पार्टी राजनीतिमा झोला र झण्डाको महत्व

२०८३ बैशाख २९ गते, मंगलवार

डा. केशव देवकोटा

नेपाल फेरी राजनीतिक स्थायित्वतर्फ नभएर संक्रमणतर्फ अगाडि बढेको देखिएको छ । खासगरी गत फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधिसभामा झण्डै दुईतिहाइ सिट ल्याउन सफल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद र सरकार गठन गरेको छ । जसबाट देशको राष्ट्रिय राजनीतिमा कतिपय परिवर्तनका संकेतहरु पनि देखिएका छन् । ति संकेतहरु परिवर्तनको पक्षमा नभएर प्रतिगमनको पक्षमा देखिएकाले सबैतिर चिन्ता र चासोहरु ब्यक्त हुनथालेका छन् । रास्वपाको पार्टी नेतृत्व कसरी अगाडि बढ्छभन्ने स्पष्टरुपले खुलेको छैन । तर सो पार्टीका संसदीय दलका नेता तथा देशका कार्यकारी प्रमुख प्रधानमन्त्रि निर्दलीय र निरंकुश राजनीतितर्फ आकर्षित र परिचालित भएको देखिएको छ । उहाँले गत केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट मुक्त बनाउन सरकारले अध्यादेशमार्फत कठोर कदम चालेको दाबी गर्नुभएको थियो । जसमा उहाँले वर्षौँदेखि जकडिएको दलीय भागवन्डा र झोला बोक्ने प्रवृत्तिका कारण देशको प्रणाली नै ध्वस्त भएको पनि बताउनुभएको थियो । उहाँको भनाइमा विद्यार्थी र कर्मचारीतन्त्रमा भएको पार्टीकरणले देशलाई निकै ठूलो क्षति पु¥याएकोभन्ने रहेको थियो । नभन्दै वर्तमान सरकार सत्ता र शक्तिमा आएपछि जसरी बिद्यार्थी संगठन, कर्मचारी संगठन र ट्रेड यूनियनहरुमा रोकलगाएको छ, त्यसले सरकारको राजनीतिक गन्तब्य स्पष्ट हुन्छ । दलीय राजनीतिक व्यवस्थामा झोला र झण्डा केवल वस्तुमात्र नभएर राजनीतिक संस्कार, निष्ठा र पहिचानको प्रतीककारुपमा लिइन्छन् । नेपालका सन्दर्भमा खासगरी झोला र झण्डाले राजनीतिक कार्यकर्ताको सक्रियता, दलप्रतिको प्रतिवद्धता र आन्दोलनकारी चरित्रलाई संकेत गर्नेगरेका छन् । झण्डाले कुनैपनि दलको राजनीतिको र झोलाले संगठनको प्रतिनिधित्व गर्दछ । त्यसमा पनि कम्युनिष्ट पार्टीहरुमा झोला र झण्डाको महत्व र गरिमा धेरै रहेको हुन्छ ।

झण्डा कुनै पनि राजनीतिक दलको बिचार, सिद्धान्त र पहिचानको प्रतीक हो । चुनाव, सभा, आन्दोलन वा सार्वजनिक कार्यक्रममा झण्डाले समर्थकहरुलाई एकतावद्ध बनाउने काम गर्छ । यसले कार्यकर्तामा उत्साह, अपनत्व र राजनीतिक चेतना पैदागर्छ । कतिपय अवस्थामा झण्डा राष्ट्रिय परिवर्तनका आन्दोलनहरुको भावनात्मक प्रतीक पनि बन्नेगरेको छ । राजनीतिक पार्टीहरु लोकतान्त्रिक व्यवस्थाका आधारभूत संस्था हुन् । पार्टीभित्रको राजनीति र स्पष्ट वैचारिक आधारलेमात्र कुनै दललाई दीर्घकालीन, विश्वसनीय र जनउत्तरदायी बनाउन सक्छ । जब पार्टीहरु सिद्धान्त, नीति र जनहितका मुद्धामा आधारित हुन्छन्, तबमात्र नागरिकका लागि आफ्नो आवश्यकता र आक्यांक्षाअनुसार प्रतिनिधि छनोट गर्न सहज हुन्छ । पार्टी राजनीतिमा बिचारधाराको महत्व धेरै छ । बिचारले पार्टीलाई देश विकास, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य वा सामाजिक न्यायबारे स्पष्ट मार्गदर्शन दिन्छ । कार्यकर्तामा एकता र साझा बिचारले पार्टीभित्र अनुशासन, प्रतिबद्धता र उद्देश्यको भावना बलियो बनाउँछ । बैचारिक आधार भएका पार्टीहरु आफ्ना वाचा र नीतिप्रति बढी जवाफदेही हुन्छन् । जब व्यवहारमा पार्टीहरु सिद्धान्तभन्दा सत्ता, व्यक्तिगत स्वार्थ वा अवसरवादी गठबन्धनतर्फ बढी केन्द्रित हुनथाल्छन् तव पार्टीमासमेत बिभिन्न समस्याहरुको सिर्जना हुन्छ । त्यस्तो अवस्थामा जनविश्वास कमजोर हुन्छ र राजनीति केवल शक्ति संघर्षमा सीमित हुने जोखिम बढ्छ । त्यसैले स्वस्थ राजनीतिका लागि पार्टीहरुमा स्पष्ट बिचार, आन्तरिक लोकतन्त्र, नीतिमा आधारित बहस र जनसेवाको भावना आवश्यक हुन्छ । बिचारविहीन राजनीति क्षणिक हुनसक्छ । तर सिद्धान्तमा आधारित राजनीति दीर्घकालीन परिवर्तनको आधार बन्छ । बिचारले नीति उत्पादन गर्छ र नीतिले कार्ययोजनाको निर्धारण गर्छ । बिचारले पार्टी र जनतालाई पथप्रदर्शन गर्छ र वैज्ञानिक नीति निर्माणमा अन्तर्दृष्टि पनि प्रदान गर्छ । जनतामाझ बिचार र नीति स्थापित गराउन सक्नेहरु नै पार्टीका नेताकारुपमा चिनिन्छन् । सामान्यतः बिचारबिनाको राजनीतिक पार्टीको कल्पनासमेत गरिन्न ।

राजनीतिमा झोला विशेष अर्थमा प्रयोग हुन्छ । झोला बोकेको कार्यकर्तालाई प्रायः सक्रिय, आन्दोलनमा खटिने, गाउँगाउँ पुग्ने राजनीतिक कर्मीसँग जोडेरसमेत हेरिन्छ । झोलाभित्र किताब, पर्चा, दस्तावेज वा संगठनात्मक सामग्री हुने भएकाले यसले वैचारिक राजनीति र जनसम्पर्कको संकेत पनि गर्छ । तर वर्तमान सरकारमा आएकाहरुले झोले कार्यकर्ताभन्ने शब्दलाई अवसरवादी राजनीति वा अन्धो समर्थनको आलोचनात्मक अर्थमा प्रयोग गर्न खोजिरहेका छन् । रास्वपा पनि एउटा पार्टी हो । उसका लागि पनि समयक्रममा झोला र झोले कार्यकर्ताहको सख्त जरुरत पर्दछ । राजनीतिक पार्टीहरुमा संगठनको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । संगठन बिना कुनैपनि पार्टी प्रभावकारीरुपमा सञ्चालन हुनसक्दैन । संगठनले पार्टीलाई एकीकृत, अनुशासित र उद्देश्यप्रति केन्द्रित बनाउँछ । पार्टीलाई व्यवस्थित बनाउने संगठनले पार्टीका नीति, कार्यक्रम र गतिविधिलाई व्यवस्थित ढंगले सञ्चालन गर्न सहयोग गर्छ । यसले नेतृत्व र कार्यकर्ताबीच समन्वय कायम गर्छ । जनतासम्म पहुँच विस्तार गर्ने बलियो संगठन भएको पार्टीले गाउँदेखि केन्द्रसम्म आफ्ना बिचार र कार्यक्रम जनतामाझ प्रभावकारीरुपमा पु¥याउन सक्छ ।

बिचारवान पार्टीले पार्टीभित्र अनुशासन कायम राख्छ र आन्तरिक विवाद कमगर्न मद्दत पनि गर्दछ । यसले कार्यकर्तामा एकताको भावना विकास गर्छ । नेतृत्व विकास गर्ने संगठनमार्फत नयाँ कार्यकर्तालाई अवसर दिइन्छ र भविष्यका सक्षम नेताहरु तयार हुन्छन् । निर्वाचनका बेला संगठनले प्रचार–प्रसार, मतदाता परिचालन तथा रणनीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ । राम्रो संगठन भएको पार्टीले चुनावमा बढी सफलता पाउने सम्भावना हुन्छ । नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने पार्टीका निर्णय र कार्यक्रम जनस्तरसम्म पु¥याएर कार्यान्वयन गर्ने मुख्य माध्यम संगठननै हो । यसरी संगठन राजनीतिक पार्टीको मेरुदण्ड हो । बलियो संगठन बिना पार्टी दीर्घकालीनरुपमा सफल र प्रभावकारी हुनसक्दैन । अझ सही कम्युनिष्ट पार्टीहरु जनवादी–केन्द्रीयताका आधारमा चलेका हुन्छन् । त्योभनेको सम्पूर्ण पार्टी जीवनको सञ्चालनमा जनवादसित केन्द्रीकृत नेतृत्वको जीवन्त मेल होभन्ने बुझिन्छ । जनवाद र केन्द्रीयताको ठीक ढंगबाट प्रयोग नभएको खण्डमा खराब परिणामहरु पनि निस्कने गरेका छन् । वास्तवमा जनवाद र केन्द्रीयताबीच सन्तुलित सम्बन्ध नभएर एउटाको विरुद्ध अर्कोको आधिक्यता हुनु त्यसको गलत प्रयोग हो । जनवादी केन्द्रीयतामा मुख्यरुपमा दुईवटा कुरा छन्– केन्द्रीयता जनवादको आधारमा रहन्छभने जनवाद केन्द्रीकृत नेतृत्वअन्तर्गत रहन्छ । अर्थात् पार्टीका सबै कार्यकारीणी निकायहरु पार्टी सदस्यहरुद्वारा चुनिएका हुन्छन् ।

पार्टीका कार्यक्रम, नीति तथा मुख्य प्रस्तावहरु तिनका प्रतिनिधिहरुद्वारा पारित गरिएका हुन्छन् र तिनीहरुले नै नेतृत्वकारी निकायलाई पार्टी कामको सञ्चालन गर्ने अधिकार दिएका हुन्छन् । अल्पमत बहुमतको, तल्ला कमिटि माथिल्ला कमिटिको, व्यक्ति संगठनको र सबै पार्टी संगठनहरु केन्द्रीय कमिटिको अधिनस्थ रहने सिद्धान्तका आधारमा व्यवस्थित रुपबाट पार्टी कार्यको सम्पादन गरिन्छ । त्यसको अर्थ पार्टी जनवादी ढंगबाट संगठित रहन्छभन्ने हो । कम्युनिष्ट पार्टीहरुमा अन्तरपार्टी जनवादलाई पनि महत्वपूर्णरुपमा लिने गरिन्त्छ । त्यो भनेको पार्टी सदस्यहरुले कुनै पनि विषयमा छलफलगर्ने स्वतन्त्रता पाएका हुन्छन् र आफ्नो धारणा, मत र सुझाव प्रस्तुत गर्ने तिनीहरुको अधिकार रहन्छ भन्ने हो । पार्टीद्वारा आयोजना गरिने सभा सम्मेलनहरुमा र पार्टी समितिका बैठकहरुमा पार्टीका नीति र निर्णयहरुबारे छलफल गर्ने र खुल्लारुपमा आफ्नो बिचार प्रस्तुत गर्ने तिनीहरुको अधिकारभित्रको कुरा हो । जसका केही सीमाहरु पनि हुन्छन् । बिचार प्रकट गर्ने स्वतन्त्रता छभन्दैमा पार्टीद्वारा निर्धारित कार्यक्रम र त्यसका सामान्य कार्यदिशाका विपरीत बिचारहरु प्रचार गर्न पाइँदैन । आलोचना गर्ने स्वतन्त्रता अन्तरपार्टी जनवादको एउटा महत्वपूर्ण पक्ष हो । तर त्यसको प्रयोग ठीक ढंगबाट र ठीक दिशामा र विषयगत हुनु एकदमै जरुरी रहन्छ । कम्युनिष्ट पार्टीमा आलोचना–आत्मालोचनाको सिद्धान्त जनवादी–केन्द्रीयताको एउटा प्रमुख तत्व मानिन्छ । सत्यमा टिक्नु र जनतालाई सत्य कुरा बताउनु र आफ्ना गल्तीप्रति आत्मालोचक भएर त्यसलाई सच्याउनु सर्वहारावर्गको अगुवाकोरुपमा पार्टीले पूरा गर्नुपर्ने महत्वपूर्ण दायित्व पनि हो ।

कम्युनिष्ट पार्टीहरुमा कडा अनुशासनको आवश्यकता रहन्छ । पार्टीमा विभिन्न किसिमका बिचलनहरु पनि देखिन सक्छन् । जसको सही ढंगले समाधान गर्न–गराउन पनि झोला र झण्डाको विशेष महत्व रहन्छ । यसरी दलीय व्यवस्थामा झोला र झण्डा लोकतान्त्रिक अभ्यासका सांकेतिक आधार हुन् । यिनले राजनीतिक सहभागिता र संगठनलाई बल दिन्छन् । तर केवल झोला बोकेर वा झण्डा हल्लाएरमात्र राम्रो राजनीति सम्भव हुँदैन । वास्तविक महत्व तब हुन्छ जब राजनीतिक कार्यकर्ता जनताको समस्या बुझ्ने, नैतिक आचरण अपनाउने र राष्ट्रहितमा काम गर्ने संस्कारसँग जोडिन्छन् । हाल सत्तामा रहेकाहरुले झोला र झण्डाको जसरी विरोध गरिरहेका छन्, त्यो उनीहरुमा रहेको राजनीतिक सुझबुझको कमी हो । त्यसैले नेपालको सत्ता र शक्तिमा पुगेकाहरुले मार्कोश, मुसोलिनी र हिटलरलाई आफ्नो आदर्श पात्र बनाउने प्रयास गर्नुको कुनै अर्थ छैन । उनीहरुले पनि राजनीति गर्ने हो भने झोला र झण्डाको सम्मान गरुन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु