प्रतिनिधि सभा सदस्य निर्वाचनमा देखिएका उथलपुथलहरु
भर्खरै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन निकै नै आश्चर्यजनक बन्यो । यो चुनावी परिणामले साच्चिकै घोषणा गरिएजस्तै पुराना दलहरूलाई किंक कर्तव्य बिमुढ, अर्को शब्दमा मेन्टलसकको अवस्थामा पु¥याई दिएको छ । संसदमा कहिले नदेखिएका नयाँ र युवा अनुहारहरु छन् । रमाइलो दृश्य के छ भने लेखेर ल्याएको भाषण पनि राम्ररी पढ्न नजान्ने केटाहरू भनेर पनि कसैले मन्त्रीहरुको मजाक गरेका छन् । हुनसक्छ उनीहरू अभ्यस्त भइसकेका छैनन् र उनीहरूको पुस्ता अंग्रेजीमा राम्रो छ र नेपालीमा कमजोर छ । विगतमा जस्तो प्रधानमन्त्रीले न धेरै बोल्छन र न त धेरै कसैलाई गाली गर्छन् । बोल्न र विरोधीहरुलाई तह लगाउन उनले गृहमन्त्री सुदन गुरुङलाई जिम्मा दिएका छन् । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको एउटै हतियारले सबै राजनीतिज्ञ, कर्मचारी र व्यवसायीहरुको दिमागमा कम्पन ल्याईदिएका छन् । मेरो बिचारमा बालेन सरकार पनि कोरोना आतंक जस्तै हुनेछ, शुरुमा भागाभाग, पछि सामान्य र अभ्यस्त । त्यसो त बालेन सरकारका पनि केही वाध्यताहरु जरुर छन्, त्यो के भने कार्यकर्ता र समर्थकहरुलाई शान्त बनाउनकै लागिपनि केही पुराना नेता र व्यवसायीहरुलाई पक्राउ गरी मुद्दा दायर गर्नैपर्ने छ । अहिलेसम्म कर्मचारी, प्रहरी, शैन्य अधिकारी र न्यायाधीशहरुलाई भने छुन नै सकेको छैन । विस्तारै सरकारले अन्धाधुन्ध गिरफ्तार गर्ने र अदालतले छाड्ने प्रक्रियाबाट हाम्रो राजनीतिक रंङ्गमञ्च अगाडि बढ्ने देखिन्छ ।
भुगोलको होइन गुगलको राजनीति
गत चुनावमा देखिएको एउटा रोचक दृश्य के हो भने जनताले भुगोलको नेताहरूलाई मन पराएनन । सामाजिक सञ्जालका नेताहरूलाई मन पराए । राजनीति गर्ने हो भने जनताको सेवामा जानुपर्छ भन्ने पुरानो मान्यता पूर्णरुपमा असफल र खारेज जस्तै भयो । परम्परागत अनुभव र विश्वासका आधारमा यो ज्यादै नै अनौठो घटना थियो । नत संगठन चाहिने, नत नेता र कार्यकर्ताको झुन्ड चाहिने नत भुगोलमा खट्नुपर्ने । पार्टीले टिकट दिए पुग्यो । रास्वपाको वा घण्टीको टिकट पाए वा उम्मेदवार बने पुग्यो ।
संगठन होइन हुईम
यो चुनावमा एउटा नयाँ र अनौठो तरङ्ग ल्याउन सफल भए, त्यो के भने, चुनाव जित्न संगठन भएर हुँदैन, हुईम चाहिन्छ । क, भ्रष्टाचार विरोधी हुईम ख. पुराना होइन नयाँ भन्ने हुईम ग, यथास्थिति होइन परिवर्तन भन्ने हुईम घ, बुढा होइन युवा भन्ने हुइम ङ, पुस्तान्तरण च, स्वतन्त्रहरुको हुइम छ, सुचना र प्रविधिको हुइम ज, घण्टी वा चुनाव चिन्हको क्रेज झ, बालेन र रविको क्रेज ।
पार्टी होइन मत परिवर्तन
नेपाली राजनीतिमा यो एउटा अनौठो घटना थियोे कि पार्टी होइन मत परिवर्तन भन्ने नारा लोकप्रिय र स्थापित बन्यो । पुराना दलको गाडीमा गए, मासुभात खाए तर भोट घण्टीमा हाले। त्यतिमात्र होइन, पुराना दलहरुको जुलुस, सभा र ¥यालीमा गए तर भोट घण्टीमा हाले । हुनतः राजनीतिक विश्वसनीयता र आचारसंहिता अनुसार यो ज्यादै अनैतिक र अराजनीतिक नारा थियोे तरपनि जनताले त्यही गरे र यो पनि जनअनुमोदित बन्यो ।
भोट माग्नै परेन
जनताले चाहेपछि जे पनि सम्भव हुँदोरहेछ । घण्टीका लागि जनताहरु आफँै तयार भए । अरु दलहरु भोट माग्न जाँदा उनीहरू र बच्चाहरुले घण्टी बजाएर निरुत्साहित गरिदिए । सामाजिक संञ्जाल घण्टीमय बने भने विस्तारै भुगोलहरु पनि घण्टीमय बने । उनीहरू खासै प्रचारमा जान र चुनावमा खट्नै परेन । उम्मेदवारले भाषण गर्न र घोषणापत्र जारी गर्न पनि परेन । चुनावी वातावरण यस्तो थियोे कि अरु दलहरुको प्रचार गर्नु निरुत्साहित नै थियो । कसैले भनेर कोही मान्नेवाला थिएन । घरघरमा विभाजन थियो र घरभित्रै पनि पुराना दल समर्थकहरु अल्पमतमा थिए । कसैको लागि भोट माग्नै नपर्ने, प्रचार गर्नैनपर्ने, खर्च गर्नैनपर्ने, यो अनौठो र नयाँ अनुभव थियौ ।
देवत्वकरण र राक्षसिकरण
सिनारियो यस्तो थियोे कि पुराना दलहरु राक्षस, लुटेरा, भ्रष्टाचारी, हत्यारा, अपराधी, जनद्रोही र देशद्रोही जस्तो र नयाँ वा रास्वपाहरु भगवानकै नयाँ अवतार, देवता, निर्माता, असल, देशभक्त र महामानव जस्ता । आखिर त्यो सही वा गलत जे भएपनि त्यो जनभावनाको कुरा थियोे ।
बालेन र रविको एकताबाट उत्पन्न भएको विजयी भाव शुभेच्छुकहरुको विश्लेषण पहिलेदेखि नै थियो कि बालेन र रवि मिल्नैपर्छ, चुनाव जित्नका लागि उनीहरू मिल्नैपर्दथ्यो र त्यो उपयुक्त समयमा र सबैलाई चक्मा दिनेगरी भयो । जब उनीहरू मिले, उनीहरू धेरै अगाडि बढे । कल्पना गरौं यदि बालेन र रबि फरक– फरक दलबाट भिडेको भए के हुन्थ्यो ? स्पस्ट छ, जुन हविगत पुराना दलको भएको छ । उनीहरूले बहुत राम्रोसँग मिलाए– बालेन प्रधानमन्त्री र रवि पार्टी सभापति । एकताको लागि यो भन्दा अर्को विकल्प थिएन । आधा–आधाको विकल्प हुन सक्थ्यो तर अदालती मुद्दामा फसेका रविले त्यो माग राखेनन र उदारता देखाए । वास्तवमा संगठन र आधार रास्वपाको अनि क्रेज घण्टी र बालेनको अनौठो र चमत्कारीक शक्ति वा जनलहरको सृजना भयो ।
जेन–जी विद्रोहपछिका घटनाक्रम
चुनावमा यो परिणामको मुख्य कारण हो, जेन–जी विद्रोहको सफलता । धेरैलाई लागेको थियो पुरानो संविधान मान्नुले पुरानाहरु नै सत्तामा आउनेछन । पुराना दलहरु यही विश्वासका कारण संसद विघटन, निर्दलीय अन्तरिम सरकार र नयाँ चुनावका लागि तयार भए । पुराना दलले आफ्नो संसद जोगाउन सकेनन र जेन–जीको नाममा आउनेहरुपनि नयाँ संविधान जारि गर्ने आँट गरेनन । यही विन्दु नै पुरानाको क्लीनस्वीपको आधार बन्यो । शुरुमा एमाले र केपी ओलीले सुशीला कार्की सरकारलाई असंवैधानिक भन्दै नयाँ सर्वदलीय सरकार र संसद पुनस्र्थापनाको मुद्दा उठाएपनि पछि त्यो मुद्दामा टिक्न सकेन । एमाले लतारिदै चुनावमा भाग लियो कारण के थियो भने उ ठुलो पार्टी हुने आंकलनमा फस्यो । सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको मुद्दामा फैसला नगर्ने रणनीति अङ्गिकार ग¥यो । रास्वपाहरु चुनाव जित्नेमा यति धेरै ढुक्क थिए कि प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह केपी ओलीको क्षेत्रमा लड्न गए । यति हुँदापनि पुराना दलले के हो त भन्ने प्रश्न समेत गर्न सकेनन । केपी आफै दबाबमा परे र त्यो देखेर प्रचण्ड, माधव दङ्ग परे ।

