संगठनात्मक संरचना र नेतृत्वको विकास तथा व्यवस्थापन
नयाँ संगठनात्मक पद्धतिको खाँचो
आजको विश्वराजनीतिमा ठुला–ठुला फेरबदल र नयाँ–नयाँ बहसहरु हुँदैछन । आजको मुख्य बहस र चिन्तनको विषय पार्टी, संगठन वा संस्था र नेतृत्वलाई कसरी जिवन्त, गतिशील र नयाँ बनाईरहने भन्ने हो । पछिल्लो समय विश्वराजनीतिमा प्रवेश गरेको विषय पुस्तान्तरणको बहस पनि हो । यो बहसले पुरानो पुस्तालाई राजनीतिबाट विस्थापित गर्न खोज्छ । फेरि पुस्तान्तरणको बहसको मुख्य कारण नयाँलाई अस्वीकार गर्ने पुरानो पद्धतिको दोष हो । मेरो बिचारमा पुस्ताको बिबादलाई सर्वस्वीकार्य विधिद्वारा समाधान गर्नु नै सही र लोकतान्त्रिक बाटो हुनसक्छ । हामीले पुराना र नयाँ वा बुढा र युवाको बिबादलाई बुद्धिमतापूर्ण समाधान दिन सक्नुपर्छ । फेरिपनि लोकतन्त्र भनेको प्रतिश्पर्धा हो र निषेध होइन । कसैलाई प्रतिश्पर्धा गर्न नदिनु निषेध हो । सबैभन्दा पहिले युवाहरु वा विद्यार्थीहरुलाई राजनीतिमा लाग्न दिने वा नदिने भन्ने बहस र बिबादलाई खारेज गर्नुपर्छ । राजनीति गर्न पाउनु युवा र विद्यार्थीको नैसर्गिक अधिकार हो । जसले विद्यार्थीहरुलाई राजनीतिमा निषेध गर्न वा प्रतिबन्ध लगाउन खोज्छ, त्यो चिन्तनसंग दर्शन र परिपक्व दृष्टिकोणको अभाव छ भनेर बुझ्नुपर्छ । कुनैपनि देश र समाजको नेतृत्व र पहिचानमा राजनीतिले दिशानिर्देश गरिरहेको हुन्छ । राजनीति नै मुख्य नेतृत्वमा हुन्छ र त भनिन्छ नि पोलिटिक्स इन कमान्ड ।
नेपालमा जेन–जी विद्रोहले छाडेका केही महत्वपूर्ण बहसहरु छन् र ती बिबादहरुलाई सही समाधान र दृष्टिकोण दिन जरुरी हुन्छ । तथ्यमा ती विषयहरुलाई हेरौ न त–
१. विद्यार्थीहरुले राजनीति गर्न हुन्छ र आवश्यक छ ।
२. विद्यार्थीहरुलाई विद्रोह गर्ने अधिकार हुन्छ ।
३. विद्यार्थीसँग पनि राजनीतिक ज्ञान र दृष्टिकोण हुन्छ ।
४. युवाहरुलाई राजनीतिमा निषेध गर्न पाईदैन ।
५. जेन–जी विद्रोह खासमा विद्यार्थीहरुले गरेका हुन
परम्परागत संगठनहरुको असफलता
हामीले २०४६ वा २०६२–०६३ पछिका संगठनात्मक पद्धतिमा केही सुधारहरु वा परिवर्तन जरुर भएका थिए । २०४६ पछिको मुख्य उपलब्धि भनेकै दलहरु र संगठन खोल्न पाउनु थियो । २०६२–०६३ पछिको मुख्य सुधार वा परिवर्तन भनेकै समावेशी वा समानुपातिक प्रतिनिधित्व प्रणाली हो । उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गको प्रतिनिधित्व हो । जेन–जी आन्दोलन पछिको अवस्थालाई हेर्नेहोभने सबै पुराना दलहरुले नयाँ पुस्तालाई समेट्न सकेनन । नयाँ पुस्ताहरु राजनीतिमा प्रवेश गर्न नपाउनुका मुख्य कारणहरु हुनः क. विद्यालय र उच्च माविलाई राजनीति मुक्त गराउने घोषणा ख. विद्यार्थीलाई राजनीतिमा नलगाउने अभियान ग. विद्यार्थी संगठनहरुको विद्यालय र उच्चमावि तहमा रिक्तता वा प्रतिबन्ध । हामीलाई थाहा छ नि पुरानो पुस्ता प्रावि तहबाटै राजनीतिमा सक्रिय भएको पुस्ता थियो तर नयाँ पुस्तालाई राजनीतिमा निषेध नै गरियो । अर्को शब्दमा यो पुस्ता पनि राजनीतिमा प्रबेश गर्न चाहेन ।
राजनीतिक परिवार भित्र पनि राजनीतिप्रति चरम निराशा वा वितृष्णा पैदा भयो जसको मुल कारण राजनीतिमा लाग्ने पुस्ताहरु आर्थिक र सामाजिक रुपमा प्रताडित र पीडित बने । हाम्रो वितरण प्रणालीमा गंभिर समस्या छ । मुख्य नेतृत्वको तजबिजमा आधारित संगठन प्रणालीमा हामी छौं । नेता बन्न, मन्त्री वा सांसद बन्न वा मालदार ठाउँमा पुग्न शीर्ष नेतृत्वको निगाह चाहिने हाम्रो पद्धति छ । पार्टी, संगठन भित्र न्याय र अन्यायको बहस त हुनैसकेको छैन । जब राजनीतिमा लागेको ठुलो संख्या अन्यायमा पर्छ अनि आर्थिक रुपमा पछाडि पर्छ, तब राजनीति निराशाको विषय बन्छ ।
पुराना दलहरुको असफलताका पछाडिको मुख्य कारण नेतृत्वको असक्षमता नै हो । उनीहरू जनतासँगको प्रत्येक्ष सम्पर्कबाट नै बञ्चित बने । जनतालाई प्रत्यक्ष लाभ हुने काम गर्ने ईच्छा नै उनीहरूभित्र आएन । सानासाना सुधारका घोषणाबाटै मात्रपनि नयाँले जनताको मनजित्न सक्ने सुनौलो र दुर्लभ अवसर वर्तमान सरकारसँग रहेको छ ।
युवा, नवधनाड्य र ईलाइट वर्गको राजनीतिमा जवर्जस्त हस्तक्षेप
जेन–जी विद्रोहपछि हाम्रो राजनीतिमा नयाँ र युवा पुस्ताको राजनीतिमा जबर्जस्त हस्तक्षेप भयो । यो नारा यति धेरै शक्तिशाली र शसक्त भयो कि बलिया भनेका पुराना दलहरु पनि प्रतिक्रियाबिहिन जस्तै बने । चुनावले खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई सत्ताको बागडोर सुम्पियो । निर्वाचित सरकारको मन्त्रीहरुको सम्पत्तिविवरणले धेरैलाई शसंकित बनाएको छ । मन्त्री, सांसद र नेतृत्वमा नवधनाड्य, शिक्षित र ईलाईट वर्गको वर्चस्व देखियो ।
२०४६–४७ पछि नेका र एमालेले पनि युवाहरुलाई नै अगाडि सारेको थियो । २०६४ पछि माओवादी पनि पुरै यवामय थियोे । तर नेतृत्वमा पुरानै पुस्ताको मात्र सिन्डिकेट हुँदा नयाँ पुस्ता प्रवेश नै गर्न पाएन । सबै दलभित्र कथित जुनियर र सिनियरको बहस हावी भयो तर योग्यता, क्षमता र प्रतिभाहरुको कदर नै भएन । समाजमा वा परिवारमा छोरा, नाति र पलांति पुस्तासमेत राजनीति गर्न योग्य भईसक्यो तर त्यसलाई समेट्ने विधि नै बन्न सकेन ।
पुस्तान्तरण वा पुस्ताहरुको केन्द्रीकरण
आजको नेपाली काँग्रेसभित्र एउटा गंभिर समस्या देखियो । विशेष महाधिवेशनको नाममा एउटा पुरानो र संस्थापन पक्ष पुरै पार्टी बाहिर रहयो । पुरानो केन्द्रीय समितिको निर्णयलाई अनाधिकारिक घोषणा गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतमा बिचाराधिन छ । यो सत्य होकि पुरानो पुस्ता, नेतृत्व र दलहरु आजको दिनमा अलोकप्रिय छन् । यो पनि सत्य होकि राजनीतिमा लोकप्रियता वा अलोकप्रियता स्थाई चिज होइनन । पुराना दलहरूले आपूmलाई समयसापेक्ष सुधार गर्नुपर्ने चुनौती छ । संगठनात्मक पद्धतिमा व्यापक हेरफेर गर्न जरुरी छ । नयाँ र युवाको नाममा पुराना र परिपक्व पुस्तालाई निषेध गर्नु हुँदैन । हामीले प्रष्टसँग देखेका छौकि आजको नयाँ पुस्ता सधैँ नयाँ वा युवा हँुदैन । आज हामीले विकास गर्ने राजनीतिक संस्कृतिले हाम्रो भविष्यलाई पनि सही दिशाबोध गर्न सक्नुपर्छ । सबै पुस्ताहरुलाई मिलाएर एकता र सौहार्दताको बाटो नै सही हुनसक्छ । दोष जति अरुलाई र विगतकालाई थोपर्नुभन्दा काम, परिवर्तन र सुधारबाट जबाफ दिने रणनीतिले सबैको मन जित्न सक्छ । त्यसकारण संगठनलाई विभिन्न पुस्ता, वर्ग जाति, क्षेत्र र लिङ्गको एकत्वको रुपमा विकास गर्ने रणनीतिको अङ्गिकार गर्नु सही हुनसक्छ । पुस्ताहरुको एकत्वका लागि उमेरजन्य प्रतिनिधित्व प्रणाली सही हुन्छ । क. २० देखि ३० वर्षको एउटा तह, ख. ३० वर्षदेखि ४० वर्षसम्मको अर्को तह, ग. ४० वर्षदेखि ५० वर्षसम्म र घ. ५० वर्ष माथिको अर्को तह । यसलाई निम्न बुँदाहरुको आधारमा संगठनात्मक पुनर्निर्माण गर्न र औचित्य पुष्टि गर्न सकिन्छ ः
१. तहगत संगठनात्मक संरचना
२. पुस्ताहरुको वर्गीकरण र समावेशीकरण
३. तहगत प्रतिनिधित्व प्रणाली
४. तहगत प्रतिनिधित्वको केन्द्रीकरण

