पेरिस कम्युन सर्वहारावर्गको आदर्श
सन्दर्भ ः २१२ औँ पेरिस कम्युन वर्षगाँठ
पेरिस कम्युन मानिसलाई वर्ग–शासनबाट सधैँको लागि मुक्त पार्ने महान् सामाजिक क्रान्तिको प्रभात थियोे र आफ्नो कम्युनसहित मजदुरहरुको पेरिस एउटा नौलो समाजको गौरवशाली अग्रणीको रुपमा हमेशा जन–सम्मानको पात्र बनिरहनेछ । त्यसका शहिदहरुले मजदुर वर्गको महान् हृदयमम सदाको लागि ठाउँ ओगटेका छन् – कार्ल माक्र्स
पेरिस कम्युन सोभियत सत्ताको बीउ – लेनिन
१८ मार्च १८७१ देखि पेरिसका सर्वहारावर्ग र क्रान्तिकारी जनताले शुरु गरेको सशस्त्र विद्रोहको कारण २८ मार्च १८७१ मा महान् पेरिस कम्युन अस्तित्वमा आएको थियो र त्यसले ७२ दिनसम्म शासन गरेको थियो । पेरिस कम्युन छोटो समय अस्तित्वमा रहे पनि त्यसका वीरतापूर्ण कार्यहरु सधैंका लागि चम्किरहनेछन् र त्यसको प्रकाशमा विश्व सर्वहारावर्ग र क्रान्तिकारी जनताहरु उत्साहपूर्वक लक्ष्यतर्फ अघिबढिरने छन् भन्ने सन्देश दिएको महान् पेरिस कम्युन निर्माण भएको आज २११ वर्ष पुरा भएको छ र आज विश्व सर्वहारा वर्ग, आधुनिक मजदुर तथा श्रमजीवी जनसमुदाय तथा उत्पीडित राष्ट्रहरुले महान् पेरिस कम्युन निर्माणको २१२ आौं वर्षगाँठ धुमधामका साथ मनाइरहेका छन् ।
यस ऐतिहासिक अवसरमा मैले यस लेख मार्फत् अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा महान् पेरिस कम्युनको निर्माण एक युगान्तकारी परिघटना र विश्व सर्वहारा वर्गको एक सुन्दर आदर्श र शिक्षाका बारेमा लेख्ने प्रयत्न गरेको छु ।
(१) पेरिस कम्युनको निर्माण ः एक युगान्तकारी परिघटनाः
२८ मार्च १८७१ दिन विश्वमा पहिलो पटक पेरिसका मजदुर (सर्वहारावर्ग) ले बुर्जुवा वर्गको प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारेर सर्वहारा वर्गको राज्यसत्ता स्थापना गरेका थिए । त्यसरी पूँजीवादी राज्यसत्तालाई ध्वस्त पारी सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरेको पहिलो घटना भएकोले त्यस घटनाले एक नयाँ युगको सूर्योदय गरेको थियो । त्यसैले महान् पेरिस कम्युनको निर्माण अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा एक युगान्तकारी परिघटना थियो । पेरिस कम्युन सर्वहारा वर्गका महान् नेता, गुरु, माक्र्सवादका प्रतिपादक एवं द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आविष्कारक कार्ल माक्र्स (१८२८– १८८३) को शब्दमा “मानिसलाई वर्ग शासनबाट सदाका लागि मुक्त गर्ने महान् सामाजिक क्रान्तिको प्रभात थियो ।”
कम्युनको निर्वाचन गरिएको थियो, जसमा ९२ जना मात्र माक्र्सवादीहरु थिए । पूँजीवर्गको विरुद्ध मजदुरहरुको मजदुरहरुको त्यो पहिलो क्रान्ति थियो र इतिहासमै प्रथम पटक मजदुर वर्गले सत्ता कब्जा गरेको अवस्थामा सर्वहारा वर्गका महान् नेता, माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले त्यो सत्तालाई “ नयाँ समाजको गौरवशाली अग्रदूत र सर्वहारा वर्गका महान् नेता लेनिनले” सोभियत सत्ताको बीउ भन्नुभएको थियो ।
महान् पेरिस कम्युन ७२ दिन मात्रै टिक्यो । १८७१ मे २८ का दिन अपदस्त गरिएको फ्रान्सेली प्रतिक्रियावादी शक्तिले महान् पेरिस कम्युनमाथि धावा बोल्यो र भीषण आक्रमण ग¥यो । महिला, वृद्ध, केटाकेटी समेत गरि करिव ३० हजार कम्युन पक्षधरहरुको गोली ठोकेर नृशंस तरिकाले हत्या गरिएको थियो भने ४९ हजार घाइते भएका थिए र ४५ हजार जति कम्युन पक्षधरहरुलाई गिरफ्तार गरिएको थियो ।
कम्युनका क्रान्तिकारी योद्धाहरुले शत्रुका सामु कहिल्यै शीर झुकाएका थिएनन् र “पेरिस कम्युन अमर रहोस्” नारा गुञ्ज्याँदै र बन्दुक हातमा लिएर लड्दै वीरगति प्राप्त गरेका थिए । पेरिसका मजदुर श्रमजीवी सर्वहाराहरुले साँच्चिकै विश्व वीरताको इतिहास रचेका थिए जो मानव जातिको इतिहासमा अनन्तकालसम्म अमर र अजर रहनेछ । यो विश्व सर्वहारा श्रमजीवी वर्गका लागि अतुलनीय शिक्षा हो ।
(२) पेरिस कम्युन असफल हुनुका मुख्य कारणहरुः
महान् पेरिस कम्युन अर्थात् सर्वहारा वर्गको पहिलो जनसत्ता ७२ दिन मै ढल्न पुग्नुका मुख्य कारणहरु के के थिए ? यस विषयमा प्रष्ट हुन जरुरी हुन्छ । र, पेरिस कम्युन ढल्नुका पछाडि निम्न कारणहरु रहेका छन्;
(क) पेरिस कम्युन असफल हुनुको मुख्य कारण पेरिस कम्युन निर्माणकर्ताका हातमा सर्वहारा श्रमजीवी वर्गको मुक्तिको मार्गदर्शक सिद्धान्त “माक्र्सवाद” भएपनि माक्र्सवादको पथप्रदर्शनमा चल्ने, सञ्चालन हुने र जनताको मुक्ति आन्दोलनको नेतृत्व गर्ने संगठित कम्युनिष्ट पार्टी थिएन । तसर्थ कम्युनिष्ट पार्टीको नेतृत्वको अभाव पहिलो कारण थियो ।
(ख) पेरिस कम्युन असफल हुनुको अर्को महवपूर्ण र नभई नहुने कारण चाहिँ जनसेना, जनताको सेना नहुनु हो । सत्ता प्राप्त गर्न, प्रतिक्रियावादीहरुबाट सत्ता खोस्न बन्दुक चाहिन्छ । न बन्दुक बिना सत्ता प्राप्त गर्न सकिन्छ, न त सत्ता जोगाउन नै सकिन्छ । तसर्थ जनसेनाको निर्माण र परिचालन कम्युनिष्ट पार्टीको मातहतमा हुन्छ । तर कम्युनिष्ट पार्टी नै नभएको अवस्थामा जनसेना हुने कुरै भएन र प्रतिक्रियावादी भर्साइल सरकारले कम्युनमाथि प्रतिक्रान्तिकारी हमला गरिरँदा कम्युनको रक्षा गर्ने, लड्ने लडाकु सेना नभए कै कारण कम्युन ढल्न पुगेको थियो ।
(ग) त्यस्तै पेरिस कम्युनसँग कम्युनिष्ट पार्टी नभएकै कारण प्रतिक्रियावादी सत्ताका विपक्षमा रहेका राजनीतिक शक्तिहरुका बीचमा मोर्चा बन्दी गर्न आवश्यक हुन्छ र संयुक्त राजनीतिक मोर्चाको आवश्यकता पर्दछ । तर, कम्युनसित कम्युनिष्ट पार्टी नभएकोले संयुक्त राजनीतिक मोर्चा बन्न सकेन र पेरिस कम्युन ढल्न विबस भएको थियो ।
विश्व सर्वहारा वर्गका महान् नेता तथा चिनियाँ कम्युनिष्ट पार्टीका शिक्षाध्यक्ष माओले “कम्युनिष्ट, जनसेना र संयुक्त राजनीतिक मोर्चालाई क्रान्ति ती जादुमयी हतियार” बताउनु भएको छ । हो, माओ कै शब्दमा क्रान्तिका तीन जादुमयी हतियार कम्युनिष्ट पार्टी, जनसेना र संयुक्त राजनीतिक मोर्चाको अभावले महान् पेरिस कम्युन ढल्न पुगेको थियो ।
(घ) कम्युनार्डोहरुको सशस्त्र विद्रोहद्वारा जो प्रतिक्रियावादी सत्ता ध्वस्त पारिएको थियोे, त्यसको सेनालाई पनि ध्वस्त पार्ने कदम नचाल्नु पेरिस कम्युन असफल हुनुको अर्को महत्वपूर्ण कारण थियो ।
(ङ) किसानहरुलाई साथमा नलिनु महान् पेरिस कम्युन असफल हुनुको महत्वपूर्ण कारण थियोे ।
(च) बैंक अफ फ्रान्सलगायतका बित्तिय संस्थाहरुलाई कम्युनको कब्जा (हातमा) ल्याउने प्रयास नगर्नु अर्को महत्वपूर्ण कारण थियो ।
(छ) महान् पेरिस कम्युनकर्ताहरु सत्ता कब्जा भइसकेपछि प्रतिक्रान्तको खतराको संभावनाप्रति रत्तिभर होसियार नहुनु ठूलो भूल थियो, जसका कारण प्रतिक्रियावादी भर्साइल सेनाले कम्युन पक्षधर जनतामाथि सशस्त्र रुपमा धावा बोलुन्जेलसम्म ढुक्क भएर बसिरहेका थिए ।
(३) महान् पेरिस कम्युन विश्व सर्वहारा वर्गको आदर्श ः
हरेक वर्गको आफ्नो प्यारो आदर्श हुन्छ ।शोषक वर्गको आफ्नै प्यारो आदर्श हुन्छ र शोषितहरुको आफ्नै । “ राम राज्य”, “कल्याणकारी राज्य”, आदि विभिन्न देशहरूको शोषकवर्गहरुले आफ्नो आदर्श मान्ने गरेको सुविदितै छ ।
सर्वहारा वर्ग र अरु थिचिएका जनताको पनि आफ्नो आदर्श छ । उनीहरू पनि अवश्य आफ्नो आदर्शको गुणगान र प्रशंसा गर्दछन् र अनि मानिसद्वारा मानिसको शोषण र लुटपाटमा आधारित समाज– व्यवस्थालाई ध्वस्त पारी मानव जातिको लागि खुसी संसारको निर्माण गर्ने आफ्नो न्यायोचित हकको घोषणा गर्दछन् र त्यसका लागि हर प्रकारको त्याग बलिदान गर्ने आफ्नो दह्रो अठोटलाई व्यक्त गर्दछन् ।
महान् पेरिस कम्युन विश्व सर्वहारा वर्गको आफ्नो प्यारो आदर्श हो । पूँजीवादी राज्य–यन्त्रलाई ध्वस्त पारी सर्वहारावर्गको अधिनायकतन्त्रको स्थापना गर्नका लागि सर्वहारावर्गको यो पहिलो कदम थियोे ।
महान् पेरिस कम्युन कार्ल माक्र्सको शब्दमा “मानिसलाई वर्ग–शासनबाट सदाको लागि मुक्त गर्ने महान् सामाजिक क्रान्तिको प्रभात” थियो । पुरानो संसारको विध्वंसमाथि मात्र नौलो, सुखी संसारको निर्माण हुन सक्छ र गरिनुपर्छ र सर्वहारा वर्ग नै यस्तो संसारको निर्माणमा नेतृत्वकारी भूमिका खेल्न एक मात्र सक्षम र समर्थ वर्ग हो भन्ने महान् माक्र्सवादी सत्यको एउटा चम्किलो व्यवहारिक पुष्टि महान् पेरिस कम्युन थियो ।
पुरानो मरणोन्मुख समाजका खुनी पिचासहरुले पेरिसको सडकमा रगतको खोलो बगाएर विश्व सर्वहारा वर्गको त्यस महान् सिर्जनालाई खतम पारिदिएका थिए । तर त्यसका लाल किरणहरुले चारैदिशालाई प्रकाशमान पार्ने कामबाट त्यसलाई उनीहरूले कदापि रोक्न सकेका थिएनन् । पेरिस कम्युनको रातो प्रकाशले विश्व मजदुर वर्गको मुक्त संघर्षको बाटोलाई चहकिलो पार्दै आएको छ । पूँजीवादी राज्य–यन्त्रलाई क्रान्तिकारी उपायद्वारा ध्वस्त पारी सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने पेरिस कम्युनको सिद्धान्त सर्वहारा मुक्ति संघर्षमा अमर र अटल मार्ग–दर्शक सिद्धान्त रहेको छ ।
पेरिस कम्युनपछिको यश ११२ वर्षमा संसारमा ठूला ठूला युगान्तकारी परिवर्तनहरु भइरहेका छन् । पेरिस कम्युनलाई खतम पारेका थिए तर, महान् रुसी अक्टोबर समाजवादी क्रान्तिलाई रोक्न र समाप्त पार्न सकेका थिएनन् । महान् चिनियाँ नयाँ जनवादी क्रान्तिकालाई रोक्न र समाप्त पार्न सकेका थिएनन् । कोरियन, भियतनामी क्रान्तिलाई रोक्न र सखापै पार्न सकेका थिएनन् । कम्वोडियाली तथा क्युवाली जनक्रान्तिलाई रोक्न र समाप्त पार्न सकेका थिएनन् ।
पेरिस कम्युनको उत्थान र पतन पश्चात् माक्र्सवाद दुवो फैलएझै विश्वव्यापी रुपमा फैलिएको थियो र छ । त्यसपछि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा दोस्रो र तेस्रो कम्युनिष्ट अन्तर्राष्ट्रियको निर्माण र सञ्चालन भएको थियो । एशिया, युरोप, ल्याटिन अमेरिकी तथा अफ्रिकन महादेशहरुमा माक्र्सवाद अर्थात् कम्युनिष्ट आन्दोलनको प्रभाव फैलिएको थियो । त्यसपछि नेपाललगायत संसारका दर्जनौं देशहरूमा एकपछि अर्को गरी कम्युनिष्ट पार्टीहरु निर्माण भएका थिए । रुस, चीन, कोरिया, भियतनाम, कम्वोडिया, क्युवा आदि देशहरूमा जनक्रान्तिहरु विजयको शिखरमा पुगेका थिए । महान् रुसी अक्टोबर समाजवादी क्रान्ति पश्चात् पूर्वी युरोपका २० औं देशहरूमा सोभियत मोडलको समाजवाद लागु गरिएको थियो । पेरु र नेपालको सशस्त्र जनयुद्धले पनि विजयको शिखरमा पुग्ने ठाउँमा नपुगेको होइन । भारतमा अहिलेसम्म पनि सशस्त्र जनयुद्ध सशक्त ढंगले अगाडि बढिरहेका अवस्था छ ।
नेतृत्वमा विश्वदृष्टिकोणमा रुपान्तरण नभए कै कारणले रुस, चीनलगायतका समाजवादी देशहरूमा प्रतिक्रान्ति भएको भए पनि माक्र्सवादले आज दोस्रो चरणमा लेनिनवाद र तेस्रो नयाँ र उच्च चरणमा माओवादको विचारको विकास भइसकेको छ । आज माक्र्सवाद–लेनिनवाद–माओवादलाई मार्गदर्शक सिद्धान्त नमान्नेहरु सच्चा कम्युनिष्ट बन्नै नसक्ने अवस्थामा सिर्जना भएको छ ।
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा रिमको विघटन पश्चात् अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन नेतृत्वविहिन अवस्थामा पुगेको भएतापनि नयाँ र उच्चस्तरमा अन्तर्राष्ट्रिय क्रान्तिकारीको–अर्डिनेसन केन्द्र निर्माण गर्ने प्रयास क्रान्तिकारी माओवादी पार्टीहरु लागिपरिरहेको अवस्था ।
नेपाली जनयुद्धमाथि भएको प्रतिक्रान्तिले पनि महान् नेपाली क्रान्ति रोकिने बाल छैन । पेरुभियाली नयाँ जनयुद्धले सेडव्याक खाएको अवस्था भएपनि पेरुभियाली क्रान्ति रोकिने बाला छैन । र रुस, चीनलगायतका देशहरुमा सञ्चालन भइरहेका समाजवादी मुलुकहरुमा भएको प्रतिक्रान्तिल विश्व सर्वहारा क्रान्तिलाई रोक्ने वाला छैन ।
आजको युग साम्राज्यवाद र सर्वहारा वर्गबीचको भीषण संघर्षको युग भएकोले विश्व सर्वहारा क्रान्ति निरन्तर रुपमा बेरोकटोक साथ अगाडिको बढ्ने यात्रालाई संसारको कुनै पनि ताकतले रोक्ने वाला छैन । महान् पेरिस कम्युनको निर्माणबाट शुरु भएको यो विश्व सर्वहारा मुक्ति आन्दोलनलाई कसैले रोक्न सक्ने वाला छैन । किनभने प्रतिक्रियावादी शक्तिले पेरिस कम्युनलाई खरानी पारेका थिए, तर त्यही खरानीमा टेकेर विश्वमा ठूला–ठूला सामाजिक क्रान्ति सम्पन्न भएका इतिहासहरु आज ताजै छन्, विश्व सर्वहारा वर्गलाई पेरिस कम्युनले दिएको शिक्षा यहीे हो ।
– लेखक ः वरिष्ठ माक्र्सवादी दार्शनिक एवम् अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।

