जेन–जी विद्रोहदेखि बालेन सरकारसम्म
जेन–जी विद्रोह
हामीले जेन–जी विद्रोहको सही श्लेषण गर्न जरुरी छ । जेन–जी आन्दोलनको उद्देश्य सत्तापलट थियोे त भन्ने प्रश्नले नै धेरै कुराको उत्तर दिन्छ । यो आन्दोलनको स्वरुप कस्तो थियो भन्ने अर्को प्रश्न हो । आन्दोलनमा कसलाई प्रयोग र दुरुपयोग गरियो भन्ने अर्को प्रश्न हो । आन्दोलनको मुख्य कमान्ड वा नियन्त्रण कक्ष कहाँ र कसमा थियो ? फेरि एकपटक उत्तरहरु पनि हेरौं हैत । जेन–जी आन्दोलनका दुईवटा उद्देश्य थिए ः–
१. भ्रष्टाचारको नियन्त्रण
२. सरकारले सामाजिक सञ्जाल माथि लगाएको प्रतिवन्धको फुकुवा ।
आन्दोलनको स्वरुप शान्तिपूर्ण भन्नेमा कसैलाई शङ्का थिएन, तर परिणाम कसरी हिंसात्मक र आगजनीमा परिणत भयो भन्ने कुराको राम्रो विश्लेषण चाहिन्छ । जेन–जी आन्दोलनमा फ्रितिब्बत समूह र टिओबीको प्रत्यक्ष संलग्नता देखियो । आन्दोलनमा देशका महत्वपूर्ण सबैजसो कार्यालय भवनहरु जलाईयो । जलाईएका महत्वपूर्ण कार्यालयहरु हेरौं, १. संसद भवन २. शिंहदरवार ३. सर्वोच्च अदालत ४. पुराना दलका पार्टी कार्यालय ५. प्रहरी चौकी र कार्यालय ६. नेताहरूका घरहरु ६. विभिन्न छानिएका उद्योगहरु, पसलहरु र गोदामहरु ।
जेन–जी आन्दोलनको मुख्य नेतृत्व र कमाण्ड
वास्तवमा शुरुमा जेन–जी आन्दोलनको मुख्य नेतृत्व बाहिर प्रस्तुत गरिएको थिएन । पछि सेना र राष्ट्रपतिसँग वार्ता गर्ने बेलामा सुदन गुरुङलाई नै सर्वोच्च र शक्तिशाली नेताको रुपमा प्रस्तुत गरियो । अन्य केही नेताहरूले त विरोध र नारावाजी गरेको पनि सुनियो । आखिर जेन–जी उमेर समुहभित्रै नपर्ने सुदन गुरुङलाई नै किन ल्याईयो त भन्ने प्रश्नको उत्तर महत्वपूर्ण हुन्छ ।
ओली सरकारको पतन वा वहिर्गमन
जब जेन–जी आन्दोलनको उद्देश्य नै सरकार ढाल्ने थिएन भने कसरी यो ढल्यो यो ढल्यो भन्ने अर्को महत्वपूर्ण प्रश्न हो । प्रधानमन्त्री ओलीको राजिनामा स्वेच्छिक कि बाध्यात्मक भन्ने अर्को महत्वपूर्ण प्रश्न छ । सरकार त ढल्यो तर फेरि किन संसद बिघटन ? संसद बिघटन त भयो फेरि किन सुशीला कार्की नेतृत्वको गैरदलीय अन्तरिम सरकार ? ओली सरकारका पतनका मुख्य कारण– निर्वाचित संसदको अवधि आधापनि नहँुदै किन र कसरी संसद विघटन संभव भयो भन्ने प्रश्नको उत्तरपनि गंभिर हुन सक्छ । यसको जवाफ दिने दायित्व सेना र अदालतको थियो । सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको मुद्दामा सुनुवाइ र फैसला नै गरेन । मेरो बिचारमा ओली सरकारको पतनका मुख्य कारणहरु निम्न हुन सक्छन् १. दृश्य कारणहरु–जसअन्तर्गत व्यापक अलोकप्रियता, भ्रष्टाचार, चरम गुटबन्दी, तुच्छ गालीगलौज र आरोप प्रत्यारोप,. राज्यशक्तीको दुरुपयोग र रवि लामिछाने माथिको प्रतिशोध ।
पुराना दलभित्र हुर्किएको सिन्डिकेट प्रथामा नयाँको प्रवेश लगभग असंभव थियो । केन्द्रीय सदस्य बन्न बूढो हुनुपर्ने बाध्यात्मक अवस्था थियो । यस्तो अवस्थामा नयाँ पिढी पुराना दलमा पस्ने, अन्तरक्रिया गर्ने अवस्था नै बनेन । फलस्वरूप एउटा विद्रोहको अनिवार्य बन्यो । सबै आक्रोश, असन्तुष्टि र निराशालाई एउटै ठाउँमा केन्द्रीकरण गर्ने अवसरको रुपमा जेन–जी आन्दोलन बन्यो । तत्कालीन आक्रोशको मुख्य कारण थियोे– सरकारद्वारा गरिएको सामाजिक सञ्जाल माथिको प्रतिबन्ध । परिस्थिति यस्तो थियो कि सामाजिक सञ्जाल बिना कोहीपनि बाँच्न वा चल्नै नसक्ने जस्तो थियो । यही अवस्था विरोधीहरुका लागि के खोज्छस काना आँखो जस्तै भयो । अब बिचार गरौ, ओली सरकार ढल्नुका अदृश्य कारणहरु । मेरो बिचारमा यो नै प्रधान कारण थियो । त्यो कारण हो– भू–राजनीतिक कारण– चीनमा भएको साघाई सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सिजिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लिपुलेक र कालापानी नेपालको भएको दाबी र बिआरआईको समर्थनमा नेपालको उपस्थिति । मेरो बिचारमा ओली सरकार ढल्नुको मुख्य कारण यही हो ।
बालेन र रास्वपाको एकता
वास्तवमा बालेन र रबि मिल्न सक्लान भन्ने आंकलन कमैले गरेका थिए । रास्वपामा विस्तारै पहिरो जाने क्रम शुरु भएजस्तै देखिन्थ्यो । अन्तरिम सरकारले पनि रवि लामिछानेको मुद्दामा सहयोग नगरेपछि उनी थप निराश बन्दै थिए । यही परिस्थितिमा चुनावको तयारी गर्नुपर्ने दबाब बालेनलाई पनि थियो । यो अवस्थामा एकताको पहल गर्ने ब्यक्ति थिए– सुदन गुरुङ । उनले हिरासतमै रविलाई भेटेर अघोषित संझौता गरे । प्रधानमन्त्रीमा बालेन, पार्टी सभापतिमा रवि र महान्यायाधिवक्ताको कार्यालयद्वारा रवि विरुद्धको मुद्दाको संशोधन । पार्टीको नाम रास्वपा र चुनाव चिन्ह घन्टीमै सहमति । बालेनका लागि यो एउटा राम्रो अवसर बन्यो । यो एकताले एकाएक आम असन्तुष्ट र अवसर नपाएका सबै मान्छेलाई छोयो । बजारमा बालेन क्रेज र घण्टी एडीक्सनको विकास भयो । अचम्म के भयो भने बालेन गएपछि उनलाई हेर्ने भिड जम्मा हुने बाढी आयो । हुनपनि उनी झापा ५ मै केपी ओलीसँग चुनाव लड्ने निर्णय गरी चुनावमा भारी मतान्तरले बिजयी भए । वास्तवमा चुनावमा पुराना दलहरु बढारिए । यस्तो लज्जास्पद हारको सामना गरेर पुराना दलहरु एउटा ठुलो शकमा परेका छन् । उनीहरूको दिमागले नै काम गरेको छैन, यो के भयो र कसरी भयो ? हुनपनि जहाँ बालेन पुगेर घण्टी बजायो, त्यहाँ चुनाव रास्वपाले जित्यो । चुनाव जित्ने र आम मान्छेलाई तान्ने उनीहरूका नारा थिए– नयाँ, युवा, परिवर्तन, सुधार, पुस्तान्तरण, स्वतन्त्र, विज्ञ समूह, भ्रष्टाचारको अन्त्य, रोजगारी, पुरान प्रतिको घृणा, आक्रोश र चरम राक्षेसीकरण, बालेनको देवत्वकरण र अलौकीकरण ।
बालेन सरकारको शुरुवाती दिशानिर्देश
स्केलले नापेरै बनाए जस्तै रास्वपाको प्रतिनिधि सभामा करिव दुईतिहाई बहुमत आएको छ । कतिपय विश्लेषकहरु यो तथ्यलाई शङ्काको दृष्टिले हेर्दछन । नेपालको ईतिहासमा यो ज्यादै दुर्लभ अवसर हो । प्रधानमन्त्रीमा निसन्देह बालेन शाहले सपथ ग्रहण गरे । धेरैलाई लागेको थियो– उनले राम्रा सहकर्मी र सहयोगी छान्ने छन । उनले सबैभन्दा मनपराएका र निकट सहयात्रीको रुपमा सुदन गुरङलाई छाने । गृहमन्त्रीको रुपमा सुदन गुरुङ अगाडि देखापरे । कहिलेकाही त यस्तो लाग्छ सुदन नै प्रधानमन्त्री र पार्टी सभापति पो हुन कि जस्तो । उनी बिबादित र परिचालित छन भन्ने धेरै अध्ययनको निश्कर्ष छ । कार्की आयोग र मानव अधिकार आयोगको रिपोर्टले पनि उनी छानबिनको दायरामा हुनुपर्छ । अन्तरिम सरकारको अध्ययनमा पनि उनी छानबिनकै प्रक्रियामा अनि विशेष निगरानीमा परेका थिए । फ्रि तिब्बत र बार्बरा फाउन्डेसनको मिशनको रुपमा उनलाई विश्लेषण गर्नेको तथ्यहरु बलिया छन् । बालेनले उनैलाई गृहमन्त्री छान्नु र सपथ लिनासाथ प्रहरी हेडक्वाटर पुगी पूर्व प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरे । सरकार बनेपछि व्यवशायी, कर्मचारी र पुराना दलहरुभित्र त्राश, आतंक र सन्नाटा छाएको छ । कतिपयले टिप्पणी गरेका छन– भोट दिइयो, जिताईयो तर यमराजको रुपमा पो उदाउन लाग्यो । शुरुमा जति धेरैलाई गिरफ्तार गर्ने हल्ला थियो, पछि रोकिए जस्तो देखिदैछ । प्रश्नहरु आईरहेका छन– विरोधीहरुलाई मात्र तर्साउने कि आफै भित्रका अपराधीलाई पनि समाउने ?
बालेन सरकारका मुख्य प्रवृत्तिहरु निम्न हुन सक्छन् १. सकारात्मक प्रवृत्तिहरु क. विकास र शुसासन २. भ्रष्टाचारीलाई कार्वाही ३. परिवर्तन ४. रोजगारी आदि । २. नकारात्मक प्रवृत्तिहरु क. एमसिसी र एसपिपि संझौताका लागि प्रायोजित सरकार ख. लिपुलेक र कालापानी मुद्दामा मौनताका लागि तयार पारिएको भन्ने आरोप ३. चीन विरोधी गतिविधि गर्न र दलाई लामाको समुहलाई नेपाल भित्र्याउने डिजाइनको लागि प्रयोग भएको आरोप । निश्कर्षमा भन्नुपर्दा यी नकारात्मक प्रवृत्तिहरु र आरोपहरुको बारेमा सरकार र रास्वपाले कतैपनि खण्डन गरेका छैनन । सरकारले यी आरोपहरुलाई अस्वीकार गर्ने प्रतिवद्धता र व्यवहार देखाउन सकेमा बालेन सरकारलाई आजसम्मकै उत्कृष्ट सरकार मान्न सकिन्छ । तर बालेन सरकार फासिबाद, विरोधीहरु प्रति छानीछानी दमन, निरंकुशता र अधिनायकवादी शैलीमा अघि बढ्ने देखिन्छ ।
पुराना दलहरूको पतन वा अलोकप्रियता
पुराना दलहरुको चेतनास्तर साच्चिकै पुरानो भएजस्तो देखियो । वामपन्थी दलहरु र नेतृत्वको त झन कुरै नगरौ । बाहिर सिंहदरबारमा आगो लाग्दै थियो, तर भित्र प्रधानमन्त्री र नेताहरू के जाति भाषण गर्दै थिए । कोही बैठक बस्दै थिए । यस्तो लाग्थ्यो मानौं उनीहरूलाई केही पनि सुचना थिएन । कोही सरकारलाई गाली गर्न त कोही प्रतिपक्षलाई सराप्न ब्यस्त थिए । विरोधीहरुको मिशनलाई थाहै पाएनन । अन्तरिम सरकार बन्यो तर उनीहरू सरकारको उद्देश्य र रणनीति बुझ्नै सकेनन । चुनावको लक्ष के थियो, त्यो सबैलाई जगजाहेर थियो तर नेताहरुले चालै पाएनन । चुनावमा बढारिने तथ्यहरुलाई चुनाव सकिदासम्म पनि थाहा पाएनन । त्यतिबेला मात्र सबै तथ्य थाहा पाए जब उनीहरू बढारिई सकेका थिए । सबैभन्दा डर लाग्दो कुरा पुरानाले देश लुटेर सिध्याए भन्ने भाष्य सार्वभौम सत्य जत्तिकै स्थापित बनेको छ । पुरानाहरु प्रतिको आम घृणा र राक्षेसीकरण आजको मुख्य चिन्ता हो ।

