बाम एकता आजको मुख्य आवश्यकता

२०८२ चैत्र १० गते, मंगलवार

डा. केशव देवकोटा

नेपालमा वाम एकता सधैको आकर्षक नारा तर कहिल्यै कार्यान्वयन हुननसक्ने प्रस्ताव बनेको छ । खासगरी गत फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनमा सहभागी भएका दलहरुले पनि नराम्ररी पराजय भोग्नुपरेको र बहिष्कार गरेका दलहरुले पनि सफलता पाउन नसकेपछि अब नेपालमा कम्युनिष्ट पार्टीहरुको भविष्य के हुन्छ ? भन्ने गम्भिर प्रश्न उठेको छ । घटनाक्रमहरुलाई केलाउँदा क्रान्तिकारी, मध्यपन्थी र संसदवादी सबै कम्युनिष्ट पार्टीहरुको बृहत् गोलमेच सम्मेलनको टड्कारो आवश्यकता देखिएको छ । त्यस्तो गोलमेच सम्मेलनले लचिलो खालको संयुक्त वाम मोर्चा गठन गरेर अगाडि बढ्न सकिने संभावना रहेको छ । त्यसैले यहाँका सबै कम्युनिष्ट पार्टीहरुले आ–आफ्नो पार्टी भित्रका गतिविधि र विभिन्न कम्युनिष्ट पार्टीबीच पार्टी एकता, सहकार्य र कार्यगत एकताकाबारेमा आन्तरिक र बाह्य छलफल चलाउनु आवश्यक भएको छ । यो आलेखमा सोही विषयमा केही मन्थ नगर्ने प्रयास गरिएको छ । नेपालमा तीन खेमाका कम्युनिष्टहरु रहेको पाइन्छ । कम्युनिष्ट पार्टीको संख्या कति छ ? भनेर कसैले पनि बताउन नसक्ने अवस्था छ । त्यसैले क्रियाशील प्रमुख कम्युनिष्ट पार्टीहरुका बीचमा मन्थन आजको आवश्यकता भएको छ । वामपन्थी शक्तिहरुले एकअर्कालाई कमजोर पार्ने र सिध्याउने नीति र प्रयत्नलाई नै निरन्तरता दिने होभने नेपालको वामपन्थी आन्दोलन नै धराशायी हुने खतरा पनि रहेको छ । वाम पार्टीहरुको विवादले नेपालको राष्ट्रिय सार्वभौमिकता स्वाधीनता एवं हित कमजोर हुँदै संकटग्रस्त बन्ने खतरा बढाउने भएकाले वामपन्थी शक्तिहरु बीचको तालमेल, मोर्चा र एकताको टड्कारो आवश्यकता देखिएको हो । राजनीतिलाई व्यक्ति वा समूह स्वार्थकेन्द्रित धन्दा नबनाउने होभने देश र आन्दोलनको आवश्यकता आज बाम तालमेल र एकतानै हो । जसका निम्ति सम्बन्धित सबैले गंभीर अत्माआलोचक भावसहित इमान्दार अग्रसरता देखाउनुपर्ने अवस्था रहेको छ । नेपालमा वाम पार्टीहरुका बीचमा मोर्चा वा गठबन्धन बनाउने आधारहरु सामान्यतया बैचारिक, राजनीतिक र व्यवहारिक पक्षमा आधारित हुनु आवश्यक छ ।

एकताका मुख्य आधारहरुमा पहिलो वैचारिक समानता हो । माक्र्सवाद र लेनिनवादलाई सबैले मान्ने भएकाले त्यसैलाई एकताको पहिलो आधार बनाइएको हुनुपर्दछ । जसमा माओवाद वा बिचारधारा मान्नेहरुलाई पनि लचिलोरुपमा समावेश गर्न सकिने हुन्छ । त्यसैगरी सबै कम्युनिष्ट पार्टीहरुको लक्ष समाजवादतर्फ उन्मुख रहेको छ । त्यसैगरी सबै कम्युनिष्ट पार्टीहरुले पूँजीवाद, साम्राज्यवाद वा नवउदारवादको आलोचना गरेका छन् । त्यसलाई पनि एकताको आधार बनाउन सकिने अवस्था छ । कतिपयले ०७२ को संविधानको रक्षा भनेका छन् । कतिपय त्यसको संशोधनको पक्षमा रहेका छन्भने कतिपयले ०७२ को संविधानलाई देशमा विद्यमान सबै समस्याको जड भनेका छन् । त्यसैले ०७२ को संविधानकाबारेमा स्वतन्त्र बहसलाई खुल्ला गरिएको हुनुपर्दछ । नेपालमा लागू गराइएको संघीयता अमेरिकालगायतका पश्चिमा राष्ट्रको स्वार्थ अनुकूल रहेको छ । नेपालको संघीयता टिकाउनका लागि अमेरिकाले वार्षिक बजेट छुट्याउने गरेको र यूरोपियन यूनियनलगायतले ठूलो धनराषि ऋण लगानी गरेको घटनाले नेपालमा संघीयता लागू गरिनुको अशली मनशाय खुलेको छ । ०७२ यताको अभ्यासबाट सबैमा नेपाललाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा अस्तव्यस्त बनाउन संघीय शासन लागू गराइएको स्पष्ट भइसकेको छ । त्यसैगरी जातीय समावेशी र धर्मनिरपेक्षतालगायतका एजेण्डामा पनि कैफियत देखिएको छ । जसलेगर्दा त्यसलाई पनि छलफल मै रहन दिनु उचित हुन्छ । कतिपय कम्युनिष्ट पार्टीले संघीयता र जातीय समावेशीलगायतलाई आफ्ना उपलब्धी भनेका छन्भने नेपाली जनताका लागि ती मुख्य समस्याका रुपमा खडाभएका छन् ।

सामाजिक न्याय र समानताका कुराहरुमा कुनैपनि समूहकाबीचमा मतान्तर रहेको छैन । राजनीतिमा वर्गीय समावेशी अथवा पेशागत समावेशी हुनुपर्नेमा कतिपयले जातीय समावेशीको नारा ल्याएर सामाजिक कलहको अवस्था सिर्जना गराउने प्रयास गरेको देखिएको छ । साम्राज्यवादीहरुको राजनीतिक सूत्र फुटाउ र शासन गरभन्ने होभने कम्युनिष्टहरुको सूत्र मिलाउ र शासन गर भन्ने हुनुपर्दछ । त्यसैगरी चुनावी रणनीति मतविभाजन देखिएको छ । संसदीय चुनावमा भाग लिनेकि नलिनेभन्ने कुरालाई पनि छलफलमै रहनदिनु उचित हुन्छ । चुनावमा भाग लिने होभने वर्ग संघर्षका नियमहरुको प्रयोग गर्ने र तुलनात्मकरुपमा नजिकको मित्रशक्तिलाई सहयोग गर्ने शोच र परम्पराको विकास गरिएको हुनु पर्दछ । चुनावमा भाग लिने कम्युनिष्टहरुले पनि साझा उम्मेदवार उठाउने र सहमतिमा सिटको बाँडफाँड गर्ने–गराउने प्रबन्ध गरिएको हुनुपर्दछ । त्यसैगरी कम्युनिष्ट पार्टीहरुको नेतृत्वबीच सहमतिको वातावरण बनाउने संयन्त्रको विकास गरिएको हुनुपर्दछ ।

विभिन्न वाम समूहका प्रमुख नेताहरुबीच विश्वास र समझदारी कायम गरिनु आवश्यक छ । त्यसैगरी विगतका विवादहरुको समाधान गर्ने तत्परता पनि देखाइन आवश्यक छ । बेलाबखत राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भका कुराहरु पनि आउँछन् । जसकाबारेमा छलफल गरेर धारणा बनाउने प्रबन्ध गरिएको हुनुपर्दछ । देशको राजनीतिक संकट वा अस्थिरता वा बाह्य शक्तिको प्रभावकाबारेमा पनि बाम पार्टीहरुका बीचमा साझा धारणा बनाइनु आवश्यक छ । राष्ट्रिय हितका मुद्धामा सहकार्य गर्ने परिपार्टीको विकास गरिएको हुनुपर्दछ । विभिन्न कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता र समर्थकहरुबीचको एकताका लागि पनि कतिपय संयन्त्रहरुको ब्यवस्था आवश्यक पनि छ र त्यसको प्रबन्ध पनि गर्न–गराउन सकिन्छ । नेपालमा वृहत् वाम एकता कायम भएको खण्डमा त्यसले धेरै हदसम्म राजनीतिक स्थिरताको सिर्जना गराउँदछ । विभाजित वाम शक्तिहरु एक ठाउँमा आए स्थिर सरकार बन्ने सम्भावना पनि बढ्नसक्छ । त्यसैगरी साझा कार्यक्रम बनेको खण्डमा समाजवाद उन्मुख नीतिहरु कार्यान्वयन गर्न सहज हुन्छ । हरेक कुराहरुमा वाम मतविभाजन घट्नसक्ने अवस्था रहन्छ । नेपालजस्तो मुलुमा वाम एकताका चुनौतीहरु पनि रहेका छन् । नेपालका हरेक कम्युनिष्ट पार्टीमा नेतृत्वको होड रहेको छ । शीर्ष नेताहरुकाबीचमा विश्वासको कमी रहेको छभने शक्तिको बाँडफाँडको विवाद चर्को छ । त्यसैगरी वैचारिक अस्पष्टताहरु पनि धेरै रहेका छन् । नाम वाम भएपनि व्यवहार र नीतिहरुमा ठूलो भिन्नता रहेको छ ।

०७५ सालमा तत्कालीन माओवादी केन्द्र र एमालेले आपसमा पार्टी एकता गरेर फेरी विभाजन गरेको र माओवादी केन्द्रलगायतका चार पार्टीले समाजवादी मोर्चा बनाएर त्यसलाई पनि विघटनमा पु¥याएको घटनाले नेपालको वाम राजनीतिमा गम्भिर खालको नकारात्मक असर गरेको छ । हिजो जनयुद्ध र संयुक्त जनमोर्चाको नेतृत्व गरेका डा. बाबुराम भट्टराईलगायतले कम्युनिष्ट पार्टी र राजनीति नै परित्याग गरेको र आगामी १५ वर्षमा नेपालमा कुनैपनि कम्युनिष्ट पार्टी नरहने घोषणा गरेको घटनाले पनि समाजमा कम्युनिष्ट पार्टी र राजनीतिप्रति नकारात्मक असर गरेको देखिएको छ । जसले वाम कार्यकर्ता र जनतामासमेत निराशा पैदा गरेको छ । सबैमा फेरि पनि त्यस्तै घटना दोहोरिने डर पनि छ । नेपालका प्रायः कम्युनिष्ट पार्टीहरु अझै संस्थागतभन्दा व्यक्तिकेन्द्रित देखिने गरेका छन् । नेपालका वाम दलहरुबीच संसदीय व्यवस्थालाई स्वीकार्ने विषयमा मतभेदहरु रहेका छन् । कसैले संसदीय बहुदलीय राजनीतिलाई सर्वश्व मानेका छन् भने कसैले क्रान्तिकारी बाटोमा जोड दिनेगरेका छन् । जसले दीर्घकालीन एकता कठीन बनाउँछ । ठूला नेताहरुबीचको व्यक्तिगत महत्वाकांक्षा, शक्ति संघर्ष, र नेतृत्व कसले लिनेभन्ने विवाद पनि बारम्बार देखिने गरेको छ । जससले पार्टीभित्रसमेत गुटबन्दी बढाउँछ र एकता कमजोर बनाउँछ ।

नेपालका विभिन्न वाम दलको संगठनात्मक संरचना, अनुशासन र कार्यशैली फरक–फरक रहेको छ । एकीकृत भएपछि ति संरचनाहरु मिलाउन गाह्रो हुन्छ । जसले आन्तरिक तनावको सिर्जना पनि गर्छ । विगतका तिक्तताहरु पनि समस्याकारुपमा रहेका छन् । जसले नयाँ एकताको प्रयासप्रति शंका उत्पन्न गराउनसक्ने अवस्था छ । बारम्बारको विभाजन र आन्तरिक विवादका कारण जनतामा वाम शक्तिप्रति विश्वासको संकट रहेको छ । जसले एकताको औचित्यलाई नै कमजोर बनाउने काम गर्छ । हालको अवस्थामा नेपालमा वाम एकता समयको माग र सबै पार्टीको बाध्यता पनि हो । वाम एकताका लागि सर्वप्रथक सैद्धान्तिक सहमति आवश्यक छ । सबै वाम घटकहरुले विचार, मार्ग, रणनीति र कार्यक्रमको साझा न्यूनतम दस्तावेज तयार गर्नुपर्छ । सांगठनिक अनुशासन र आन्तरिक लोकतन्त्रको अभ्यास बलियो बनाइनु पर्छ । गुटबन्दी, अवसरवाद र नेतावादी प्रवृत्तिहरुको अन्त्य बिना जनताको विश्वास जित्न सकिँदैन । राजनीतिक भाषाशैली, संगठनको संरचना र कार्यशैलीलाई समय सापेक्ष र जनमुखी बनाउनु आवश्यक छ । नेपालको राजनीतिक संक्रमण अझै समाप्त भइसकेको छैन । त्यसैले पनि नेपालमा वृहत वाम एकता सम्भव छ र त्यसका लागि विचारधारात्मक स्पष्टता, नेतृत्वबीच सहमति, संस्थागत सुधार, र साझा कार्यक्रम अत्यावश्यक हुन्छ । जसका लागि तत्काल छलफल थालिनु जरुरी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु