नयाँ बर्ष २०८३ आगमन र कम्युनिस्टहरुको अगाडिको चुनौती
आज बैशाख १ गते । नयाँ बर्ष २०८३ को आगमनको पहिलो दिन । वर्ष २०८२ लाई बाई–वाई । नयाँ बर्ष २०८३ लाई स्वागत । यो अवसरमा देश विदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सुस्वास्थ्य, दीर्घायू, प्रगति, सफलता र एकता तथा भातृत्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
मिशन ८४ र जेनजी विद्रोह
२०८२ को शुरुवातसम्म आउँदा सबै राजनीतिक दलहरुको एजेण्डा मिशन ८४ थियो । यसै बर्ष भदौमा २३ र २४ गते भएको जेनजी नामक रंगीन विद्रोहले सबैको एजण्डा बदलिदियो र सबैको मनमस्तिष्क भत्काइदियो । यो अचानक भएको विद्रोह बारे धेरैका जिज्ञासाहरु छन् । जे भए पनि यो एउटा विद्रोह थियो । यो रंगीन विद्रोह थियो कि रंगहीन विद्रोह थियो यसको समीक्षा र छिनोफानो इतिहासले गर्दै जाने छ, खैर यहाँ त्यतातिर नजाऔं । मात्र सबैको ध्यान–मस्तिष्क ८४ को चुनावमा केन्द्रित भएको बेला एक्कासी भएको यो विद्रोहले देशको सिङ्गो राजनीतिक धारलाई अर्कैतिर मोडिदियो । यो घटनाले नायक भिलेनमा र भिलेन नायकमा बदलिदियो । अघिल्लो चुनावमा उदाएको नयाँ दल भनिएको रास्वपा यो चुनावमा फक्रियो । अघिल्लो चुनावमा फक्रिएका दलहरु यो चुनावमा वैलाए ।
२०७९ मा भएको निर्वाचनबाट काँग्रेस, एमाले र माओवादी केन्द्र ३ पार्टीहरुलाई पहिलो, दोस्रो, तेस्रो ठूलो पार्टी बनेर आलोपालो गठबन्धन सरकार चलाउदै आए । नेपाली राजनीतिमा एकप्रकारको राजनीतिक सिन्दीकेट शुरुभयो । गर्दा–गर्दा भ्रष्टाचार यति चुलियो कि एक नेपालीको टाउकोमा एक लाखभन्दा बढी ऋणभार थुप्रियो । भ्रष्टाचार ंस्थागत भयो । जताततै दलीयकरण, दलालीकरण, गुटीयकरण, पारिवारिकीकरणले जनतामा आक्रोस र असन्तुष्टिले सीमा नाघ्यो । अन्य राजनीतिक दलहरु पनि सबै विरोधमा । अव देशमा कुन बेला के हुन्छ Û उकुसमुकुसको वातावरण बन्दै आयो । सत्तामा जानेहरु स्वयच्छाचारी बनीरहेका थिए । जनताको आवाज कसैले सुनिरहेका थिएनन् । महँगीले सीमा नाघ्यो । बेरोजगारीले देश थिलोथिलो भयो । युवा र श्रमशक्तिको पलायनताले देश रित्तिदै गयो । देशमा दिनदहादै डरलाग्दा घटनाहरु घटिरहेका थिए । देशको सीमामा छिमेकी मित्र भनिने देशहरुको हस्तक्षेप र अतिक्रमण बढ्यो । परिवर्तनको आवाजहरुमाथि दमन, क्रान्तिकारीहरुमाथि प्रतिबन्ध, परिवर्तन खोज्ने युवाहरु जेलमा, भ्रष्टाचारी, बलात्कारी, चोर–डाकाहरु खुला र मनपरी । भ्रष्टाचारी नेता, उच्च पदस्थ कर्मचारी र माथिल्लो तहका सुरक्षा प्रमुख, न्यायमूर्ती, ठेकेदारहरुले पैसा कोठा–कोठामा थन्काए, बजारमा पैसाको अभाव । कालो धनलाई सेतो बनाउन भं्रष्टाचारीहरु तल्लीन । यो बेलामा जनता आजित, आक्रोसित र थकित र उचित विकल्प खोजीमा । यही मौकामा दलाल राजनीतिक दलहरु मिसन ८४ मा । विदेशी लुटेराहरु मौकामा चौका हान्ने दाउमा लामा, छोटा षड्यन्त्र र योजनाहरु बुन्न तल्लीन । परिणाम जेन–जी विद्रोह । प्रोक्सी विद्रोह र प्रोक्सी चुनाव र आफ्ना दलालहरुलाई सरकारमा बिराजमान । दलालहरु तैचुप मैचुप । यसले दीर्घकालिक हिसावले नेपाल निकै कठिन परिस्थितिको सामना गर्ने ठाउँमा आइपुगेको छ । यो जेनजी विद्रोहको देन हो ।
३) बर्ष २०८२ ले छाडेका पाइलाका डोबहरु
बर्ष २०८२ ले सकारात्मक होस या नकारात्मक रुपमा होस, निकै दूरगामी छाप छोडेर गएको छ ।
यो बर्ष भदौ महिनामा भएको शरद विद्रोहको रुपमा चिनिने जेनजी नामको विद्रोह नेपालको इतिहासमा एउटा नयाँ विद्रोह थियो । यो एक प्रकारले रहस्यमय विद्रोह थियो । यसको सत्यतथ्यहरु बाहिर आउन बाँकी नै छन् । यस बारे अझै अध्ययन–अनुसन्धान भइनै रहेको छ ।
यो विद्रोहले पुराना भनिने पार्टीहरुलाई विटन गरी दिएको छ भने नयाँ भनिने एउटा रहस्यमय पार्टी रास्वपाको उदय गराई दिएको छ ।
यो विद्रोहले सबै क्षेत्रमा, सवैका पुराना सोचहरु विचारहरु भत्काई दिएको छ र नयाँ ढंगले सोच्न बाध्य बनाएको छ ।
यो विद्रोहको एक मात्र मकसद अरुले तयारी नगर्दै आकस्मिक चुनाव गरेर पुरानो राजनीतिक दलको सट्टामा नयाँ दलालहरुलाई सत्ताको बाग्डोर सुम्पनु थियो । २१ फागुनको चुनावले यही काम फत्ते गरेको छ ।
इतिहासमा पटक–पटक धोका खाँदै आएका नेपाली जनता नयाँ विकल्पको खोजीमा थिए । जनताको यो अपेक्षामाथि फेरी पनि तुसारापात भएको छ । जनता æतावाबाट उफ्रेको माछा भुप्रोमाÆ भने जस्तै हुन गएको छ । जनताको परिवर्तनको आकाँक्षा कम्ती १०—१५ बर्ष पछि पर्न गएको छ । यो अत्यन्त दुःखदायी घटना हो ।
साम्राज्यवादले कम्युनिस्टहरुलाई तह लगाउने षड्यन्त्र र योजना यो विद्रोह र चुनावबाट सफल पारेको छ । यो उसको सफलता र कम्युनिस्टहरुको पराजय हो ।
२००६ सालबाट शुरु भएको कम्युनिस्ट आन्दोलनका दुई धार क्रान्तिकारी धार र संसदवादी धार दुबै धारलाई एउटै विद्रोह/आन्दोलनबाट तह लगाउने उचित तिथिमिति समयले २०८२ भदौ महिना बनाई दियो ।
४) जेनजी विद्रोहको परिणाम
जेनजी विद्रोहरुले नेपाली कम्युनिस्ट आन्दोलन र समग्र नेपाली राजनीतिक इतिहासमा निम्न हेरफेरहरु ल्याइदियो ।
क) कम्युनिस्टहरुको अस्थायी पराजय
संसदीय मत परिणामको दृष्टिले यो चुनावमा कम्युनिस्टहरुको सर्मनाक पराजय भएको छ । प्रत्यक्षमा एमाले ४५ बाट ९ सीतमा, माओवादी केन्द्र १८ बाट ८ सीतमा । अरु पार्टीको नाम निशानै छैन । संसदीय मत परिणामको दृष्टिले यो निकै खराव परिणाम हो । तर क्रान्तिकारी दृष्टिले हेर्ने हो भने यो अस्थायी पराजय मात्र हो । यदि कम्युनिस्टहरुले मति सुधार्न सके भने यो अवस्थालाई ५ बर्ष होइन ५ महिनामा उल्ट्याइदिन पनि सक्छन् । यसको लागि कम्युनिस्टहरु बृहत आत्मसमीक्षा गर्नु पर्छ । सबै दलहरु आफैतिर फर्केर गंभीर समीक्षा गरेर नयाँ बाटो तय गर्नु पर्छ । कमरेड विप्लवले अगाडि सार्नु भएको नयाँ कम्युनिस्ट सेन्टरको आवश्यकता बढेर आएको छ ।
ख) अमेरिकी साम्राज्यवादको आगमन
यसबेला एमसीसी, एसपीपी, जेन–जी विद्रोह हुँदै २०८२ फागुन २१ को चुनावसम्म आउँदा नेपालमा अमेरिकी साम्राज्यवाद प्रत्यक्ष रुपमा आएको छ । यो अवस्था आउनमा प्रत्यक्ष–अप्रत्यक्ष कम्युनिस्टहरुको पनि भूमिका छ । यसलाई निर्मम भएर समीक्षा गर्नु पर्छ । अव साम्राज्यवावादसंंग कसरी लड्ने भन्ने बारे कम्युनिस्टहरु विनापूर्वाग्रह सोच्न जरुरी छ । नेपालमा साम्राज्यवादको आगमन नेपाली जनताको स्वाधीनता र समाजवादका लागि गंभीर चुनौती हो । यसको सामना कम्युनिस्टहरुले मात्र गर्न सक्छन् । अवको खतरा एमसीसी, एसपीपी र नेपालमै भूमिगत सशस्त्र गिरोह तयार पारेर चीनसंग लडाईमा नारिने र नेपाललाई रणभूमि बनाउने देखिन्छ । यसको लागि सबै देशभक्त नेपालीहरु एक ठाउँमा उभिने दिन आएको छ ।
ग) लिपुलेकमाथिको दोस्रो पटक हस्तक्षेप
भारत–चीन सम्बन्ध र लिपुलेकमाथिको दोस्रो हस्तक्षेप गएको बर्ष २०८२ को एउटा मुख्य घटना हो । जव–जव ठूला शक्तिसम्पन्न देशहरु आपसमा ठोकिन्छन्, मिल्छन् या पावर शेरिङ गर्छन् तव आफ्नो स्वार्थका लागि साना कमजोर देशहरुको स्वतन्त्र अस्तित्वमाथि धावा बोल्छन् वा हस्तक्षेप गर्छन् । अमेरिका नेपाल र दक्षिण एशियामा जम्न थागेपछि आफ्नो क्षेत्रीय अहँकार र अस्तित्वका रक्षाका लागि नेपालको लिपुलेकमाथि धावा बोले । विश्वमा शक्ति राष्ट्रहरुको तकराव र गठबन्धनबाट साना देशहरुको अस्तित्व नै मेटाइदिएका धेरै उदाहारणहरु छन् । छिमेकी भारतमै सिक्किम र जम्बु–कास्मीर यसैका उदाहारण हुन् । नेपाल पनि त्यहि चपेटामा परेको छ । भारत र चीनको भू–राजनीतिको चपेटामा परेको नेपालले एकातिर छिमेकी मित्र राष्ट्रहरुबाट नै हस्तक्षेप गरिमागेको छ भने अर्कोतिर सिधै विश्वशक्ति साम्राज्यवादी अमेरिकाको हस्तक्षेपमा परेको छ । अमेरिका जव एमसीसी र एसपीपी मार्फत नेपाल पसे चीन र भारत पनि मिलेर लिपुलेकमाथि हमला गरे र बर्ष २०८२ मा गरिएको यो दोस्रो पटकको चीन र भारतले मिलेर गरेको हमला हो । नेपालको भूमिमा नेपललाई सूचनासम्म नदिई लिपुलेकको ब्यापारिक नाका खोल्ने संझौता सिधै हस्तक्षेप हो । यो बर्ष २०८२ ले छोडेर गएको यो अर्को आलो घाउ हो ।
घ) नेकपाको चुनावमा सहभागीता
२०७० को दोस्रो संविधानसभाको चुनाव बहिस्कार गर्दै लगातार चुनाव बाहिर रहेको नेपाल कम्युनिस्ट पार्टी हाल नेकपा -माओवादी)को यो चुनावमा पहिलो पटक सहभागी बन्नु पनि नेपाली राजनीतिमा यो बर्षको नयाँ आयाम बनेको छ । केपी र प्रचण्ड गठबन्धन कम्युनिस्ट सरकारबाट २ बर्ष प्रतिबन्ध जेलेर आएको विप्लव नेतृत्वको नेकपा-माओवादी) यो बर्ष चुनावमा हात हाल्यो । यसलाई राष्ट्रिय–अन्तराष्ट्रिय रुपबाट विशेष चासोको रुपमा हेरेका छन् । मत परिणाममा कुनै स्थान लिन नसके पनि पहिलो पटकको चुनावमा सहभागिताले धेरै प्रश्नहरु उब्जाएको छ र धेरै अनुभव र शिक्षाहरु पनि प्राप्त गरेको छ । यसबाट पनि नयाँ क्रान्तिको खाका गर्ने मामिलामा अगाडि बढ्न मार्ग प्रशस्त गरेको छ । संसदीय कोणबाट चुनाव नै सवथोक हो भन्ने कोणबाट हेर्दा यसमा केही निरासा रेखाहरु कोरिन सक्छन् तर क्रान्तिकारी विचार–दृष्टिकोणबाट हेर्दा यो क्रान्तिको एउटा राजनीतिक संघर्षको मोर्चा मात्र हो । यसरी संसदीय चुनावमा हाम्रो सहभागिता पनि यो वर्षको एउटा महत्वपूर्ण परिघटना बन्न पुगेको छ ।
ङ) नेकपाबाट केही साथीहरुको बहिरगमन
जेन–जी विद्रोहले धेरैको मनमस्तिष्कहरु खलबल्याइदिएको छ । हाम्रो पार्टीबाट पनि केही साथीहरु धुनमुनिदै पार्टी एकताको नाममा माकेमा प्रवेश गरे । एक स्थायी समिति, एक पीवीएम, केही जना केन्द्रीय समितिका सदस्यहरु पार्टीबाट बाहिरिए । यसलाई पार्टीले लामो यात्रामा – कोही विमारी हुन्छन्, कोही बमित गर्छन् कोही दिमाग सट्केर डराएर छट/झ्यालबाट हाम फाल्छन् । कोही आधा स्टेशनमा उत्रिन्छन्, कोही चड्छन् कोही उत्रन्छन्, यो रुपबाट हेरेको छ । क्रान्तिको रथ निरन्तर अगाडि बढेको छ । यात्रा गन्तव्यमा पुग्न बाँकी नै छ । क्रान्तिमा धैर्यता, दूर दृष्टिकोण, त्याग, बलिदान चाहिन्छ । यसमा टिक्न सक्नेले मात्र क्रान्तिको यात्रा तय गर्न सक्छ । नत्र दुई दिनको घाम–छायाँ,फेरी अँध्यारी रात भने जस्तै हुन्छ । निश्चित रुपमा पार्टी र जिम्मेवारी तहबाट जाँदा क्रान्तिलाई केही घाटा र केही भ्रम हुनु स्वभाविक हो । सकेसम्म अनर्गल भ्रम नदिनु होला किन कि क्रान्ति सबैको हो भोली आउने यहिँ होला बाटो राखेर जानु । जाने साथीहरुलाई शुभकामना बाहेक हाम्रो भन्नु केही छैन । क्रान्तिको लामो यात्रा भर्न सक्नु भएन जानु भयो तर क्रान्ति र क्रान्तिकारी नेताको विरोध नगर्नु, क्रान्तिको तगारो नबन्नु बस यहि हाम्रो सुझाव छ ।
५) अवको चुनौती
बर्ष २०८२ ले मुख्यतः दुई चुनौतीलाई हाम्रो सामु पस्केर विदा भएको छ ।
क) कम्युनिस्ट एकताको चुनौती
ख) स्वाधीनताको चुनौती
क) कम्युनिस्ट एकताको चुनौती
बर्ष २०८२ मा जेन–जी विद्रोह भयो । जेन–जी विद्रोहले फागुन २१ मा चुनाव गरायो । यो चुनावले कम्युनिस्टिहरुलाई किनारा लगाई दियो । सायद सबैले भनिरहेका छन् कम्युनिस्टहरुको एक मात्र हारको कारण उनीहरुको फूट हो । हो जनताले यो पनि देखिेका छन् कि कम्युनिस्टहरु जुट्दा चुनावमा बहुमत परिणाम आउँछ एक्ला एक्लै लड्दा हार्छन् । मत विभाजन हुँदा हार स्वभाविक हो । जनता चाहान्छन् कम्युनिस्टहरु एक भइदिए हुन्थ्यो र नेपालमा समाजवाद ल्याइदिए हुन्थ्यो तर कम्युनिस्टहरु कहिल्यै एक हुन जानेनन् । यो कम्युनिस्ट समर्थक जनता र कम्युनिस्ट कार्यकर्तालाई पटक्कै मन परेन । कम्युनिस्टहरु कहिल्यै एक हुन सक्दैनन् र समाजवाद ल्याउन सक्दैनन् । यो जनता र विरोधी सबैले उठाउने प्रश्न र दिने उत्तर हो । यो संसदवादी कोणबाट हेर्दा स्वभाविक रुपमा देखिने चित्र, उठ्ने प्रश्न र दिने उत्तर मात्र हुन् ।
हाम्रो दृष्टिकोणमा वास्तविकता अर्को छ । कम्युनिस्टहरुमा एकता वा मोर्चा त आवश्यक छ र हुनु पर्छ तर यसको मुख्य कारण व्यवस्था र प्रणालीमा छ । यो व्यवस्था संसदीय व्यवस्था हो । हरेक व्यवस्था अर्थप्रणालीमा अडेको हुन्छ । कस्तो खालको अर्थप्रणाली र अर्थव्यवस्था छ त्यसै अनुसारको अर्थव्यवस्था, व्यवस्थापकीय प्रणाली, प्रशासनीक प्रणाली, न्यायिक प्रणाली, सुरक्षा प्रणाली, निर्वाचन प्रणाली बनाइएको हुन्छ । यी सबैलाई सत्ताले कन्ट्रोल गरेको हुन्छ ।
नेपालमा दलाल पुँजीवादी राज्यसत्ता छ । त्यसको कन्ट्रोलमा सबै प्रणालीहरु छन् । यो व्यवस्था अन्तर्गत हुने यस्तै हो र यही हो । यो व्यवस्थामा राम्रो गर्नेको भलो हुँदैन । इमान्दार र सत्य जीत हुँदैन, किन कि यो व्यवस्था नै सबै दलाल, बेइमानी, चोर, डाँका, धनी/पुँजीवपति, भ्रष्टाचारी, तस्करीहरुको हो । यसैले बदल्ने भनेको सत्ता हो, व्यवस्था हो जो कम्युनिस्टहरुले मात्र सक्छन् । समाजवादीहरुले मात्र सक्छन् । त्यसैले तिनैलाई हराउनु र हटाउनु यो व्यवस्था र यसका दिजाइनरहरुको मुख्य एजेण्डा हुन्छ । यो कुरा कम्युनिस्टहरुले बुझ्ने दिन आएको छ । हो कम्युनिस्ट एकता चाहिन्छ तर सबै चुनावमा गएर मात्र संभव छैन । चुनावबाट खुबै गरे ५ बर्ष मात्र हो त्यो पनि यो व्यवस्थामा संभव छैन । बर्ष २०८२ ले यो खबरदारी पनि गरेर गएको छ ।
ख) स्वाधीनताको चुनौती
विकास सबैको चाहना हो । विकासको मुहान स्वाधीनता र स्वतन्त्रता हो । जव स्वाधीनतामाथि हस्तक्षेप हुन्छ विकासमाथि विर्को लाग्छ । यसले परिवर्तनलाई रोक्दछ । त्यसैले विकासको पहिलो सर्त स्वाधीनता हो । विकासको अर्को नाम परिवर्तन हो वा मुहार बदल्नु हो । जव स्वाधीनतामा चुनौती आउँछ विकास र परिवर्तनमा अवरुद्धता आउँछ । विदेशी हस्तक्षेपमा विकास देख्नु नै दलाली चिन्तन हो । यो पराधीनता र परनिर्भरता हो । नेपालमा विकास हुन नसक्नुको एक मात्र कारण पराधीनता वा नवउपनिवेश हो । नेपाल अहिले नवउपनिवेशको शिकार भएको छ । त्यो क्रम झनझन बढ्दो छ । बालेन सरकार बनेपछि त नेपालको स्वाधीनताको जग नै डगमगाएको छ । स्वाधीनतामा ठूलो चुनौती थपिएको छ । नेपालले सुगौली सन्धी यता स्वतन्त्रताको सासै फेर्न पाएको छैन ।
कुनै बेला उत्तर र दक्षिणका दुबै मित्र राष्ट्रहरु चरम उपनिवेश झेलीरहँदा नेपाल स्वाधीन थियो । त्यसबेला तुलनात्मक रुपले समृद्ध मानिन्थ्यो र धेरै कुराहरुमा विकासको आँकडा माथि थियो । हाम्रा पुर्खाहरुले विदेशीहरुलाई पस्न दिएका थिएनन् । जव सुगौली सन्धी भयो नेपाल विस्तारै अर्धउपनिवेश हुँदै अहिले पूर्ण नवउपनिवेशको शिकार भएको छ । वालेन सरकारले यसलाई पूर्णता दिएको छ । पहिले भारतीय र अमेरिकीहरु अप्रत्यक्ष रुपमा थिए अहिले साक्षत रुपमा आएका छन् । २०८२ को जेन–जी विद्रोहले त अमेरिकालाई सिधै ग्रीन सिग्नल दियो किन कि यो आन्दोलनको मुख्य दिजाइनर नै उनीहरु थिए । त्यसमा दक्षिण छिमेकीको पनि हात छ । परिणाम आज दलालको पनि महादलालहरु सत्तामा विराजमान छन् । यसले आगामी दिनमा स्वाधीनता खतरामा परेको संकेत गरिरहेको छ । अवको नेपालीहरुको अगाडिको मुख्य चुनौतीको रुपमा स्वाधीनता बनेर आएको छ । यो बर्ष २०८२ ले दिएको एउटा चुनौती हो ।
६) बर्ष २०८२ को सन्देश
क) नफुट एक जुट बन ः भाई फुटे गवाँर लुट्छ । नेपालीहरु तिमीहरु फुटेर नै विदेशीहरु पसेका हुन् । तिमीहरु जुटे विदेशीहरु भाग्नेछन् ।
ख) स्वाधीनताको रक्षा गर ः ए नेपालीहरु हो – तिमीहरु बीर पुर्खाका सन्तान हौ, नझुक, नहार, देश विदेशीको हातमा नसम्प, दलाली र आत्मसमर्पण तिम्रो इतिहास होइन । तिम्रो इतिहास भनेको स्वाभिमान र बीरता हो ।
ग) रंगीन क्रान्तिबाट सावधान ः ए नेपाली जनता, तिमीले धेरै रगत बगायौ, धेरै त्याग र बलिदान ग¥यौं । अझै एउटा क्रान्ति गर्न बाँकी छ । त्यो तिम्र्रै हातबाट गर्नुपर्ने छ । सावधान अरुले गरिदिने क्रान्तिको भर नपर । यसले तिमीलाई धोका दिने छ दिदै छ । रंगीन क्रान्ति फगत धोका मात्र हो । यसबाट सावधान होउ । आफ्नै बलबुटामा क्रान्ति गर यसैले स्वाधीन बनाउने छ ।
घ) पश्चागामी खतराबाट सावधान ः खबरदार विकासको बाटो हमेशा अगाडि बढ्छ । विकास पछाडि फर्केर होइन अगाडि बढेर मात्र हुन्छ । नेपालमा पश्चागमनको पनि खतरा छ । यसबाट सावधान रहनु ।
ङ) भ्रष्टाचारको अन्त्य गर ः भ्रष्टाचार नेपालको महारोग बनेको छ । भ्रष्टाचार यो व्यवस्था रहँदासम्म अन्त्य हुँदैन अझ बढेर जान्छ किन कि भ्रष्टाचार दलाल पुँजीवादी व्यवस्थाको रक्तसञ्चार हो । यसको अन्त्य समाजवादी व्यवस्थामा मात्र हुन्छ ।
च) हे जेनजीहरु ः हे युवा जेन–जीहरु हो – यो देश तिमीहरुकै हो । भविष्य तिमीहरुकै हो । यो देश तिमीहरुले नै चलाउनु पर्छ तर यो व्यवस्थाबाट तिमीहरुको भलो छैन । यदि तिमीहरुले असल भविष्य र स्वाधीन र स्वतन्त्र नेपाल हेर्न चाहन्छौ भने समाजवादको बाटो समाउ । यसैले तिमीहरुलाई असल भविष्य दिनेछ । तिम्रो त्याग बलिदानको मूल्य प्राप्त हुने छ । तर यसको लागि असली राजनीतिक पार्टी या नेताको उपेक्षा नगर, आफै पनि असली राजनीतिज्ञ बन्न सक्छौ किन कि देश बनाउन राजनीतिक नेता नै चाहिन्छ । गलतलाई ठेगान लगाउ, असललाई साथ देउ यसै तिम्रो भविष्य छ ।
अन्तमा बर्ष २०८२ का यिनै तीता–मीठा सन्देश र कोशेलीहरु नै मेरा पनि शुभकामनाका सन्देश हुन् । सबैलाई नयाँ बर्ष २०८३ को हार्दिक शुभकामना ।

