नेकपा (माओवादी) केन्द्रिय समितिको बैठक बस्दै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नवौं केन्द्रिय समितिको आठौँ पूर्ण बैठक सो पार्टीको मुख्यालय कपिलवस्तुको शिवगढिमा सोमबारवाट बस्ने बताइएको छ । गत फागुन २१ को प्रतिनिधि सभा सदस्यको निर्वाचन पछि पहिलो पटक केन्द्रिय समितिको बैठकमा जुटेको नेकपा (माओवादी) ले चुनावी समिक्षा, आगामी योजना तय गर्ने बताइएको छ । केन्द्रिय समितिको बैठकका लागि प्रस्ताव र आगामी योजना बारे छलफल गर्ने पार्टीको स्थायी समितिको बैठक शुक्रबार सम्पन्न भइ सकेको छ भने आज पोलिटब्युरो बैठक बसि रहेको छ ।
केन्द्रिय समितिको बैठकका लागि प्रस्ताव र आगामी योजना बारे छलफल गर्न बसेको सो पार्टीको स्थायी समितिको बैठकमा महासचिव विप्लव सीले ‘बैचारिक प्रतिबद्धता सहित कम्युनिस्ट आन्दोलनलाई रक्षा र रुपान्तरण गर्न जोड गरौँ , सरकारका निरंकुश कदमका बिरुद्ध संघर्ष निर्माण गरौँ , जनतामा समाजवादी सत्ताको बिचार प्रवाह गरौँ ‘ बिषयक राजनीतिक प्रस्ताव प्रस्तुत गरेको बताइएको छ । महासचिव विप्लव सीद्वारा प्रस्तुत उक्त प्रस्तावमाथि स्थायी समितिको बैठकमा छलफल भइ सकेको छ भने हाल पोलिटब्युरो बैठकमा उक्त प्रस्ताव माथि छलफल भइ रहेको छ । महासचिव विप्लव सीद्वारा प्रस्तुत उक्त प्रस्ताव स्थायी समिति र पोलिटब्युरो बैठकले परिमार्जनसहित पास गरेपछि सोमबारदेखि सुरु हुने केन्द्रिय समितिको बैठकमा पेश हुने बताइएको छ ।
