१० वर्षे जनयुद्ध र बिर्सन नसकिने घटनाहरू

२०८२ फाल्गुन ४ गते, सोमबार

तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि सुरु गरेको सशस्त्र युद्धको नाम नै जनयुद्ध हो । नेपालमा झण्डै १० वर्ष चलेको युद्धमा हजारौं नेपालीको ज्यान गयो । लाखौं नेपाली घाइते, अंगभङ्ग, अपाङ्ग, बेपत्ता र विस्थापित भए । सत्ता स्वार्थमा रहँदा जनयुद्धलाई ‘ठीकै’ देख्ने र सत्ता बाहिर हुँदा ‘जघन्य हत्या’ देख्ने नेपाली कांग्रेस र एमालेसँगै प्रचण्डले सत्ता साझेदारी गर्न थालेपछि ‘जनयुद्ध’को उपलब्धि नै धरापमा परेको आम जनताको नेताहरूको बुझाइ रहेको छ । एकातिर पार्टी चिरा–चिरा हुँदै जानु र अर्कोतिर पार्टीको लक्ष, सिद्धान्त र विचारलाई सत्ता बार्गेनिङको हतियार बनाउँदै जान थालेपछि जनयुद्धको उपलब्धि संस्थागत हुन सकेन । जसको परिणाम जनयुद्धमा लागेर शहिद, घाइते र बेपत्ता भएका र विस्थापित परिवारले न्याय पाउन सकेनन् भने जनयुद्धले ल्याएका कयौं सुन्दर पक्षलाई पनि माओवादीले स्वामित्व लिन सकेन ।

२०५२ सालमा जनयुद्ध शुरु हुँदाका माओवादी नेताहरू अहिले प्रचण्ड, डा.बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’ रामबहादुर थापा बादल, धर्मेन्द्र बास्तोला अहिले छिन्नभिन्न अवस्थामा छन् ।

माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ कै कारण आज वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल भएको कुरा सत्य हो । तर, सत्य र तथ्य लुकाएर माओवादीलाई हिजोको हत्यारा र आतंककारी देख्ने अनि ती उपेक्षित, उत्पीडित वर्ग र बस्तिमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको कुरालाई भ्रमपूर्ण तरिकाले व्याख्या गर्नेहरूबाट माओवादी नेतृत्व जोगिन सकेको छैन ।

जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ति राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको कुरालाई बिर्सेर जनतालाई भ्रम सिर्जना गरी प्रतिगमन र पुरानो सत्ताको नै गुणगान गाउने पुनःरुत्थानवादी र नयाँको नाममा उदाएका अराजकतावादीहरूको उग्र भिडलाई पनि माओवादीले चिर्न सकेन । युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्धलाई माओवादीकै पूर्व कमान्डरहरूले बहुदलीय जनवाद र संशोधनवादमा लगेर मिसाइदिएको तथ्य पनि छर्लङ्गै छ । तर, सत्य र तथ्यलाई समेत बंग्याउने नेपाली राजनीतिमा त्यो ऐतिहासिक र गौरवशाली भनिएको जनयुद्धलाई राजनीतिक युद्ध नदेखेर हत्या देख्ने पात्रसँगै त्यसका कमान्डरको कुम जोडिनु अर्को दुःखद पक्ष हो । सहमति, सहकार्य र एकताका नाममा जनयुद्धका उपलब्धि खोस्ने र शहीद, घाइते र बेपत्ताका परिवालाई अपमान गर्नेहरूसँग नेतृत्व जोगिन नसक्दाको यो परिणाम अन्ततः केही क्षणको सत्ताभोग मात्रै बन्न थालेको छ । त्यसैले, जनयुद्धले स्थापित गरेको महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्दै नेपाली जनताको मुहार फेर्ने अभियानमा लाग्न नसक्नु जनयुद्धको सम्मान गर्नु होइन । यो कुरामा स्वयं माओवादी नेतृत्व सचेत नहुँदासम्म जनयुद्ध र त्यसबाट प्राप्त उपलब्धिलाई ‘सत्य’ हो भनेर स्वीकार गर्ने अवस्था छैन ।

द्वन्द्वपीडितहरू अहिले पनि न्यायको लागि आन्दोलनरत नै छन् । घाइते तथा अपाङ्ग भएकाहरू उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कैयौँलाई अझै पनि राज्यले मुद्दा चलाइरहेको छ । ‘जनयुद्ध’ को नेतृत्व गर्नेहरू राज्य संचालक हुँदा पनि तीनका कार्यकर्ताले सहज जीवनयापन गर्न पाएका छैनन् । अहिले पनि सत्य निरूपण तथा मेलमिलाप आयोगले न त बेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पीडकको नाम नै सार्वजनिक गरेको छ । माओवादी र सरकारले शान्ति वार्ताद्वारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको डेढ दशकभन्दा बढी भइसक्यो । तत्कालीन माओवादीले लडेको १० वर्षे ‘जनयुद्ध’ का केही घटनाहरूको अहिले पनि चर्चा हुने गर्छ ।

तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि सुरु गरेको थियो । जस अन्तर्गत भएका प्रमुख घटनाहरु यस प्रकार रहेका छन् –

 २०५२ फागुन

१ फागुन २०५२ मा नेकपा माओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न ‘जनयुद्ध’ को बाटोमा अघि बढौँ !’ भन्ने मूल नाराका साथ ‘जनयुद्ध’ को सुरुवात । रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैँकमा आक्रमण गरेको थियो ।

फागुन ६ः नेकपा माओवादीका महामन्त्री प्रचण्डद्वारा एक प्रेस वक्तव्यमार्फत् ती आक्रमणको जिम्मेवारी स्वीकार ।

फागुन १४ः गोरखामा प्रहरीद्वारा १४ वर्षीय दिलबहादुर रम्तेलको गोली हानी हत्या । जसलाई माओवादीले ‘जनयुद्ध’ को पहिलो शहीद घोषणा गरेको थियो ।

फागुन १५ः रुकुमको पीपलमा ६ जना खत्री बन्धुहरूको प्रहरीद्वारा हत्या ।

२०५३ साल

वैशाख २४ः रुकुमको तकसेरामा प्रहरीविरुद्ध पहिलो एम्बुस बिष्फोट । दुई प्रहरीको हत्या र दुईवटा राइफल लगियो ।

असारः माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘योजनावद्ध ढङ्गले छापामार युद्धको विकास गरौँ’ भन्ने मूल नारासहित ‘जनयुद्ध’ को विकासको दोस्रो योजना सुरु ।

पुस १९ ः रामेछापको बेथानमा रहेको प्रहरी चौकी आक्रमण । ‘जनयुद्ध’ सुरुवातपछि प्रहरी चौकी आक्रमणको यो पहिलो घटना । आक्रमणको क्रममा माओवादीका तीर्थ गौतम, महिला छापामार दिलमाया योञ्जनसहित तीन लडाकुको मृत्यु ।

२०५४ साल

असार ः माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘छापामार युद्धलाई विकासको अर्को नयाँ उचाइमा उठाऔँ !’ भन्ने मूल नारासहितको तेस्रो योजना पारित ।

भदौः तनहुँको कालिकाटारमा प्रहरी गस्तीमाथि आक्रमण र हतियार लुटियो ।

माघ २२ः धादिङको खहरेमा एम्बुस बिष्फोट । दुई राइफल र नेपाल बैंक लिमिटेडको २० लाख रुपैयाँ लुटियो ।

फागुन २४ः रोल्पाको कोर्चावाङ निम्रीमा प्रहरीविरुद्ध एम्बुस बिष्फोट । दुई प्रहरीको हत्या र दुईवटा राइफल लुटियो ।

चैत ४ः गोरखाको सौरपानीमा एम्बुस बिष्फोट । तीन प्रहरीको हत्या र एक राइफल लुटियो ।

२०५५ साल

वैशाख ः सरकारद्वारा किलो शेरा टू नामक अप्रेशन सञ्चालन ।

भदौ ः नेकपा माओवादीको केन्द्रीय समितिको चौथो विस्तारित बैठक । ‘आधार इलाका निर्माणको दिशामा अघि बढौँ’ भने मूल नारा तय ।

कात्तिक १० ः छापामारहरूले सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकीमाथि आक्रमण । पूर्वमा काभ्रेको फलाँटेमा दिउँसै प्रहरी चौकीमा आक्रमण । सोही दिन पर्साको निर्मलवस्ती र धनुषाको ललियामा रहेका प्रहरी चौकीहरूमा आक्रमण ।

पुस १९ गतेको बेथान आक्रमणको निरन्तरताको क्रममा ललितपुरको भट्टेडाँडा चौकी छापामारद्वारा सम्पूर्ण हतियारसहित लुटपाट ।

फागुन १९ ः दाङको चिराघाट प्रहरी चौकी आक्रमण ।

चैत ५ ः काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारको प्रहरीले आगो लगाएर जिउँदै जलाई र गोली प्रहार गरी हत्या ।

२०५६ साल

वैशाख १९ ः रोल्पाको जेलवाङमा रहेको दङ्गा प्रहरी बेस क्याम्प आक्रमण ।

जेठ ६ ः नेकपा माओवादीका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, जनादेशका प्रबन्ध सम्पादक मिलन नेपाली, पूर्वका छापामार प्लाटुन कमान्डर नवीन गौतम र कमला शर्मालगायतलाई गिरफ्तार गरी बेपत्ता ।

जेठ ३१ ः जाजरकोट लहँमा रहेको दङ्गा बेसक्याम्प आक्रमण ।

भदौ २३ ः नेकपा माओवादीका वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘वासु’ को गोरखामा गिरफ्तारपछि हत्या ।

असोज ५ ः रुकुमको महतमा रहेको दङ्गा बेसक्याम्प आक्रमण । डीएसपी ठूले राई अपहरण ।

फागुन ६ ः रोल्पाको घर्तीगाउँ दङ्गा इप्रका आक्रमण । यसपछि प्रहरीहरू केन्द्रीकृत ।

चैत २१ ः रुकुमको तकसेरामा रहेको दङ्गा इप्रका आक्रमण ।

चैत अन्त्य ः गोरखाको हर्मी प्रहरी चौकी आक्रमण ।

२०५७ साल

असार १९ ः जाजरकोटको पाँचकटिया दङ्गा इप्रका आक्रमण ।

भदौ ७ ः नवलपरासीको धवाडी इप्रका आक्रमण ।

भदौ १४ ः झापा महवारी इप्रका आक्रमण ।

असोज ८ ः पहिलो पटक सदरमुकाममाथि आक्रमण । डोल्पा सदरमुकाम दुनैका सम्पूर्ण प्रहरी चौकीहरू र बैँक लुटपाट तथा आगजनी ।

असोज १० ः लमजुङको भोर्लेटारमा इलाका प्रहरी आक्रमण ।

कात्तिक २० ः रामेछापको दोरम्बा प्रहरी चौकी आक्रमण ।

पुस ५ ः पहिलोपल्ट जिल्ला जनसरकारको घोषणा । पूर्णबहादुर घर्ती रुकुम जिल्ला जनसरकार प्रमुख घोषित ।

फागुन ः नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन भारत पञ्जावमा सम्पन्न । उक्त सम्मेलनबाट ‘प्रचण्डपथ’ पारित । अध्यक्षमा प्रचण्ड निर्वाचित । दक्षिण एसियाली फेडेरेसनको अवधारणा पारित । ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौँं, केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौँ’ भन्ने मूल नारा तय ।

चैत १७ ः गोरखाका ६ महिला बन्दीहरू उमा भुजेल, कमला नहकर्मि लगायतद्वारा जेलब्रेक ।

चैत १९ ः रुकुमको रुकुमकोटमा रहेको दङ्गाको क्याम्प, दैलेखको नौमुलेमा रहेको प्रहरी क्याम्प र दोलखाको मैनापोखरीमा रहेको इप्रका आक्रमण ।

२०५८ साल

जेठ ८ ः ओखलढुङ्गाको खानीभञ्याङ इप्रका आक्रमण ।

जेठ १९ ः दरबार हत्याकाण्ड, राजा वीरेन्द्रको वंशनास ।

जेठ २० ः माओवादी अध्यक्ष प्रचण्डद्वारा राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि जोड ।

जेठ २२ ः अधिराजकुमार ज्ञानेन्द्र शाह राजा घोषणा ।

असार २५ ः लमजुङको विचौर प्रहरी चौकी आक्रमण ।

असार २८ ः रोल्पाको होलेरी चौकीमाथि सबेरै आक्रमण गरी ६९ प्रहरी अपहरित । शाही सेनाको परिचालन प्रयास ।

असार ३० ः रामेछापको धोवीडाँडा प्रहरी चौकी आक्रमण ।

साउन ६ ः तेह्रथुमको पोक्लावाङस्थित प्रहरी चौकी आक्रमण ।

साउन ७ ः बाजुराको पाण्डुसेनमा रहेको प्रहरी चौकी आक्रमण ।

साउन ४ ः माओवादीविरुद्ध सेना परिचालन गर्न राजा ज्ञानेन्द्रले नमानेपछि सोही विवादका कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा । शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन ।

साउन ८ ः सरकारद्वारा युद्धविरामको घोषणा । त्यसको लगत्तै माओवादीद्वारा युद्धविरामको सकारात्मक प्रत्युत्तर ।

साउन १२ ः कृष्णबहादुर महराको नेतृत्वमा अग्नि सापकोटा र टोपबहादुर रायमाझी रहेको तीन सदस्यीय माओवादीका वार्ता टोली कीर्तिपुरमा सार्वजनिक । १४ गते पहिलो चरणको वार्ता गोदावरीमा । २८–२९ गते दोस्रो चरणको वार्ता बर्दियाको ठाकुरद्वारमा ।

साउन ३१ ः विभिन्न राजनीतिक दल र माओवादीबीच भारतको सिलगुडीमा वार्ता ।

कात्तिक २८ ः तेस्रो चरणको शान्ति वार्ता पुनः गोदावरीमा सम्पन्न ।

मङ्सिर ६ ः माओवादी अध्यक्षद्वारा सरकारले वार्ता र अग्रगामी राजनीतिक निकासको ढोका बन्द गरेको जनाउँदै सचेत रहन आग्रह ।

मङ्सिर ८ ः जनमुक्ति सेना नेपालको घोषणा, सर्वोच्च कमान्डर प्रचण्ड । सोही दिन संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपालको घोषणा । बाबुराम भट्टराईको नेतृत्वमा ४१ सदस्यीय समिति सार्वजनिक ।

मङ्सिर ८ ः माओवादी लडाकुद्वारा दाङको सदरमुकाम घोराही सैनिक ब्यारेक, स्याङ्जाको सदरमुकाम पुतलीबजार आक्रमण ।

मङ्सिर १० ः पूर्वमा माओवादी लडाकुद्वारा सोलुखुम्बु सदरमुकाम सल्लेरी आक्रमण, सिडिओसहित १३७ सुरक्षाकर्मी मारिए ।

मङ्सिर ११ ः देउवा सरकारद्वारा संकटकालको घोषणा । शाही नेपाली सेनाको औपचारिक परिचालन । शाही सुरक्षाकर्मीले जनादेश साप्ताहिक र जनदिशा दैनिकका कार्यालयमा रेड गरी ११ जना पत्रकार गिरफ्तार ।

मङ्सिर १२ ः शाही नेपाली सेनाद्वारा अपरेसन सुरु ।

मङ्सिर २२ ः राज्य आतङ्कविरुद्ध भन्दै नेकपा माओवादीद्वारा नेपाल बन्द ।

फागुन ४ ः माओवादीद्वारा अछाम सदरमुकाम र साँफेबगर विमानस्थलमा आक्रमण । भिडन्तमा ५५ सेना र १५० प्रहरीको मृत्यु ।

२०५९ साल

वैशाख १९ ः रोल्पाको लिस्ने लेकमा सुरक्षाकर्मीसँग माओवादीको दिउँसै भिडन्त । माओवादी लडाकुद्वारा सुरक्षा बेसक्याम्प आक्रमण ।

जेठ ८ ः देउवाद्वारा मध्यरातमा संसद् विघटन । मध्यावधि निर्वाचनका लागि कात्तिक २७ मिति घोषणा ।

जेठ १३ ः जेठ ६ गते गिरफ्तार गरिएका जनादेशका पूर्वसम्पादक कृष्ण सेन ‘इच्छुक’ को हिरासतमै हत्या ।

असार २ ः माओवादी केन्द्रीय सदस्य रीतबहादुर खड्काको रौतहटमा हत्या । भारतद्वारा अखिल भारत नेपाली एकता समाजलाई पोटा कानुनद्वारा प्रतिबन्ध ।

असार २८ ः भारतले दिल्लीबाट असार २७ गते गिरफ्तार गरिएका पत्रकार महेश्वर दाहाल, सुरेन्द्र कार्की (पार्थ क्षेत्री)सहित चारजनालाई व्यापक विरोधका बाबजुद पहिलोपटक औपचारिक रूपमा नेपाल सुपुर्दगी ।

भदौ २३ ः अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र सिन्धुलीको भिमानमा रहेको इप्रका आक्रमण ।

असोज १७ ः संसदवादी दलहरूद्वारा चुनाव एक वर्षपछि सार्न राजासमक्ष बिन्ती ।

असोज १८ ः राजा ज्ञानेन्द्रद्वारा देउवा सरकार विघटन । कार्यकारिणी अधिकार आफैँले लिए ।

कात्तिक २८ ः कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा माओवादी आक्रमण ।

मङ्सिर १८ ः माओवादीद्वारा लहानमा रहेको इप्रका र बैंक लुटियो ।

माघ १२ ः मर्निङ वाकमा रहेका सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ र उनकी पत्नीको माओवादीद्वारा गोली हानि हत्या ।

माघ १५ ः सरकार र माओवादी दुबैले गरे युद्धविरामको घोषणा ।

माघ १८ ः बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहेको पाँच सदस्यीय माओवादी वार्ता टोलीको घोषणा ।

माघ २९ ः युद्धविराम आचारसंहिता जारी ।

चैत १५ ः वार्ता टोली सार्वजनिक । राजधानीमा पत्रकार सम्मेलन ।

चैत २० ः काठमाडौंमा माओवादीको आमसभा । वार्ता टोलीका सदस्यहरूद्वारा सम्बोधन ।

२०६० साल

वैशाख १४ ः दोस्रो युद्धविरामको पहिलो चरणको वार्ता काठमाडौंको शंकर होटलमा । २७ गते सोही ठाउँमा दोस्रो चरणको वार्ता ।

साउन ३२ ः सरकार र माओवादीबीच तेस्रो चरणको वार्ता नेपालगञ्ज र पछि दाङ हापुरेमा । सोही दिन रामेछापको दोरममा शाहीसेनाद्वारा ‘जिल्ला जनसरकार’ प्रमुख बाबुराम तामाङसहित २० जना माओवादी कार्यकर्ता र एक स्थानीयको हत्या । शाही नेपाली सेनालाई ब्यारेकबाट पाँच किमिभन्दा बाहिर ननिस्कन भएको सहमतिलाई तोडिएकाले वार्ता प्रभावित ।

भदौ १० ः नेकपा माओवादीद्वारा युद्धविराम र वार्ता भङ्गको घोषणा । देशव्यापी प्रतिरोध गर्ने चेतावनी । काठमाडौंमा माओवादीद्वारा शाही नेपाली सेनाका कर्नेल किरण बस्नेतको हत्या ।

कात्तिक १० ः माओवादीले गोरखा च्याङ्लीमा थापेको एम्बुसमा परी प्रहरी एसपी सूर्यकुमार श्रेष्ठसहित चार जनाको मृत्यु ।

कात्तिक ११ ः पोखरा नजिकैको डाँडानाकामा रहेको संयुक्त चेकपोष्ट आक्रमण ।

कात्तिक १६ ः पर्साको पल्वा मिलनचोकमा एम्बुसमा १० शाही सुरक्षाकर्मी मारिए ।

कात्तिक २१ ः माओवादीका अध्यक्षद्वारा एक विशेष सन्देशमार्फत् रेडियो जनगणतन्त्र नेपालको उद्घाटन ।

कात्तिक २९ ः त्रिभुवन राजपथ खण्डमा माओवादीले थापेको एम्बुसमा परी शाही नेपाली सेनाको ब्रिगेडियर सागरबहादुर पाण्डेको मृत्यु ।

मङ्सिर ः माओवादी र एमालेबीच भारतको लखनउमा वार्ता ।

पुस २ ः माओवादी सेनाद्वारा कपिलवस्तुको धानखोलामा थापेको एम्बुसमा लेफ्टिनेन्टसहित १० सुरक्षाकर्मी मारिए ।

पुस २५ ः सन्तोष बुढा मगरको अध्यक्षतामा मगरात स्वायत्त गणतन्त्र जनसरकार थवाङमा घोषणा ।

माघ २ ः तामाङ स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्षमा हितबहादुर तामाङ ।

माघ ५ ः खड्गबहादुर विकको अध्यक्षतामा भेरी–कर्णाली स्वायत्त गणतन्त्र, जनसरकारको घोषणा ।

माघ १० ः मधेस स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । प्रमुखमा मातृका यादव ।

माघ १५ ः सेती–महाकाली स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्ष लेखराज भट्ट निर्वाचित । सोही दिन रामचरण चौधरीको अध्यक्षतामा थारुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।

माघ १६ ः तमुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा । प्रमुखमा देव गुरुङ ।

माघ १९ ः किरात स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । गोपाल खम्बु प्रमुख ।

माघ ः भारत सरकारद्वारा माओवादी नेताहरू मातृका यादव र सुरेश आले मगरलाई गिरफ्तार गरी नेपाल सुपुदर्गी ।

फागुन १९ ः माओवादीद्वारा भोजपुर सदरमुकाममाथि आक्रमण ।

चैत ७ ः माओवादीद्वारा म्याग्दी सदरमुकाम बेनीमाथि हमला । १५० भन्दा बढी सुरक्षाकर्मी मारिए ।

चैत १३ ः माओवादीका स्थायी समिति सदस्य तथा पूर्वी कमान्डर इन्चार्ज मोहन बैद्य किरण भारतीय प्रहरीद्वारा सिलगुडीमा गिरफ्तार ।

चैत २२ ः धनुषाको यदुकुवा प्रहरी चौकी आक्रमण ।

चैत २५ ः पशुपतिनगर इप्रका आक्रमण ।

२०६१ साल

वैशाख ३१ ः माओवादी केन्द्रीय सदस्य तथा मङ्गलसेन प्रथम ब्रिगेडका कमान्डर नेपबहादुर केसी ‘परिवर्तन’को बम बिष्फोटमा परी मृत्यु ।

जेठ ६ ः डोटीको घन्टेश्वरमा माओवादी– सुरक्षाकर्मी भिडन्त । डेढ दर्जन सुरक्षाकर्मी मारिए ।

असार ३ ः अखिल (क्रान्तिकारी) द्वारा शिक्षण हडतालसहित विविध संघर्ष गरेर सङ्गठनमाथिको आतंककारीको आरोप फिर्ता गराउन सफल ।

साउन–भदौ ः माओवादीको केन्द्रीय समितिद्वारा ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौँ ! वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौँ ! भन्ने मूल नारासहितको प्रत्याक्रमणको योजना पारित ।

भदौ २० ः माओवादी केन्द्रीय सदस्यद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको सिरहामा हत्या ।

मङ्सिर १ ः माओवादीद्वारा धादिङको कृष्णभीरमा एम्बुस । शाही सेनाको एक ट्रक हतियार लुटियो । उक्त भिडन्तको भिडियो नेपाल वान टेलिभिजनले प्रशारण गरेपछि ठूलो खैलाबैला । सोही दिन धनुषाको महेन्द्रनगर इप्रका आक्रमण ।

मङ्सिर २ ः बाँकेको खैरीखोलामा धरापमा परी ८ शाही सुरक्षाकर्मी मारिए, हतियार लुटियो ।

मङ्सिर ५ ः कैलालीको पण्डोनमा माओवादीद्वारा सेनाको रेन्जर बटालियनमाथि हमला, १९ जना मारिए ।

मङ्सिर ५ ः नुवागाउँ–थवाङ–चुनवाङ शही मोटर बाटो खन्ने अभियान उद्घाटन ।

पुस ३ ः काठमाडौंको साँखु इप्रका माओवादीद्वारा आक्रमण ।

पुस ७ ः कर्णाली चिसापानीमा सेनामाथि आक्रमण गरी १५ सुरक्षाकर्मी मारिए ।

पुस १७ ः धनकुटाको सेउतीखोलामा माओवादीको एम्बुस बिष्फोट, २० सुरक्षाकर्मी मारिए ।

माघ १९ ः राजा ज्ञानेन्द्रद्वारा देउवा सरकार हटाएर आफ्नो अध्यक्षतामा सरकार गठन । शाही ‘कू’ विरुद्ध माओवादी अध्यक्षको अपिल ।

चैत २० ः माओवादीद्वारा ११ दिने देशव्यापी आमहड्ताल ।

२०६२ वैशाख

वैशाख २६ ः माओवादीद्वारा सिरहाको बन्दीपुरमा रहेको सेनाको ब्यारेक, मिर्चैयाको सशस्त्रको ब्यारेकमा आक्रमण ।

जेठ २३ ः माओवादीद्वारा चितवनको बाँदरमुडेमा यात्रु बस एम्बुसमा पारी ३ सुरक्षाकर्मीसहित ४२ जनाको हत्या । दर्जनौ जना घाइते ।

जेठ २७ ः काभ्रेको नार्केमा शाही नेपाली सेनामाथि माओवादी आक्रमण । त्यसको पर्सिपल्ट घर्तीछापमा अर्को गस्तीमाथि आक्रमण । दुवै आक्रमणमा २२ सुरक्षाकर्मी मारिए ।

असार ८ ः माओवादीद्वारा भोजपुरको पान्धारेमा सेनामाथि आक्रमण । ८ जना मारिए ।

असार ११ ः माओवादीद्वारा अर्घाखाँचीको खनदहमा सेनामाथि आक्रमण । लेफ्टिनेन्टसहित १९ जना मारिए ।

साउन २३ ः कालिकोटको पिलीमा रहेको शाही सैन्यक्याम्पमा आक्रमण । सेनामा भर्ति हुन गएका युवासहित ठूलो संख्यामा सुरक्षाकर्मी मारिए । ठूलो संख्यामा हतियार लुटिए ।

असोज १८ ः नेकपा माओवादीद्वारा एकपक्षीय युद्धविरामको घोषणा ।

मङ्सिर ७ ः सातदल र माओवादीबीच भएको १२ बुँदे समझदारी सार्वजनिक ।

मङ्सिर १३ ः माओवादीद्वारा केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक । प्रत्याक्रमणको दोस्रो योजना ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी कार्यनीतिको घोषणा ।

मङ्सिर १४ ः शाही नेपाली सेनाद्वारा हेलिकोप्टरबाट हानेको गोली लागेर डिभिजन कमान्डर किमबहादुर थापा ‘सुनिल’ को मृत्यु ।

मङ्सिर १७ ः माओवादीद्वारा एक पक्षीय युद्धविराममा एक महिना थप ।

पुस १८ ः माओवादीद्वारा युद्धविराम भङ्गको घोषणा ।

माघ १ ः माओवादीद्वारा राजधानीका थानकोट र दधिकोट इप्रकाहरू आक्रमण ।

माघ ८ ः पश्चिम सैन्यकमान्डद्वारा पाल्पा सदरमुकाम तानसेन आक्रमण र आगजनी ।

माघ २६ ः माओवादी र सात दलको बहिष्कारका कारण शाही सरकारले घोषणा गरेको नगर निर्वाचन विफल ।

माघ २७ ः माओवादीको पश्चिम सैन्य कमान्डद्वारा रूपन्देहीको सुनवलमा शाही नेपाली सेनाका पाँच ट्रक फोर्समाथि आक्रमण । २५ सेना मारिए, हतियार लुटिए ।

चैत २४ ः सात दल–माओवादी संयुक्त शान्तिपूर्ण आन्दोलन सुरु ।

२०६३ साल

वैशाख ११ ः व्यापक जनसहभागिताबाट शान्तिपूर्ण संयुक्त जनआन्दोलन सफल, राजाद्वारा आन्दोलनकारी सात दलका माग स्वीकार गरी विघटित प्रतिनिधिसभाको पुनस्र्थापना ।

वैशाख ११ ः माओवादीद्वारा धोका भएकोभन्दै आन्दोलन जारी राख्ने घोषणा ।

जेठ ४ ः पुनस्र्थापित प्रतिनिधिसभाको बैठकद्वारा संविधानसभाको निर्वाचन गराउने घोषणा ।

जेठ १२ ः नेपाल सरकार तथा माओवादी पक्षका नेताबीच पहिलो शीर्षस्थ वार्ताद्वारा २५ बुँदे युद्धविराम आचारसंहिता जारी ।

असार २ ः नेपाल सरकार, सात दल र माओवादीबीच वार्ता, आफ्नो लामो भूमिगत जीवनबाट माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारबाट सार्वजनिक, आठबुँदे सहमति ।

साउन २४ ः सरकार–माओवादीद्वारा संयुक्त राष्ट्र सङ्घलाई संयुक्त रूपमा एकै बेहोराको पत्र प्रेषित ।

कात्तिक २२ ः सात दल–माओवादीबीच ऐतिहासिक शिखर वार्ता, ६ बुँदे शान्ति सहमति, राजसंस्थाको निर्णय संविधानसभाको पहिलो बैठकले गर्ने निर्णय ।

मङ्सिर ५ ः सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच १० बुँदे ऐतिहासिक शान्ति सम्झौता, ११ बर्षे माओवादी ‘जनयुद्ध’ को समाप्तिको घोषणा । प्रचण्डको यो निर्णय पार्टीगत वा संस्थागत नभएको भनी पार्टीभित्रै आलोचना ।

माघ १ ः नेपालको अन्तरिम संविधान जारी, संविधानसभाको चुनाव गर्ने अठोट ।

चैत १८ ः नेकपा माओवादीसहितको अन्तरिम सरकार गठन ।

२०६४ साल २८ चैतमा पहिलो पटक नेपालमा संविधानसभाको निर्वाचन सम्पन्न ।

प्रतिक्रियाहरु

[anycomment]