वर्तमान नेपालका घटनाहरुलाई हेर्ने सही दृष्टिकोणबारे

२०८३ बैशाख ४ गते, शुक्रबार

नारायण शर्मा

मूल्यांकनका विभिन्न तरिकाबारे :

कुनैपनि वस्तुको, व्यक्तिको, घटनाको वा कार्यको मूल्यांकन गर्ने आआफ्नै अध्ययन, आस्था र विचारमा आधारित दृष्टिकोण, तरिका वा विधि हुन्छन् । त्यसरी गरिएका मूल्यांकनमध्ये केही मनोगत, केही सतही, केही छिपछिपे, केही अर्धसत्य, केही अल्पकालीन सत्य र केही लोकपृय सत्य हुन्छन् त केही कटु र अपृय लागे पनि पूर्ण सत्य, दीर्घकालीन सत्य र शाश्वत सत्य पनि हुन्छन् । जे होस् सही पद्धतिले मूल्यांकन गरेर सही निष्कर्षमा पुग्नको लागि केही निश्चित आधार, विधि, दृष्टिकोण र मान्यता हुन्छन् । तीमध्ये माओले भनेझैं `तथ्यमा आधारित भएर सत्य पत्ता लगाउने विधि´ प्रमुख विधि हो । यसरी नै दार्शनिक भाषामा `एकलाई दुईमा विभाजन गरेर अर्थात् विश्लेषण गरेर संश्लेषणमा पुग्ने´ अर्को सही विधि हो । यस्तै, लेनिनले भनेझैं `ठोस वस्तु (देस, काल र परिस्थिति) को ठोस विश्लेषण गरेर´ गरिने मूल्यांकन पनि सही हुन्छ । यसैगरी रुप र सार, अंश र समग्र, आन्तरिक र बाह्य दुवैपक्षलाई हेरेर मूल्यांकन गर्ने अनि आगमनात्मक र निगमनात्मक तरिकाले वस्तु वा घटनालाई यससँग अन्तर्सम्बन्धित विविध पाटापक्षको आधारमा बहुआयामिक ढङ्गले

अवलोकन गरेर गरिएका मूल्यांकन वस्तुवादी, वैज्ञानिक र सही हुन्छन् । तर हचुवा, होहल्ला र हवादारी रुपमा हल्काफुल्का तरिकाले एकपक्षीय वा एकाङ्गी ढङ्गले गरिएका मूल्यांकन गलत हुन्छन् । यसरी नै गुण, सार र समग्रमा आधारित नभएर रुपमा, अंशमा र संख्यामा मात्र आधारित भएर गरिएका मूल्यांकन तत्काललाई सही देखिएपनि अन्ततः ती असत्य मात्र नभएर घातक समेत हुन सक्छन् । हामीकहाँ यो एउटा विडम्बना छ कि सुरुसुरुमा गलत अथवा अर्ध, अपूर्ण वा अस्थायी सत्यमात्र भएका मूल्यांकन र निष्कर्षहरु पनि सहजै, छिटै र धेरै पत्याइने तर जो पूर्ण सत्य वा चिरस्थायी सत्य साबित हुने मूल्यांकन र निष्कर्षहरु जतिसुकै सही, सुन्दर र समाजोपयोगी भए पनि सबैले, सजिलै र छिटै नपत्याउने गरिन्छ । त्यसो हुनाले ती गलत निष्कर्षलाई गलत सावित गर्न र सही निष्कर्षलाई सही सावित, प्रमाणित वा स्थापित गर्न अर्थात् राज्य र समाजको दिल-दिमागमा तीबारेको यथार्थ मूल्यांकन बोध गराउन वा सबैलाई मान्य हुने गराउन धेरैथोरै समय, श्रम, शक्ति, साहस, समर्पण, पुँजी र बुद्धि आदि चाहिन्छ । तथापि, हामी गलतलाई गलत र सहीलाई सही सावित गर्न निरन्तर लागिरहनु पर्दछ ।

तथ्य, कारण र आधारको पहिचानबारे :

सामान्यतया माथि भनिएझै तथ्यमा आधारित भएर गरिएका मूल्यांकन सही हुन्छन् । तर ती तथ्यहरु, कारणहरु र आधारहरु के हुन् र कस्ता हुन् भनेर छुट्टाउनु मुख्य र कठिन कार्य पनि हो । नेपालको विशिष्ट स्थितिमा आन्तरिक र बाह्य घात र प्रतिघात, राष्ट्रिय र अन्तर्राष्ट्रिय चलखेल र हस्तक्षेप, भूराजनीतिक र हवाई (गैरभौगोलिक) राजनीतिक प्रभाव र दवाव, छिमेकी र विश्वशक्तिका रिजनल र ग्लोबल इन्ट्रेष्ट र ग्रान्ड डिजाइन र रणनीति, देसका दलाल र नोकरशाहहरुको भूमिका र गतिविधि अनि राजनीतिक पार्टी र नेताहरुको चिन्तन र चरित्र आदिसँग ती घटनाको इतिहासदेखी वर्तमानसम्म रहेको अन्तर्सम्बन्ध र अन्तरविरोध नै नेपालका राजनीतिक घटना र उथलपुथललाई मूल्याङ्कन र निष्कर्ष निकाल्नको लागि लिइने उपयुक्त र आवश्यक तथ्य, कारण र आधारहरु हुन् । यिनको समग्र अध्ययन, अनुसन्धान, विश्लेषण र संश्लेषण नगरी आजको नेपालका राष्ट्रिय राजनीतिक घटनाक्रमहरुबारे धारणा बनाउने, निष्कर्ष निकाल्ने र कार्यान्वयन गर्ने गरिएमा भूल मात्र होइन महाभूल पनि हुन सक्छ । त्यसैले बडो वस्तुनिष्ठ र विज्ञानसम्मत भएर उपरोक्त तथ्य, कारण, प्रमाण र आधारहरुमा टेक्दै गरिने आजको नेपालका मुख्य-मुख्य घटनाक्रम (जेनजी विद्रोहदेखि बालेन सरकार निर्माण र यस्ले गरेका सुरुवातका केही गम्भीर र संवेदनशील कामहरुसम्म)को मूल्यांकन वा निष्कर्ष सही, वस्तुवादी र दूरदर्शितापूर्ण हुनेछ । त्यसैले सामाजिक संजाल, संचारमाध्यम र प्रायोजित व्यक्ति, समूह र संघसंस्था आदिका केही समयदेखिका आकर्षक, आक्रामक र उत्तेजक कामकुरालाई हचुवा, हल्का र हावादारी रुपमा लिने र पूरै विश्वास गरिहाल्ने सोंच, शैली, संस्कार र संस्कृति गलत हुनसक्ने कुराप्रति सचेत रहनु जरुरी छ । यसरी नै कतिपय विचार, शक्ति, व्यक्ति र प्रवृत्तिविशेषप्रति आग्रह-पूर्वाग्रह राख्ने र प्रतिशोध-निषेध गर्ने चिन्तन-प्रवृत्ति र सोअनुसारका मूल्यांकन र निष्कर्षहरु पनि अन्तत: र परिणामत: आत्मघाती नै हुनसक्ने खतराप्रति पनि एउटा सचेत, शिक्षित, दीक्षित र अनुभवी मानिसमात्र होइन, सिङ्गो समाज र राज्यव्यवस्था नै सतर्क रहनु पर्दछ ।

विचित्र र विडम्बनापूर्ण मूल्यांकन र निष्कर्षबारे :

उल्लेख्य छ कि नेपालका वर्तमानका घटनाबारे बडो स्वतन्त्र भएर वा देसविदेसका पढेलेखे भनिएका आफ्ना वा अरुका मानिसहरुका सुझाव-दवाव वा आधुनिक-अत्याधुनिक प्रविधि, पैसा र पावरको प्रभावमा परेर मूल्याङ्कन गर्ने वा निष्कर्ष निकालेर कामकार्वाही गरिएका छन् । यसरी मूल्यांकन गरी निष्कर्षमा पुगेर अत्यधिक मानिसहरुले आफ्नो जिन्दगीभरिको आस्थाविपरीत, आफू प्रतिबद्ध संघसंस्थाका नायक, नीति, निर्णय र निर्देशनविपरीत, आफ्ना सहयोद्धा-सहकर्मीहरुका सल्लाह-सुझाव र साझा कार्यका विपरीत र आफैले अवलम्बन गर्दै आएको नैतिकता, आचारसंहिता र अनुशासनको खुला वा गुप्तरुपमा उल्लंघन समेत गरेका छन् । नेपालमा भएका पछिल्ला विद्युतीय गतिका रहस्यमय र तिलश्मी घटनाक्रमहरुलाई कसैले आफ्नो स्वतन्त्र विचार, इच्छा र आत्ममूल्यांकनको नाममा एकपक्षीय रुपमा अन्धभक्त बनेर अन्धविश्वासजस्तो गरी हेर्नु, मूल्याङ्कन गर्नु, निष्कर्ष निकाल्नु र सो निष्कर्षअनुसार कामकुरा गरेर आत्मरती लिनु हदैसम्मको विचित्रतम मात्र होइन दुखदतम विडम्बना हो, जो सकेसम्म त केही समयपछि तुरुन्तै देखिने छ, नभएपनि केही लामो समयपछि त अवश्य नै देखिने छ र त्यसको दुष्परिणाम भोग्नसमेत पर्ने हुनसक्छ । यस्तो कुरा नेपालको इतिहासमा बारम्बार हुँदै आएको अनुभवसिद्ध निष्कर्ष पनि हो । त्यसैले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुभन्दा राम्रोसँग सोंचेर, नापेर, तौलेर बोल्दा वा गर्दा राम्रो हुन्छ । त्यसैले त क. माओले भन्नुभएको छ : `सातपटक नाप एकपटक काट´ । यस्तो गरेर गरिएको कामकुराको परिणाम गलत, पश्चात्तापपूर्ण र दुखद हुँदैन ।

उमेरसमूहले क्रान्ति गर्ने भाष्यबारे :

विचार र वर्गबिना अनि लक्ष-उद्देश्य र एजेन्डा-कार्यक्रमबिना भावनालाई पक्रेर कुनै एक विशिष्ट उमेरसमूहले वा उमेरले नै क्रान्ति गर्नेजस्तो आज जुन भाष्य निर्माण गरिएको छ, त्यो आंशिक र तात्कालिक सत्य भए वा देखिए पनि पूर्ण र दीर्घकालीन सत्य होइन र हुन सक्तैन । यहाँनेर आफ्नो विशाल जनसंख्या र भूगोल भएको देसमा परिवर्तन ल्याउनको निम्ति गरिएको क्रान्तिकारी पार्टी निर्माण र भीषण युद्धमय लामो क्रान्तिकारी आन्दोलन संचालनका क्रममा क. माओले भन्नुभएको र लागू गरी सत्य साबित गर्नुभएको “एकमा तीनको सिद्धान्त” अर्थात् कुनै एक पार्टी, संगठन, संयन्त्र वा कमिटीमा युवा, प्रौढ र बृद्ध यी तीन उमेर समूहलाई आवश्यकता र सम्भाव्यताका आधारमा सन्तुलित रुपमा राखेर संयोजन र परिचालन गर्नु सही, वस्तुसम्मत, विज्ञानसम्मत, न्यायसम्मत र क्रान्तिसम्मत भएको कुरा स्मरणीय हुन आउँछ । त्यसैले उमेरगत वर्गीकरण गरी कुनै एक निश्चित उमेर समूहका मानिसबाट मात्र वा निश्चित उमेरले मात्र क्रान्ति वा परिवर्तन हुने र गर्ने तर अन्य उमेरसमूहले नगर्ने भाष्य सिद्धान्ततः गलतै हो । युवा उमेरका सबै सही र परिवर्तनकारी हुने तर प्रौढ र पाका उमेरका सबै गलत र परिवर्तन विरोधी हुने भन्ने यसप्रकारको भाष्य सही नहुने मात्र होइन कि हास्यास्पदसम्म पनि हुन सक्छ । हो, युवा उमेरका मानिसमा हुने सिर्जनशीलता, साहस, सकृयता र शक्ति तुलनात्मक रुपमा पाको उमेरका मानिसमा कम हुन्छ तर सही र गलत, असल र खराब भन्ने कुरा उमेरले होइन अध्ययन, अनुभव, विचार र व्यवहारले निर्धारण गर्ने कुरा हो । आज दर्शन र सिद्धान्तको अनि विधि र व्यवस्थाको समेत कुनै अर्थ छैन भन्नेजस्तो गरी जुन खालका तर्कवितर्क र कुतर्कहरु मात्र होइन गालीगलौज र धम्कीघुर्कीहरु सामाजिक संजालहरुमा आएका छन्, ती अरुका लागि तत्काललाई भ्रम दिन सफल भएर आत्मरती भएपनि अन्ततः दीर्घकालमा आफ्नैलागि समेत घातक हुन्छन् । यो कुरा व्यापक जेनजी युवा समूह र तिनको लहलहैमा लागेको जनमत लगायत विभिन्न अवयवहरुद्वारा बने-बनाइएको हालको बालेन नेतृत्वको रास्वपाको सरकारका प्रारम्भकै केही गम्भीर र संवेदनशील कामकार्वाहीहरुले संकेत गरेको प्रमाणित पनि भैसकेका छन् । फेरिपनि कामना गरौं जानअन्जानमा दुर्घटनावस ती कामहरु भएका होऊन् र अब ती सच्चिऊन् र थप गल्तीहरु नहोऊन् । यसतर्फ पनि झिनो संकेत देखिंदै छ ।

उमेरको आधारमा विभाजन र पछिल्लो जेन-जी समूहबारे :

मानिसलाई उसको उमेरको आधारमा वर्गीकरण गर्न सकिन्छ । माथि भनिएझैं युवा, प्रौढ र बृद्ध पनि उमेरकै आधारमा गरिएको वर्गीकरण हो । निर्णायक र दूरगामी महत्वका दृष्टिले यी तीन समूह उल्लेख्य भए पनि कामकाजी, कामयावी र शीघ्र परिणामदायी दृष्टिले त युवा उमेर नै महत्वपूर्ण मानिन्छ । तथापि मानिस त अन्य उमेरसमूहका पनि हुन्छन् । बालक, किशोर वा बयोबृद्ध पनि अरु समूह नै हुन् । यी उमेरसमूहका मानिसको मान्छेको रुपमा कुनै अर्थ, औचित्य र महत्व नै छैन र हुनुहुँदैन भन्ने सोंच मूर्खतापूर्ण सोंच हो । कतिपय बेला त विभिन्न कामकाजका सन्दर्भमा यी उपेक्षित र नगन्य समूहका मानिसको पनि विशिष्ट महत्वको भूमिका नै हुन्छ । जस्तो कि सुप्रसिद्ध कथा “वादशाहको नयाँ कपडा” कथामा एक अबोध बालकले खेलेको भूमिका अर्थात् `बादशाह नाङ्गै छन्´ भन्ने उद्घोष निर्णायक महत्वको नै छ । त्यस्तै हाम्रो एउटा प्रसिद्ध लोककथा पनि छ जसमा सयजना युवा मात्र जन्ती आउने भनिएको हुन्छ र ती सयजनाले सयपाथी चामलको भात र सयवटा खसी खाएमात्र दुलही लिएर जान पाइने भन्ने हुन्छ । तर त्यो बिहेमा एकजना बृद्धलाई मेकअप गरेर युवा बनाई लुकाएर लगिएकोले त्यहाँ ती बृद्धले उपाय निकालेर त्यो सर्त पूरागरेकोले विवाह सफल भएको भन्ने छ । यसरी यसकथामा पनि ती बृद्ध मानिसको विशिष्ट र निर्णायक नै भूमिका देखिन्छ । त्यसैले सबै समयमा सबै काममा निरपेक्ष रुपले युवाले मात्रै सफलता दिलाउँछन्, तर बूढाले सक्तै सक्तैनन् भन्नु गलत हो । यही भाष्य चीनमा पनि व्याप्त हुन थालेपछी क माओले आफ्नो बृद्धावस्थामा विशाल ह्वाङ हो नदी पौडेर देखाइदिनुभएको थियो । अहिले पनि भारत, चीन, रूस र अमेरिकाजस्ता ठुला, शक्तिशाली र विकसित देसहरुमा पटकपटक दोहोरिई-तेहरिई बूढाहरु नै आइरहेका छन् । उनीहरुको उपादेयता सिद्धिएको भए त्यस्तो नहुनुपर्ने हो । अझ विचित्र त के छ भने अमेरिका-भारत्ले आफ्ना देसमा बूढाहरुलाई बारबार जिताउने तर तिनैले नेपालमा युवाहरु नै सबकुछ हुन् भन्ने भ्रम छरेर आफ्नो कुत्सित स्वार्थ पूर्तिगर्ने षड्यन्त्र रच्ने गरेका छन्, त्यो निन्दनीय छ ।

अर्को कुरा, अहिले त युवा उमेरको अन्तर्राष्ट्रिय मापदण्डलाई खन्डित गरिएको छ र १३ बर्षदेखि २८ बर्षसम्मका उमेरसमूहलाई अर्थात सन् 1997 देखि 2013 सम्म जन्मिएका स्मार्ट फोन चलाउने, डिजिटल युगका युवापुस्तालाई जेन-जी नाम दिइएको छ । जेन जी को अर्थ हो जेनेरेसन जेड अर्थात् यो अन्तिम युवा पुस्ता हो किनकि जेड अङ्ग्रेजी भाषाको अन्तिम अक्षर भएकाले यो अन्तिम पुस्ता हो भन्ने हुन्छ । त्यसो भए के अब यसपछि अर्को पुस्ता छैन, आउन्न र हुन्न ? यस्तो अबैज्ञानिक, अप्राकृतिक र लज्जास्पद झुटको रुपमा यो उमेरसमूहलाई प्रस्तुत गर्ने गरिएको छ । अझ त्यस समूहको नाम पनि नेपाल र विश्वमै आधिकारिकता दिइएको बेलायती अङ्ग्रेजीको अन्तिम अक्षर जेड (z) लाई अमेरिकीहरुले उच्चारण गर्ने जी को आधारमा जेनरेशन-जी (जेन-जी) नामाकरण गरेर पनि आफ्नो नाम र काममा अमेरिकी प्रभावलाई प्रस्तुत गर्दै अमेरिकी साम्राज्यवादको पक्षधरतालाई संकेत गरिएको छ । यो कुरालाई पुष्टि गर्ने आधारहरु बालेन लगायतका कैयौं मन्त्री, सांसद र नेताहरु नै अमेरिकी फण्डबाट संचालित अमेरिकी युथ काउन्सिल, बारबरा फाउन्डेसन, TOB ( तिब्बेतियन ओरिजिनल ब्लड), हामी नेपाल लगायतका ngo/ingo का संस्थापक र सदस्य भएको खुल्न आएको छ तर पनि यो नाम र यसको कामलाई यत्तिकै ठिक ठोकुवा गरिदिनु कति तर्कसंगत, तथ्यसंगत र सत्यसम्मत होला ? गम्भीररुपले विचारणीय छ ।

यसैगरी स्मार्ट फोन प्रयोग गर्न जान्ने प्राविधिक रुपले उन्नत डिजिटल युगका मानिसहरु नै जेन-जी समूह भन्ने कुरा छ, के यो नै अन्तिम विकास हो र विज्ञान र प्रविधिको ? होइन, पक्कै हुनै सक्तैन, विज्ञान र प्रविधिको निरन्तर विकास हुँदै जानेछ । त्यसैले यो उमेर समूहलाई यसरी मान्यता दिनु कसैले `तेरो कान कागले लग्यो´ भनिदिंदैमा आफ्नो कान आफैसँग भएको यथार्थ नबुझी लहलहैमा कागका पछि-पछि दौडेजस्तो हास्यास्पद हुँदैन र ? अर्काले भनेकै भरमा सही ठान्ने तर आफूले अध्ययन र अनुभव गरेर बुझेको कुरामा भर नगरी गलत भन्ने यो शैली, सोंच र सिद्धान्त भ्रमपूर्ण छ र षड्यन्त्रपूर्ण पनि छ । त्यसैले विदेसीहरुको यस किसिमको भ्रम र षड्यन्त्रमा फस्नु अन्ततः आफूलाई मात्र होइन नेपाल र नेपालीको हितलाई पनि घात हुनसक्नेप्रति सचेत हुनुपर्छ ।

विदेसी प्रभाव, दवाव र षड्यन्त्रबारे :

सन् १८१६ को सुगौलीसन्धिको वरिपरिदेखि नेपाललाई सताउन सुरु गरेको विदेसी वायुको मात्रा बढ्दै आएको छ । अहिले विभिन्न देसहरुमा समेत यो हवाहुरी यस्तरी आएको देखियो कि सामाजिक संजाल, एल्गोरिदम, सफ्ट पावर, डिजीटल प्रविधिलगायतका पछिल्ला प्रविधि, प्राविधिकहरु र तिनका मालिकहरुको माध्यमबाट साम्राज्यवादले चाहेको आधारमा जनमत बनाउने वृत्ति र प्रवृत्ति शीघ्र र पूर्ण सफल हुने गरेको छ । यससन्दर्भमा हाम्रो देसमा पनि उसले सफलता पाएको सहजै अनुमान गर्न सकिन्छ । छर्लङ्ग छ कि उसले मानिसहरुका दिल-दिमाग, बानी-बेहोरा, सोंच-संस्कार, विचार-आचार र शैली-संस्कृति नै उल्टाउने गरी परिणाम ल्याइदियो । यस्ले गर्दा स्वअध्ययन, स्वबुद्धि, स्वविवेक, स्वदृष्टि, स्वसिद्धान्त र सुसंवाद आदिको आधारमा अध्ययन, चिन्तन, मनन र मन्थन गरेर मत बनाउने कार्यलाई पछि पार्दै निस्काम जस्तै बनाइदियो । भाद्र २३ मा जेन-जीहरुको अत्यन्तै सान्दर्भिक, सही र सामान्य समस्या सम्बोधनको लागि सुरुभएको स्वाभाविक, सरल र शान्तिपूर्ण संघर्ष सुरुमा आवरणमा ठिक ठान्नु सहज ज्ञानको कुरा हो तर त्यसका आधारमा त्यसभित्र रहेको षड्यन्त्रलाई बुझ्न तर्कसंगत र तथ्यसंगत ज्ञान आवश्यक पर्छ । त्यसैदिन सुनियोजित तवरले TOB लेखिएका ज्याकेट लगाएका हरिमुस्ले बन्दुकधारी प्रवेश गरेर आन्दोलनलाई हाईज्याक गरी गलत दिशा दिएर आन्दोलनको शान्तिपूर्ण स्वरुपलाई हिंसात्मक रुप दिए । नितान्त शान्तिपूर्ण आन्दोलनको `फूलसम्म पनि न चुंड्ने र गमला पनि नफोड्ने´ स्वरुपलाई १२-१ बजेतिरबाट अस्वाभाविक र अवांछित तरिकाले विकृत पारिएको त्यो बीभत्स स्वरुप र भाद्र २४ को महाविध्वंशलाई समेत `जे पायो सो खायो´ गरेझैं अथवा नेपाली उखान “भगवान जे गर्छन् असलै गर्छन्” भनेझैं गरेर ठिक ठहराउनु के विवेकसम्मत होला र ? आफ्नै अगाडि यस्ता ताण्डव नृत्य र राष्ट्रिय महाविध्वंस हुँदा पनि तिनको रक्षार्थ बसेको नेपाली नामको सेनालगायतका सुरक्षा निकाय र कर्मचारीतन्त्रका नेतृत्वहरुका गैरजिम्मेवारी र गडबडी पनि एकदमै ठिक ठहराउनेहरु हावी हुनु र अझैपनि ती हावी-प्रभावी नै हुनु के स्वाभाविक नै हुन्छ र ?

वास्तवमा यी सबै हुनु-गराउनुका पछाडि एउटै वैदेशिक शक्तिकेन्द्रको सुनियोजित षड्यन्त्र रहेको छ । जुन शक्तिले एकातिर सरकारलाई `सामाजिक संजाल दर्ता नगरी संचालन गर्न दिनुभनेको आफ्नो देसको अस्तित्व, स्वाधीनता र सार्वभौमिकतामाथि आँच आउने भएकाले रोक लगाउनुनै उचित हुने´ भन्दै सामाजिक संजाल बन्द गर्न उक्सायो उसैले अर्कोतिर सामाजिक संजालका संचालकहरुलाई `चलिआएका यस्ता सूचना संजाल रोक्ने संवैधानिक अधिकार सरकारमा नभएको र भ्रष्टाचारको भयावह स्वरुप भएको यस्तो देसमा भ्रष्टाचार गर्नको लागि कर तिर्नु भनेको भ्रस्टाचारलाई प्रोत्साहन दिनु हुने भएकोले दर्ता नविकरण नगर्न´ सुझाव-दवाव दिएर उक्सायो । यसरी सरकार र सामाजिक संजाल संचालकहरु बीचमा द्वन्द्व बढाएर धमिलो पानीमा माछा मार्ने खेल भएको छर्लङ्ग छ । अन्यथा पढ्न स्कुल गएका बालबालिकालाई स्कुल समयमै, स्कुल ड्रेसमै, स्कुले ब्यागसहित आन्दोलनमा जान दिने विद्यालय (पृन्सिपल) र लिएर जाने र हिंसात्मक आन्दोलनमा प्रयोग गर्ने सुधन गुरुङ लगायतका जुलुसको रुट-परमिट लिने जेनजी आन्दोलनका आयोजकहरुले मात्र कसरी आँट गर्नसक्थे र ? त्यसैले यसप्रकारको शान्तिपूर्ण आन्दोलनको बहानामा हत्या, आगजनी र विध्वंश मच्चिनुबाट नेपालमा साम्राज्यवादीहरुद्वारा लामोसमयदेखि बढाउँदै लगिएको प्रभाव र दवावकाबीच रचिएको हाल यो षड्यन्त्र सफल गरिएको स्वत: स्पष्ट छ । भन्ने नै हो भने भाद्र २३-२४ को यस महाअपराधका लागि विदेसी शक्तिकेन्द्रको पैसा, पावर र प्रोत्साहन पाई प्यादा बनेर विध्वंसकारी जत्था तयार पारी प्रशिक्षण-तालिम दिएर प्रत्यक्षरुपमा विध्वंसको नेतृत्व गरेकाहरुलाई पहिलो कार्वाही हुनुपर्छ । आफ्नो स्वार्थको रोटी सेक्ने त्यस्तो जालसाजीपूर्ण र अराजक राजनीतिक आन्दोलनमा १३ बर्षे स्कुले बालबालिकालाई`हिंसात्मक होइन, फूल चुँड्ने र गमला फोड्नेसम्म पनि गरिंदैन´ भन्दै लगेर अन्ततः महाहिंसात्मक अग्निकुण्डमा होमिदिने जघन्य अपराध पनि त्यसै इन्डो-अमेरिकी शक्तिकेन्द्रका पालन-पोषण र डिजाइन-निर्देशनमा रविहरुका अन्धभक्तहरु, दलाई लामाका सन्तती-अनुयायीहरु, नेपालका गुम्बामा अमेरिकी र भारतीय पैसामा हुर्केका तालिमप्राप्त TOB वालाहरु, अमेरिकी युथ काउन्सिलका सदस्यहरु र बारबरा फाउन्डेसनजस्ता अमेरिकी साम्राज्यवादी ngo/ingo लगायतमा कार्यरतहरुबाट भएकोमा के शंका छ र ? स्मरणीय छ कि यो शक्तिकेन्द्रले आफ्नो मुख्य प्रतिस्पर्धी-दुश्मन विचार र राष्ट्र नेपालको अनन्य मित्रराष्ट्र चीन र कम्युनिज्मलाई बताउँदै टार्गेट बनाएर षड्यन्त्रमूलक गतिविधिहरु गर्दै आएको छ । त्यसैक्रममा यस्ले नेपालमा निरन्तर अस्थिरता र अराजकताको खेती गरी नेपाललाई असफल राष्ट्र नै बनाएर आफ्नो स्वार्थ पूर्ति गर्ने दाउ गर्दै आएको थियो । यससन्दर्भमा कुख्यात खम्पा विद्रोह पनि यसै शक्तिकेन्द्रद्वारा गराइएको स्मरणीय छ ।आज पनि त्यही शक्तिकेन्द्रको नै यी सब घटनाहरु घटाउनुमा सुनियोजित षड्यन्त्र रहेको कुरा उपरोक्त तथ्यहरुले पुष्टि गर्दछन् ।

वातावरण बनाउने संसदवादी दल र मुख्य नेताहरु :

यो कुरा निश्चितै रुपमा सत्य हो कि वैदेशिक शक्तिकेन्द्र र तिनका दलालहरुलाई यसप्रकारको गतिविधि गर्ने सहज वातावरण बनाइदिने नेपालकै संसदवादी दल र तिनका मुख्य नेताहरु नै हुन् । उनीहरुले एकातिर देसमा जनविरोधी र राष्ट्रहितविरोधी कामहरु गरी आमजनतामा व्यापक असन्तुष्टि बढाउने गरेका थिए भने अर्कातिर ती विदेसी शक्तिहरुलाई दलाली, गुलामी र सलामी गर्दै आफ्ना सत्ता र भत्तादातालाई मातापिताका रुपमा भक्ति-स्तुति समेत गरेका थिए । यसक्रममा उनीहरुले नवउदारवादी अर्थनीति अवलम्बन गर्ने र समाजवादी मित्रराष्ट्रहरुले अनुदानमा बनाइदिएका सरकारी उद्योगधन्दासमेत कौडीको भाउमा बिक्री गर्ने र कमिसन हसुर्ने गरेका थिए । यतिमात्र होइन, उपरोक्त अनावश्यक संस्थाहरुलाई दर्तागर्ने, चलखेल गर्नदिने र तिनबाट मिलेसम्म आफू र आफ्नालाई पालनपोषण र शिक्षित-दीक्षित गर्नेदेखि राष्ट्रघाती mcc र खुकुलो नागरिकता नीति पास गर्नेजस्ता ब्लन्डरहरु गरेका थिए ।

सरकार र संसदमा पटकपटक रहने-खाने गरेका नेका, एमाले, माओवादी (प्रचण्ड ) र मधेशकेन्दृत राजनीतिक दल र तिनका शीर्षपंक्तिका नेताहरुका यसप्रकारका भ्रष्ट, दुष्ट र निकृष्ट क्रियाकलापले गर्दा देस र जनताको हालत दिनानुदिन बदतर बन्दै-बनाइँदै गरिएको थियो । आफूलाई समाजवादी र साम्यवादी भन्ने यी दल र यिनका नेताले दुई तिहाईसम्मको बलियो मत पाई सरकार बनाएर पनि सामान्य सुधार र राहतसम्मका काम गर्न नचाहनु बरु आफूहरुले जे गरे पनि हुने दम्भ गर्नाले आफ्नै पार्टीभित्रका र बाहिरका आम जनसमुदायहरु असन्तुष्ट र आक्रोशित बन्ने र विद्रोह र विष्फोट हुने अवस्थामा पुराएका थिए । फलस्वरुप जेनजी समूहका भ्रष्टाचारको अन्त्य र सुशासन, नेपोटिज्म (आफन्तवाद)को अन्त्य र सामाजिक संजालमाथिको रोकको अन्त्य जस्ता जायज मागहरु लिएर सल्केको आगो भीषण, भयावह र भस्मासुरे डढेलोको रुपमा फैलियो र देससँगै उनीहरु स्वयंलाई नै डढाउने हदसम्म विकसित भएको-गराइएको थियो ।

वर्तमान संविधान र व्यवस्थाका दुर्गुणहरु :

२०५२-६२ को महान् जनयुद्ध र २०६२-६३ को ऐतिहासिक संयुक्त जन आन्दोलनपछि सिमित सामयिक सुधारका बावजुद पनि वर्तमान संविधान र व्यवस्था मूलत: देसमा पटकपटक असफल र अफाप सिद्ध भएको उही पुरानै प्रतिक्रियावादी संसदीय व्यवस्था नै हो । यसमा वास्तवमा पुराना सामन्तवर्गदेखि नयाँ दलाल तथा नोकरशाही पुँजीपति वर्ग र तिनका प्रतिनिधि दल तथा नेताहरुले नै राज्यसत्ताको बाग्डोर चलाउँछन् । त्यसमाथि लोकतान्त्रिक व्यवस्था र बहुमतीय शासनको नाममा अल्पजनमत प्राप्त व्यक्ति, दल वा दलहरुले शासन गर्ने यो वेस्ट मिनिस्टर शासन प्रणाली र पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचन पद्धतिका कारणले गर्दा यो व्यवस्था स्वयंमा अलोकतान्त्रिक समेत छ । फेरि एकपटक चुनिएपछि जेजस्ता जनविरोधी र देसहितविरोधी कामहरु गरेपनि न त प्रत्याह्वान ( Recall ) हुने प्रावधान छ न त मतदान गर्दा नै नो भोट भन्ने ठाउँ प्राप्त हुन्छ । फलस्वरूप यो व्यवस्थामा दल र नेताहरु पाँच बर्षसम्म गैरजिम्मेवार र स्वेच्छाचारी हुने गर्दछन् । त्यसैगरी मिश्रित निर्वाचन प्रणालीले एकातिर कुनै एउटा दलको मात्र बहुमत आउन कठिन हुनाले प्राय: तृशंकू संसद, अपवित्र गठबन्धनको सरकार र सत्ता स्वार्थका कारण सरकार, संसद र दलहरु नै दीर्घजीवी नभै बीचमै क्रमशः भङ्ग, विघटन र टुटफुट भै राजनीतिक तरलता र अस्थिरता हदैसम्म हुने गर्दछ र गरेको छ । विडम्बना त केसम्म हुने गरेको छ भने `जनताबाट प्रत्यक्ष निर्वाचितलाई मात्र शासन गर्ने अधिकार हुनु नै लोकतान्त्रिक मान्यता´ भनिनाले प्रत्यक्ष निर्वाचन गरीबले लड्नै नसक्ने, लडे रीणमा डुब्ने र जिते रीण तिर्न भ्रष्टाचार गर्नुपर्ने र कथंकदा हारेमा ठग वा जोगी हुनुपर्ने बाध्यता आइलाग्ने अवस्था छ । यस्तै समानुपातिक निर्वाचनमा पनि नेताहरुले आफ्ना मान्छेलाई माथिराख्ने र तल राखिएकालाई पनि नेताले चाहे पठाउन सक्ने धेरै लूप होल छन् एकातिर भने अर्कातिर जातीय समानुपातिक हुनाले यसबाट वर्गीय रुपमा शोषित-उत्पीडितहरु पारिंदैनन्, फलस्वरुप गरिब दुखीको न प्रतिनिधित्व हुन्छ न त समस्या नै समाधानमा बल पुग्छ । त्यसैले यो व्यवस्थाले न्याय, समानता र सम्मान दिन सक्तैन । जबसम्म गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता आधारभूत अधिकारहरु अनि न्याय, समानता, स्वतन्त्रता र सम्मानको ग्यारेन्टी हुंदैन तबसम्म विरोध, विस्फोट र विद्रोह भैनैरहन्छ । यो पृष्ठभूमि यही नयाँ भनिएका संविधान र व्यवस्थाले नै तयार गरेकोले पनि जेनजी विद्रोह र यसका अघिपछिका कारण र परिणामहरु पैदा भएका हुन् । यो कुरालाई समेत गहिरो गरी मनन गरेर नेपालमा हुने हरेक राजनीतिक घटनाहरुको मूल्यांकन गरी निष्कर्षमा पुग्नु सही हुन्छ ।

हाल सरकार बन्दानबन्दै संविधान संशोधन गर्न यस्ले गरिरहेको प्रयासले पनि संविधान र व्यवस्थामा प्रशस्त त्रुटि रहेको प्रमाणित हुन्छ । जुन त्रुटिका कारण पुराना दल र नेताहरुले चाहेर पनि केही गर्न नसक्ने अवस्था हुन्थ्यो, यदि तिनलाई पहिचान गरेर संशोधन नगर्ने हो भने अहिलेको सरकारको पनि विगतकाहरुको जस्तै हालत हुन सक्छ । तर यो संविधान र व्यवस्थाका माथि उल्लिखित खोटलगायतका विद्यमान सबै कमीकमजोरीहरुलाई सच्चाएर जनता र देसको हितका पक्षमा गराउन सक्ने अनि इमानदारी र साहसपूर्वक काम गर्ने-गराउने दम हुने हो भने पनि धेरै हदसम्म देसमा परिवर्तनको अनुभूति हुनसक्छ ।

विदेसी हस्तक्षेपको इतिहास :

कुनै पनि देसको कुनै एउटा राजनीतिक घटनाको बारेमा निष्कर्षमा पुग्नको लागि त्यसदेसको राजनीतिक इतिहासको सापेक्षतामा अध्ययन गरिएमा सत्य अन्वेषणमा सघाउ पुग्छ । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ठुला विद्रोह र आन्दोलन भनेका मुख्यतः २००७, २०४६ र २०६२-६३ नै हुन् । यी तीनवटै ठुला आन्दोलनको ईतिहास अध्ययन गर्दा पनि यी परिवर्तनकारी आन्दोलनहरुमा सुरुमै, बिचमै वा अन्त्यमै पनि वैदेशिक हस्तक्षेप हुने गरेको ईतिहास छ । यहाँसम्म कि नेपाल औपनिवेशिक शोषण-उत्पीडनमा परेकोले साम्राज्यवाद-विस्तारवादबाट राष्ट्रिय मुक्तिको लागि समेत भनेर नयाँ जनवादी क्रान्ति गर्ने भन्दै हतियार उठाएको प्रचण्ड नेतृत्वको जनयुद्धकारी माओवादी विद्रोहमा समेत यसको पछिल्लो अवधितिरबाट प्रत्यक्ष-अप्रत्यक्ष रुपमा इन्डो-अमेरिकी हस्तक्षेप भएको जगजाहेरै छ । भारतीय डिजाइनमा प्रचण्ड-बाबुराम र गिरिजा-माधवको चाहना समेतमा दिल्लिमा सम्पन्न कुख्यात १२ बुँदे सहमती, विस्तृत शान्तिसम्झौता, अनमिनको प्रवेश र राजतन्त्र फाल्नमा भारतको दवाव आदिको निरन्तरतामा वर्तमानको जेनजी विद्रोहलाई हेर्नू वस्तुवादी हुन्छ । अझ यहाँनेर राष्ट्रवादी नेता मदन-आशृत हत्याकाण्ड र राजा वीरेन्द्रको वंशनासकारी दरबार हत्याकाण्डमा वैदेशिक शक्तिकेन्द्रकै हात रहेको पनि आम जनताले अझै बिर्सेका छैनन् । उपरोक्त घटनाक्रमका साथै नेपालमा प्रधानमन्त्री देखि तलतलसम्मका पदहरुमा भारतीय चासो हुने गरेको र mcc पास गराउनमा अमेरिकी चलखेल र हस्तक्षेप पनि ताजै रहेको सन्दर्भमा अन्य केही प्रत्यक्ष प्रमाण र आधारहरु नदेखिएको अवस्थामा समेत जेनजी विद्रोह एकदमै स्वतन्त्र, स्वतस्फूर्त र मौलिक विद्रोह भन्न गाह्रो पर्थ्यो भने माथि उल्लिखित थुप्रै आधार र कारणहरुले समेत यसमा पनि विदेसी हस्तक्षेप भएकोमा शंका देखिंदैन । फेरि पनि विदेसी हस्तक्षेपप्रति झुक्ने, बिक्ने र चुक्ने कि देसको हितमा वाद-विवाद-संवाद गर्ने र आवश्यक परे प्रतिवाद-प्रतिरोध पनि गर्ने ? यो राज्यसंचालकहरुको छनोटको कुरा हो । फरक यत्ति छ, पहिलो बाटो छाने ईतिहास झन् निर्मम रुपमा दोहोरिन्छ; दोस्रो छाने देस, जनता र राज्यसंचालककै शिर र स्वाभिमान उंचो हुन्छ ।

१०. आजको देसको प्रमुख आवश्यकता : विदेसीहरुले आफ्नो स्वार्थको निम्ति नेपाल र नेपाली लाई प्रयोग गर्न खोज्छन् । यसमा प्रयोग हुने मुख्य कमजोरी हाम्रा नेता र शासकहरुको हो । हाम्रा शासकहरुकै गल्ती, कम्जोरीमै टेकेर उनीहरु यहाँ हालीमुहाली मच्चाउन, हुकुम-हैकम चलाउन र हस्तक्षेप समेत गर्न सफल हुन्छन् । यो पछिल्लो घटनाप्रकरणमा पनि यही भएको छ । तर आशा गरौं जनताको अपार विश्वासका कारण बनेको यो सरकारका नेताहरुलाई हिजो शक्तिकेन्द्रले प्रयोग गरेको भएपनि आज जनताको ठूलो बल मिलेकोले वैदेशिक शक्तिकेन्द्रको दवाव बमोजिम यिनले देसघाती र जनघाती काम नगर्न पनि सक्छन् । अब रवि-बालेनहरु जनताले आफूहरुमाथि गरेको यो अगाध मायालाई विदेशीहरुको हितमा होइन स्वदेसीहरुकै हितमा प्रयोग गर्न सक्नुपर्छ । यो नै उनीहरुको चलाकी, बुद्धिमानी, जिम्मेवारी, देसप्रेम र जनप्रेमको पहिचान पनि हुनेछ ।

हाल सरकार बन्दानबन्दै संविधान संशोधन गर्न यस्ले गरिरहेको प्रयास यसदिशाको एउटा संकेत पनि हो । यस संविधान र व्यवस्थामा प्रशस्त त्रुटि रहेको र केही हदसम्म यिनै त्रुटिका कारण पुराना दल र नेताहरुले चाहेर पनि केही गर्न नसक्ने अवस्था हुन्थ्यो । यदि तिनलाई पहिचान गरेर संशोधन नगर्ने हो भने अहिलेको सरकारको पनि विगतकाहरुको जस्तै हालत हुन सक्छ । तर यो संविधान र व्यवस्थाका यावत खोटहरुलाई पहिचान गरेर सच्चाउने अनि जनता र देसको हितका विपक्षमा हिजो भएगरेका तमाम सन्धिसम्झौता, नियमकानुन र नीतिनिर्देशिका सच्चाउने अनि भ्रष्टाचारजन्य कामकार्वाहीहरुलाई विधिसम्मत, न्यायसम्मत र देस-जनताहितसम्मत तरिकाले इमानदारी र साहसपूर्वक कार्वाही गर्ने-गराउने दम हुने हो भने पनि धेरै हदसम्म देसमा परिवर्तनको अनुभूति हुनसक्छ ।

आशा गरौं यस्तै होस् । MCC र १९५० लगायतका सम्पूर्ण राष्घाती सन्धीसम्झौताहरु खारेज गरियून् ; लिम्पियाधुरासम्म नेपालको भूभाग कायम गरियोस्; कालापानी क्षेत्रबाट भारतीय सैनिक क्याम्प हटाइयोस्; SPP जस्ता घातक सन्धिसम्झौता नगरियून्; संसद र पार्टीकाभन्दा सडक र दीनहीन जनताका आवाज सुनियून् ; मिटरब्याज, लघुवित्त र सहकारीलगायतका ठगहरुलाई गिर्फ्तार गरी तिनका नातागोताका सम्पत्तिबाट समेत पीडितहरुलाई क्षतिपूर्ति दिलाइयोस् ; गासबासकपास, शिक्षास्वास्थ्य र रोजगारको समुचित व्यवस्था होस्; देसीहरुका दवाव होइन सुझाव र स्वच्छ सहयोगलाई देसहितमा हुने गरी मात्र लिइयून्; संविधानप्रदत्त राष्ट्रियता, जनअधिकार र जनजीविकाहरु सुनिस्चित होऊन्; राष्ट्रिय स्वाधीता र असंलग्नता अक्षुण्ण रहोस्; देसमा शान्ति, न्याय, समानता, स्वतन्त्रता, सुशासन र विकास होस् ! यही आजको नेपाल र नेपालीको प्रमुख आवश्यकता हो, भनिरहन नपरोस् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु