कुअन्नबाट श्रीअन्नमा उन्नय भएको बाली कोदो
संयुक्त राष्ट्र संघको महासभाले तीन बर्ष पहिला अर्थात २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदो वर्ष’(मिलेट इयर) घोषणा गरेको थियो । हुन पनि कोदोमा रहेका महत्पूर्ण खाद्य तत्वहरू र प्रतिकूल अवस्थामा पनि उत्पादन हुन सक्ने यसको क्षमता तथा यसमा रहेका स्वास्थ्यसम्बन्धी महत्वपूर्ण गुणका कारण यो अपहेलित र ‘गरिबको खाना’ भनेर चिनिने अन्न बाली कोदोलाई ‘कुअन्न’ भन्न छोडेर ‘श्रीअन्न’ भन्न थािलएको छ ।
अचेल संसारभरी नै खानपानको गलत आदतले गर्दा स्वास्थ्यसम्बन्धी कैयौँ समस्याहरू उत्पन्न भइरहेका छन् । प्रशोधित अन्नहरूको अत्यधिक खपतको बढ्दो प्रवृत्तिले स्वास्थ्य परिदृष्य भने खराबबाट झन् खराब तुल्याइरहेको छ । अत्यधिक परिष्कृत(प्रशोधित अनाज र गतिहीन जीवनशैलीले मानिसलाई नसर्ने रोगहरू जस्तै मोटोपना, मुटु रोग, मधुमेह आदिको जोखिमलाई निरन्तर बढावा मिलिरहेको विशेषज्ञहरू बताइरहेका छन् ।
यस्तो बिग्रदो स्वास्थ्य परिस्थितिमा के आवश्यक रहेको बताइँदै छ भने एउटा यस्तो ‘सुपर फुड’ जुन एन्टिअक्सिडेन्ट छ, साथै कुनै दुष्प्रभाव नपरेको खनिज, प्रोटिन, भिटामिन र फाइबर (रेसायुक्त तत्व)को भरीपूर्ण मात्रा प्रदान गर्दछ त्यस प्रकारको खानाको आवश्यकता छ । यस्तै एउटा ‘सुपर फूड’ मानिन्छ कोदो (मिलेट)लाई । यस जातिको खाद्यान्नमा कोदो, ज्वार, सामा र बाजरा लगायतका मसिना अन्न बाली आदिसमेत पर्दछन् । यी अन्न बालीहरू प्रोटिन, कार्बोहाइड्रेड, फाइबर(रेसा) र अन्य आवश्यक प्रोटिनका अवयवहरू अर्थात् – एमिनो एसिडहरूको एकदमै राम्रो स्रोत हो भन्ने खाद्य विशेषज्ञहरूले औँल्याउँदै आएका छन् ।
खाद्य तथा स्वास्थ्य विशेषज्ञहरू भन्दछन्, ‘कोदो जातका विभिन्न बालीहरूमा ६० प्रतिशत कार्बोहाइड्रेड नौ प्रतिशत प्रोटिन र तीन प्रतिशत बोसो अनि २ दशमलव ७ प्रतिशत कच्चा फाइबर हुन्छ । यो कोदोका बिभिन्न बालीहरूमा विभिन्न भिटामिनहरू जस्तै भिटामिन ‘ए, सी, र बी’ कम्प्लेक्स तथा खनिज जस्तै म्याग्नेसियम, म्यागनिज, फस्फोरस र आइरहन पनि हुन्छ । यसका अतिरिक्त ‘मिलेट कम ग्लाइसेमिक इन्डेक्सका साथै ग्लुटेनमुक्त हुन्छन् जसले गर्दा मानिसहरूलाई सिलिएक अर्थात ग्लुटन असहिष्णुता, डाइबिटिज अर्थात मधुमेह रोगहरू लाग्न नदिन या लागेमा कम गर्न राम्रो विकल्प हुन् ।’यी कोदो जातका मसिना अन्न बालीहरू मूलरूपमा एसिया र अफ्रिकामा लगाइने गरिन्छ । एसियामा भारतलाई सबैभन्दा बढी कोदो उत्पादक र दोस्रो सबै धेरै कोदो निर्यातक देश मानिन्छ । भारतको सिन्धु घाँटीका मानिसहरूद्वारा धेरै कोदो खपत गर्ने गरिएको उल्लेख पाइन्छ । यसका कैयौँ जातिहरू छन् र अचेल संसारभरी नै यो बाली लगाउन थालिएको छ । एसियामा चीन, नेपाल र भारतपछि अफ्रिकाको नाइजेरियामा नाइजर प्रमुख कोदो उत्पादक देश मानिन्छन् ।
वर्तमान विश्वमा कोदोले विश्व अन्न व्यापारको तीन प्रतिशतभन्दा पनि कम हिस्सा ओगट्दछ । तैपनि लगातार बढ्दो विश्व जनसंख्या, जलवायु संकटको स्थिति र घट्दो प्राकृतिक संसाधनहरूका बीच कोदोले सुलभ र स्वस्थ भोजनको एउटा धेरै राम्रो विकल्प प्रस्तुत गरिरहेको खाद्य तथा स्वस्थ विशेषज्ञहरूले बताइरहेका छन् । यो अन्न कठोर र प्रतिकूल जलवायु परिस्थितिमा पनि उत्पादन हुने गर्दछ र खाद्यान्न बजार गहँु, धान आदि बालीमा आउने जस्तो आकस्मिक आर्थिक झट्काहरूबाट पनि कोदो अप्रभावित रहने गरेकाले यसले भोजनको कमीलाई समाधान गर्न निकै मद्दत गरिरहेको उल्लेख गरिन्छ ।
पारम्परिकरूपमा मात्र होइन अचेल यो कोदो बालीको उपयोग नयाँ खाद्य पदार्थ बनाउनमा पनि उपयोग गर्न सकिने खाद्यविद्हरू बताउने गर्दछन् । यदि यो अन्न बालीलाई यसको प्राकृतिक या साबुतरूपमा आदत र अभ्यासका कारण सोझै उपभोग गर्न असमर्थ भए पनि यसलाई सुरुसुरुमा चामल वा गहुँसँग मिलाएर पनि खान सकिन्छ । यो बालीले साना र विपन्न किसानहरूको आय बढाउन, महिला र युवाहरूलाई राम्रो रोजगारी प्रदान गर्न, पर्यावरणको रक्षा गर्न र मानिसहरूको स्वास्थ्य र पोषणको स्थितिमा सुधार गर्नमा पनि योगदान दिन सक्ने बताइन्छ । अनि यसले आर्थिक विकासलाई पनि स्वाभाबतः बढावा दिन सक्तछ । साथै स्वस्थ अन्नको एउटा विकल्पको सम्भावनाकासाथ अरू अन्न बालीको उत्पादनमा आउने गरेका झट्काको जोखिमलाई कम गर्नमा पनि यसले मद्दत गर्न पनि यो समर्थ छ ।
यी सबै कारणले गर्दा समेत संयुक्त राष्ट्र संघको महासभाले तीन बर्ष पहिला वर्ष २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदो वर्ष’(मिलेट इयर) घोषणा गरेको हो । आज कोदोमा रहेका तत्वहरू र प्रतिकूल अवस्थामा पनि उत्पादन हुन सक्ने यसको क्षमता तथा यसमा रहेका स्वास्थ्यसम्बन्धी महत्वपूर्ण गुणका कारण यो अपहेलित र ‘गरिबको खाना’ भनेर चिनिने अन्न बाली कोदोलाई ‘कुअन्न’ भन्न छोडेर ‘श्रीअन्न’ भन्न थािलएको छ ।
नेपालमा पनि कोदोको ढिडो आजकल गरिबको खानाको स्तरबाट यसको मान्यतामा उन्नति भएर यसको मूल्य पनि बढेको छ र होटेलहरूमा कोदो र सिस्नुको भोजनलाई स्वास्थ्यबद्र्धक र उपयोगी मानेर उच्च वर्गका मानिसहरूले पनि खान थालेका छन् । अहिले त कोदोको उत्कृष्ट र स्वास्थ्यलाई हानि नगर्ने गुणस्तरीय मदिरा बनाएर निर्यात गर्न सकिने पनि कुराकानी पनि चलिहरको छ । नेपालको हावापानी कोदो फसल लगाउन सकिने कोदो–मैत्री रहेको पनि कृषिविज्ञहरू बताउँदछन् । त्यसैले आज जानेर या नजानेर अपहेलित कोदोको पनि दिन आएको देखिँदै छ । यसको स्तरोन्नति भएर यो ‘कुअन्न’बाट ‘श्रीअन्न’ बन्न पुगेको छ ।
कोदो खाँदा हुने फाइदाहरु
कोदो खानाले मुटु रोग लाग्न दिँदैन । हाड बलियो बनाउँछ । बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ । नराम्रो कोलेस्ट्रोल घटाउँछ । शरीरको विषाक्तता बाहिर निकाल्छ । पाचनतन्त्रलाई तन्दुरुस्त राख्छ । रगतको कमी हुन दिँदैन । कब्जियत हुन पाउँदैन । मधुमेहबाट जोगाउँछ । स्तन क्यान्सर हुन दिँदैन । शारीरिक तौल नियन्त्रणमा राख्छ । रक्तचाप घटाउन प्रभावकारी हुन्छ । मिर्गाैला र कलेजोको रोग लाग्न दिँदैन । रोगप्रतिरोधी क्षमता बढाउँछ । यो शारिरीक ऊर्जाको एउटा राम्रो स्रोत हो । पित्तथैलीमा पत्थरी हुन दिँदैन । मीठो निद्रा लगाउन सघाउँछ । छाला चम्किलो बनाइराख्छ । घाउ छिटो भरिन मद्दत गर्दछ । आमाको दूध बढाउँछ । कुपोषण हुन दिँदैन भन्ने अनुसन्धानबाट प्रमाणित भएको उल्लेख छ ।
नेपालमा कोदो खेतीको वर्तमान अवस्था
नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटरमध्ये हिमाली क्षेत्र ५१ हजार १ सय ८७ वर्ग किमी (३५ प्रतिशत), पहाडी क्षेत्र ६१ हजार ३ सय ४५ वर्ग किमी (४२ प्रतिशत) र तराई क्षेत्र ३४ हजार १९ वर्ग किमी (२३ प्रतिशत) छ । भू–उपयोगको दृष्टिकोणले जम्मा खेती गरिएको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर (२१ प्रतिशत) र खेती नगरिएको खेतीयोग्य जमिन १० लाख ३० हजार (सात प्रतिशत) हेक्टर रहेको छ ।०६८ सालमा गरिएको जनगणनाको तथ्यांक अनुसार नेपालको कुल जनसंख्यामध्ये कृषि पेसामा संलग्न जनसंख्या ६५ दशमलव ६ प्रतिशत छ । यी माथिको तथ्यांकहरूलाई हेर्ने हो भने कृषिमा दुईतिहाइ जनसंख्या आश्रित छ । तर खाद्यान्नमा नेपाल परनिर्भर नै छ । बितेको ८ बर्ष अघि आर्थिक वर्ष ०७६–७७ अनुसार कोदो खेती गरिएको क्षेत्रफल २ लाख ६२ हजार ५ सय ४७ हेक्टर थियो भने कोदो उत्पादन ३ लाख २० हजार ९ सय ५३ मेट्रिक टन भएको तथ्यांक छ । जसको उत्पादकत्व १ दशमलव २२ रहेको छ । कोदो खेती गर्दा धेरैजसो स्थानीय जातहरूको प्रयोग हुने भएकाले उन्नत जातको तुलनामा उत्पादकत्व कम छ । नेपालको कुल जनसंख्यामध्ये झण्डै आधा जनसंख्या पहाड तथा उच्च पहाडमा बस्छन् । तिनीहरूको मुख्य खाना पनि कोदो हो । कोदो प्रायः परम्परागत शैलीमा खेती गरिने, उन्नत जात र उन्नत प्रविधिको प्रचारप्रसार कम हुँदा सोचेजस्तो उत्पादन गर्न नसकिरहेको अवस्था रहेको देखिन्छ ।
कोदो सुक्खा सहन सक्ने बाली हो । नेपालमा वर्षाको पानीको भरमा यसको खेती गरिन्छ । यसको खेती समुन्द्र सतहबाट ५ सयदेखि २४ सय मिटर उचाइसम्म गर्न सकिन्छ । नेपालमा पहाडी क्षेत्र, फाँट तथा टारहरू धेरै छन् । यी क्षेत्र कोदो खेतीका लागि उपयुक्त क्षेत्र हुन् । यी टारहरूमा राम्रोसँग कोदो खेती गर्न सकेमा प्रशस्त मात्रामा उत्पादन वृद्धि गर्न सकिन्छ । कोदोका विकसित जातहरू जस्तै ओख्ले कोदो–१, डल्ले कोदो–१, काब्रे कोदो–१, काब्रे कोदो–२ लगाएर बढी उत्पादन लिन सकिने कोदोबाली बिशेषज्ञहरूले बताएका छन् ।
धान, मकैजस्ता बालीहरू सिँचाइ नभएको क्षेत्रमा राम्रोसँग उत्पादन हुन नसक्ने भएकाले त्यस्ता क्षेत्रमा कोदो खेती सजिलैसँग गर्न सकिन्छ । कम लागतमा उत्पादन हुन सक्ने र खाद्य सुरक्षाको दृष्टिकोणले विपन्न कृषकको लागि यो उपयुक्त महत्वपूर्ण बाली हो । नेपालमा जनसंख्याका हिसाबले पहाडी तथा उच्च पहाडी क्षेत्रमा ब्राम्हण, क्षेत्री, मगर, तामाङ, राई, लिम्बु, गुरुङ, लामा, शेर्पालगायत जातिहरूको बाहुल्यता रहेको पाइन्छ । यहाँका मध्य तथा उत्तरी क्षेत्रका मानिसको मुख्य खाना कोदो नै हो । यसले धेरै मानिसका भोक मेटाउने काम गरिरहेको छ । उच्च पहाडी क्षेत्रहरूमा बर्षेनी ठूलो धनराशि खर्च गरी चामल ढुवानी भइरहेको छ । सर्वसुलभ रूपमा सबैलाई प्राप्त हुन कठिन भइरहेको छ । यो दिगो उपाय पनि होइन ।
यस स्थितिमा राज्यको दायित्व जनतालाई स्थानीय तहमा खाद्यान्न उत्पादन वृद्धि गरेर आपूर्ति गर्ने वा बाहिरबाट खाद्यान्न ढुवानी गरी आपूर्ति गर्ने हुन्छ । त्यसैले दीगो उपायका लागि पहाडी क्षेत्रमा स्थानीय तहमा उत्पादन हुन सक्ने कोदो, मकै, जौ, फापर आदिको उपयुक्त अनुसन्धान र विकास नै गर्नुपर्छ । तीमध्ये कोदो पनि एक महत्वपूर्ण बाली हो, जसले यो समस्याको हल गर्न सक्छ । सानैदेखि भात मात्रै खाने परम्पराले घर गरेको थियो । कोदोका परिकारहरू नरुचाउनु र रुढिवादी संस्कारको कारण कोदोलाई हेला गर्ने प्रचलन रहेको थिय । जुन एकदमै गलत थियो। यसमा रहेका खाद्यतत्व र फाइदाजनक पक्षको बारेमा जनचेतना अभिवृद्धि, प्रचारप्रसार गर्ने र खानेबानी लगाएर नयाँ पुस्तालाई कोदोको परिकारतर्फ आकर्षित गर्न सकिन्छ । यसो भए स्थानीय बालीको सदुपयोग र खाद्य सुरक्षा कायम हुन्छ ।
त्यस्तै राजमार्ग वरिपरि रहेका विभिन्न होटल तथा रिसोर्टहरूमा स्थानीय खानाको रूपमा कोदोको ढिँडो, रोटी, अर्गानिक तरकारी, स्थानीय घर पालुवा कुखुराको मासु तथा कोदोको स्थानीय मदीराले मदीरा सौखिन यात्रु तथा पर्यटकलाई स्वागत गर्न सकेमा उपभोक्ताहरू सन्तुष्ट हुने, पर्यटन व्यापार फस्टाउने, कृषकको आम्दानी वृद्धि हुने तथा रोजगारीको अवसर पनि बढ्नेछ । सरकारको तर्फबाट पनि यसको उत्पादन वृद्धिका लागि कोदो प्रवर्धन कार्यक्रम ल्याउन जरुरी छ । त्यस्तै क्षेत्रका हिसाबले पकेट, ब्लक, जोन र सुपरजोन सञ्चालन समितिहरू बनाएर पनि कृषकलाई सहुलियत दरमा बिउ मल कृषि सामग्री वितरण गर्न सके झनै राम्रोसँग उत्पादन बृद्धि गर्न र कृषकको आयस्तर बढाउनसमेत सहयोग पुर्याउँछ । अतः बढ्दो खाद्यान्न संकटको आजको बिश्व परिप्रेक्षमा कोदो उत्पादन र उपयोग बढाउने सबै सम्भावना र उपायहरू अबलम्बन गरेर जानु समयोचित हुन्छ ।

