१० हजार अक्षरको ट्वीट गर्न सकिने !

२०७९ फाल्गुन २३ गते, मंगलवार


काठमाडौँ । एलन मस्कले ट्वीटर प्रयोगकर्ताहरुका लागि एउटा गज्जब उपहार दिंदैछन् । अहिलेसम्म आम ट्वीटर प्रयोगकर्ताले अधिकतम २४० अक्षरसम्मको मात्रै ट्वीट गर्न पाइरहेकोमा छिट्टै नै १० हजार अक्षरसम्मको ट्वीट गर्न पाइनेछ । एउटा ट्वीटको जवाफमा एलन मस्कले यस्तो घोषणा गरेका हुन् । यद्यपि १० हजार क्यारेक्टरमा ट्वीट गर्न पाउने उक्त फिचर ब्लु सब्सक्रिप्सन लिएका प्रयोगकर्ताका लागि मात्रै हुनेछ कि आम साधारण प्रयोगकर्ताले पनि उपयोग गर्न पाउनेछन् भन्ने बारेमा चाहिं मस्कले केही खुलाएका छैनन् ।
स्मरणहोस् अमेरिकामा ट्वीटर ब्लूका सब्सक्राइबरहरुका लागि ४ हजार अक्षरसम्मको ट्वीट गर्ने सुविधा छ । ट्वीटरको १६ वर्षे इतिहासमा ट्वीटको अक्षरसंख्याको सीमा बढाउन लागिएको यो दोस्रो पटक हो । सन् २०१७ मा ट्वीटरले १४० अक्षरको सीमा बढाएर २८० पुर्‍याएको थियो ।
हालैको एक रिपोर्ट अनुसार एलन मस्कले पनि च्याट जीपीटी जस्तै आर्टिफिसियल इन्टेलिजेन्स टूल बनाउँदै छन् । त्यसका लागि एलन मस्क DeepMind का वैज्ञानिकहरुसँग कुराकानी गरिरहेको बताइएकेा छ । सोही कार्यका लागि मस्कले शोधकर्ता इगोर बाबुस्किलाई कम्पनीमा भित्राउँदैछन् । उनले हालै अल्फाबेट कम्पनीको डिपमाइन्ड एआई टिमबाट राजीनामा दिएका हुन् । मस्कले सन् २०१५ मा सिलिकन भ्यालीका लगानीकर्ता साम अल्टम्यानसँग मिलेर OpenAI को सुरुवात गरेका थिए । सोही स्टार्टअपले च्याट जिपिटी तयार गरेको हो । एलन मस्कले सन् २०१८ मा ओपन एआइ कम्पनी छाडेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]