एलोन मस्क ट्विटरको सीईओ !

काठमाडौं । अमेरिकी व्यापारी एलोन मस्कले ट्विटर किन्ने प्रक्रिया पूरा गरेर आफूलाई कम्पनीको नयाँ सीईओ र निर्देशक बनाएका छन् ।कम्पनीले सेक्युरिटी फाइलिङमा यसबारे जानकारी दिइएको छ । विगतमा करिब ४४ अर्ब डलरमा ट्विटर किनेका मस्कले माइक्रो ब्लगिङ वेबसाइट चलाउने कम्पनीमा निरन्तर परिवर्तन गर्दै आएका छन् । यी परिवर्तनहरू कम्पनीका सीईओ पराग अग्रवाल र अन्य उच्च अधिकारीहरूलाई बर्खास्त गरेपछि सुरु भएको हो । अहिले मस्कले सञ्चालक समितिलाई बर्खास्त गरेर आफूलाई कम्पनीको एकमात्र सञ्चालक बनाएका छन् ।
यससँगै कम्पनीले न्यूयोर्क स्टक एक्सचेन्जबाट डिलिस्टिङको प्रक्रिया पनि सुरु गरेको छ । यो प्रक्रिया पूरा भएपछि, ट्विटर एक निजी कम्पनी हुनेछ, जुन स्टक एक्सचेन्जमा सूचीबद्ध हुँदैन् । त्यसले प्रत्येक तीन महिनामा कम्पनीको वित्तीय स्वास्थ्यसँग सम्बन्धित जानकारी सार्वजनिक गर्ने मस्क र उनको टोलीको दायित्व हट्नेछ । कम्पनीमा आवश्यक परिवर्तन गरेपछि मस्कले पुन: स्टक एक्सचेन्जमा सूचीकृत हुन सक्ने प्राविधिक क्षेत्रका विज्ञहरुको अनुमान छ ।