विचार जुन जीवन बदल्ने होस्

२०८३ जेष्ठ १२ गते, मंगलवार

विष्णु पन्त

कार्ल माक्र्सले भनेको एउटा महावाणी छ ः आजसम्मका दार्शनिकहरुले संसारको ब्याख्या मात्र गरे, तर मुख्य कुरा यसलाई बदल्नु हो । आजका कम्युनिस्टहरु पनि केबल ब्याख्यामा फसे र बदल्ने कुरा दिमागबाटै हट्यो। ब्याख्या गर्ने र बिद्यमान प्रणालीमै अभ्यस्त हुने रोगले धेरै कम्युनिस्ट पार्टीलाई अर्थहीन र पहिचानशुन्य बनाईदियो। एउटा नारा छ, विचार जीवन बदल्ने होस, नकि जीवन सढाउने ! विचार अन्याय र उत्पीडनको अन्त्य गर्ने होस नकि झन बढाउने ।

 विद्यमान विचार र दृष्टिकोण विरुद्धका नयाँ पुस्ताहरुको विद्रोह

वास्तवमा आजको नयाँ पुस्ताको दिमागमा के छ भन्ने तथ्यलाई विश्लेषण गर्न नसक्दा विद्यमान दल, शक्ति र दृष्टिकोण विरुद्ध विश्वब्यापी हमलाहरु, विद्रोहहरु र विस्थापनहरु शुरु भएका छन् । आजको युवा पुस्ता एउटै कुराबाट प्रताडित, घायल र आकुलव्याकुल छ, त्यो हो अवसरको खोजी । हाम्रा युवाहरु किन विदेश गएका छन् ? कारण त एउटै छ – अवसरको खोजी ।

 वर्तमान विश्वप्रणालीले ठुला–ठुला आर्थिक असमानताहरुको श्रृजना गरेको छ । संसारलाई त्यसैले जितेको छ, जसले पैसा कमाएको छ । जसले पैसा कमाएको छ, त्यो नै बुद्धिमान, चलाख र अब्बल सावित भएको छ । सत्य त यो हो कि जुन व्यक्ति लद्दु दिमागको छ, उसले नै पैसा कमाएको छ । हाम्रो अध्ययन र शंश्लेषणको विषय यो हो कि किन सरकार र राज्यहरुले अवसर, रोजगारी र आम्दानी श्रृजना गर्न सकेनन ? किन राज्य र सरकारहरुले भएका अवसरहरुलाई धेरैभन्दा धेरै जनतालाई वितरण गर्न सकेनन ? हाम्रो प्रणालीमा अवसरहरु सीमित छन् ।

सीमित अवसरको वितरणमा सीमित व्यक्तिको मात्र पहुँच पुग्ने हाम्रो विद्यमान प्रणाली छ । उदाहरणका लागि एक जना व्यक्ति एउटा मात्र लोकसेवा परीक्षा पास भएपछि ६० वर्षसम्म उसले कुनै प्रतिस्पर्धा र परीक्षा बिना स्थायी सरकार चलाउँछ वा राज्यको ढुकुटी नचाउँछ । आजको बद्लिँदो विश्वमा ६० वर्ष के ठट्टाको विषय हो ? के ३०,४० वर्ष बिना प्रतिस्पर्धा एउटै व्यक्तिलाई राज्यको चावी बुझाउनु न्यायिक छ ? मेरो प्रश्न हाम्रो सीमित अवसरहरुको वितरण प्रणालीमा भएको असमानता र केन्द्रीकरण वा सिण्डीकेटको हो ।

अवसर, रोजगारी र आम्दानीको निर्माणमा राज्यको ध्यान वा लगानी शुन्य– आजको मुख्य समस्या यही होइन र ? रोजगारी, आम्दानी र अवसर ? हामी त युवाहरु विदेश पठाएर आनन्द मानिरहेका छौँ । हामी अविभावकहरु पनि छोराछोरी विदेश गएर पिआर लिएकोमा गर्व गरिरहेका छौँ । सरकार र हामी अविभावक उस्तै–उस्तै बनेका छौँ । एकचोटि सरकार, दल र नागरिक मिलेर आम्दानी मुलक उत्पादनमा राज्यको लगानी गरेर हेरौंन । युवाहरुलाई यहीँ रोजगारीको श्रृजना गर्ने अभियान चलाउँन । हाम्रा सीमित उद्योगहरुमा काम गर्ने मजदुर अनि खेतमा काम गर्ने किसानहरुले श्रम गरेर पेटभर खान पाएका छन कि छैनन, के राज्यलाई थाहा छ ? हाम्रो बजेटले कहिल्यै यो विषयमा ध्यान दिन सकेको छ त ? हाम्रो शिक्षालाई रोजगारमुलक बनाऔंन । पढेपछि रोजगारीको ज्ञारेन्टीलाई राज्यको प्राथमिकतामा राखौँ । काम नगरी अकुत पैसा कमाउने वर्तमान प्रणालीलाई बन्द वा दण्डनीय गराऔँ ! भ्रष्टाचारलाई जरैबाट उँखेलौं । सम्पत्ति शुद्धीकरणलाई विशेष ध्यान दिएर पारदर्शी बनाउन सकौं । राज्यले अनुदान र लगानी कहाँ गर्ने ? उत्पादन, रोजगारी र बिक्रीवितरणमा राज्यको लगानी अपरिहार्य छ । किसानले उत्पादन गरेको बस्तु किन्ने ज्ञारेन्टी राज्यले गर्नुप¥यो ।

असमानता, अन्याय, उत्पीडन, दमन

सम्मानपूर्वक बाँच्न पाउनु प्रत्येक नागरिकको उत्तिकै अधिकार हो । कुनैपनि राज्य वा सरकार जब उनै उत्पीडितहरु माथि डण्डा वर्षाउँछ भने त्यो दण्डनीय विषय हो । सरकारको काम अविभावकत्व ग्रहण गर्नु हो । प्रत्येक नागरिकको अधिकारको संरक्षण गर्नु उसको दायित्व हो । उत्पीडितहरुलाई न्याय दिनु नै सरकारको मुख्य उद्देश्य बन्नुपर्छ ।

विद्यमान प्रणालीका विकृतिजन्य प्रवृत्ति

 जन्मकै आधारमा धनी वा गरिव बन्ने वर्तमान पद्धतिले पृथ्वीका ९९ प्रतिशत मान्छेहरुलाई प्रताडित बनाएको छ । कति मान्छेले जन्मेपछि घर बनाउनको लागि एक टुक्रा जमिन पनि नपाउने अवस्था छ । गाँस, वाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता मान्छेका नैसर्गिक अधिकारलाई विद्यमान विश्व अर्थप्रणालीबाट हल गर्न संभव देखिदैन । केवल आँशिक र देखाबटी समाधानले अबको पुस्तालाई शान्त पार्न सक्दैन । मुख्य समस्या अर्थ प्रणालीमै छ । धनी र गरिवबीचको अतुलनीय अन्तर नै आजको मुख्य समस्या हो । पृथ्वीका लगभग सबै अवसरहरु त्यही १ प्रतिशत धनाड्यहरुको हातमा केन्द्रीकृत हुने वर्तमान प्रणाली नै आजको सबैभन्दा ठुलो विकृति हो । मान्छेका नैसर्गिक अधिकारहरु गाँस, वाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी सबै केबल धनी वर्गको हातमा पुगेको छ । हाम्रो देशमा पनि समस्याको जड वितरण प्रणाली मै छ । असमानताहरुले नै मान्छेहरुमा नैराश्यता बढाउँछ । रोजगारीहरुको अवसरलाई व्यवस्थित गरेका देशहरुमा विद्रोह कम भएका देखिन्छन ।

प्रकृति, पृथ्वी र ब्रम्हाण्ड सबैका साझा

विश्वभर फैलिएको कब्जाको रणनीतिलाई बन्द गर्नु आजको मुख्य चुनौती हो । शक्तिको आडमा कब्जा गर्ने आजको विश्वव्यवस्था बदल्न जरुरी छ । साना देशका सार्वभौमिकताहरुमाथि किन सधै हमलाहरु हुन्छन ?

युद्धको वातावरण

 आजको विश्वमा युद्ध अपरिहार्य जस्तै बनेको छ किनकि शक्तिशाली देशहरु शैन्य होडबाजीमा धकेलिएका छन् । वास्तवमा तेस्रो विश्वयुद्ध धेरै नै नजिकिए जस्तो लाग्छ । आजको विश्वव्यवस्थामा भएका विकृतिहरुको अन्त्य अर्को भीषण युद्धपछि मात्र सम्भव हुनसक्छ । प्रकृतिमा पनि नयाँ सन्तुलन कायम गर्न ठुला–ठुला उथलपुथल, महाविनाश, भूकम्प, ज्वालामुखी बिस्फोट, आँधी, तुफानहरु आउँदारहेछन् ।

विश्वव्यापीकरण र विश्व व्यवस्था

आजको युग विश्वव्यापीकरणको युग हो । आजको प्रतिस्पर्धा पनि विश्वव्यापी नै हुन्छ । आजका विद्यमान विकृति र समस्याहरुको हल पनि विश्वव्यापी प्रयासबाट गर्नु बढी सान्दर्भिक हुन्छ । आजको परिवेशले नयाँ वैश्विक व्यवस्थाको माग गरेको छ । विस्तारै नयाँ विश्व सरकार, अन्तर्राष्ट्रिय कानुन, न्याय र अधिकारको ज्ञारेन्टीको आवश्यकता खड्किएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु