‘देश र जनताको लागि एकजुट हुनुको बिकल्प छैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले राष्ट्र र जनताको जीवनमा गम्भीर संकट पैदा भएको ठोकुवा गर्दै यसको समाधानको लागि सम्पूर्ण कम्युनिस्ट,क्रान्तिकारी र प्रगतिशील दल र नेता एकजुट हुनुको बिकल्प नभएको बताएका छन। सो पार्टीद्वारा १५६ औं लेनिन जयन्ती तथा ७७ औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित बृहत ध्रुविकरण कार्यक्रमको संचालन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन् ।
उक्त कार्यकमको संचालन गर्दै प्रवक्ता प्रकाण्ड सी ले ७७ वर्षसम्म कम्युनिस्ट आन्दोलनले सफलता प्राप्त गर्न नसकेको बताए। उनले माओवादी पार्टीले पनि जनतालाई सम्बोधन गर्न नसकेको र अहिले दलाल पुँजीवादी तथा सामन्तवादीहरूले टाउको उठाएको बताए ।
प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीको ऐतिहासिक पृष्ठभूमि, लेनिनको योगदान र आजको सन्दर्भमा कम्युनिस्ट आन्दोलनको भूमिकामाथि प्रकाश पार्दै लेनिनको सिद्धान्त र विचारमा आधारित राष्ट्रिय मोडेल आवश्यक रहेको बताउँदै नेपाली जनताले आत्मनिर्भर समाज निर्माणको बाटो समात्नुपर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा (माले) का केन्द्रीय सदस्य तिलक न्यौपानेसहित ९ जना सम्पर्क मञ्चबाट, एमालेका राजु नेपालीबाट ४ जना, एसएस कलेज कीर्तिपुरबाट नेकपा ध्रुवीकरणका वसन्त रावलसहित ७ जना, स्वतन्त्र देशभक्त राजनैतिक मञ्चका अध्यक्ष तेजप्रसाद बुढासैनी र उपाध्यक्षसहित १० जना, नेपाल तेस्रो च्याउ विज्ञ ऋषि लाल तामाङ, नेपाली कांग्रेसका क्षेत्रीय समिति सदस्य तथा राष्ट्रिय अनुसन्धान विभागका पूर्व एसपी वीरबल थापासहित ४ जना गरी जम्मा ७७ जना नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

उक्त कार्यक्रममार्फत नेकपामा ध्रूबिकृत भएका नेकपा (माले) का केन्द्रीय सदस्य तिलक नौपानेले २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी विभाजन र टुटफुटको बाटोमा हिँडेको स्मरण गर्दै पुष्पलाल श्रेष्ठको पालामा पनि पार्टी फुटेको बताए। उनले अब सबै कम्युनिस्टहरू एक हुनुपर्नेमा जोड दिँदै माथिका नेताहरू नमिल्दा पनि तल्लो तहका नेताहरू मिल्नुपर्ने अनुभव सुनाए।
यसैगरी, श्रमजीवी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नवराज भट्टले आफ्नो जीवनकालमा माओवादी केन्द्रविरुद्ध विभिन्न पार्टी फुटेको उल्लेख गर्दै १८ पटक माओवादी घटक भएको बताए। उनले नेपाली विशेषतासहितको समाजवादले सबै कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गर्नुपर्ने बताए ।