चीनद्वारा विशेष अन्तरिक्ष यानको परीक्षण

२०८३ जेष्ठ ११ गते, सोमबार

काठमाडौँ । चीनले आइतबार राति सेन्झोउ–२३ अन्तरिक्ष यानको सफलतापूर्वक प्रक्षेपण गरेको छ । यस मिसनमार्फत तीनजना अन्तरिक्ष यात्रीलाई चीनको तियाङ्गोङ स्पेस स्टेसनमा पठाइएको छ । यस मिसनको विशेषता यसमा सहभागी एकजना अन्तरिक्ष यात्री पूरा एक वर्षसम्म अन्तरिक्षमा रहनेछन् । लङ मार्च–२ एफ रकेटमार्फत उक्त अन्तरिक्ष यानले उत्तर–पश्चिम चीनको जियुक्वान स्याटेलाइट लन्च सेन्टरबाट बेइजिङ समयअनुसार राति ११ः०८ बजे उडान भरेको थियो । लामो समयसम्म अन्तरिक्षमा बस्दा मानव शरीर र मस्तिष्कमा पर्ने प्रभावबारे अध्ययन गर्न चीनले यसलाई एउटा महत्वपूर्ण वैज्ञानिक प्रयोगका रूपमा लिएको छ । यस मिसनलाई चीनको सन् २०३० सम्म मानवलाई चन्द्रमामा अवतरण गराउने महत्वाकांक्षी योजनासँग पनि जोडेर हेरिएको छ ।
सेन्झोउ–२३ अन्तरिक्ष यानलाई उत्तर–पश्चिम चीनमा अवस्थित जियुक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो । यस मिसनमा कमान्डर झु याङ्झुका साथमा झाङ झियुआन र लाई का–यिङ सहभागी छन् । लाई का–यिङलाई चिनियाँ अधिकारीहरूले ली जियायिङ नामबाट पनि चिनाएका छन् ।
उनी कुनै अन्तरिक्ष मिसनमा पठाइएकी हङकङमा जन्मिएकी पहिलो महिला अन्तरिक्ष यात्री हुन् । उनीसँग कम्प्युटर फरेन्सिक विषयमा डक्टरेट डिग्री समेत रहेको छ । चीनले यस मिसनलाई प्रविधि र विज्ञानको क्षेत्रमा आफ्नो ठूलो उपलब्धिका रूपमा व्याख्या गरेको छ । – एपी

प्रतिक्रियाहरु

[anycomment]