क्रान्तिको शुद्धिकरण ः प्रतिक्रान्तिकारी मानसिकता विरुद्धको युद्ध
क्रान्ति कुनै सजावट होइन, त्यो विस्फोट हो– विस्फोट जुन पुरानो समाजका हड्डी, रगत र माटोलाई चिरिँदै नयाँ समाजको जन्म कराउँछ । क्रान्तिले केवल दुष्मनका बम र बन्दुकसँग युद्ध गर्दैन, त्यो मनुष्यका भित्र बस्ने सडेको सोच, स्वार्थी प्रवृत्ति र प्रतिक्रान्तिकारी मानसिकता विरुद्धको युद्ध पनि हो । क्रान्तिको पहिलो चरण सधैँ बाहिरी शत्रुविरुद्ध हुन्छ । जहाँ वर्ग शत्रु, सामन्त, दलाल, र राज्यशक्ति विरुद्ध संघर्ष चर्किन्छ । तर, त्यो आधा क्रान्ति मात्र हो ।
साँचो क्रान्ति तब सुरु हुन्छ जब क्रान्तिकारी आफैँलाई प्रश्न गर्छ– “के म पनि पुरानो समाजको गन्ध बोकेको त छैन ?”
त्यो क्षणदेखि क्रान्ति बाहिरबाट भित्र पस्छ । बन्दुकले केवल सामन्तलाई ढाल्छ, तर विचारको बन्दुकले भित्रको सामन्तवाद, अहंकार र स्वार्थलाई मेट्छ । मानिसले सोच्ने गर्छ– क्रान्तिले अत्याचार अन्त्य गर्छ, र मुक्त समाज ल्याउँछ । हो, तर त्यहाँ पुग्न मानिस आफैँलाई रूपान्तरण गर्नुपर्छ । जनताको शत्रु मात्र होइन, जनताको चेतना पनि शुद्ध हुनुपर्छ । यदि चेतना सामन्ती सोचले भरिएको छ भने, नयाँ सत्ता पनि पुरानो अत्याचारको नयाँ रूप मात्र बन्छ ।
त्यसैले क्रान्ति केवल तोप र गोलीको कुरा होइन । त्यो आत्मसंस्कारको यात्रा हो । क्रान्तिको मूल आत्मा नै आत्मालोचना हो । आपूmभित्रको गल्ती स्वीकार गर्ने साहस । पार्टीभित्रको विचलन, स्वार्थ, लोभ, पाखण्ड र द्वन्द्व हटाउने प्रयास । जसले केवल विचारले होइन, कर्मले आपूmलाई रूपान्तरण गर्छ, उही साँचो क्रान्तिकारी हो । क्रान्ति भनेको हरेक मान्छेभित्र बस्ने दासता, डर र भ्रमको मृत्यु हो । मानिस डरको साम्राज्यबाट स्वतन्त्र हुन्छ– अनि सोच स्वतन्त्र हुन्छ । सोच स्वतन्त्र भएपछि समाज स्वतन्त्र हुन्छ ।
तर यो सजिलो छैन । जुन क्षण हामी क्रान्तिको नाममा व्यक्तिगत लाभ खोज्छौं, त्यही क्षण हामी प्रतिक्रान्ति गर्छौं । जुन क्षण हामी विचारलाई भन्दा व्यक्तिलाई पूजा गर्छौं, त्यही क्षण क्रान्तिको आत्मा मर्छ । क्रान्तिको बाटो कठिन हुन्छ । कैयौं साथी विचलित हुन्छन् । कसैलाई कुर्सीको मोह तान्छ, कसैलाई आत्मरक्षा ।
तर जसले क्रान्तिलाई केवल राजनीतिक योजनाको रूपमा होइन, नैतिक आन्दोलनको रूपमा बुझ्छ– उही लडाइँको अन्त्यमा जनताको विजय सुनिश्चित गर्छ । जब समाजमा अन्याय हुन्छ, जनताले क्रान्ति गर्छन् । तर जब क्रान्तिकारीभित्र नै स्वार्थ पलाउँछ, त्यो क्रान्ति मर्छ । त्यसैले पार्टीभित्रको आलोचना आत्मालोचनाको परम्परा, क्रान्तिको आत्मा हो ।
“क्रान्ति भित्रको फोहोर” सफा नगरी “बाहिरको अत्याचार” विरुद्धको लडाइँ अधुरो रहन्छ । क्रान्तिले मानिसलाई बन्दुक चलाउन मात्र होइन, हृदय चलाउन सिकाउँछ । त्यो भन्छ– “पहिला आफैँलाई जित, अनि मात्र विश्व जित ।” हामीले देखेका छौं, इतिहासमा धेरै आन्दोलनहरू सफल भए, तर तिनका नेताहरू असफल भए । किनकि तिनीहरूले व्यवस्था बदले, तर आपूmलाई बदलेनन् । क्रान्ति सफल हुन्छ, जब विचार र व्यवहार दुबै परिवर्तन हुन्छन् ।
नयाँ समाज केवल नयाँ सरकार होइन । त्यो नयाँ सोच हो– जसमा श्रमको सम्मान हुन्छ, स्वार्थ होइन विचारको आदर हुन्छ, व्यक्ति पूजा होइन सामूहिकता बलियो हुन्छ, व्यक्तिगत अहंकार होइन । क्रान्तिले मानिसभित्रको “म” लाई “हामी” मा बदल्छ । त्यो नै शुद्धिकरणको चरम रूप हो । हामीले महसुस गर्नुपर्छ जनताको मुक्ति केवल आर्थिक वा राजनीतिक होइन, नैतिक र सांस्कृतिक पनि हो । जबसम्म मानिस आफ्नो लोभ, द्वेष, ईष्र्या र हिंस्रता सफा गर्न सक्दैन, तबसम्म समाजमा स्थायी शान्ति आउँदैन ।
क्रान्तिले यी सबै रोगहरूको उपचार गर्छ तर बलपूर्वक होइन, चेतनाद्वारा । चेतना नै सबैभन्दा ठूलो हतियार हो । हामीले बुझ्नुपर्छ, क्रान्ति कुनै घटना होइन– त्यो प्रक्रिया हो । जसरी नदि बग्दै गर्दा ढुङ्गा पोलिश गर्छ, त्यस्तै क्रान्तिले पनि मानिसलाई पोलिश गर्छ उसको आत्मालाई चम्काउने सम्म । यदि हामीले केवल सत्ता परिवर्तनलाई क्रान्ति ठान्यौं भने, त्यो भ्रान्ति हो । सत्ता परिवर्तन बाहिरी रूप हो; वास्तविक क्रान्ति चेतनाको रूपान्तरण हो ।
त्यो रूपान्तरण कठिन हुन्छ, किनभने मानिसले आफ्नो भित्रको फोहोर देख्न चाहँदैन । तर क्रान्ति उसैलाई त्यही फोहोर सामना गर्न बाध्य गर्छ । क्रान्तिले हाम्रो समाजका रोगहरू मात्र होइन, हाम्रो आत्माका रोगहरू पनि देखाउँछ । सत्ताको मोह, सम्पत्तिको लोभ, इष्र्या, गुटबन्दी, आत्ममुग्धता । यी सबै प्रतिक्रान्तिका भित्री एजेन्ट हुन् । साँचो क्रान्तिकारीले आफ्नै भित्रका यी एजेन्टलाई पहिचान गरेर समाप्त गर्छ । त्यो नै महान आत्मा हो, जसले आफ्नो ‘स्व’लाई जनताको ‘सामूहिक चेतना’ मा मिसाउँछ ।
क्रान्तिले मानिसलाई मात्र होइन, विचारलाई पनि शुद्ध गर्छ । त्यो हरेक सिद्धान्तलाई प्रश्न गर्छ, परीक्षण गर्छ, प्रमाणित गर्छ । जुन विचार जनताको जीवनसँग मेल खाँदैन, त्यो मृत विचार हो । क्रान्ति त्यस्तो मृत विचारको अन्त्य गर्छ । यसरी हेर्दा, क्रान्ति एउटा ठूलो विद्यालय हो– जहाँ हामी जनताको दुःखबाट सिक्छौं, आफ्ना गल्तीबाट सुधार्छौं, र भविष्य निर्माण गर्छौं । त्यो शिक्षा बिना, कुनै पनि विजय अस्थायी हुन्छ ।
त्यसैले जब हामी भन्छौं, “क्रान्तिले केवल दुष्मनको अत्याचारबाट जनतालाई मुक्त गर्छ,” हामी आधा कुरा मात्र भन्छौं । पूरो सत्य यो हो– क्रान्तिले मानिसभित्रकै फोहोरमैलालाई पनि सफा गर्छ, अनि मात्र नयाँ मानव समाजको जन्म हुन्छ ।

