यस वर्ष सरदरभन्दा कम वर्षा

काठमाडौँ । नेपालमा यस वर्ष मनसुन अवधिमा ८८.५ प्रतिशत मात्रै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर अर्थात् चार महिनाको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको हो। नेपालमा मनसुन अवधिमा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यस वर्ष एक हजार तीन सय तीन मिलिमिटर मात्रै वर्षा भएको छ। विभागका मौसमविद् सुदर्शन हुमागाईंले आकलन गरेअनुसार यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा भएको जानकारी दिए।
नेपालमा सरदरभन्दा कम वर्षा हुने आकलन गरिए पनि जोमसोममा दुई सय दस दशमलव सात मिलिमिटर वर्षा भएको छ, जुन सरदरको एक सय ३३ दशमलव पाँच प्रतिशत हो।
त्यस्तै, काठमाडौंमा एक हजार दुई सय ८३ मिलिमिटर वर्षा भएको छ। जुन सरदरको एक सय नौ प्रतिशत हो। काठमाडौंमा मनसुन अवधिमा सरदर एक हजार एक सय ७६ दशमलव चार मिलिमिटर वर्षा हुन्छ।
त्यसैगरी, ओखलढुंगामा एक हजार चार सय ९२ दशमलव एक मिलिमिटर वर्ष भएको छ, जुन सरदरको एक सय ७ प्रतिशत हो। यसपालि जनकपुरमा सरदरको आधा हाराहारी वर्षा भएको छ। यस वर्ष छ सय ३७ दशमलव एक लिलिमिटर वर्षा मापन गरिएको छ। जनकपुरको सरदर वर्षा एक हजार एक सय ९५ दशमलव आठ मिलिमिटर हो।
नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भाग भएर यही असोज १९ गते यस वर्षको मनसुन बाहिरिए पनि देशका अन्य भू–भागमा मनसुन कायमै रहेको छ। बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालको पूर्वी तथा मध्य भू-भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक असर रहेकाले अझै एक(दुई दिन देशका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन(चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिन अझै केही दिन लाग्नेछ। ‘देशको पूर्वी र मध्य भागमा मनसुन कायमै रहेकाले बदली र हल्का वर्षाको सम्भावना छ,’ उनले भने।
नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिएको हो।
बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भएको न्यूनचापीय क्षेत्रको असरले मनसुन बहिर्गमनमा ढिलाइ भएको थियो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो।