ने निर्णय भएको बताए । उनले भने- ‘अमेरिकी सहयोग परियोजना एमसीसी र चिनियाँ परियोजना बिआरआई दुबै नेपालका लागि आवश्यक योजना हुन् । हामीले सहयोगको रुपमा दुबैलाई स्वीकार्नु पर्ने हो । तर एमसीसी सहयोगको नाममा सेना र हतियारसहित नेपालमा आउँदै छ । अहिले पनि आइरहेको छ । यो सैन्य योजना भएकाले हामीले विरोध गर्ने भनेका हौं । विआरआईमा पनि चिनियाँ स्वार्थ लुकेको होला तर त्यो सैन्य योजना होइन ।’
नेता अनिल सीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि अमेरिकी परियोजना एमसीसीको दलालको रुपमा स्थापित भएको बताए । साथै, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र एमाले महासचिव शंकर पोखरेलको अभिव्यक्ति अमेरिकी अभिव्यक्ति भएको ठोकुवा गर्दै भने- ‘नेपालमा दुई पार्टी सिस्टम भयो भने पालैपालो प्रयोग गर्न सजिलो हुन्छ भन्ने अमेरिकालाई लागेको छ। गगन र शंकरको दुई पार्टी सिस्टमको अभिव्यक्ति अमेरिकी अभिव्यक्ति हो । यो नेपालका लागि निकै खतरनाक छ ।’
उक्त बैठकमा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा शाखा इन्चार्ज सञ्जिव सीले बंगलादेशको घटनाले जनता संघर्षको महासागर हुन् भनेर प्रमाणित गरेको बताए ।
जनपत्रकार संगठन नेपालको उत्पादन केन्द्र, कीर्तिपुरमा शाखा सेक्रेटरी उत्कर्ष सीको अध्यक्षतामा बसेको बैठकले अघिल्लो बैठकका निर्णयहरुलाई कार्यान्वयन गर्ने, पार्टीलाई बुझाउने लेविलाई नियमित गर्ने, लेवी बढाउने, शाखाले पार्टी सदस्यता विस्तारमा जोड दिने लगायतका निर्णय गरेको छ । – शाहस भट्ट