संसदवादी कम्युनिष्ट वामपन्थी पनि होइनन्
कमरेड पुष्पलालको पहलकदमी र नेतृत्वमा र गोविन्द निरञ्जन वैद्य, नरबहादुर कर्मचार्य, नारायण विलास जोसी र मोतिदेवी श्रेष्ठ सहित पाँच जना युवाहरु मिलेर २००६ साल बैशाख ९ गते (लेनिनको जन्म दिन सन १९४९ अप्रिल २२) का दिन भारतको कलकत्ता शहरको एक बंगालीको घरमा नेपाल कम्युनिष्ट पार्टीको निर्माण गरिएको थियोे । यसरी आज नेपाल कम्युनिष्ट पार्टीले ७७ वर्ष पुरा गरिसकेको छ । तर यति लामो अबधि पार गरि सक्दासम्म पनि नेपाल कम्युनिष्ट पार्टीले आफ्नो लक्ष्य, उद्देश्य पुरा गर्न सकेको छैन ।
स्थापनादेखि नै नेपाल कम्युनिष्ट पार्टीले तत्कालीन देशको वर्ग विश्लेषण गर्दै देश अर्ध सामन्ती र अर्ध उपनिवेशिक अवस्थामा रहेकोले नेपालमा गरिने क्रान्ति भनेको “नयाँ जनवादी क्रान्ति” हो भनिएको थियो । नयाँ जनवादी क्रान्तिको मुख्य दुश्मन घरेलुु प्रतिक्रियावादका रुपमा सामन्तवाद, दलाल तथा नोकरशाही पूँजीवाद हो भने बाह्य दुश्मन विश्व साम्राज्यवाद, प्रभुत्ववाद र भारतीय विस्तारवाद भएको ठोस विश्लेषण गरिएको थियो । राष्ट्रिय पूँजीपति वर्गदेखि शहरीया मजदुरसम्म र धनी किसानदेखि कृषि मजदुरसम्म नेपाली क्रान्तिका मित्र शक्ति ठोस गरिएको थियो भनेर नेपाली मजदुर– किसानहरु महान् नयाँ नेपाली जनवादी क्रान्तिका मुख्य शक्ति किटान गरिएको थियो । र यो नयाँ जनवादी क्रान्तिको नेतृत्व माक्र्सवाद–लेनिनवादको मार्गनिर्देशनमा सञ्चालन गरिने नेपाली सर्वहारा वर्गको संगठित अग्रदस्ता नेपाल कम्युनिष्ट पार्टीले गर्नेछ भनेर किटान गरिएको थियो । र “जमिन जोत्नेको, घर पोत्नेको” भन्ने नारा तय गरिएको थियो ।
आज नेपाली कम्युनिष्ट आन्दोलनले ७७ वर्ष पुरा गरिसकेको छ । यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलनभित्र वर्गसंघर्ष, अन्तरसंघर्ष र जनसंघर्षका अनेकौं जटिल, बांगाटिङ्गा र कहालिलाग्दा घुम्तीहरु रहेका छन् । झापा संघर्ष, महान् माओवादी जनयुद्ध, भिमानकाण्ड, छिन्ताङकाण्ड, पिस्करकाण्ड, म्याग्दीको सिङकाण्ड, सुर्खेतकाण्डलगायत राष्ट्रिय स्वाधीनताका आन्दोलनहरुमा समेत गरेर हजारौं नेपाली आमाका असल र आँटी छोराछोरीहरुले ज्यान उत्सर्ग गरेर शहिदवरण गरिसकेका छन् भने हजारौं घाइते, अपांग र तत्कालीन प्रतिक्रियावादी सत्ताद्वारा गरिएका हजारौं ज्यान बिपत्ता पारिएकाहरु समेत गरेर लाखौं नेपाली जनताको बलिदानीको गौतमगाथाले भरिपूर्ण रहेकोे छ नेपाली कम्युनिष्ट आन्दोलन । यति भएर आजसम्म पनि महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न भएको छैन । महान् नेपाली जनता र अमर तथा वीर योद्धा शहिदहरुका महान् नेपाली क्रान्तिका सुन्दर सपनाहरु अधुरै छन्, अपुरै छन् ।
यद्यपि नेपाली कम्युनिष्ट आन्दोलन लामो समय पहिलेदेखि अनेकौं समुह–उप–समुहहरुमा विभाजित अवश्यै रहयो । अतः सारमा यस आन्दोलन भित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्पर विरोधी धाराकै द्वन्द्व प्रमुख बनेर आयो । आज नेपाली कम्युनिष्ट आन्दोलनको घोर दक्षिणपन्थी संशोधनवादी–नवसंशोधनवादी सुधारवादी (संसदवादी) धाराले आपूmलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थी एवं मिलेराँवादी हुँदै आधुनिक संशोधनवादी धारामा गुणात्मक ढंगले फड्को हान्न मात्रै पुगेन प्रतिक्रियावादी सरकारको नेतृत्व गर्दै साम्राज्यवाद र विसतारवादको दलालको रुपमा आपूmलाई खडा गरेर राष्ट्रघाति महाकाली सन्धि, राष्ट्रघाति अमेरिकी एमसीसी संझौता समेत गरेर साम्राज्यवाद र विस्तारवादको सामु लम्पसार परेर वर्गीय र राजनीतिक रुपमा समेत आत्मसमर्पण गरेर राष्ट्रघनतको कलंकको टीका लगाएर अझै पनि आपूmलाई कम्युनिष्ट भएको भन्न र भनाउन छोडेको छैन ।
यसको विपरीत नेपाल कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारा आज माक्र्सवाद–लेनिनवाद–माओवाद–विचारधाराका रुपमा विकास गर्दै आएको भएतापनि उसंग छदम संशोधनवादले घर गरिरहेको छ र यस प्रकारको प्रवृत्तिले महान् नेपाली क्रान्तिलाई अलमल्याउने कार्य गर्दै आएको छ । किनभने उसले क्रान्तिका रणनीतिक कार्यदिशा सशस्त्र जनविद्रोहको दिएको भएता पनि व्यवहारमा अनगिन्ती बुर्जुवा व्यवहार र कार्यशैली अवलम्बन गर्दै आइरहेको छ ।
मुलुकको वर्तमान वर्गीय विश्लेषण देश अझैसम्म पनि अर्ध सामन्ती र अर्ध नवउपनिवेशिक अवस्थामै रहेको र आज पनि नेपाली क्रान्तिको मोडल नयाँ जनवादी क्रान्ति भएको अर्थात् महान् नयाँ नेपाली जनवादी क्रान्तिका कार्यभारहरु पुरा गरेर वैज्ञानिक समाजवादमा प्रवेश गर्ने भन्ने कार्यदिशा आजको “ठोस परिस्थितिको ठोस विश्लेषण” भएतापनि लेनिनकै शब्दमा “नयाँ ढंगको कम्युनिष्ट पार्टी” निर्माण गर्ने दिशामा व्यवहारमा अलमलमा पर्दै आएको छ र “स्वाधीन क्रान्तिकारी संयुक्त सरकार” को नारा दिदै आएको छ । यसले नितान्त अन्तिममा संसदीय व्यवस्थामा छिर्ने बाटो तय गरेको देखिन्छ । यस प्रकारको तात्कालिक कार्यदिशाले क्रान्तिकारी धार र स्प्रिटलाई मत्थर पार्न सक्छ र पार्दै पनि आएको छ ।
आज नेपाली कम्युनिष्ट आन्दोलन दुई विपरीत कित्तामा विभाजित हुन पुगेको छ, जो यस प्रकार छन् ः
(१) संसदवादी कम्युनिष्ट पार्टीहरु (सरकरी कम्युनिष्टहरू),
(२) क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु (गैर सरकारी कम्युनिष्टहरू)
आज नेपालमा क्रियाशील कम्युनिष्ट पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतका वर्तमान प्रतिक्रियावादी, पश्चगामी संविधान २०७२ को नियम भित्र रहेर पार्टी नै निर्वाचन आयोगमा दर्ता गरेर संसदीय निर्वाचनमा भाग लिएर बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष हुने संसदीय व्यवस्थालाई आफ्नो कार्यदिशा बनाउँदै आएका माथि उल्लेखित नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतका नामधारी, नक्कली कम्युनिष्ट पार्टीहरु कम्युनिष्ट पार्टी त कहाँ हो कहाँ ? वामपन्थी पार्टी समेत होइनन् । वामपन्थीहरू कम्युनिष्ट भइसकेका हुँदैनन्, उनीहरूले क्रान्तिको नेतृत्व गरिरहेका कम्युनिष्ट पार्टीहरुका नीति, कार्यक्रम, कार्यदिशा, रणनीति र कार्यनीतिलाई स्वीकार गरिरहेका हुन्छन् र उनीहरू विभिन्न जनवर्गीय तथा मोर्चा संगठनहरुमा संगठित भएर क्रान्तिलाई समर्थन गर्ने र सहयोग गर्ने नीति अवलम्बन गरिरहेका हुन्छन् । वामपन्थीहरू परिवर्तनशील हुन्छन् र आमूल परिवर्तनको पक्षधर हुन्छन् । कम्युनिष्ट पार्टीहरुले नेतृत्व गरिरहेका क्रान्तिकारी आन्दोलनका पूर्ण समर्थक र सहयोगी हुन्छन् । वामपन्थीहरू पहिलो नम्बरमा देशभक्त र जनवादी हुन्छन् । वामपन्थीहरू राष्ट्रिय स्वाधीनताका कट्टर पक्षपाती हुन्छन् । कम्युनिष्टहरू पनि देशभक्त जनवादी हुन्छन् ।
एमाले–नेपाली कम्युनिष्ट पार्टीहरु कसरी कम्युनिष्ट होइनन् ?
यहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतका प्रतिक्रियावादी सरकारमा दर्ता भएका संसदवादी पार्टीहरुलाई अहिलेसम्म पनि वामपन्थी, कम्युनिष्ट भनिन्छ । यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने पहिले २०५३ साल असोज ४ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रघाति महाकाली सन्धिमा हस्ताक्षर गरेर राष्ट्रघातको कलंकको टीका लगायो । राष्ट्रिय स्वाधीनतामाथि गद्धारी गरेको त्यसदिन देखि नै नेपाल कम्युनिष्ट पार्टी (एमाले) वामपन्थी कम्युनिष्टबाट बाइगड भएको हो ।
त्यस्तै २०७८ साल फागुन १५ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले “बाह्रौं बुँदे व्याख्यात्मक” शब्दजाल छिराए नेपाली जनताको र देश दुनियाँका आँखामा छारो छर्दै राष्ट्रघाति अमेरिकी “एमसीसी संझौता” नेपालको संसदबाट दुई तिहाई मतले पारित गराएर एमाले पछि निर्लज्ज ढंगले राष्ट्रघातको कलंकको टीका लगाएर आपूm र आफैंले नेतृत्व गरेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वामपन्थी कम्युनिष्टको लाइनबाट हटाउने कार्य गरेका थिए । तर आज तिनै राष्ट्रिय गद्धारहरुलाई वामपन्थी कम्युनिष्ट भनिदैछ, भनाइदै छ, यो गलत कुरा हो । अझै पनि तिनीहरूलाई वामपन्थी कम्युनिष्ट भन्नु गैर माक्र्सवादी दृष्टिकोण हो । जाली झेली, सिल्ली शैली र आचरण हो ।
एमाले– नेपाली कम्युनिष्ट पार्टीहरुले किन समाजवाद स्थापना गर्ने भनिरहेका छन् ?
अहिलेसम्म पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतका संसदवादी सरकारी कम्युनिष्ट पार्टी र व्यक्तिहरुले समाजवादको स्थापना गर्ने भनिरहेका छन् । उनीहरूले पार्टीको विधानहरुमा नेपाली विशेषताको समाजवाद स्थापना गर्ने भनेर लेखका छन् । चुनावी घोषणापत्रहरुमा यिनै कुरा लेखेका छन् । उनीहरू कै मुख्य भूमिकामा लेखिएको २०७२ सालको प्रतिक्रियावादी, पश्चगामी संविधानमा पनि “समाजवाद उन्मुख” भन्ने शब्द लेखाएका छन् ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र उपेन्द्र यादव नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका बीचमा “समाजवादी मोर्चा समेत गराएर देशका विभिन्न ठाउँहरुमा भेला, गोष्ठी, प्रशिक्षण कार्यक्रम, वृहत् आमसभाहरु सञ्चालन गरेको देखिन्थ्यो । यी सबै आम निर्वाचनमा भोट बटुल्ने खेल मात्रै थियो । किनकि उनीहरूले नजाने कुरा पनि भएन कि उनीहरू कै मुखले भनेको, प्रचार गरेको समाजवाद भनेको सन् १९०० पहिलो दशक मै फ्रान्सका समाजवादी नेता, दोस्रो अन्तर्राष्ट्रियका नेता समेत रहेका मिलेराले “कम्युनिष्टहरु पहिले संसद मै गएर संसदबाटै समाजवाद स्थापना” गर्ने भन्ने विचार अगाडि सारेका थिए । त्यसलाई लेनिनहरुले ठाडै अस्वीकार गरेका थिए । पछि सन् १९१७ महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको समयमै जर्मन कम्युनिष्ट पार्टीका नेता कार्ल काउत्स्कीले पनि “संसदबाट समाजवाद” लागु गर्ने विचार अगाडि सारेका थिए । उनको विचार पनि संशोधनवादी भएको करार गर्दै आफ्नो गुरु समेत रहेको काउत्स्कीलाई गद्धार घोषणा गरेर “गद्धार कार्ल काउत्स्की” नामक पुस्तक लेखेर प्रकाशित गरेका थिए ।
सन् १९५६ मा पुगेर तत्कालीन सोभियत कम्युनिष्ट पार्टी (बोल्सेविक) का महासचिव एवम् तत्कालीन सोभियत समाजवादी रुसका राष्ट्रपति ख्रुश्चोवले पनि मिलेरा र काउत्स्की विचारलाई अंगिकार गरेर शान्तिपूर्ण संक्रमणको नीति अगाडि सारेका थिए र उनकै नेतृत्वमा रुसी समाजवादमाथि प्रतिक्रान्त गराएर पूँजीवादको स्थापना गराएका थिए ।
सन् १९५६ मै चीनका कम्युनिष्ट नेता ल्यू शाओ चि र देङ शाओ पिङले पनि ख्रुश्चोवकै विचार चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ समाजवाद भित्र घुसाएर चिनियाँ समाजवादमाथि नै प्रतिक्रान्ति गराएर पूँजीवादको पुनःस्थापना गराएका थिए । देङ शाओ पिङले त “बिरालो सेतो हुनु र कालो हुनुले फरक पर्दैन मुसा मारे हुन्छ” भन्ने विचार स्थापित गराएका थिए ।
चीनमा ख्रुश्चोवका चेलाहरुले त चिनियाँ कम्युनिष्ट पार्टीको हेडक्वाटर कब्जा गर्नसम्म सफल भएका थिए । जसका कारण तत्कालीन समाजवादी चीनका राष्ट्राध्यक्ष माओ त्सेतुङले त “हेडक्वाटरमा बमबारी गर” भनेर उर्दी नै जारी गरेका थिए र सन् १९६६ देखि सन् १९७६ सम्म दश वर्षे “महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति “समेत सञ्चालन गरेका थिए ।
नेपाली संसदवादी कम्युनिष्टहरूले किन समाजवाद स्थापनाका कुरा गर्दछन् त ?
यी नेपाली संसदवादी सरकारी कम्युनिष्टहरूले किन नेपाली विशेषताको समाजवाद स्थापना गर्ने कुरा गरिरहेका छन् त ? यो, बुझ्नै पर्ने बहुतै महत्वपूर्ण विषय हो । किनभने “समाजवाद” भन्ने शब्दावली ज्यादै ठूलो शब्दावली हो । यो शासन प्रणालीशीत अन्तरसम्बन्धित विषय हो । सर्वहारा वर्गको शासन सत्ता, कम्युनिष्ट पार्टीहरुले चलाउने जनसत्ता सम्बन्धी विषय हो । त्यसैले यसलाई हल्का फुल्का रुपले लिने र बुझ्ने गर्नु हुँदैन । यो ज्यादै गहिरो र गहन विषय हो । किनभने सर्वहारा वर्गको नेतृत्वमा, कम्युनिष्ट पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शन (मार्ग दर्शन) मा चल्ने सत्तासँग जोडिएको विषय हो । त्यसैले यसलाई मालेमावादी विश्वदृष्टिकोण अर्थात् माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका आधारमा, मालेमावादी द्वन्द्ववादका आधारमा बिना पूर्वाग्रही ढंगले बुझ्ने, अध्ययन–विश्लेषण गर्नेछ र अन्तिममा वैज्ञानिक ढंगले संश्लेषण गर्ने पद्धति अंगाल्नु पर्ने हुन्छ सच्चा माक्र्सवादीहरुले । किनभने समाजवादी व्यवस्थामा सर्वहारा वर्गको अधिनायकत्व हुन्छ । अर्थात सर्वहारा वर्गले देशको शासन सत्ता आफ्नो हातमा लिएको हुन्छ । मजदुर–किसानहरुको सहभागीतामा सरकार सञ्चालन हुन्छ र जनताका देशका मालिक हुन्छन् ।
समाजवाद भनेको के हो भन्ने विषयमा कार्ल माक्र्स (१८१८–१८८३) र फ्रेडरिक एंगेल्स (१८२०–१८९५) ले सन् १८४८ फेब्रुअरी २१ दिन लण्डनबाट जारी गरिएको विश्व विख्यात “कम्युनिष्ट घोषणापत्र” मै स्पष्टताका साथ “काल्पनिक समाजवाद र सच्चा (वैज्ञानिक) समाजवाद” बारेमा वृहत् सैद्धान्तिक मान्यता सहित लेख्नुभएको छ । त्यही समाजवाद नै वैज्ञानिक समाजवाद हो ।
तर नेपाली कम्युनिष्ट आन्दोलनमा लाखौं नेपाली जनताले रगत र पसिना बगाउँदै आएका छन् । हजारौंको संख्यामा शहिदवर्ण गरेका छन् हजारौं हजार घाइते, अपांग, घरवारबिहिन छन् । हजारौंको संख्यामा राज्यले नेपाली जनताका छोराछोरीहरुको ज्यान बेपत्ता पार्दै आएको छ, आजसम्म उनीहरूको अत्तोपत्तो छैन । अर्थात् नेपाली कम्युनिष्ट आन्दोलनमालाई लाखौं, करोडौं जनताले लगानी गरेका छन् । नेपाली जनताले त्यसको प्रतिशतफल चाख्न चाहन्छन् । नेपालमा सच्चा कम्युनिष्टहरूको सरकार आओस् भन्ने चाहन्छन् । कम्युनिष्टहरूले मात्रै वास्तविक रुपमा नयाँ नेपाल निर्माण गर्न सक्छन् भन्ने विश्वास गर्दछन् । त्यसैले अहिलेसम्म पनि नेपाली जनसंख्याको करिव ८० प्रतिशत हिस्सा कम्युनिष्टहरूलाई मन पराउने र विश्वास गर्ने जनताको पंक्ति छ नेपालमा । कम्युनिष्टहरू सत्ता आफ्नो हातमा लिए भने हाम्रो भविष्य नै त्यसैमा छ भन्ने आशा र विश्वास नेपाली जनताले राख्दै र प्रकट पनि गर्दै आएका छन् ।
यही कुरा यी संसदवादी सरकारी कम्युनिष्टहरूले बुझेका हुनाले संसदीय निर्वाचनहरुमा जनताको भोट सोरसार पारेर बहुमत ल्याउने र भ्रष्ट सरकार निर्माण गर्ने मनसायले उनी नेपाली जनतालाई झुक्याउनका निम्ति नेपाली विशेषताको समाजवाद स्थापना गर्ने भन्ने गफ गरिरहेका छन् ।
समाजवादी व्यवस्था त सर्वहारा वर्गको अधिनायकत्व सहितको कम्युनिष्ट पार्टीको सरकार भएको वैज्ञानिक व्यवस्था हो । अर्थात् वर्गीय दृष्टिकोणबाट भन्नु पर्दा सर्वहारा वर्गीय शासन प्रणाली हो । जसले एकत्ववादलाई स्वीकार गर्दछ ।
नेपाली संसदवादी सरकारी कम्युनिष्टहरूले दलाल तथा नोकरशाही पूँजीपति वर्गको सत्ता र उसको सरकारको नेतृत्व स्वीकार गर्नेहरुले समाजवादी व्यवस्था हुने कुतर्क गरेर जनतालाई ढाँट्दै आएका छन् । उनीहरूले बहुलवादलाई आफ्नो दार्शनिक आधार बनाउदै आएका छन् बहुदलीय व्यवस्था यी सरकारी कम्युनिष्टहरूको आदर्श हो । एकातिर बहुमत सरकार, अल्पमतको प्रतिपक्ष हुने संसदीय व्यवस्थालाई संसार कै उत्कृष्ट व्यवस्था भन्दै आएकाले छन् भने अर्कोतिर नयाँ जनवादी क्रान्ति अर्थात् नयाँ खाले पूँजीवादी क्रान्ति भइसक्यो । अब समाजवाद स्थापना हो भनेर जनताका बीचमा भ्रमको खेती रहेका छन् र कम्युनिष्ट भएको देखाउन र पुष्टि गराउने ठूलो चेष्टा गर्दै आएका छन् ।
संसदवादी कम्युनिष्टहरूले किन चुनावमा हारे ?
२०७४ को संसदीय आम निवेदनमा एमाले, तत्कालीन माओवादी केन्द्रले मात्रै झण्डै दुई तिहाई मत ल्याएर झण्डै दुई तिहाईको सरकार पनि चलाएका थिए । २०७९ सालको आम निर्वाचनमा एमाले दोस्रो ठूलो पार्टी बनेको थियो । त्यस्तै माओवादी केन्द्रले तेस्रो पार्टी बनेको थियो । तर यस पटक अर्थात् २०८२ साल फागुन २१ सम्पन्न आम निर्वाचनमा त एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतका संसदवादी सरकारी कम्युनिष्ट पार्टीहरु यति लज्जास्पद तरिकाले पराजित भए ।
यसको मुख्य कारण के हो ? यी संसदवादी सरकारी कम्युनिष्टहरूले फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नराम्रोसँग, देश दुनियाँलाई हसाउने गरी लज्जास्पद ढंगले हार्नुका पछाडि निम्न कारण रहेका छन् ः
(क) आपूmलाई “कम्युनिष्ट हौँ, हामी समाजवादी व्यवस्था स्थापना गर्छौ” भनेर जनतालाई ढाँटेका कारण जनताले चिने, मतदानद्वारा उनीहरूलाई सोत्तर बनाई दिए ।
(ख) आपूmलाई कम्युनिष्ट हौँ भन्दै हिंड्ने गरे र एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलिले “म भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचारीलाई हेर्न पनि सक्दिन” भन्दै पनि हिंडे । उनले भ्रष्टाचार शुन्य सहनशीलताका कुरा भट्ट्याउँदै हिंडे । त्यो उनको उनको पार्टी चरित्र र अनुहार पनि हेरे र सबै जाने बुझेपछि नेपाली जनताले एमालेलाई मतदानद्वारा सोत्तर बनाई दिए ।
(ग) तत्कालीन माओवादी केन्द्र र हालका नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पलाल दाहाल प्रचण्डले पनि आपूmलाई खाँटी क्रान्तिकारी माओवादी देखाउन कहिल्यै चुकेनन् । तर उनको दायित्व, काम र कर्तव्य एमाले, काँग्रेसलगायतका भ्रष्टाचारीहरु, तस्करहरु, माफियाहरु, विचौलियाहरुलाई बचाउने र संरक्षण गर्ने र कहिले एमालेमा गएर उनीहरूलाई बलियो बनाउने र कहिले काँग्रेसकहाँ गएर प्रधानमन्त्री बन्ने काँग्रेसलाई बलियो बजाउने काम गरेको नक्कली कम्युनिष्ट भएको पनि नेपाली जनताले, बुझे, थाहा पाएपछि मतदानद्वारा उसलाई पनि सोत्तर पारि दिए ।
(घ) एमालेले, तत्कालीन माओवादी केन्द्र र हालको नेपाली कम्युनिष्ट पार्टी र तिनका नेताहरूले आपूmलाई कम्युनिष्ट भने, भनाए, देश र जनताका बफादार सिपाही हौँ भन्दै राष्ट्रियता, राष्ट्रिय स्वाधीनताका ठूला–ठूला हाँक दिए । केपी ओलीले नेपालको चुच्चे नक्सा छपाएर जताततै बाँड्दै हिंडे । तर उनैले राष्ट्रघाति महाकाली सन्धि गरेको, प्रचण्डले राष्ट्रघाति अमेरिकी एमसीसी संझौता गराएको कुरा पनि जनताले थाहा पाएर ती नक्कली राष्ट्रवादीहरु र उनीहरूका पार्टीहरुलाई मतदानद्वारा सोत्तर पारिदिए ।
(ङ) संसदवादी सरकारी नक्कली कम्युनिष्टहरू जुन जुन बेला कहिले काँग्रेस, कहिले एमालेको काँधमा चढेर त कहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बाँदर धपाउने लौरो जस्तो बनाएर आलो–पालो गरी सरकार चलाउने मौका पाएको बेला उनीहरूले राणाशासकहरु, राजा–महाराजाहरुले जस्तै देशलाई आफ्नो वीरता जस्तो र जनतालाई रैती जस्तो व्यवहार गरेर जनतामाथि शासन गर्दै आएका थिए, त्यो पनि नेपाली जनताले राम्रोसँग थाहा पाएपछि मतदानद्वारा उनीहरूलाई सोत्तर पारि दिए ।
( च) एमाले–माओवादीहरु जब–जब सरकारमा तब तब उनीहरूले जनताको सम्पत्ति, राष्ट्रको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाउने, राष्ट्रिय सम्पत्ति लुट्ने र देशलाई कंगाल बनाउने, युवाहरुलाई विदेशतिर लखेट्ने, पार्टी भित्रका इमानदार र पार्टी तथा नेताहरुले गलत व्यवहार सच्याउनु पर्छ, रुपान्तरण हुनुपर्छ भन्नेहरुलाई पार्टीबाटै जुन लखेट्ने गर्दै आएका थिए, त्यो गैर कम्युनिष्ट व्यवहार पनि जनता बुझेपछि उनीहरूलाई मतदानद्वारा सोत्तर पारि दिए ।
(छ) सरकारमा गएको बेला होस् वा नगएको बेला होस्, एमाले– माओवादीलगायतका संसदवादी कम्युनिष्ट पार्टी नेताहरू यति धेरै घमण्डी, अहंकारी र स्वाँठ बन्ने गरेका थिए, त्यो पनि अर्थात् कम्युनिष्टहरू यस्ता हुँदैनन् भन्ने कुरा नेपाली जनताले बुझ्दै आएकाले आफ्नो ज्यान हत्केलामा राखेर मात्रै होइन सहिद भएर भए पनि सहयोग गर्दै आएका थिए, तर नेपाली जनताले उनीहरूको वास्तविक चरित्र र अनुहार देखेपछि र चिनेपछि मतदानद्वारा सोत्तर पारी दिए ।

