‘कम्युनिस्ट आन्दोलनलाई नामेट पार्ने साम्राज्यवादको  चरित्र नै  हो’

२०८३ जेष्ठ १७ गते, आईतवार

नारायण शर्मा

अहिले क्रान्तिकारी कम्युनिष्ट वृत्तमा पनि एउटा भाष्य निकै स्थापित गर्ने प्रयास भैरहेको छ । त्यो हो : `साम्राज्यवादले कम्युनिष्ट क्रान्तिकारीहरुलाई टुटाउने-फुटाउने गरेर सिध्याउने गरेको छ´ । यसै कुरालाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले हालै एउटा कार्यक्रममा “साम्राज्यवाद कम्युनिस्ट आन्दोलनलाई नामेट पार्न लागिपरेको छ” भने वाक्यश: दोहोराउनुभएको कुरा जनखबर अनलाइनले प्रकाशित गरेको छ । साम्राज्यवाद त्यसरी लागिपर्नु उसको धर्म/चरित्र हो तर फुटाउन ऊ जति लागिपरे वा मरिगए  पनि साम्राज्यवादद्वारा शोषित-पीडित शक्तिहरु खासगरी कम्युनिस्ट क्रान्तिकारीहरु, संसदवादी कम्युनिष्टहरु, देसभक्तहरु, राष्ट्रवादीहरु, न्याय-समानतावादीहरु, वामपन्थीहरु, क्रान्तिकारीहरु, समाजवादीहरु आदि सबै साम्राज्यवादविरोधी शक्तिहरु  एउटै कान्तिकारी पार्टी वा मोर्चामा एकताबद्ध भएर साम्राज्यवादका विरुद्ध लड्ने हाम्रो कर्तब्य हो । यसो गर्ने हो भने त साम्राज्यवाद हिस्स र ट्वाल्ल पर्थ्यो । तर दुखद विडम्बना के छ भने उसको त्यो फुटाउने र सिध्याउने रणनीतिलाई लागू गर्न उल्टै सबै देसभक्त र वामपन्थी भनिएका शक्तिहरु पनि फुटेर साम्राज्यवादको चाकरी गर्नमा पो प्रतिस्पर्धा गरिरहेका छन् !

संसदवादी कम्युनिस्ट लगायतका शक्तिहरु त खाओ-कमाओ-रमाओवादमा लागेकोले भागबन्डा नमिलेर झगडा-झाम्टो गर्ने र छुट्टिने-टुकृने गर्छन् । दक्षिणपन्थी कम्युनिस्टहरुका लागि यो कुरा भा।विकै भएपनी कम्युनिष्ट क्रान्तिकारी भनिने पार्टी र नेताहरुले समेत क्रान्ती गर्ने कष्टसाध्य काममा लगाउने आफ्नो श्रम र बुद्धि आपसमै टुट्न-फुट्न, लड्न-भिड्न र गालीगलौज गर्नमै लगाउने गर्नु हाम्रा लागि हदैसम्मको दुखद कुरा भएको छ । यसरी फुटेर र आपसमा लडेर संसदवादीहरुले प्रत्यक्ष रुपले र क्रान्तिकारी भनिनेहरुले परोक्ष रुपले साम्राज्यवादको सेवा गर्न पुगिरहेकाछन् । यो कुरा क्रान्तिकारीहरुका लागि विस्मातको विषय भएको छ भने साम्राज्यवादको लागि हर्ष र उन्मादको कुरा भएको छ । फलतः साम्राज्यवाद उन्मत्त भैरहेको छ र आफ्ना विरोधीहरुलाई टुटाउने-फुटाउने मात्र होइन हान्ने-मार्ने र लुट्ने-भुट्ने समेत गर्दछ, गरिरहेको छ । त्यसो हुनाले म त भन्छु- साम्राज्यवादलाई मात्र दोष दिएर नेपालका क्रान्तिकारी कम्युनिस्ट भनिने पार्टी र तिनका मुख्य नेताहरु कसैले पनि कम्युनिस्ट पार्टी र आन्दोलनको टुट-फुट र विघटन-विसर्जनको दोष र अपजसबाट मुक्ती पाउँदैनन्  !

कुनै वस्तु वा व्यक्तिको विकास वा विनासमा मुख्य कारक त्यो वस्तु वा व्यक्तिमा अन्तरनिहित हुन्छ भन्ने मालेमावादको दार्शनिक मान्यता छ । यस मान्यता अनुसार कम्युनिस्टहरु फुट्नु वा जुट्नुमा पनि कम्युनिस्ट पार्टी-नेताहरु वा तिनका विचार र व्यवहार अनि नीति र नियतजस्ता आन्तरिक कारणहरु नै प्रमुख कारक हुन्छन् भने साम्राज्यवादलगायतका विदेसी वा घरेलु प्रतिक्रियावादीहरुका पार्टी र आन्दोलनविरुद्धका गतिविधिहरु बाह्य कारणहरु हुन् जो सहायक कारक हुन्छन् तर प्रमुख हुँदैनन् । त्यसैले सिध्याउन चाहेर भन्दा बढी सिद्धिने खतरा पार्टी-नेताका विचार र आचारगत गल्ती-कमजोरीबाट हुन्छ । त्यो गल्ती-कमजोरी कम्युनिस्टहरुबाटै भएका छन् । तीमध्ये एक प्रमुख कारण कम्युनिस्टहरु साम्राज्यवादका कारणणले भन्दा आफ्नै कारणले फुट्नु नै हो । यो भन्दा फरक गरि सोंच्यो भने अर्थात् कम्युनिस्ट आन्दोलन फुट्नु, कमजोर हुनु वा सिद्धिनुमा साम्राज्यवाद रुपी बाह्य कारणलाई प्रधान बताइयो भने त्यो मालेमावादको द्वन्द्वात्मक भौतिकवादी मान्यतविरोधी कुरा हुन्छ । तसर्थ साम्राज्यवादका सरेक चाल, जाल र ढाललाई चिन्न, चिर्न र तोड्न कम्युनिस्ट क्रान्तिकारीहरुबीच वैचारिक, राजनीतिक, भावनात्मक, सांगठनिक, सांस्कृतिक र व्यावहारिक रुपमा समेत एकीकरण, ध्रुवीकरण, शुद्धिकरण र क्रान्तिकारीकरण गर्नको लागि क्रान्तिकारी कम्युनिस्ट नेताहरुले नै प्रभावकारी पहलगर्ने, त्यागगर्न तत्परहुने र क्रान्तिकारी गतिविधि अगाडि बढाई सफल पार्ने प्रमुख भूमिका खेल्नुपर्दछ । साथै त्यसलाई पूरा गर्न-गराउनको लागि पार्टी-नेताहरुलाई समर्थन-सहयोग गर्ने, सुझाव-दवाव र चेतावनी दिने अनि खबर्दारी र हस्तक्षेप गरि आवश्यक परे निषेध पनि गर्ने अन्य संगठित वा असंगठित नेता-कार्यकर्ता र जनताको पनि भूमिका हो र हुनैपर्छ । त्यसो गर्दा पनि एकताबद्ध आन्दोलनको उठान र विकास नगरिए-नभएमा अन्ततः नेताहरुमाथी हस्तक्षेप गर्न, निषेध गर्न र क्रान्तिकारी सारसहित्का वैकल्पिक विचार , बाटो, विधि, व्यहार र व्यक्ती (नेता) समेत तयार गर्न आँट पनि गर्नुपर्दछ र यसमा संगठित-असंगठित, नेता-कार्यकर्ता र समर्थक-शुभचिन्तकहरुले साथ, सहयोग, समर्थन र सत्भाव समेत प्रदान गर्नुपर्छ । अन्यथा साम्राज्यवादको कम्युनिस्ट नामेट पार्ने गुरुयोजना त हामी कम्युनिस्ट क्रान्तिकारी भनिएका नेताहरुले पो सफल पारिरहेका हुने छौं !  

स्मरणीय छ, मालेमावादी साहित्यको इतिहासमा हाम्रा गुरुहरु र अग्रज नेताहरुले भन्दै आउनुभएको छ कि आज मार्क्सवादलाई सबैभन्दा बढी खतरा नक्कली मार्क्सवादबाट, कम्युनिस्ट क्रान्तिकारीहरुलाई खतरा छद्मभेषी क्रान्तिकारीहरुबाट र लाल्झन्डाका विरुद्धमा लालझन्डा बोकेर क्रान्तिकारी देखिने ढोंगी र अवसरवादीहरुबाट नै लालझण्डा बोक्ने सच्चा क्रान्तिकारीहरुलाई बढी खतरा भैरहेको छ । त्यसैले स्पष्ट छ साम्राज्यवाद कम्युनिस्ट आन्दोलनलाई नामेट पार्न लागिपरेको भएपनी नामेट नहुन र नसिद्धिन मात्र होइन उल्टै साम्राज्यवादलाई परास्त गर्न सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुले सक्दै आएका छन् र अहिलेका नेपाललगायतका विश्वका सच्चा क्रान्तिकारी कम्युनिस्टहरुले सक्नैपर्दछ ।     

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु