ट्रम्पको चीन भ्रमण र विश्वमा पर्ने असर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गतसाता बुधबारदेखि शुक्रबारसम्म गर्नुभएको चीनको भ्रमणले विश्वमा पार्ने असरका बारेमा विभिन्न कोणबाट मूल्यांकनहरु हुनथालेका छन् । जसको असर नेपालदेखि रुस र इरानसम्म पर्ने स्पष्ट संकेतहरु देखिएका छन् । ट्रम्पको चीन भ्रमणको अन्तिम दिन गत शुक्रबार दुवै पक्षले भ्रमणका क्रममा हालसम्म भएका छलफलबारे बिरोधाभाषपूर्ण अभिब्यक्ति सार्वजनिक गरेका कारणले ट्रम्पको चीन भ्रमण रहस्यपूर्ण रहेको संकेत गरेको छ । ट्रम्पसँग गत बिहीबार चिनियाँ राष्ट्रपति सी जिन पिङले गरेको वार्तापछि चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले पनि ताइवान मुद्धाले दुई देशलाई द्वन्दमा तान्नसक्ने आशंकायुक्त समाचार बाहिर ल्याएका थिए । झण्डै एक दशकपछि चीनको औपचारिक भ्रमणमा पुग्नुभएका अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच भएको वार्तालाई निकै महत्वपूर्ण मानिएको छ । वार्ताको शुरुवातमै चिनियाँ राष्ट्रपति सीले ताइवान मामिला उठाएर अमेरिकालाई नरम तर पेचिलो चेतावनी दिनुभएको पाइएको छ । अमेरिकी ठूला कम्पनीका टिम कुक, एलन मस्क, जेन्सेन हुआङसहितका १७ जनाको ठूलो व्यापारिक टोली लिएर ट्रम्प चीन भ्रमणमा पुग्नुभएको थियो । ट्रम्पले व्यापार, प्रविधि र इरान युद्धका विषयमा चिनियाँ समकक्षीसँग गम्भीर छलफल गर्नुभएको थियो । गत बिहीबार मध्यबेइजिङको ग्रेट हल अफ द पिपुलमा स्वागत समारोहपछि दुई नेताबीच झण्डै साढे दुईघण्टा कुराकानी हुनु कम महत्वको विषय होइन । चिनियाँ सरकारी समाचार संस्थाहरुले त्यसक्रममा सीले ट्रम्पलाई ताइवानको मुद्धा चीन र अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील र महत्वपूर्ण विषय भएको बताउनुभएको जनाएका छन् । त्यसक्रममा ताइवानलाई लिएर गलत कदम चालिएमा दुई देशबीच ठूलो द्वन्द हुनसक्ने र यसले समग्र सम्बन्धलाई नै प्रभावित गर्नेसम्मका कुराहरु पनि उठेका थिए ।
चीनले पछिल्लो समय अमेरिकाले ताइवानलाई सैन्य हतियार दिनलागेको विषय उठान गरेर असन्तुष्टि पनि जनाएको थियो । चीनले ताइवानलाई आफ्नै देशको अभिन्न भाग मान्छ । जसले गर्दा अमेरिकाले पनि ताइवान चीनकै अंग भएको मानोसभन्ने चीनको चाहना रहनु कुनै आश्चर्यको बिषय होइन । त्यस्तो कडा चेतावनीका बाबजुद पनि ट्रम्पले सीलाई महान नेताको संज्ञादिँदै वार्ता निकै भव्य र राम्रो भएको प्रतिक्रिया दिनु अर्को रहस्यको विषय छ । अमेरिकी पक्षलेभने भ्रमणका क्रममा ताइवानको विषयमा आधिकारिकरुपमा केही बोलेको देएखएको छैन । तर ताइवानलेभने चीन र अमेरिकाबीच भएको वार्ताप्रति गंभिर चासो राखेको देखिएको छ । बेइजिङमा चीन र अमेरिकाका बीचमा उच्चस्तरिय वार्ता हुँदैगर्दा ताइवानका अधिकारीहरुले चीनले जलडमरु क्षेत्रमा गरिरहेको सैन्य दबाब रोक्नुपर्ने आवाज उठाएको देखिएको थियो । ट्रम्पको चीन भ्रमणका सन्दर्भमा व्यापारिक प्रगति देखिए पनि भू–राजनीतिक तनाव र रणनीतिक प्रतिस्पर्धाले विश्वको ध्यान आकर्षित गरेको पाइएको छ । चिनियाँ र अन्तराष्ट्रिय समाचार संस्थाका समाचार बिवरणहरुअनुसार ग्रेट हल अफ द पिपुलमा औपचारिक स्वागतपछि नेताद्वयले द्विपक्षीय वार्ता गर्नुभएको थियो । त्यसक्रममा सी जिनपिङले हामी साझेदार हौं, प्रतिद्वन्दी होइनौं भन्दै साझा हितका विषयमा बढी जोड दिनुभएको थियो ।
त्यसैगरी ट्रम्पले पनि सीलाई महान नेता भनेर प्रशंसा गर्दै हाम्रो सम्बन्ध पहिलेभन्दा राम्रो हुनेछ बताउनु भएको थियो । जसमा व्यापार सन्तुलन, दुर्लभ खनिज, प्रविधि र इरान युद्धमा चीनको भूमिकालगायतका विषय समावेश थिए । ट्रम्पले सीलाई इरानमाथि दबाब दिन आग्रह गर्नुभएको थियो । चीन इरानको तेलको सबैभन्दा ठूलो खरिदकर्ता भएकोले अमेरिकाले इरानलाई शान्ति सम्झौतातर्फ लैजान चीनमार्फत दबाब दिनखोजेको देखिन्थ्यो । चिनियाँ पक्षले भने युद्धको तत्काल अन्त्य र हर्मुज खोल्ने पक्षमा जोड दिएको देखिएको छ । चीनले इरानबाट सस्तोमा तेल किन्दैआएको छ । युद्धका कारण तेलको आपूर्तिमा समस्याहुँदा विश्वभरका देशहरुको खर्चगर्ने क्षमता घटेको र चिनियाँ सामानको निर्यातमासमेत असर गरेको ठानिएको छ । त्यसैले चीन पनि इरान अमेरिका युद्ध छिटो सकियोस्भन्ने पक्षमा रहनु स्वाभाविक छ । त्यसैगरी एशियामा ग्याँस र तेल ढुवानीको प्रमुख मार्ग होर्मुज जलमार्गको सुरक्षाको विषयमा पनि सबैको चासो केन्द्रित रहेको छ । बेइजिङमा चीनले दिएको राजकीय भोजमा बोल्दै ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्धले विश्वलाईनै ठूलो प्रभाव पार्ने बताउनुभएको थियो ।
ट्रम्पले गत शुक्रबार बिहान भ्रमण सकेर स्वदेश फर्कनु ठीकअघि दोश्रो पटक चिनियाँ राष्ट्रपति सीसँग बिदाई भेट गर्नुभएको थियो । सो भेटपछि झोङनानहाइस्थित एक कक्षमा दुवै नेताले सञ्चारकर्मीहरुसँग कुराकानीसमेत गर्नुभएको थियो । त्यसक्रममा ट्रम्पले आपूmहरुले अरु कसैले समाधान गर्न नसक्ने धेरै फरक समस्या आपूmहरुले समाधान गरेको बताउनुभएको थियो । तर उहाँले आफ्नो भनाईको थप ब्याख्याभने गर्नुभएन । इरानबारे बोल्दै उहाँले हामी उनीहरुसँग आणविक हतियार नहोस र हर्मुज जलमार्ग खुला रहोस्भन्ने चाहन्छौं भन्नुभएको थियो । उहाँले आगामी २४ सेप्टेम्बरमा सीले अमेरिका भ्रमणगर्दा पुनः भेट हुने जानकारीसमेत दिनुभएको थियो । उहाँले आपूm चीनबाट धेरै प्रभावित भएको बताउन पनि चुक्नु भएन । राष्ट्रपतिद्वय ट्रम्प र सीबीचको शिखर वार्तालाई विश्वका अन्य देशहरुले चासोपूर्वक हेरेको पाइएको छ । खासगरी यतिबेला तेलको आपूर्तिमा देखिएको समस्यामा विश्वको ध्यान केन्द्रित रहेको छ । युरोपेली राष्ट्रहरु व्यापारिक ट्यारिफ र चीनको बढ्दो प्रभावबाट सशंकित देखिन्छन् । त्यसमा रुसले आफ्नो प्रभाव घट्ने आशंका गरेको देखिएको छभने ताइवान सबैभन्दा बढी चिन्तित देखिएको अन्तराष्ट्रिय सञ्चार संस्थाहरुको मूल्यांकन रहेको छ । अमेरिका र चीनका बीचमा प्रविधिको क्षेत्रमा निकै ठूलो प्रतिश्पर्धा चलिरहेको अवस्थामा ट्रम्पको चीन भ्रमण हुनु अर्को महत्वपूर्ण विषय भएको छ । अमेरिकाले आफ्ना सवारीसाधन र हवाई उद्योगका लागि आवश्यक पर्ने दुर्लभ धातु चीनबाट बिना कुनै अवरोध प्राप्तगर्न चाहेको देखिएको छ । त्यसैगरी चीनलेभने अमेरिकाले चिप्स र प्रविधि उपकरणमा लगाएको कडा प्रतिबन्ध खुकुलो पारोस् भन्ने चाहेको देखिएको छ । गत अक्टोबरमा दुई देशबीच भएको व्यापार सम्झौताको म्याद आउँदो नोभेम्बरमा सकिँदै छ । सो सम्झौतामा भएको ढिलाइले दुई देशबीच तनाव बढाएको देखिएको थियो । त्यसैले होला यसपटक चीनले अमेरिकाबाट बोइङ जहाज, भटमास र मासुलगायतका सामान धेरै किन्ने संकेत गरेको छ । त्यसैगरी भविष्यमा व्यापार बढाउन नयाँ लगानी र व्यापार बोर्ड गठनगर्ने विषयमा पनि छलफलको थालनी गराएको छ । राष्ट्रपति ट्रम्पको टोलीमा प्रविधि र व्यापार क्षेत्रका दिग्गज हस्तिहरु समावेश रहनुले भ्रमणको शुरुमै उक्त भ्रमण ब्यापार र बाणिज्यमा बढी केन्द्रित हुने आंकन गरिएको थियो । ट्रम्पको सो चीन भ्रमण गत मार्च महिनामै हुने तयभएको बताइन्थ्यो । तर इरानसँगको अमेरिकी युद्धका कारण भ्रमण ढिलो हुनपुगेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सीसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच उत्कृष्ट व्यापार सम्झौता भएको दाबी गर्नुभएको थियो । विश्वका दुई प्रमुख आर्थिक शक्तिबीच व्यापार, प्रविधि, उड्डयन र अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा केन्द्रित शिखर वार्ता भएपछि ट्रम्पले भ्रमणलाई धेरै सफल भएको प्रतिक्रिया दिनुभएको पाइएको छ । ट्रम्पले दुवै देशका लागि लाभदायक हुने खालका महत्वपूर्ण व्यापारिक समझदारी बनेकोसमेत बताउनुभएको छ ।
फरबिडन सिटी नजिकै रहेको चिनियाँ केन्द्रीय नेतृत्व परिसर झोङनानहाइको बगैँचामा सीसँगसँगै हिँड्दै उहाँले दुवै मुलुकका लागि निकै राम्रो हुने व्यापार सम्झौताहरु सम्पन्न भएको उल्लेख गर्नुभएको बिबिसीलगायतका अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । ट्रम्पले कृषि, उड्डयन, ऊर्जा र आर्टिफिसियल इन्टेलिजेन्सलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित बेइजिङ भ्रमण गर्नुभएको देखिएको छ । त्यसैगरी मध्यपूर्वको तनावपूर्ण अवस्थादेखि विश्वव्यापी रणनीतिक मतभेदसम्मका विषयमा सम्वाद कायम राख्ने प्रयास पनि भ्रमणको प्रमुख एजेन्डामा परेको देखिएको छ । ट्रम्पले चीनले अमेरिकाबाट तेल खरिद गर्ने इच्छा देखाएको बताएपछि तेलको मूल्य एक प्रतिशतभन्दा बढीले बढेको छ । ब्रेन्ट त्रूmड तेलको फ्युचर्स मूल्य १.१७ डलर अर्थात् १.११ प्रतिशतले बढेर प्रतिब्यारेल १०६.८९ डलर पुगेको पाइएको छ । त्यस्तै अमेरिकी वेष्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) फ्युचर्स १.१० डलर अर्थात् १.०९ प्रतिशतले बढेर प्रति ब्यारेल १०२.२७ डलरमा कारोबार भएको छ । अब इरान, रुस र भारतदेखि नेपालसम्म उक्त वार्ताको कस्तो असर पर्छभन्ने कुरा विस्तारै खुल्दै जाने छ । छोटकरीमा भन्नुपर्दा चीन र अमेरिकाजस्ता महाशक्तिको प्रतिश्पर्धामा सामान्यीकरण हुनु विश्वकै लागि सुखद सन्देश भएको छ ।

