रास्वपाका नेताहरुको दिल्ली दौड भित्रका खतरनाक खेलहरु
नेपालको राजनीति यतिबेला आन्तरिक र बाह्य दुबैतिर सम्वेदनशील अवस्थामा रहेको देखिएको छ । जसकाबारेमा सत्तारुढ रास्वपाका नेताहरुको दिल्ली दौडभित्रका खतरनाक खेलहरुलाई केलाउने होभने धेरै कुराहरु स्पष्ट हुनपुग्दछन् । जसलाई बुझ्नका लागि भारत भ्रमणमा रहेका रास्वपाका सभापति रवि लामिछानेले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरुसँग भेटेर आफ्नो औपचारिक भ्रमण सकिएपछि गत बिहीबार साँझ भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरलाई भेटेर आफ्नो भ्रमणबारे दिएको जानकारी, रविको भारत भ्रमण सुरु हुने अघिल्लो दिन गत १७ गते नेपालका कार्यकारी प्रमुख प्रधानमन्त्री बालेन्द्र साहले दिएका भारतपरस्थ अभिव्यक्ति र त्यसैदिन भारतीय सुरक्षा बलले नेपालको सुस्तामा गरेको हस्तक्षेप तथा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत जाने हतारोलाई केलाउनु पर्नेहुन्छ । भारतका लागि अमेरिकी राजदूत गोर अमेरिकाकातर्फबाट दक्षिण एशियाका लागि विशेष दूतसमेत रहनुभएको छ । गत केही हप्ताअघि अघि नेपाल भ्रमणमा आएका बेलामा पनि उहाँले रवि लामिछानेसँग नै विशेष छलफल गर्नुभएको थियो भने सगरमाथा आधार शिविरमा ड्रोन परीक्षण गर्नुभएको थियो । जसले चीनतर्फको गुप्तचरीको संकेत गरेको थियो । भारत भ्रमणमा रहेका कुनैपनि नेपाली नेताले भारतका लागि अमेरिकी राजदूतलाई भेट गरेको यो पहिलो घटना भएको छ । राजनीतिक तथा कूटनीतिक मर्यादाका दृष्टिकोणले दुर्लभ मानिएको उक्त भेटघाटलाई नेपाली राजनीति र कूटनीतिक वृत्तमा निकै चासो र महत्वका साथ हेरिएको पाइन्छ । नेपाल र भारतकाबीचमा भएको वार्ताकाबारेमा अमेरिकी दूतलाई औपचारिकरुप मै जानकारी गराउनुले रास्वपामार्फत नेपालमा अमेरिकी गतिविधि कसरी बढिरहेको छभन्ने स्पष्ट गरेको छ । हुन त प्रधानमन्त्री बालेन्द्रले गत १७ गते संसदमा ब्यक्त गरेका भारतपरस्त भनाइहरुमा पनि खास अर्थ रहेको छ ।
जसले सिधै सुस्ता र लिपुलेक तथा लिम्पियाधुराको बिवादमा भारतको हात माथिपार्ने कुराहरु रहेका छन् । त्यसको संयोजन कसरी गरिन्छ ? त्योभने अबको केही दिनमा स्पष्ट हुनेबाला छ । त्यसैगरी सभापति लामिछाने स्वदेश फर्किएर काठमाडौंमा छलफल गरेपछिमात्र दिल्ली भ्रमणमा जाने तयारीमा रहनुभएका नेपालका परराष्ट्रमन्त्री खनाल गत शुक्रबार नै दिल्ली पुग्नुपनि आफैमा बुझ्न सकिने विषय भएको छ । त्यहाँ के कस्तो विषयमा हस्ताक्षर हुन्छ ? त्यो विस्तारै खुल्दै जाने छ । नेपालको परराष्ट्र मन्त्रालयले गत बिहीबारमात्र मन्त्री खनालको भ्रमणतालिका सार्वजनिक गरेको थियो । भ्रमणका क्रममा हिजो शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता भएको छ । हिजै मन्त्री खनालले भारत सरकारका केही केन्द्रीय मन्त्रीहरुसँग पनि भेटवार्ता गर्नुभएको भनिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उहाँको भेटवार्ता हुने भनिएपनि हिजो यो आलेख तयार गर्दासम्म बिवरण खुलेको थिएन । उहाँ आज आइतबार साँझ स्वदेश फर्किएपछि कतिपय कुराहरु खुल्नसक्ने अपेक्षा गरिएको छ । स्मरणीय के छभने परराष्ट्रमन्त्री खनालको भ्रमण दलमा परराष्ट्रको दक्षिण एशिया महाशाखा प्रमुख, कार्यवाहक नेपाली राजदूतसहितका नेपाली अधिकारीहरु समावेश गरिएकाले भ्रमण क्षेत्रीय राजनीतिमा समेत केन्द्रित रहेको देखिन्छ । नेपालका परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच गत चैत २७ मा पनि हिन्द महासागरीय सम्मेलनमा सहभागी हुनेक्रममा मौरिससमा भेटवार्ता भएको थियो । दुवै पक्षले व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत क्षेत्रहरुमा सहकार्य बढाउने उद्देश्यसहित पारस्परिक हितका विषयहरुमा छलफल भएको भनेपनि त्यसमा सुरक्षा सहकार्यका कुराहरु पनि रहेको खुलाशा भएको छ ।
त्यसो त यसअघि गत मे २६ मा दिल्लीमा भएको क्वाडको बैठकमै इन्डो–प्यासिफिक क्षेत्रको रणनीतिबारे छलफल भएको थियो । जसमा चीनलाई घेर्नको लागि यसअघि अमेरिकी नेतृत्वमा बनाइएको क्वाड समूहका जापान, अष्ट्रेलिया, भारत र अमेरिकाका विदेशमन्त्रीहरुको उपस्थिति रहेको थियो । सो समूहले इन्डो–प्यासिफिक क्षेत्रले चीनको आक्रामकता नस्वीका र्ने दोहो¥याउँदै आएको छ । क्वाड एक अनौपचारिक रणनीतिक सुरक्षा समूह हो । यसको मुख्य उद्देश्य इन्डो–प्यासिफिक क्षेत्रलाई मुक्त, खुला र समृद्ध राख्नु तथा हिन्द–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलित गर्नु रहेको छ । नेपालका खासगरी रास्वपाका नेताहरुको पछिल्लो चलखेल र दिल्लीको दौडधुप त्यसैको निरन्तरता हो । रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा नेपालमा समृद्धिको नयाँ ढोका खुल्ने बताएर पनि कतिपय संकेतहरु गर्नुभएको थियो । नयाँदिल्लीमा गत बिहीबार आयोजित नेपाली समुदायसँगको अन्तत्र्रिmया कार्यक्रममा सम्बोधन गर्दै उहाँले आपूm समृद्धिको ढोका खोल्ने उद्देश्यसहित भारत आएको बताउनुभएको थियो । उहाँले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताप्रति सन्तुष्टि र उत्साहसमेत व्यक्त गर्नुभएको थियो । गतसाता सोमबार दिल्ली पुग्नुभएका लामिछानेले सोमबार नै भारतीय गृहमन्त्री अमित साह, विदेशमन्त्री डा. एस जयशंकर र भाजपा अध्यक्ष नितिन नवीनसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो । त्यसैगरी मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग झण्डै एकघण्टा छलफल भएको थियो । अब नेपाल समृद्धिको यात्रामा भारतसँगै अघिबढ्ने भनिएको छ । जसको खाकाभने सार्वजनिक गरिएको छैन । दिल्लीले नेपाललाई हेर्ने दृष्टिकोण भावनात्मकमात्र नभई सामरिकसमेत रहेको मानिन्छ । नेपाल सामरिक महत्वको भू–भाग भएतापनि उत्तरतर्फ फैलिएको हिमालय र त्यसपारिको चीनसँग जोडिएको सीमारेखाले नेपाललाई दक्षिण एशियाको भू–राजनीतिक खेलमा संवेदनशील बनाएको अवस्था छ । सोही कारणले नेपालप्रति भारत र अमेरिकाको चासो बढ्दैगएको स्पष्ट छ । नेपालका कार्यकारी प्रमुख प्रधानमन्त्री बालेन्द्रले संसदमा दिएका भारतको पल्लाभारी हुने अभिव्यक्तिका कारण नेपालका संसदका दुबै सदनका बैठकहरु चलिरहेका छैनन् । सडकमा दिनदिनै सरकार विरुद्ध नाराबाजीहरु भइरहेका छन् र विभिन्न पार्टीका वक्तव्य सार्वजनिक हुनेक्रम जारी छ ।
यस्तो अवस्थामा रास्वपा र वर्तमान सरकारले आफ्नो देशमा सहमतीय वातावरण बनेपछिमात्र भारतको भ्रमणको तय गर्नु पर्नेमा बिवादकै बीच भारतको भ्रमण गरेर नेपाली जनताप्रति अपमान गर्ने काम भएको छ । अझ प्रधानमन्त्री बालेन्द्रले पछिल्ला दिनमा उठेका विरोध र जनअसन्तुष्टि प्रति गर्नुभएको वेवास्ताले राम्रो संकेत गरेको छैन । नेपालका सत्तासिनहरुले राष्ट्रिय हितभन्दा दलगत लाभ, व्यक्तिगत सम्बन्ध वा क्षणिक राजनीतिक फाइदालाई प्राथमिकता दिने गरेको घटना नौलो होइन । प्रधानमन्त्रीको राष्ट्रहित विरुद्धको अभिव्यक्ति आउनु, सोही समयमा सत्तासिन पार्टीका सभापति भारत भ्रमणमा जानु र उहाँको पाइलासँग पाइला मिलाउँदै परराष्ट्रमन्त्री पनि दिल्ली पुग्नु कुनै सामान्य र सकारात्मक घटना भइरहेको छैन । सिक्किमको इतिहास यस सन्दर्भमा एउटा गम्भीर पाठ हुनसक्छ । कुनै समय स्वतन्त्र अस्तित्वमा रहेको सिक्किम क्रमशः बाह्य प्रभावको घेराभित्र पुग्यो । त्यसपछि आन्तरिक विभाजन, कमजोर राजनीतिक नेतृत्व र बाह्य शक्तिको रणनीतिक हस्तक्षेपले उसको सार्वभौम अस्तित्व नै समाप्त भयो । हाल नेपालमा पनि त्यस्तै घटनाहरु भइरहेका छन् । बाह्य हस्तक्षेपलाई कतिपयले सहर्ष स्वीकार गर्दा आन्तरिक फाटो बढेको छ । राजनीतिक व्यवस्था नै राष्ट्रिय एकतालाई सुदृढ गर्ने–गराउने नभएर फाटो बढाउनेमा केन्द्रित रहेको छ । हुँदाहुँदा देशका कार्यकारी प्रमुखनै विदेशीको पक्षबाट बोल्न थालेका छन् । जसले राष्ट्रिय एकतालाई खण्डित गराउँछ । राष्ट्रिय एकता खण्डित भएपछि बाह्य प्रभाव बलियो हुन्छ । भारत, चीन र अमेरिकाले आ–आफ्नो हित हेर्नु कुनै आश्चर्यको विषय होइन । तर नेपालले भारत र अमेरिकाको हित हेर्नु घोर आश्चर्यको विषय हो । यसअघि नेपालमा विभिन्न किसिमका राजनीतिक गतिविधि हुँदा खासगरी भारतीय पक्षले त्यसलाई आतंककारी गतिविधिकारुपमा परिभाषित गर्नेगरेको देखिन्थ्यो । तर गत भदौ २३ र २४ को घटना खासमा आतंककारी गतिविधि थियो । जसले नेपाललाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा समेत अस्तव्यस्त बनाउने काम ग¥यो । तर त्यसको आन्तरिकरुपमा पनि छानविन भइरहेको छैन भने बाह्य रुपमासमेत कुनै प्रश्न उठाइएको छैन ।
कुनैपनि देशका राजनीतिक दलहरु राष्ट्रिय मुद्धामा विभाजितहुँदा र तिन्को नेतृत्वले विदेशी संलग्नतालाई प्रमुखत दिँदा त्यो देशको अस्तित्व नै समाप्त भएका विश्वमा अनेक उदाहारणहरु रहेका छन् । खासमा हालको अवस्थामा नेपालले दुई छिमेकी चीन र भारतसँग घनिष्ठ र सन्तुलित सम्बन्ध विस्तार गर्नुपर्छ । अमेरिकालगायतका पश्चिमा राष्ट्रहरुसँग टाडाको तर मित्रवत सम्बन्ध राख्नुपर्दछ । तबमात्र नेपाल र नेपालीको हित र उन्नति हुन्छ । हाल नेपालमा गत निर्वाचनबाट रास्वपा प्रतिनिधिसभामा बहुमतमा छ । प्रतिपक्षमा रहेका नेकां, एमाले र नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय निकायहरुमा बहुमत रहेको छ । यस्तो अवस्थामा रास्वपाले नेपालको हितमा काम गर्न चाहेको भए कम सेकम संसदमा रहेका अन्य दलहरुसँग सहमति कायम गर्ने–गराउने र दुई छिमेकी चीन र भारतसँग समदुरीको सम्बन्ध स्थापित गर्ने काम गरेको हुनुपर्ने थियो । तर सो पार्टीले आन्तरिकरुपमा अन्य दलहरुसँग मुठभेडको नीति लिएको छभने बाह्यरुपमा भारत र अमेरिकालाई मात्र खुसी बनाउने र चीनलाई चिढ्याउने तथा एक्ल्याउने नीति लिएको देखिएको छ । जसले नेपाललाई कुनैपनि बेला राजनीतिक दुर्घटनामा पु¥याउन सक्ने अवस्था छ । यसअघि ०४६ को राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस र ०६३ को परिवर्तनपछि तत्कालीन माओवादी केन्द्र भारतीय पार्टी र सरकारहरुसँग सहकार्यमा रहेका थिए । हाल उनीहरुलाई किनारा लगाउन अनेक प्रयास भइरहेको छ । त्यसैले हाल रास्वपा र भाजपा तथा नेपाल र भारतका सरकारका बीचमा सहकार्य हुँदैमामात्र केही हुनेवाला छैन । यो सम्बन्धित सबैले बुझ्न सक्नुपर्ने मुख्य विषय भएको छ ।

