मे १ को महत्व र मजदुर आन्दोलन

२०८३ बैशाख १८ गते, शुक्रबार

सन्दर्भ ः १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

खेमराज उपाध्याय

ग्रेगोरियन क्यालेन्डर (ईश्वी. सम्वत– सन्) अनुसार प्रत्येक वर्ष मे महिनाको पहिलो दिन अन्तर्राष्ट्रिय मजदुर दिवसलाई विश्व भरका सबै मजदूर–वर्ग र मजदुरहरूको अधिकार, चासो, र प्रगतिको चिह्नका लागि “मे दिवस” भनेर पनि चिनिन्छ । यो दिन, विश्वभरका धेरै देशहरूमा राष्ट्रिय बिदा दिइन्छ, यद्यपि उत्सवको मिति वा नाम भने फरक हुन सक्छ ।

रेमंड ल्याभिनले पेरिस बैठकमा प्रस्ताव गरे अनुसार सन् १८८९ वा बी.स. १९४६ मा एक वार्षिक दिवसको रूपमा वार्षिक आधारमा मे दिवस मनाउने निर्णय गरियो । रेमंड ल्याभिनले प्रस्ताव गरे कि ‘शिकागो दंगा’ को वार्षिकोत्सव मनाउन अन्तर्राष्ट्रिय प्रदर्शन आवश्यक छ भन्ने निश्कर्ष अनुसार सन् १८९१ अर्थात् बी.स. १९४८, मा अन्तर्राष्ट्रिय श्रम संघको दोस्रो कांग्रेसले मे दिवसलाई वर्षमा एक पटक आधिकारिक रूपमा वार्षिक समारोहका रूपमा मनाउन मान्यता दिए ।

सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो शहरबाट सुरु भएको मजदुरहरुको आन्दोलनले ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरंजन गर्ने मान्यतामा स्थापना गराएको थियो । ८ घण्टा मात्र काम गर्ने मजदुर माग पुरा नगरेपछि सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो शहरमा लाखौं मजदुरहरुले सडकमा उत्रिएर प्रदर्शन गरेका थिए । मजदुरको माग पुरा नगर्ने निर्णय तत्कालीन अमेरिकी सरकारको थियो ।

आन्दोलन २ दिनसम्म शान्तिपूर्ण भएतापनि तेस्रो दिनको प्रदर्शन आन्दोलन माथि त्यहाँको सरकारले व्यापक दमन गरेको थियो । ६ मजदुरहरूले त्यहाँ शाहदत प्राप्त गरेका थिए । मजदुर नेताहरू पार्सन, स्पाइस र एंगेल्स लगायतलाई मृत्युदण्ड दिइएको थियो । त्यो, गौरवपूर्ण आन्दोलनका अगाडि अन्ततः अमेरिकी सरकार झुक्न बाध्य भएको थियो । २० अगष्ट १८६६ सालमा बाल्टीमोरमा भेला भएका ६० जना मजदुरले सर्वप्रथम ८ घण्टा कामको माग राख्दै नेसनल लेवर युनियन’ भन्ने एक सङ्गठनले निर्माण गरेका थिए । आजको मजदुर आन्दोलनमा मे १ को ठूलो ऐतिहसिक महत्व राखेको छ । मजदुरहरुको त्यो अन्तर्राष्ट्रिय महत्वपूर्ण संगठनको नेतृत्व एक प्रतिभाषाली मजदुर नेता एच’ सिल्विसले गरेका थिए । उनले अन्तर्राष्ट्रिय नेताहरुसँग बारम्बार पत्र व्यबहार गर्ने गर्दथे । सन् १८६७ सालको अधिवेशनले अन्तर्राष्ट्रिय मजदुर आन्दोलनलाई सहयोग गर्ने निर्णय लिएको थियो । सन् १८६९ सालमा लेवर युनियनले प्रथम अन्तर्राष्ट्रिय निमन्त्रनलाई स्वीकार गरी जरनल काउन्सिलमा एक जना प्रतिनिधि पठाउने निर्णय गरेको बेला यसैबीच मजदुर आन्दोलनका महान नेता एच’ सिल्विसको दुःखद पूर्ण निधन भएको थियो । त्यसैले एसी’ केमरानलाई अन्तर्राष्ट्रिय प्रतिनिधि चुनेर पठाइएको थियो । उहाँ सिकागोबाट प्रकाशित हुने वर्किन्मेन्स एड्बोकेट भन्ने पत्ररिकाका सम्पादक हुनुहुन्थ्यो । एच ‘सिल्विसको मृत्युपछि लेवर युनियनमा खराब ब्यक्तिको प्रवेशले बद्नाम हुँदै विघटन हुन पुग्यो ।

मे १ का दिन विश्वभर र नेपालमा पनि मे दिवश मनाइन्छ । श्रमिकहरूमाथि मालिकहरूको अत्याचारका विरूद्धमा मजदुरहरूले गरेको आन्दोलनको स्मरण स्वरूप मे दिवश मनाउँदै आउने गरिएको छ । विश्व मजदुर आन्दोलनमा मात्र नभएर हरेक राजनैतिक आन्दोलनमा १ मे को अत्यन्त ठूलो महत्व रहेको छ । नेपालमा वि स २००३ सालमा रघुपति जुट मिलमा पहिलो पटक मजदुर आन्दोलन शुरू भएको थियो । नेपालमा मजदुर आन्दोलनको इतिहास त्यति लामो नभएतापनि देशमा चल्ने गरेका राजनैतिक आन्दोलनहरूमा मजदुरहरूले महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् र पनि मजदुरहरूले आफ्नै जीवनमा भने परिवर्तनको अनिभूत गर्न अहिलेसम्म पनि पाएका छैनन् । काम गर्ने समयलाई सुनिश्चित गरेर जबसम्म कानूनी रुपमा बाधिदैन तबसम्म मजदुर वर्गको खुशी र स्वतन्त्रताको लागि गरिने सबै संघर्षको प्रयास निरर्थक हुनेछन” भनेर सन् १९६६ साल सेप्टेम्बरमा जेनेभामा सम्पन्न भएको प्रथम अन्तर्राष्ट्रिय कांग्रेसले आफ्नो धारणा अभिव्यक्त गरेको थियो भने; नेसनल लेवर युनियनले उठाएको ८ घण्टा कामको मागलाई कार्ल माक्सले पनि जोडले समर्थन जनाएका थिए । सन् १९६७ सालमा प्रकाशन भएको पूँजीको प्रथम खन्डमा माक्र्सले निग्रो र गोरा मजदुरहरुको वर्गहकहितको कुरा उठाएका छन। माक्र्सले काला मजदुरहरूको सम्पूर्ण रूपमा मुक्ति नहुँदै गोरा मजदुरहरू पनि मुक्त हुन नसक्ने विचार व्यक्त गर्दै काला र गोरा मजदुरहरूका बीचको भेदलाई आलोचना गरी मजदुरका बीचमा भेद होइन, वर्गीय एकतामा बाधिन माक्र्सले जोड दिएको पाईन्छ । पूँजीपति वर्गले मजदुरहरूका मागहरूलाई सम्बोधन गर्ने दिशामा ध्यान दिएनन ।

मे १ को गौरवपूर्ण परम्परालाई कायम राख्दै मजदुर आन्दोलनलाई सही रूपमा अगाडि बढाउनुपर्ने अझै आवश्यकता देखिन्छ । मजदुरवर्ग क्रान्तिको भरपर्दो र निर्णायक शक्ति हो । यही शक्तिको दुरूपयोग गर्दै विभिन्न अवसरवादी संगठनहरूले आफ्नो स्वार्थपूर्ति गर्दै आइरहेका छन् । मजदुरहरूको मुक्ति अभियानलाई शिखरमा पुग्न नदिनका लागि विभिन्न प्रतिक्रियावादी तथा संशोधनवादी पार्टी संगठनहरू क्रियाशील रहेका छन् ।

मजदुरको महान् त्याग, बलिदानबाट प्राप्त ८ घण्टा काम, ८, घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग लागू भएको हो तर अहिले साम्राज्यवादी युगमा ती मागमा विभेद भएको छ । खुल्ला अर्थनीति वा उदारीकरणले एकाधिकार जमाउँदै गएको छ भने सीमित प्राप्त मजदुर हकअधिकार कुण्ठित हुँदै गएका छन् । ट्रेड युनियन अधिकार, श्रम ऐन लागु भएका छैनन् । तोकिएबमोजिम पारिश्रमिक छैन । ठेक्कापट्टाले गर्दा मजदुरको स्थायी जागिर छैन । स्थायी जागिर नभईकन राज्यबाट सुविधा पाउने कुरा पनि भएन । बोनस, आवास, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा कोषजस्ता श्रम ऐनले दिएका अधिकार १० प्रतिशत पनि लागि भएको छैन ।

श्रम गर्ने, रगतलाई पसिनामा परिणत गरेर उत्पादन गर्ने श्रमिक वर्गले रगतसित साटेर, फाँसीमा झुण्डिएर आएको ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको अधिकार ग्यारेन्टी गरेका हुन् तर आज कुर्सीमा बस्ने, कलम चलाउने बौद्धिक वर्गलाई स्वर्ग भएको छ । जसले यो अधिकार स्थापित गरायो, त्यही वर्गमाथि विभेद गरिएको छ । यो पूँजीवादी व्यवस्थामा मजदुर–किसान हकहितको संरक्षण हुने छैन ।

नेपालको सन्दर्भमा अब मजदुरवर्ग विशेष सचेत र सतर्कताका साथ अघि बढ्नु पर्ने बेला आएको छ । कुनै पनि आन्दोलनको क्रान्तिकारी परम्परालाई कायम राख्न एउटा सही नीति र सिद्धान्त बोकेको पार्टी मात्र सक्षम हुने गर्दछ । विभिन्न कारणले गर्दा आज मजदुर आन्दोलन एकदम कमजोर अवस्थामा पुगेको छ । त्यसो त विश्वकै मजदुर आन्दोलन त्यती शक्तिशाली छैन । विभिन्न अवसरवादी संगठनहरूको भ्रमको जालो हटाएर, राष्ट्रियताको रक्षा र आन्दोलनमा मजदुरहरू एकतावद्ध हुनु जरूरी र आवश्यक देखिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु